Category: फिचर स्टोरी

फिचर स्टोरी

  • तारा एअर दुर्घटना : शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

    तारा एअर दुर्घटना : शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

    महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरी, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो ।

    दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ उहाँकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको छ ।

    यसैगरी मकरबहादुरकै बहिनी र ज्वाइँ हाल काठमाडौँका बासिन्दा ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि सोही घटनामा परी मृत्यु भएपछि यहाँ जोडिएका यी बस्तीमा अहिले रुवाबासी छ । परिवारका नाताभित्रका सातै तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै थिए ।

    ‘मकर सर हामी सबैका अभिभावक हुनुहुन्थ्यो, बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्नुहुन्थ्यो, अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको पीडा छ’, लोटा बस्तीकी ४५ वर्षीया दुर्गा ध्रुङ्च्याङ्री मगरले भने, ‘गाउँको रानो नै गयो ।’ विगतमा चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहेका मकरबहादुरका महोत्तरी र धनुषाका यी बस्तीमा घरघरै शिष्य छन् । शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मकर सर ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा यहाँका बासिन्दाले सम्झना गर्छन् ।

    ‘गत शुक्रबार बिहानपख त हो, ‘नानी, हामी तीर्थ गर्न हिँड्याैँ, साता दिनमा आउँला, राम्ररी बस है’, भन्दै जानुभएको’ ४५ वर्षीया छिमेकी तुलसा पौडेल भन्छिन् ‘कहिल्यै नफर्कनुरहेछ, आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ ।’ यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई पनि सम्झँदै भक्कानिन्छन् ।

    ‘कति फरासिला थिए राजन भाञ्जा, काठमाडौँबाट गाउँ झरेपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के–कस्तो छ बुझ्ने गर्नुहुन्थ्यो’, लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठ भन्छिन्, ‘कति सहयोगी राजन भाञ्जा, गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे ।’ काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठ सम्झन्छिन् । मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेको शान्ति बताउँछिन् ।

    विमान हराएको खबर सनसनी फैलिएपछि आइतबार दिउँसो नै मकर सरको घरमा इष्टमित्र, आफन्त र वरपरका छिमेकीको जमघट बढेको थियो । ‘विमान हराएको खबर फैलियो, आइतबार दिनभरि हामी मकर सरलगायत सबै आफन्त सकुशल भेटिउन् भन्ने प्रार्थना गरी रह्यौँ, तर दैवलाई यो हाम्रो पुकारा मञ्जुर रहेनछ’, सोमबार दुर्घटनाग्रस्त विमान भेटिएर यात्रु सबैको मृत्यु भएको पुष्टि भएपछि छिमेकको बस्ती महोत्तरीको पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान भन्छन्, ‘हाम्रो पूरै बस्ती शोकमा छ ।’ रातु वारिपारिका दुवैतिरका बस्तीका बासिन्दा आपसी दुःखसुख साट्दै एउटै सामाजिक वातावरणमा बस्दै आएका बताउँदै मोक्तानले अहिले लोटा बस्तीको शोकको सन्नाटा आफ्नातिरका पर्साहीधाप र रजबासमा पनि उत्तिकै रहेको बताए ।

    विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ । छोरीहरु शान्ति र कान्ति विह्वल छन् । बुहारीहरु प्रेमा, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।

    ‘शनिबार राति ९ बजेतिर बुवा–आमा र ठूली फुपू (राममाया गोले) सँग फोनमा कुरा भएथ्यो, दुई–तीन दिनभित्रै फर्कन्छौँ भन्नुहुन्थ्यो’, मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भनिन्, ‘बुवा, आमा, फूपू, फूपाजु र भानिज भाइ राजनले हामीलाई छाड्नुरहेछ, एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ ।’

    मकरबहादुर गाउँ नै बसे पनि आफ्नै बस्तीका दिदी भिनाजु (राजनका बुवाआमा) भने छोरा राजनका परिवारसँग काठमाडौं नै बस्दै आएका थिए । यसपालि सिङ्गो परिवारको तीर्थाटनको मेसोचाहिँ लण्डन बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका रहेछन् । ‘मनोजले लण्डनबाट फोन गरेर बुवा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन)लाई लिएर तीर्थ जानु, म खर्च पठाउँछु भन्दै आउनुभएको थियो, गत चैतदेखिकै आजभोलि भन्दै जाने कार्यक्रम ढिलो भयो, गत साता राजनले काठमाडौँबाट फोन गरेर मामा, माइजु आउनु, अरु सबै हामी यतै (काठमाडौँ) छौँ भनेपछि बुवाआमा गत शुक्रबार घरबाट काठमाडौँ जानुभएको हो’, मकरबहादुरकी कान्छी छोरी कान्तिले भनिन्, ‘दिनदिनैजसो कुरा त भइनै रहेथ्यो, शनिबार रातिको बोली सुन्नु अन्तिम रहेछ ।’

    घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडाैं गए । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौंमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताए । सँगै करेसा जोडिएको ससुराली घरको वियोगले मदन पनि इन्तुनचिन्तु भएका छन् । ‘खै कसलाई सम्झाउँ ? आफ्नै मन अधिर छ’, मदनले भने, ‘जसको आड पाएर यहाँ आइयो, अब कोही रहेनन्, जता हेर्‍यो वैराग लाग्छ ।’ ससुरा मकरबहादुर र फूपू सासुका छोरा राजनको ढाडस पाएर पुर्ख्याैली घर ढल्केबरबाट लोटा बसाइँ सारेको बताउने मदनले अब हेरविचार गर्ने सबै गुमेका रुँदै बताए ।

    घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आफूहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउँछन् । ‘उहाँहरु (मकरबहादुर र राजन) सधैँ सामाजिक कामलाई उच्च महत्व दिनुहुन्थ्यो, सधैँ उहाँहरुको अभाव खट्किरहनेछ’, थापाले विह्वल हुँदै भने । ‘जे नहुनु थियो, त्यही भयो’, अहिले लोटासहित चुरे काछ बस्तीका सबैको एउटै विलाप छ ।

  • हर्क साम्पाङ भन्छन् : करोडको गाडी चढेर जनताको समस्या देखिँदैन

    हर्क साम्पाङ भन्छन् : करोडको गाडी चढेर जनताको समस्या देखिँदैन

    सुनसरी । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गरी एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन् । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उनले भने ।

    धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाइँको सेवक, जय धरान’, उनले भने । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ ।

    चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो’, अधिकृत खतिवडाले भने। मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेका थिए ।

    प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रह समेत गरेका छन् । लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए ।

    मङ्गलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ । पदभार ग्रहण गदैं साम्पाङले भने, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

    राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहेका छन् । यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उनले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहने छन् ।

    कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने प्रमुख राईले जानकारी दिए । सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

  • भक्तपुरकाे कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

    भक्तपुरकाे कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

    भक्तपुर । ‘वरिपरि लामो-लामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ ।

    व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप लेला भन्ने कल्पना पनि नगरेका यहाँका बासिन्दा यतिखेर खुसी छन् । आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीयवासी शकुन्तला श्रेष्ठ बताउँछिन् ।

    शुक्रबार बिहान पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गरेकी उनले चौरमा परिणत भएको यो पोखरी फेरि सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर कल्पना पनि गरेकी थिइनन् । तर अहिले पोखरीले पुनर्जीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको बताउँछिन् ।

    बाेडेकाे वीरेन्द्र जयना भन्छन् ‘गरे के सकिँदैन रैछ र ?, स्थानीयवासीको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदो रहेछ भन्ने नमूना बन्यो यो पोखरी, पोखरी नजिकैकोे कुमारी मन्दिर र पार्कले बोडेको पहिचान नै फेर्‍यो, हामी खुसी छौँ ।’

    तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयवासीले पोखरी बिक्री भएको चाल पाए र विरोधमा उत्रिए ।

    मध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि फुलेको कमलको फूल । २०३२ सालमा व्यक्तिको नाममा गएर स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुर्ननिर्माण गरि कमलको फूल रोपेको थियो । तस्विर : रमेश गिरी

    त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिका सहितको सहयोगमा गरिएको उजुरीमा भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएपछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो । उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी रु ७५ लाखको लगतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन् ।

    उनी भन्छन्, ‘म सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिका नाममा गयो भनेपछि चुप लागेर बस्न मनले मानेन, म नगरप्रमुख भएर आएपछि पोखरी जोगाउने दायित्व पनि थपियो, स्थानीयवासीसँग काँधमा काँध मिलाएर अदालत गइयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि हाम्रै पक्षमा फैसला आएपछि यो पोखरीको संरक्षणमा जुटियो ।’

    नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमै पुनःनिर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको छ । पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि रु पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनाका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ ।

    स्थानीयवासी जयना भन्छन्, ‘हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङवाक, साँझ इभिनिङवाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो ।’

    पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको कार्यले संस्कृति र परम्पराको जगेर्ना हुनाका साथै विगतमा छुटेका सबै धार्मिक परम्परा अब सञ्चालन गर्न सकिने उनकाे भनाइ छ ।

    पोखरी नजिकै नगरपालिकाले पुनःनिर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न पुगेकोे छ ।

  • …जसलाई निर्वाचनकाे चासाे छैन

    …जसलाई निर्वाचनकाे चासाे छैन

    उदयपुर । आसपासका बस्तीमा स्थानीय तह निर्वाचन प्रचारप्रसारमा गीत र नारा घन्किए पनि उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा भने गिट्टी कुटेको कर्कश आवाज मात्रै आउँछ । गिट्टी कुट्ने मजदुरलाई न निर्वाचनको चासो छ न त आज मजदुर दिवस (मे दिवस) भन्ने नै ख्याल छ । उनीहरूको एकोहोरो ध्यान छ बेलुका परिवारको पेट कसरी पाल्ने ?

    ‘दिनभर गिट्टी नकुटी खान पाइन्न कसरी निर्वाचन बारे बुझ्न हिँड्नु ? त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका–१२ का बोटकी श्रीमती विन्दा पनि निर्वाचन बारे केही थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘के को निर्वाचन हो र ?’

    बोट दम्पती मात्रै होइनन् त्रियुगा नदीको त्रिवेणी घाट मजदुरी गर्ने धेरैलाई के को निर्वाचन भइरहेको छ भन्ने थाहा छैन । नदी किनारमै भेटिएकी मन्जुर चौधरीले भनिन्, ‘एक ट्रयाक्टर गिट्टी बेच्दा एक हजार ज्याला पाइन्छ नेताको पछि लागेर के पाइन्छ र ? बेलुका भोकै सुत्नुपर्छ ।’ उनले खेतीपाती गर्न जग्गा नभएको र सडक नबढारे, गिट्टी नकुटे बिहान बेलुकी चुलो नबलने बताइन् ।

    अर्का मजदुर रामकुमारी चौधरीका दम्पतीले पनि अहिलेसम्म कसैले भोट नमागेको बताए । त्रियुगा नगरपालिका–१३ मा घर ढलानसम्बन्धी काम गरिरहेकी रामकुमारीले भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै हुन्छु के को निर्वाचननै थाहा छैन ।’

    निर्वाचनले कहिल्यै नछुने उनीहरू मात्रै होइनन् । दैनिक ज्याल मजदुरी गरेर खानेहरू धेरै भेटिन्छन् । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोलाको किनारमा गिट्टी कुट्नेहरूलाई स्थानीय तह निर्वाचन भनेको के हो भन्ने समेत थाहा छैन ।

    कम्युनिष्ट पार्टीहरूले हरेक भाषणमा भन्न नछुटाउने सब्द हो ‘सर्र्वहारा वर्ग’। अहिले यही ‘सर्र्वहारा वर्गलाई भने न त निर्वाचनले छोएको छ न त कम्युनिष्ट पार्टीका उम्मेदवार नै उनीहरूसम्म पुगेका छन् । ‘अब बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट दिनु पर्ला,’ त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटेले भने, ‘सबैतिरबाट हारेकालाई सर्र्वहारा भन्छन् । हाम्रो जग्गा छैन, उम्मेदवार आउँदा मिठो मसिनो खुवाउने हैसियत छैन, किन आउँछन् त हाम्रो गाउँमा ?’

    बालुवा चाल्दै गरेकी सृजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्रै बस्तीमा उम्मेदवारहरू आउने गरेको बताइन । ‘निर्वाचनको अघिल्लो दिन बस्तीमा भोज चल्छ,’ परियारले भनिन्, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन् त्यसैलाई भोट हालिन्छ ।’

    मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले बताए । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरू प्रचारप्रसारमा उत्रिएका छन् । उदयपुरमा आठ पालिका छन् ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा आठ पालिकामध्ये एमालेले ६ पालिकामा जित हासिल गरेको थियो । बाँकीमा कांग्रेस एक, माओवादीले एक पालिका जितेको थियो ।

  • फर्किएनन् छाङरु झरेका प्रहरी, तिंकर नाका सुरक्षाविहीन

    फर्किएनन् छाङरु झरेका प्रहरी, तिंकर नाका सुरक्षाविहीन

    दार्चुला । चीनसँग सीमा जोडिएको तिंकर नाका अहिले सुरक्षाकर्मीविहीन बनेकाे छ । हिउँदमा भारी हिमपात हुने याे नाका र आसपासमा कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छैनन् ।

    हिउँ पर्न थालेपछि यहाँका प्रहरी १२ किलोमिटर तल छाङरु झरेका थिए । तर, उनीहरू हालसम्म उक्त क्षेत्रमा नखटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

    तिंकरका बासिन्दाहरू पनि हिउँद छल्न गत असोजमै दार्चुला सदरमुकाम खलंगा झरेका थिए । उनीहरू पनि फर्किएका छैनन् । याे क्षेत्र अहिले मानवविहीन छ । चैत महिनाबाट यस क्षेत्रमा हिउँ पग्लिने गर्छ ।

    तिंकरमा सशस्त्र प्रहरीको बिओपी राख्न गाउँबाट दुई किलोमिटर माथिल्लो क्षेत्रमा भवनको निर्माण गरिएको छ । गत भदाै महिनामा निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न भने सकेको छैन । बिओपीको दुइ भवन ब्लकसँगै भान्सा र शौचालय निर्माण गरिएको छ ।

    तिंकर सीमा प्रहरी चौकीनजिकै बनाइएको बिओपीको भवन टिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा छ । यहाँबाट चार पाँच घण्टा उकालो पैदल यात्रा गरेपछि नेपाल र चीन सीमाना छुट्याउने तिंकर भञ्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।

    तिंकरमा निर्माण भएको बिओपीमा सुरक्षाकर्मी राख्न माथिबाट कुनै निर्देशन प्राप्त नभएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए । ‘ यद्यपि, निर्वाचनका बेला तिंकर क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोली खटिन्छ, स्थायी रुपमा बस्नका निर्देशन आएपछि बस्छौँ’ एसपी विष्टले भने ।

    व्यास गाउँपालिका-१ को टिंकरसहित दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । मौषम प्रतिकुलताले हालसम्म तिंकरमा बिओपी बस्न नसकेको र स्थानीय तह निर्वाचनपछि स्थापनाको हुने उनले बताए । ‘कोरोना प्रभावले चीनसँगको सीमा नाकामा आवत जावत बन्द रहेकाले हाल तिंकर क्षेत्रमा सुरक्षाकर्मी बस्नु आवश्यक देखिएन, छाङरुमा सशस्त्र प्रहरीको गुल्म छ, निर्वाचनको समयमा सुरक्षा जनशक्ति विभिन्न ठाउँमा खटिने भएकाले त्यसपछि बिओपी बस्छ,’ प्रजिअ उपाध्यायले भने ।

    व्यास गाउँपालिकाको वडा नम्बर १ कौवा, वडा नम्बर ४ सुन्सेरा र लेकम गाउँपालिकाको रतौडामा पनि बिओपी सञ्चालन तयारी भइरहेको उपाध्यायले बताए । व्यास गाउँपालिकाको सुन्सेरामा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेकोले त्यसको सुरक्षाका लागि सुन्सेरामा छिट्टै बिओपी सञ्चालन तयारी भइरहेको उनले बताए । सुन्सेरामा बिओपीको भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया भइरहेको छ ।

  • युक्रेनी आमाकाे वेदना : मेरै सामु छाेरी मारिइन्, मलाई बन्दी बनाइयो

    युक्रेनी आमाकाे वेदना : मेरै सामु छाेरी मारिइन्, मलाई बन्दी बनाइयो

    कीभ । भिक्टोरिया कोभालेन्कोलाई ती हरेक क्षणको स्पष्ट सम्झना छ । त्यहाँ विस्फोट वा कुनै गोलाबारी भयो । मेरा कान बन्द भए । कारको पछाडिको सिसा चकनाचुर भयो । मेरा श्रीमान्‌ले चिच्याएर ‘बाहिर निस्क’ भने।

    त्यस दिनको त्रासदी अकल्पनीय छ । यो भोगाइमा विभत्स विवरणहरू छन् । यसले कसै-कसैलाई विचलित बनाउन पनि सक्छ ।

    भिक्टोरिया र उनका पतिले युद्ध सुरु भएको ९ दिनपछि युक्रेन सहर चेर्नीहिभ छोडेर भाग्ने निर्णय गरे । उनीहरू जसरी भए पनि आफ्ना बालबच्चा जोगाउन चाहन्थे । भिक्टोरियाको पहिलो विवाहबाट जन्मिएकी भेरोनिका १२ वर्षकी थिइन् । सानी छोरी भरभारा एक वर्ष मात्रै हुँदै थिइन् ।

    आफूलाई अत्यावश्यक सामग्री बोकेर उनीहरू आफ्नो घरबाट कारमा निस्किए । जब उनीहरू सहरको बाहिरी भागमा अवस्थित यहिद्‌ने नगरको छेउमा पुगे ढुङ्गा थुपारिएका कारण सडक अवरुद्ध थियो । उनका श्रीमान् पेट्रोले कारबाट निस्किएर ढुङ्गा पन्छाउन सुरु गरे ।

    त्यसको केही सेकेन्डमै उनीहरूको कारमा आगो देखियो । ‘मेरी छोरी भेरोनिका रुन थालिन् किनभने सिसाको टुक्राले काटेर मेरो टाउकोबाट रगत बगिरहेको थियो’, आँखा मुनि रातो खत देखाउँदै भिक्टोरिया भन्छिन् ।

    ‘फेरि भेरोनिका चिच्याउन थालिन् । उनका हातहरू कामिरहेका थिए । त्यसैले मैले उनलाई सम्झाउन खोजेँ । उनी कारबाट बाहिर निस्किने बित्तिकै ढलिन् । उनको टाउको फुटिसकेको रहेछ’ भिक्टोरियाले सुनाइन् ।

    रुसी बम प्रहार भएको उनीहरूको कारमा दनदनी आगो बल्न सुरु गर्‍यो । ‘म सकेसम्म सम्हालिन खोजेँ । मैले अर्को बच्चा समातिरहेकी थिएँ र उनलाई सुरक्षित ठाउँमा पुर्‍याउनु थियो’, उनले भनिन् ।

    जलेको अवस्थामा भिक्टोरिया परिवारको कार ।

    पेट्रोल केही नबोलेपछि उनलाई थाहा भयो उनका श्रीमान् पनि मारिइसकेका थिए । मारिएका श्रीमान्‌ र ठूली छोरीसँगै जल्दै गरेको कार छोडेर उनी त्यहाँबाट भागिन् । आफूलाई जीवित राख्न त्यसपछिका २४ घण्टा उनले अथक प्रयास गरिरहिन् ।

    भिक्टोरिया र उनकी सानी छोरी भारभाराले एउटा रोकिएको कारमा आश्रय पाए । तर त्यहाँ पनि गोली हानाहान सुरु भयो । उनीहरू भागेर एउटा घरमा पुगे। तर त्यो घर पनि सैनिकहरूले प्रयोग गरिरहेका थिए ।

    उनीहरू त्यही घरमा लुके । ब्याट्री बचाउन उनले फोन स्विच अफ गरिन् । आफू र छोरीलाई कसरी बचाउने भनेर उनले सोचिरहिन् । अर्को दिन गस्तीमा निस्किएका रुसी फौजले उनीहरूलाई देखे । उनीहरूलाई यहिद्‌नेको एक विद्यालयमा लगियो र भूमिगत तलामा बन्धक बनाइयो ।

    आमा र छोरीले अर्को २४ घण्टा यहाँ दयनीय अवस्थामा समय बिताए। आफ्नै सामुन्ने मानिसहरूको मृत्यु देखिन् भिक्टोरियाले । उनले आफ्नो चोटको कुनै उपचार पाइनन् ।

    बीबीसी उनी बसेको भूमिगत तला हेर्न यहिद्‌नेको विद्यालय पुगेर र त्यहाँ राखिएका अन्य मानिसहरूसँग पनि कुरा गरिसकेको छ । उनीहरूका अनुसार त्यहाँ बन्दी बनाइएकाहरूको मृत्यु हुँदा कहिले घण्टौँ र कहिले केही दिनसम्म पनि शव उठाइँदैन थियो ।

    भिक्टोरियाका अनुसार यो तलामा ४० जनालाई राखिएको थियो । जहाँ आवतजावत र हिँडडुल गर्ने ठाउँको पनि अभाव थियो ।

    बिजुली नभएका कारण उनीहरू मैनबत्ती र लाइटरहरू बाल्थे । धुलै धुलो र गर्मी ठाउँमा मानिसहरूलाई सास फेर्न पनि कठिन भएको भिक्टोरिया बताउँछिन् ।

    अधिकांश समय मानिसहरूलाई दिशा पिसाबका लागि समेत बाहिर निस्कन रोकेर भित्रै बसेर बाल्टीमा गर्न भनिन्थ्यो ।

    आफ्ना श्रीमान् र ठूली छोरी गुमाइसकेकी भिक्टोरिया आफैँ निकै कठिन पीडामा थिइन् । तैपनि उनले अर्की छोरी बचाउन दृढ अठोट र आफूसँग भएको शक्ति प्रयोग गरिन् ।

    उनले आफूलाई बन्धक बनाइरहेका रुसी सैनिकहरूलाई आफ्ना श्रीमान् र छोरीको शव ल्याइदिन अनुरोध गरिन् । उनलाई ती शवहरू आफैँ पुर्नु थियो ।

    उनले भेरोनिकाका बुबा आफ्ना पूर्व पतिलाई उनीहरू मारिएको ठाउँमा पठाइन् । उनका अनुसार ती शवहरू मानव अवशेषका रूपमा पहिचान गर्न समेत कठिन अवस्थामा थिए ।

    भेरोनिकाका लुगा कपडा ।

    आगोले जलेको कारमा केही पनि बाँकी थिएन । बाँकी थिए, रगत लतपतिएका भेरोनिकाका केही लुगा, प्वाल परेको झोला, कारको नम्बर प्लेट र आगोले ज्वालाबाट गालिएको चाँदी बाँकी थिए ।

    ती शवहरू आइपुगेको दिन भिक्टोरिया सम्झन्छिन् । ‘त्यो १२ मार्चको दिन थियो । उनीहरूले मलाई बोलाएर कहाँ पुर्ने भनेर सोधे,’ उनले भनिन् ।

    शवहरूलाई एउटा ठूलो र एउटा सानो बाकसमा राखेर दुई वटा छुट्टाछुट्टै चिहानमा जङ्गलमा लगेर पुरियो । ‘जब हामीले ती बाकसहरू माटोले पुर्न सुरु गर्‍यौँ बमबारी सुरु भइहाल्यो । पुरिनसकी हामी त्यहाँबाट भाग्न पर्‍यो । त्यो निकै डरलाग्दो क्षण थियो’ उनले भनिन् ।

    ‘यदि मलाई पुटिनलाई गोली हान्ने अवसर दिइयो भने म त्यो काम गर्न सक्छु मेरा हातहरू काँप्दैनन्’ भिक्टोरियाले भनिन् । भिक्टोरिया र भरभारालाई युक्रेनको पश्चिमी क्षेत्र लभिभको सुरक्षित ठाउँमा राखिएको छ । भिक्टोरिया अहिले मनोवैज्ञानिक परामर्श लिइरहेकी छिन् ।

    ‘जब म मानिसहरूसँग हुन्छु, केही गर्छु वा बोल्छु म के भएको थियो भन्ने बिर्सिन्छु । तर जब म एक्लै हुन्छु म होस गुमाउन पुग्छु’ उनले सुनाइन् ।

    यसो भनिरहँदा उनका आँखाबाट आँसु चुहिन थाले । मारिएकी आफ्नी छोरीले उपहार दिएको एउटा चिनो उनले देखाइन् । सानो गाईको आकृति भएको यो चाबी राख्ने चिनो केही अक्षरहरू लेखिएको सुनको औँठीसँगै जोडेर राखिएको थियो ।

    ‘यो चर्चबाट ल्याइएको हो । उनले मेरो लागि यो किनेकी थिइन् । यसमा भएको शक्तिका कारण गर्दा म बाँचेँ जस्तो लाग्छ । किनभने यो सधैँ मेरो खल्तीमा हुन्छ र मलाई सुरक्षित राख्छ’ उनले सुनाइन् ।

    बीबीसीबाट ।

  • त्याे सुन खानीकाे इतिहास जसमा बन्याे ‘केजीएफ’ चलचित्र

    त्याे सुन खानीकाे इतिहास जसमा बन्याे ‘केजीएफ’ चलचित्र

    कोलार गोल्ड फिल्डको इतिहास, जहाँबाट आयो १२१ वर्षमा ९०० टन सुन बाहिर


    ‘उनीहरुलाई भनिदेउ, म आफ्नाे केजीएफ लिन आउँदैछु’ केजीएफ–२ मा अभिनेता सञ्जय दत्तको यो संवाद अहिले निकै चर्चामा छ ।

    दर्शकमाझ रुचाइएको यस चलचित्रको ट्रेलर भर्खरै सार्वजनिक भएको छ । ट्रेलर रिलिज हुनासाथ सामाजिक सञ्जालमा तहल्का मच्चिएकाे छ । यसको भिडियो दुई दिनमा युट्युबमा ६२ करोड मानिसले हेरिसकेका छन् ।

    फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ । त्यसैले यो चलचित्रको चर्चा सामाजिक सञ्जाललगायत सबैतिर चर्को रुपमा भइरहेको छ ।

    फिल्ममा कन्नड सुपरस्टार यश मुख्य भूमिकामा छन् । साथमा, संजय दत्त, रविना टण्डन र प्रकाश राज जस्ता ठूला कलाकारहरू पनि छन् ।

    यो फिल्म मूलतः कन्नड भाषामा मात्र बनेको थियो । यस फिल्मको पहिलो भाग हिन्दीसहित कन्नड, तेलुगु र तमिलमा २१ डिसेम्बर २०१८ मा रिलिज भएको थियो । त्यसपछि यो फिल्मको देशभर प्रशंसा भयो । त्यसबेलादेखि दर्शकहरु यसको दोस्रो भागको प्रतीक्षामा छन् ।

    केजीएफको इतिहास

    केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स कर्नाटकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ । रोबर्टसनपेट दक्षिण कोलार जिल्लाको मुख्यालयबाट ३० किलोमिटरको दूरीमा रहेको एउटा तहसील हो, जहाँ यो खानी अवस्थित छ ।

    बैंगलोर-चेन्नई एक्सप्रेसवेमा, बैंगलोरबाट पूर्वतिर १०० किलाेमिटरमा केजीएफ टाउनशिप छ । समाचार वेबसाइट ‘द क्विन्ट’ ले आफ्नो एक रिपोर्टमा केजीएफको गौरवशाली इतिहासको बारेमा लेखेको छ ।

    यस रिपोर्टका अनुसार सन् १८७१ मा न्युजिल्यान्डबाट भारत आएका बेलायती सैनिक माइकल फिट्जगेराल्ड लेभालीले बैंगलोरमा आफ्नो घर बनाएका थिए । त्यतिबेला उनको अधिकांश समय पढाइमा बित्ने गर्दथ्यो ।

    यसैबीच, उनले १८०४ मा एशियाटिक जर्नलमा प्रकाशित चार पृष्ठको लेख पढे । उक्त लेखमा कोलारमा फेला परेको सुनको बारेमा बताइएकाे थियाे । यो लेखका कारण कोलारप्रति उनको चासो बढ्यो ।

    यस विषयमा पढ्दै गर्दा, लेभालीले बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनको लेख फेला पारे । लेभालीबाट प्राप्त जानकारी अनुसार १७९९ को श्रीरंगपट्टनमको युद्धमा टिपु सुल्तानलाई मारेर अंग्रेजहरूले कोलार र वरपरको क्षेत्र कब्जा गरेका थिए ।

    केही समय पछि अंग्रेजहरूले यो भूमि मैसूर राज्यलाई दिए, तर तिनीहरूले सर्वेक्षणको लागि कोलारको भूमि भने आफ्नो साथमा राखेका थिए ।

    सुनकाे खाेजी

    चोल साम्राज्यमा मानिसहरू हातले जमिन खनेर सुन निकाल्ने गर्दथे । बेलायती सरकारका लेफ्टिनेन्ट वारेनले सुनको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरे ।

    त्यो घोषणाको केही दिनपछि, केही गाउँलेहरू गोरुगाडामा वारेनलाई भेट्न आए । त्यो गाेरुगाडामा कोलार क्षेत्रको माटो लत्पतिएकाे थियो । गाउँलेहरूले वारेनको अगाडि माटो धोएर हटाए, त्यसपछि त्यहाँ सुनका टुक्राका अंशहरु भेटिए ।

    त्यसपछि वारेनले यसबारे अनुसन्धान थाले । कोलारका जनताले हातले सुनको उत्खनन् गर्ने तरिकाबारे पनि उनले थाहा पाए । ५६ किलो माटोबाट मनग्य सुन निकाल्न सम्भव भएको वारेनले थाहा पाए ।

    वारेनलाई लाग्याे ‘यी मानिसहरूको विशेष सीप र प्रविधिको मद्दतले थप सुन निकाल्न सकिन्छ ।’

    वारेनको यो प्रतिवेदनपछि सन् १८०४ देखि १८६० सम्म यस क्षेत्रमा धेरै अनुसन्धान र सर्वेक्षण भए पनि त्यसबाट अंग्रेजी सरकारले केही पाएन । यस अनुसन्धानका कारण केही लाभ मिल्नुको सट्टा धेरैले ज्यान गुमाए । त्यसपछि त्यहाँ उत्खनन्‌मा प्रतिबन्ध लगाइयो ।

    यद्यपि, १८७१ मा वारेनको रिपोर्ट पढेपछि लेभालीले कोलारकाे सुनखानीका विषयमा रुची राखे ।

    लेभालीले बैंगलोरदेखि कोलारसम्मको १०० किलोमिटरको दुरी गाेरुगाडामा पार गरे । त्यहाँ करिब दुई वर्ष अनुसन्धान गरिसकेपछि १८७३ मा लेभालीले मैसूरका महाराजासँग उक्त ठाउँमा उत्खनन् गर्न अनुमति मागे ।

    लेभालीले २० वर्षसम्म कोलार क्षेत्रमा उत्खनन् गर्ने अनुमति पाए । त्यस पछि १८७५ मा उक्त समइटमा काम सुरु गरे ।

    सुरुका केही वर्षहरू लेभालीको धेरैजसो समय पैसा उठाउन र मानिसहरूलाई काममा लगाउनमा खर्च भयाे । धेरै मुस्किल पछि केजीएफबाट सुन निकाल्ने काम सुरु भयो ।

    केजीएफ : बिजुली भएको भारतको पहिलो शहर

    केजीएफ खानीहरूमा, पहिले टर्च र मट्टितेल जलाउने लालटेनहरूद्वारा प्रकाश प्रदान गरिएको थियो । तर यो प्रयास अपर्याप्त थियो । त्यसैले त्यहाँ बिजुली प्रयोग गर्ने निर्णय गरियो ।

    यसरी केजीएफ बिजुली प्राप्त गर्ने भारतको पहिलो शहर बन्यो ।

    त्यहाँबाट १३० किलोमिटर टाढा रहेको कोलार गोल्ड फिल्डको बिजुलीको आवश्यकता पूरा गर्न कावेरी पावर स्टेशन निर्माण गरिएको थियो । यो जापानपछि एशियामा बनेकाे दोस्रो ठूलो पावर प्लान्ट हाे । यो वर्तमान कर्नाटकको मण्ड्या जिल्लाको शिवन समुद्रमा बनाइएको थियो ।

    केजीएफ भारतको पहिलो शहर थियो, जहाँ बिजुली पूर्ण रूपमा पुग्यो । पानीबाट बिजुली बनेपछि त्यहाँ सधैं बिजुली आउन थाल्यो । सुनको खानीका कारण बैंगलोर र मैसूरको सट्टा केजीएफले प्राथमिकता पायो ।

    बिजुली आएपछि केजीएफमा सुनको उत्खनन् बढेको हो । त्यहाँ, उत्खनन् गति बढाउन प्रकाशको व्यवस्था गरेर धेरै मेसिनहरू प्रयोग गरियो । फलस्वरूप, १९०२ सम्म, केजीएफले भारतको ९५ प्रतिशत सुन निकाल्न थाल्यो । सन् १९०५ मा भारत सुन खानीको हिसाबले विश्वको छैटौँ स्थानमा पुगेको थियो ।

    केजीएफ बन्याे सानाे इंग्ल्याण्ड

    केजीएफमा सुन पाएपछि त्यहाँको रुप नै फेरियो । त्यतिबेलाको ब्रिटिश सरकारका अफिसर र इन्जिनियरहरूले त्यहाँ आफ्नो घर बनाउन थाले ।

    त्यहाँको वातावरण बस्नका लागि उपयुक्त भएकाले मानिसहरूलाई मन पर्न थाल्यो । बेलायती शैलीमा बनाइएका घरहरू हेर्दा यो इङ्गल्याण्डको जस्तो लाग्थ्यो ।

    डेक्कन हेराल्डका अनुसार, यही कारण केजीएफलाई ‘लिटिल इङ्गल्याण्ड’ भनिन्थ्यो।

    केजीएफमा पानीको आवश्यकता पूरा गर्न, ब्रिटिश सरकारले नजिकै पोखरी निर्माण गर्‍यो । त्यहाँबाट केजीएफसम्म पानीको पाइपलाइनको व्यवस्था गरिएको थियो । पछि त्यही पोखरी त्यहाँको आकर्षणको केन्द्र बन्यो ।

    बेलायती अधिकारी र स्थानीय नागरिक त्यहाँ पर्यटनका लागि जान थाले । अर्कोतर्फ सुन खानीका कारण छिमेकी प्रदेशबाट पनि त्यहाँ कामदारको चाप बढ्न थाल्याे ।

    सन् १९३० पछि यो ठाउँमा ३० हजार मजदुर काम गर्थे । ती मजदुरका परिवारहरू नजिकै बस्थे ।

    केजीएफको राष्ट्रियकरण

    देश स्वतन्त्र भएपछि यो ठाउँ भारत सरकारले आफ्नो कब्जामा लिएको थियो । करिब एक दशकपछि सन् १९५६ मा यो खानी राष्ट्रियकरण भयो ।

    सन् १९७० मा भारत सरकारको भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ काम गर्न थाल्यो ।

    प्रारम्भिक सफलता पाएपछि कम्पनीको नाफा दिन प्रतिदिन घट्दै गयो । सन् १९७९ पछि यस्तो अवस्था आयो कि कम्पनीसँग कामदारलाई तलब दिने पैसा नै थिएन ।

    ८० को दशकमा केजीएफकाे प्रदर्शन निकै खराब हुन पुग्याे । सोही क्रममा धेरै कर्मचारीलाई बाहिरको बाटो देखाइयो । कम्पनीको घाटा पनि बढ्दै गयाे । समय यस्तो आयो जब त्यहाँबाट सुन निकाल्न जति रकम खर्च हुने गरेको थियो त्यो सुनको मूल्यभन्दा बढी हुन पुग्याे ।

    यही कारण सन् २००१ मा भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ सुन खानी बन्द गर्ने निर्णय गर्‍यो । त्यसपछि त्यो ठाउँ एक भग्नावशेष बन्यो ।

    पुनः सुरु हुने संकेत

    केजीएफमा उत्खनन् १२१ वर्ष भन्दा बढी समय सम्म चल्यो । त्यहाँ उत्खनन् सन् २००१ सम्म जारी थियो ।

    एक रिपोर्टका अनुसार ती १२१ वर्षमा त्यहाँको खानीबाट ९०० टनभन्दा बढी सुन निकालिएको थियो । खानी बन्द भएपछि केजीएफमा १५ वर्षसम्म सबै कुरा ठप्प रह्यो ।

    नरेन्द्र मोदी सरकारले २०१६ मा त्यही ठाउँमा पुनः काम सुरु गर्ने संकेत गरेको थियो । केजीएफको खानीमा अझै धेरै सुन रहेको बताइएको छ ।

    २०१६ मा, केन्द्रीय सरकारले केजीएफलाई पुनर्जीवित गर्न लिलामीको प्रक्रिया सुरु गर्ने घोषणा गरेकाे छ । तर, घोषणापछि अब के हुन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

    -बीबीसी हिन्दीबाट

  • उद्घाटनअघि बेहुली झैँ सिंगारियाे रेल (फाेटाेफिचर)

    उद्घाटनअघि बेहुली झैँ सिंगारियाे रेल (फाेटाेफिचर)

    तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जनकपुर-जयनगर-कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटनअघि जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएकाे छ ।

    उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ । याे रेल करिब दुई वर्षदेखि सन्चालनकाे तयारीमा थियाे ।

    तस्बिर : न्युज कारखाना

  • नेपाली फिल्मको रिलिज क्यालेन्डरमा, अधिकांश फिल्म भदौमा 

    नेपाली फिल्मको रिलिज क्यालेन्डरमा, अधिकांश फिल्म भदौमा 

    काठमाडौं । कोरोना भाइरसद्वारा सिर्जित तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्मको रिलिज डेटहरू भटाभट घोषणा भइरहेका छन् । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएसँगै विदेशी ठूला ब्यानरका फिल्महरूले घोषणा गरेको डेट हटाएर नेपाली फिल्मको डेट घोषणा गर्न सकस देखिएको छ ।

    हलिउड, भारतीय फिल्मसँग नपर्ने गरी फिल्म रिलिज घोषणा गर्नुपर्ने बाध्यताकै कारण केही फिल्महरू एउटै डेटमा समेत घोषणा भएका छन् । हलिउडका प्रतीक्षित फिल्महरू, बलिउडका ठूला फिल्मसँगै दक्षिण भारतीय फिल्महरूलाई पनि मध्यनजर गर्दै फिल्मको रिलिज डेट सेट गरिएका छन् । यसैले गर्दा आउँदो वर्षको भदौमा भने एक आपसमा फिल्महरू भिड्ने छन् । नेपाली फिल्मका निर्माता, निर्देशकले वितरकसँग सेट गरेको नेपाली फिल्मको रिलिज क्यालेन्डर यस्तो छ ।

    हेल्लो जिन्दगी

    १८ चैतबाट प्रदर्शनमा आउएको फिल्म ‘हेल्लो जिन्दगी’ मा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए । त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सनबिक्रम राई, बिक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

    हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै संवादमा रहेको छ । यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन छ ।

    ए मेरो हजुर ४

    झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ आगामी १ वैशाखमा प्रदर्शनमा आउदै छ । अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित फिल्ममा प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । ए मेरो हजुर २ र ए मेरो हजुर ३ लाई दर्शकले रुचाइसकेका छन् । यसैले गर्दा पनि यसको चौथो सिरिज दर्शकमाझ प्रतीक्षामा छ ।

    मन्त्र

    सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउने भएको छ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्ममा सौगातकी जोडी छिन् दीया पुन । खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्ममा सौगात र दीयासँगै बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायतका कलाकारको अभिनय छ । कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

    लक्का जवान

    हाँस्य कलाकार शिवहरि पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’ को रिलिज डेट २३ वैशाखमा घोषणा गरिएको छ । यद्यपि फिल्मसँग जोडिएका कुनै पनि प्रचारप्रसार सामग्री बाहिर ल्याइएको छैन । दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरूको कथा भन्छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा छन् ।
    ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दिपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने छ ।

    षट्कोण

    साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ २३ वैशाखबाट प्रदर्शनमा आउनेछ । पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज घोषणा गरिएको हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मिलन डी काप्री हुन् । फिल्मको डेटसँगै मुख्य अभिनेता कार्मको लुक्ससमेत सार्वजनिक गरिएको छ । यसमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

    कबड्डी ४ः द फाइनल म्याच

    ‘कबड्डी ४ः द फाइनल म्याच’ १३ जेठमा रिलिज घोषणा गरिएको छ । निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै नयाँ डेटबारे केही दिन अगाडि जानकारी दिएका थिए । नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ ।

    बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

    कौसीद

    अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ ले २७ जेठमा प्रदर्शन मिति घोषणा गरेको छ । वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरि घुमेको जनाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

    केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् । फिल्मको कथा लेखन नवविजयप्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।

    कृष्ण-लीला

    प्रेमकथामा आधारित फिल्म ‘कृष्ण–लीला’ ३ भदौमा प्रदर्शनमा आउने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण–लीला’ लाई कृष्णअष्टमीकै दिन रिलिज गर्न लागिएको हो ।

    दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीद्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईलगायतको अभिनय छ । लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

    प्रेमगञ्ज

    ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत ३ भदौमा प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।

    स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।

    पानीफोटो

    अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ १० भदौमा प्रदर्शन हुँदैछ । स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् ।

    एक दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरूपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजश्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय छ ।

    प्रकाश

    अभिनेता प्रदीप खड्का भिन्न रूपमा प्रस्तुत फिल्म ‘प्रकाश’ आगामी १० भदौमा प्रदर्शनको मिति घोषणा गरिएको छ । चकलेटी ब्वाईको रूपमा प्रस्तुत हँुदै आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन् । प्रदीप यसप्रकारको गेटअपमा पहिलोपटक देखिएका हुन् ।

    दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ । फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय छ ।

    द सिक्रेट अफ राधा

    सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन आगामी २४ भदौमा हुने जानकारी निर्माण पक्षले गराएको छ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् ।

    फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानीे छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महाप्रोडक्सनको ब्यानरमा संयुक्त रूपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ ।

    बाबरी

    आउँदो वर्ष ३१ भदौमा ‘बाबरी’ रिलिज हुने घोषणा गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । फिल्ममा अदितीले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन् ।

    बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सहनिर्मातामा सुष्मा गुरुङ छन् । नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौंसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । यसमा मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।

    लाखे

    फिल्म ‘लाखे’ ३१ भदौमा रिलिज हुने भएको छ । फिल्म टिमले वितरकमा आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठ तय गरेपछि रिलिजको घोषणा गरेको हो । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु रानालगायतको अभिनय छ ।

    सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् ।

    झिँगेदाउ

    ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ आउँदो वर्ष ३१ भदौमा प्रदर्शन हुने भएको छ । फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मालगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भएको हो । फिल्मको छायाँकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

    फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत छ भने पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘बुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवरबाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो ।

    २ नम्बरी

    फिल्म ‘२ नम्बरी’ ले आउँदो वर्षको ४ कात्तिकमा रिलिज घोषणा गरेको छ । फिल्म युनिटले दयाहाङ राई, उगेन छोदेन, सौगात मल्ल, उपासनासिंह ठकुरीलगायतको लाइन–अप सेट गरेपछि रिलिज हुने घोषणा गरेको हो । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनांगे र अमलादेवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

    परस्त्री

    नेपाली फिल्म ‘लभ लभ लभ’ बाट नायकको रूपमा उदाएका सुरज पाण्डे निर्देशक बनेका छन् । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म आउँदो वर्ष ६ कात्तिकमा रिलिज गरिने पनि बताइएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ । -न्युज कारखाना

  • किशाेर विक नभएकाे भए सारेगम पनि जान्दिनँ थिए हाेला : नेपाल आइडल-४ विजेता

    किशाेर विक नभएकाे भए सारेगम पनि जान्दिनँ थिए हाेला : नेपाल आइडल-४ विजेता

    रुपन्देही । पढाइसँगै भुपेन्द्र थापा मगरको रुचि बक्सिङ, क्रिकेटमा पनि थियो । परिवार नै संगीतमय वातावरणको भएर नै होला उनले संगीत क्षेत्रमै सफलता पाए । जन्मेदेखि नै संगीत क्षेत्रमा रुमल्लिएका भुपेन्द्र नेपाल आइडल सिजन ४ को उपाधि पाउनुलाई धेरैले पारिवारिक वातावरण ठान्छन् ।

    सन् १९९५ मा आमा रत्ना थापा र बुबा सेरु थापा मगरको एक मात्र छोराको रूपमा जन्मेका भुपेन्द्र सानैबाट संगीतिक वातावरणमा हुर्के । संगीतमय वातावरणमा हुर्केका भुपेन्द्र आफ्नो करियर पनि संगीत क्षेत्रमै व्यतित गर्न चाहान्थे । टोल छिमेकमा भजन होस् या विद्यालयमा कुनै कार्यक्रम भुपेन्द्र सहभागी हुन्थे । पढाइसँगै विद्यालयमा संगीत कक्षा पनि लिने गरेका थिए । पहिलो पटक विद्यालयमै स्टेज पाएको उनी बताउँछन् । त्यसपछि विभिन्न व्यान्डहरूमा अवसर पाउँदै गए । थापाले संगीत सिक्नकै लागि जागिर छोडे ।

    २०७५ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भ्वाइस अफ भैरहवा सिजन ३ मा उनले उपाधि जिते । उनले पहिलो पटक नेपालमा हुन लागेको आइडलमा सहभागी हुन खोजे । भैरहवाको जेसिज स्कुलमा हुने पहिलो सिजनको अडिसनमा उनले प्रतिस्पर्धीको रूपमा अडिसन दिए । त्यसपछि २०७६, २०७७ र २०७८ सालमा पोखराबाट अडिसन दिए । सुरुबाटै जित्नकै लागि प्रयास थियो, भोटिङसम्म पुग्ने रहेको थापा सुनाउँछन् ।

    तीनपटकको प्रयासमा थियटर राउण्डबाट बाहिरिन्थे, यो सिजनमा रहर पूरा भएपछि भोटका लागि अपिल गर्दे सपनाको लोभ लाग्दै गयो र फिनालेमा पुगेपछि जित्नै पर्छ भनेर मिहिनेत गरेकाे उनले सुनाए ।

    आफ्नाे सफलताको पछाडि किशोर विकको हात रहेकाे उनी बताउँछन् । किशाेरबाटै संगीत के हो, कसरी सिक्ने भन्ने मौका पाएकाे उनले बताए । ‘जति पनि सिके, जे छु उहाँ नै हो, उहाँ नभएको भए सायद सारेगमा केही पनि सिक्दैन थे होला,’ भुपेन्द्रले भने ।

    -न्युज कारखाना