Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

    सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । उनलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गरेका थिए ।

    कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

  • बौद्ध भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव फेला

    बौद्ध भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव फेला

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ ।

    पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    ककांल भेटिएका शव  चिन्न सकिने अवस्थामा छैनन् ।

  • चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    काठमाडौं । छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।

    शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् ।

    उनले भने ‘कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ । चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ । चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवद्र्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ ।’

  • नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा

    नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन् ।

    उनले फेसबुकमा भनेका छन,‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न । अब आजबाट म अलग अभियानमा छु । मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथिहरुले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु । म राजनीतिक व्यक्ति हो म यत्तिकै बस्न सक्दिन, आजै देखि म पार्टी निर्माणमा लाग्ने छु ।’

    उनले रन्जितासँग आफ्नो कुनै दुस्मनी नभएको बताउँदै दुस्मनी देशका राष्ट्रिय फटाहाहरुसँग रहेको बताए ।

  • ‘झोले’ र कार्यकर्तामा के फरक ?

    ‘झोले’ र कार्यकर्तामा के फरक ?

    नेपाली राजनीतिको एउटा अप्रिय शब्द हो ‘झोले’ । ‘झोले प्रवृत्ति’बाट ग्रस्त भएका व्यक्तिलाई यो नामले बोलाइन्छ । खासमा यो दलका कार्यकर्तामा देखिएको समस्या हो ।

    नेपाली राजनीतिमा यो समस्या लामो समयदेखि छ । समयमै समाधान नहुँदा र यो छिप्पिदै जाँदा एक लाञ्छनामा बदलिएको छ । र, एक दीर्घ समस्या बनेको छ । यसको समाधानका लागि चिन्तन प्रणाली/संस्कृतिमा नै सुधार गर्ने उपाय आवश्यक देखिन्छ ।

    दलको आवाज बाहेक अरू नबोल्ने र नेताको ‘पुच्छर’ भएर हिँड्ने व्यक्तिलाई झोले भनिन्छ । झोले हुनु भनेको अन्धभक्त हुनु हो । झोलाले जिम्मेवारीलाई जनाउँछ । झोलेले आफ्नो दल र नेताका बारेमा राम्रो मात्रै बोल्ने र नराम्रा कुराको प्रतिरक्षा गर्ने ‘जिम्मेवारी’ लिएको हुन्छ । उक्त जिम्मेवारी झोलामा हालेर हिँडे जस्तो गर्ने भएकाले उसलाई झोले भनिएको हुन सक्छ । यो समस्या नेपाली राज्यको लोकतान्त्रिकरणको एउटा प्रमुख चुनौति बनेको छ ।

    दलका कार्यकर्तालाई न निर्णयमा सहभागि हुने अवसर हुन्छ न त अहिले उनीहरूसँग अवसर नै पाए भने पनि परिणाम निकाल्ने क्षमता छ । नेताले जे हालिदिन्छ त्यो नै उनीहरूको विचार बन्छ । नेताले उनीहरूलाई देखाएर वा साछी राखेर जस्तासुकै अपराध गरे पनि ऊ बुझ्दैन अथवा बुझे पनि बोल्दैन । वास्तवमा झोलेलाई नेताको झोलामा मस्तिष्क भएको व्यक्ति भनेर बुझ्दा ठिकै हुन्छ । राजनीतिमा ‘हस् बहादुर’ भन्ने व्यङ्ग्य पनि प्रचलित नै छ । यसरी लामो समय आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नपाएका र नेताको झोला मात्रै बोक्ने काम गरेका कार्यकर्तामा ‘झोले प्रवृत्ति’को विकास भएको छ ।

    समाजमा झोलेको विश्वसनीयता हुँदैन । उनीहरूको खासै इज्जत पनि हुँदैन । अवश्य पनि त्यसले दललाई नोक्सान गर्छ । कार्यकर्ता कमजोर भए पछि पार्टी पनि कमजोर भई नै हाल्छ । कार्यकर्ता बदनाम भए पछि पार्टी पनि बदनाम हुन्छ । कार्यकर्ताको व्यक्तित्व विकास रोकिएर ऊ तलको तलै रहन्छ । बरू थप स्खलनमा जान्छ । जस कारण नेता भएको व्यक्ति सधैँ नेता नै रहन्छ । अर्थात्, नेतृत्वमा जडता आउँछ । दलमा अधिनायकवाद र सिण्डिकेटको जन्म हुन्छ । जसले दललाई भ्रष्टिकरणको प्रक्रियामा पुर्याउँछ । त्यो भनेको झोले प्रवृत्तिले लोकतन्त्रलाई नै नकारात्मक असर गर्छ ।

    अघिल्लो महिना प्रधानमन्त्री केपी ओलीले ‘म झोले हो’ भन्ने पोष्टर साझा गरेर अभियान चलाए । उनको उद्देश्य झोले कार्यकर्ताको खस्किएको मनोबललाई माथि उठाउने देखिन्थ्यो । तर, उनले झोले समस्या हो यसको समाधान गर्नु पर्छ भन्ने दृष्टिकोणबाट कुरा गरेनन् । बरु समस्यालाई ढाकछोप गर्ने र ‘झोलेन्दो’को समस्यालाई थप विकराल बनाउने प्रयास गरे । ‘झोले अभियान’ले झोले भनेको अब लाञ्छित गर्ने सिमान्तकृत शब्द नभएर मुलधार कै समस्या हो भन्ने कुरा स्थापित गर्न त सहयोग गर्यो तर देखिएको अभुतपुर्व स्खलनले उनको पार्टी नेकपा एमाले र सिंगो नेपाली राजनीतिलाई भने अतुलनीय क्षति गर्यो ।

    झोले भनेको चरित्रमा मात्रै स्खलन आएको व्यक्ति होईन । उसको क्षमतामा पनि ह्रास आएको हुन्छ । ऊ केही पनि गर्न नसक्ने एउटा परजीविमा बदलिन्छ । झुट बोल्ने, फुटनी गर्ने, भित्रबाट खोक्रो तर बाहिर अहम्ले भरिएको व्यक्तिका रूपमा परिवर्तन हुन्छ । ऊ परिवार, दल तथा समाजको बोझ बन्छ । उसले गरेको कामले न उसको भलो हुन्छ न त दलको नै । लोकतन्त्रको भलो हुने त कुरै भएन ।

    कार्यकर्ता भनेको को हो ?

    कार्यकर्ता विचारको अभियन्ता हो । उसले व्यक्ति र दललाई पहिलो प्रथामिकतामा राख्दैन । ऊ दलले लिएको विचार बुझ्न सक्ने हुन्छ । अर्थात्, म किन यो दलमा छु भन्ने कुरा प्रष्टसँग बुझेको हुन्छ । र, ऊ दलमा हुनु पर्ने कारण निजी हुँदैन । उसँग गलत दिशातर्फ पार्टी जाँदा त्यो कुरालाई देख्ने र प्रश्न गर्न सक्ने क्षमता हुन्छ । कार्यकर्ता दलको विचार र संगठनमार्फत देशको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुन्छ । ऊ त्यागको भावनाले त्यहाँ हुन्छ न कि झोले जस्तो लोभ र स्वार्थ परिपूर्ति गर्नका लागि ।

    कार्यकर्ता वास्तवमै विचारका संवाहक हुन् । उनीहरू दलका मेरूदण्ड हुन् । उनीहरूको व्यक्तित्वले दलभित्रको लोकतन्त्रको मात्रै होईन देशको लोकतन्त्रको अनुहार देखाउछ । त्यसकारण कार्यकर्ता हुनु भनेको क्रान्तिकारी हुनु हो । परिवर्तनकामी हुनु हो । विचारका लागि जीवन दिन तयार हुनु हो । वा, तार्किक र नैतिक जीवन बाँच्नु हो । झोलेको जस्तो अचेत जीवन बाँच्नु होईन ।

    कार्यकर्ताले पार्टीले गलत नीति लिँदा लुटुलुटु हेरेर बस्दैन । नेता भ्रष्टाचार र दलालीमा लिप्त हुँदा ताली बजाउँदैन । ऊ अनुशासनमा बस्छ तर जब उसलाई साझा भलो र नैतिकताबाट पार्टी विचलित भएको लाग्छ ऊ पार्टीको आलोचना गर्छ । आवश्यक परे दल त्याग गर्छ । तर, अपराधको साक्षी बस्दैन ।

    कार्यकर्ता आफ्नो विचारमा आस्थावान् हुन्छ । यसको मतलब जड हुन्छ भन्ने होईन । उसले विचार गतिशिल हुन्छ भन्ने बुझ्छ तर त्यसप्रतिको इमानदारीता छोड्दैन । कार्यकर्ताले उक्त इमानदारीताको महत्व एकता निर्माण गर्दै बलियो संगठन बनाउन आवश्यक हुन्छ भन्ने कुरा बुझेको हुन्छ ।

    कार्यकर्ता नेता पनि हो । उसमा नेतृत्व गर्ने क्षमता हुन्छ । आफ्नो सन्तुष्टी अरूको सेवामा देख्ने भएकाले ऊ राजनीतिमा आएको हुन्छ । प्रक्रिया, आवश्यकता र क्षमतामा विश्वास गर्ने उसको आदत हुन्छ । वास्तवमा कार्यकर्ताविना पार्टी अगाडि बढ्नै सक्दैन । नयाँ–नयाँ नेतृत्वको जन्म हुनै सक्दैन । झोलेहरू भएको दलमा नयाँ नेतृत्व जन्मिदैन । यदि जन्मियो भने पनि पहिलेको भन्दा कमसल जन्मिन्छ । खासमा झोले हुनु भनेको पतनको बाटोमा लाग्नु हो भने कार्यकर्ता हुनु भनेको प्रगतिको बाटोमा लाग्नु हो ।

    कार्यकर्ता पार्टीमा लागे पछि आफुलाई सन्तुष्ट पाउँछ । उसको व्यतित्वको विकास भएको अनुभुति गर्छ । आफ्नो कामले पार्टी र देशको राजनीतिमा सकारात्मक योगदान गरेको देख्छ । तर, झोलेको जीवनमा यस्तो हुँदैन । ऊ निराशाको प्रतिक हो, कार्यकर्ता आशा र भविष्यको हो । झालेले सही कुरालाई पनि बिगारेर जीविका चलाउँछ । ऊ घाउँमा सप्लाउने झिँगा जस्तो हो भने कार्यकर्ताले समाजको समस्यालाई समाधान गरेर आफ्नो उद्देश्य पुरा गर्छ । उसको आयको श्रोत झोलेको जस्तो राजनीति हुँदैन । ऊ आफुमा आत्मनिर्भर हुन्छ भने अरूलाई पनि त्यसका लागि प्रेरणा दिन्छ ।

    कार्यकर्ता र झोलेमा कतिकति बेला दुविधा पनि उत्पन्न हुन्छ । झोले हुनु भनेकै कार्यकर्ता हुनु वा कार्यकर्ता हुनु भनेको नै झोले हुनु जस्तो लाग्न सक्छ । त्यस्तो भ्रम उत्पन्न हुनुमा चार कुराले भूमिका खेल्छन् । पहिलो, झोले दलको सदस्य हुन्छ भने कार्यकर्ता पनि दलकै । दुवैले दलका कुरालाई अगाडि बढाउँछन् । तर, झोले कार्यकर्ताले माथि भनिए झैँ दलको जुन सुकै कुरालाई पनि अगाडि बढाउँछ । नेताको भक्ति गर्छ । त्यो गर्दा आफ्नो स्वार्थलाई केन्द्रमा राख्छ । तर, कार्यकर्ताले राम्रो लागेको कुरालाई मात्रै अगाडि बढाउँछ । व्यक्तिको पूजा गर्दैन । नराम्रो कुराको विरोध गर्छ ।

    दोश्रो, झोले र कार्यकर्ताले दुवैले समाजका लागि काम गरेको दाबी गर्छन् । झोलेले जुन तरिकाले काम गरेको हुन्छ त्यो उपयुक्त नहुने हुँदा सही परिणाम आउन सक्दैन । तर, किन यस्तो समस्या भयो भनेर त्यसलाई सुधार गर्ने ल्याकत उसमा हुँदैन । त्यसैले गल्ती दोहोराइ रहन्छ । बरु अवस्थालाई थप बिगार्दै लैजान्छ । वास्तवमा झोले झुट बोलेको हुन्छ भने कार्यकर्ताले इमानदार प्रयास गरेको हुन्छ ।

    तेश्रो, कार्यकर्ता र झोलेबीच दुविधा सिर्जना हुने अर्को कारण हो दुवै जना उनीहरूको नेताले जे भन्छ त्यहि बोल्छन् । त्यसकारण बाहिरबाट हेर्दा कार्यकर्ता र नेता अनि झोले र दलालबीचमा उस्तै सम्बन्ध देखिन्छ । तर, अन्तर्यमा कुरा अलग हुन्छ । कार्यकर्ताको आफ्नो नेताले भनेको कुरामा अपनत्व हुन्छ । पार्टीमा त्यो मुद्दाप्रति विचार राख्ने, सुन्ने र सुनाउने अवसर पाएको हुन्छ । कार्यकर्ताले नेताका व्यक्तिगत रूपमा भनेका कुरालाई सही भन्दै हिंड्दैन । संस्थागत रूपमा उसको सहभागितामा निणर्य भएका कुराहरूलाई लिएर हिंड्छ । व्यक्तिगत रूपमा राख्ने अनेकन कुराहरूमा उसको विचार दलको नेताको विचारसँग नमिल्न सक्छ । त्यो स्वभाविक कुरा मात्रै होईन, दललाई अगाडि बढाउन आवश्यक पनि हो ।

    कार्यकर्ता र झोलेबीचमा समानता देखिने अर्को कारण हो दुवै सत्तामा पुग्ने चाहना राख्छन् । झोलेको सत्तामा पुगेर आफ्नो सिण्डिकेटलाई बलियो बनाउने र राज्यको दोहन गर्ने उद्देश्य हुन्छ भने कार्यकर्ताले पनि सत्तामा पुगेर काम गर्ने इच्छा राख्छ । यहाँ फरक के हुन्छ भने कार्यकर्ता आफुभन्दा क्षमतावान्ले काम गरेको पायो भने आफै सत्तामा जाने सोच्दैन । भन्नुको मतलब कार्यकर्ता सत्तालाई साध्य ठान्दैन र यसप्रतिको तृष्णामा फसेको हुँदैन ।

    दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।

     

     

  • राष्ट्रपतिले भने- बडो जुक्तीले शान्तिपूर्ण निकास निस्कियो

    राष्ट्रपतिले भने- बडो जुक्तीले शान्तिपूर्ण निकास निस्कियो

    राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिका माझ बडो जुक्तीले शान्तिपूर्ण निकास निस्किएको बताएका छन् ।

    शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले देशको अत्यन्तै असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात् शान्तिपूर्ण निकास निस्किएको बताएका हुन् ।

    वक्तव्यमा भनिएको छ, “संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम छ। ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गरी लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।”

    उनले यस अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफै संयमित रहँदै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

  • दलाई लामाले पनि दिए प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    दलाई लामाले पनि दिए प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् ।

    दलाई लामाले सेन्ट्रल टिबेटन एड्मिनिस्ट्रेसनमार्फत नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका हुन् ।

    वेबसाइटमा लेखिएको छ, “यस चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकाङ्क्षा पूरा गर्न म तपाईँलाई सफलताको कामना गर्दछु। मेरो प्रार्थना र शुभकामनासहित।”

    वेबसाइटमा सन् १९५९ मा तिब्बतबाट लखेटिनुपर्दा नेपालले सरकारले शरण दिएको कुरा समेत स्मरण गर्दै सानो भए पनि तिब्बती समुदायले नेपालको आर्थिक वृद्धिमा योगदान गरिरहेको उल्लेख छ । “सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेपछि तिब्बती शरणार्थीहरूको पुनर्स्थापनाको लागि सुविधा प्रदान गरेकोमा म सरकार र नेपालका जनताप्रति धेरै आभारी छु। वास्तवमा, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए पनि, मलाई विश्वास छ कि यसले नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।”

    दलाई लामाले नेपालको मामिलामा विरलै सार्वजनिक प्रतिक्रिया दिने गरेका छन् ।

     

  • ८ दलका प्रमुख सचेतकहरूले भने- संसद् विघटनको निर्णय फिर्ता लेऊ

    ८ दलका प्रमुख सचेतकहरूले भने- संसद् विघटनको निर्णय फिर्ता लेऊ

    विभिन्न ८ दलहरूका प्रमुख सचेतकहरूले संसद् विघटनको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

    शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन माग गरेका हुन् ।
    उनीहरूले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको जिकिर समेत गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद् विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजिर र संवैधानिक परम्परा विपरीत छ।”

    विज्ञप्तिमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका हितराज पाण्डे, माओवादी केन्द्रका वीरेन्द्र प्रसाद महतो, एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, जनता समाजवादी पार्टीका प्रतिनिधि, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवीको हस्ताक्षर छ ।

  • काठमाडौँमा भोलिदेखि विद्यालय खुल्ने, पढाइ पर्सिबाट

    काठमाडौँमा भोलिदेखि विद्यालय खुल्ने, पढाइ पर्सिबाट

    काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित विद्यालय आइतबार देखि खुल्ने भएका छन् । महानगरको शिक्षा विभागले आज एक सूचना जारी गर्दै भोलिदेखि विद्यालयहरू खोल्न निर्देशन दिएको हो । भोलिदेखि विद्यालय खुलेपनि पठनपाठन भने सोमबारबाट मात्र हुने छ ।

    “सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको सूचनामा भनिएको छ ।

    महानगरले भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन र विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन भनेको छ ।

    विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध समेत भनिएको छ । अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन महानगरको निर्देशन छ ।

    अभिभावकले ल्याउने वा लैजाने अवस्था नभए भर्चुअल क्लासमार्फत सहजीकरण गर्न भनिएको छ ।

  • प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनका घाइते

    प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनका घाइते

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेकी छिन् ।

    प्रधानमन्त्री कार्की शनिबार घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न सिभिल अस्पताल र ट्रमा सेन्टर  पुगेकी हुन्।

    उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छिन्।

    जेनजी आन्दोलनमा घाइते भएकामध्ये अझै पनि ३ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।