फोटो न्यूज
विराटनगर । उत्तरी इलामको लेकाली क्षेत्रमा पर्ने पाटेनागी पर्यटकीय एवं जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ ।
इलाम नगरपालिका, देउमाई नगरपालिका र फिदिम नगरपालिकाको साँधमा रहेको यो क्षेत्रमा भ्रमणका लागि उल्लेख्य संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् ।
सूर्याेदय, नागीको दृश्यावलोकन, हिमशृंखला अवलोकन गर्न यो स्थान प्रसिद्ध छ ।
मेची राजमार्गको इलाम, बाघखोर बजारदेखि उत्तरतिर पर्ने पाटेनागीमा पाँचथर पौवा भञ्ज्याडदेखि पनि जानसकिन्छ ।
काठमाडौं । डोल्पाका फोटोग्राफर राहुल गुप्ताले खिचेको माथिल्लो डोल्पाका तस्वीरहरु काठमाडौंमा प्रदर्शन भइरहेको छ ।
शंखमूलकाे उजामा क्याफेमा गुप्ताले अपर डोल्पामा खिचेका उत्कृष्ट तस्वीरहरु प्रदर्शनीका लागि राखिएको छ । प्रदर्शनमा गुप्ताले ४ जेठमा खिचेको तीन वटा हिमचितुवाको तस्वीर पनि राखिएको छ ।
‘एउटै फ्रेममा तीन वटा हिमचितुवालाई कैद गर्नसक्नु एकदमै दुर्लभ कुरा हो, त्यो अवसर मैले पाएँ’ गुप्ताले भने, ‘मेरो घर दुनै भएकाले मलाई हिमचितुवाबारे रुचि पनि थियो र यससम्बन्धी रिसर्च समेत गरिरहेको थिएँ ।’
त्यहीबीच जेठमा माथिल्लो डोल्पा गएका बेला दुर्लभ तस्वीर खिच्न सम्भव भएको उनले बताए । यो तस्वीर उनले ४ हजार २ सय मिटर उचाइमा खिचेका हुन् । ‘प्रदर्शनीमा भएका सबै तस्वीर ४ हजार मिटरभन्दा माथि उचाइका छन्’ प्रदर्शनी आयोजकमध्येका गोकुल जोशीले भने, ‘तिञ्जे, साल्दाङ, घोतराप, ताक्सी, ज्याङ्लापास लगायतका क्षेत्रका दुर्लभ तस्वीरहरु प्रदर्शनी स्थलमा विक्रीका लागि समेत राखिएको छ ।’
प्रदर्शनीमा माथिल्लो डोल्पाको स्थानीय संस्कृति र रीतिरिवाज झल्काउने तस्वीरहरु पनि राखिएको छ ।
काठमाडौं । जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’ गराइएको छ ।
मंगलवारदेखि सुरु भएको विवाह पञ्चमीमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो ।
त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो ।
नगर दर्शन अवलोकनका लागि पुगेका दर्शक एवं दर्शनार्थीहरु दिनभर झुमेर रमाएका थिए ।