Category: समाज

समाज

  • क्रसर तथा खानी उद्योग व्यवसायीहरुको पक्षमा नेकपा एस

    क्रसर तथा खानी उद्योग व्यवसायीहरुको पक्षमा नेकपा एस

    काठमाडौं । आइतबारदेखि सडक आन्दोलनमा रहेका नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुका मागप्रति नेकपा (एकीकृत समाजवादी)ले ऐक्यवद्धता जनाएका छन् ।

    विहीबार नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरी आन्दोलन स्थल माइतीघर मण्डलामै पुगेर गएर ऐक्यवद्धता जाहेर गरेका हुन् ।

    ‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरुको मागप्रति म र आवद्ध राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको तर्फबाट ऐक्यवद्धता जाहेर गर्न चाहन्छु । यसको साथै सधैँ साथ रहने प्रतिबद्धता पनि राख्न चाहान्छु ।’

    उनले सरकार राजस्वको दायरा बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगाउने र बचाउने खेलमा लागेको कारण उद्योगी, पेशा, व्यवसायीहरु धेरैका मागहरु अलपत्र रहेको बताए ।
    उनले भने, ‘मैले के गर्नुपर्ने हो, हामीले के गर्नुपर्ने हो । नेपालमा पुँजीपतिहरुको संख्यामा कसरी वृद्धि गर्ने, राजस्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी कसरी जोगाउने, बचाउने खेलमा मात्र सरकार रहेको छ । जसका कारण उद्योगी व्यवसायीहरु धेरैका मागहरु अलपत्र अवस्थामा छन् ।’

    क्रसर तथा खानी उद्योग सम्बन्धी कानून पनि बन्दै गरेको भन्दै उनले सम्भवत यही महिनाभित्र कानूनको टुंगो लाग्ने आश्वासन दिए । सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरु सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

    व्यवसायीहरुको माग सम्बोधन नभए नीजि क्षेत्र, नागरिक एवम पीडितहरु सडकमार्फत आन्दोलन चर्काउने भन्दै आन्दोलनबाट हुने क्षतीको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै आइरहेका छन् ।

     

  • तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी

    तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पोखरा, गौतमबुद्धलगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि समन्वयन गरिहेको बताएका छन् ।

    प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वयगरी तदारूकताकासाथ कार्य गरिरहेको बताए ।
    ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,’ प्रधानमन्त्रीले भने,‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा

    अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।’दाहालले वायु सेवा प्रदायकले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुटहरू तथा सहुलीयतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी गराए ।

    यस्तै उनले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जिकिर गरे । प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाकंन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको प्रस्ट्याए ।

  • कोरियामा जस्तै शैक्षिक सम्मेलन नेपालमा गर्न मन्त्रीको सुझाव

    कोरियामा जस्तै शैक्षिक सम्मेलन नेपालमा गर्न मन्त्रीको सुझाव

    काठमाडौ । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक)ले आफ्नो २०औं स्थापना दिवसको अवसरमा ‘सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन–२०२४’को आयोजना गरिएको छ । ‘सहकार्यात्मक नेतृत्व : दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक’ भन्ने विषयलाई मुख्य आधार मानेर सम्मेलन आयोजना गरिएको हो ।

    जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा भएको सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कोरियालगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गरिन ।

    विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उनले अपील गरिन । शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्नसक्ने भन्दै यस्तो कार्यक्रममार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिइन ।

    सम्मेलनमा नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्राडा स्युङ योङ युन्, कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुईसय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरुको सहभागिता थियो ।

    उदघाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर सुनाएका थिए ।

    आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उपसमिति संयोजक डा.कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा गरेका थिए ।

    सोनसिकले नेपाली विद्यार्थीको हक हितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त एपलाई नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले सार्वजनिक गरे ।सन् २००४ मा स्थापना भएको सोनसिकले यस बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापनाको २० औं बर्ष मनाईरहेको छ । विश्वभरका आफना अलुम्नाइ मार्फत नेटवर्क विस्तार गरिरहेको सोनसिकले शैक्षिक, सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    यस वर्ष नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसर पारेर उक्त सम्मेलन सोनसिक र विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनलाई नेपाली राजदुतावासले मुख्य प्रायोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरेका थिए ।

     

  • भारतीय राजदूतावासले पोखरामा मनायाे अन्तर्राष्ट्रिय योग दिवस

    भारतीय राजदूतावासले पोखरामा मनायाे अन्तर्राष्ट्रिय योग दिवस

    काठमाडौ । अन्तर्राष्ट्रिय योग दिवसको १० औँ संस्करण मनाउन भारतीय राजदूतावासले पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्न हेतु उक्त कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्य लगायत स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

    विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरू प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको शृङ्खलासँगै बिहान सबेरैबाट सुरु भएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै सहभागीहरूलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरूबारे जानकारी दिइएको थियो ।

    भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रोफेसर प्रेमनारायण अर्यालले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए । उनले कार्यक्रमको आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिँदै विचारशील र स्वस्थ जीवन जिउन योगका फाइदाहरू खोज्न कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहित गरेका थिए ।

    प्रख्यात योग प्रशिक्षकहरूले योगका फाइदा र दैनिक जीवनमा विशेष गरी युवाहरूका लागि यसको व्यावहारिक उपयोगिताबारे व्याख्यान दिनुभयो । आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्ने बारे बहुमूल्य जानकारी र सल्लाह दिएका प्रख्यात आयुर्वेद विज्ञका परामर्शबाट पोखरा विश्वविद्यालयका विद्यार्थी तथा सङ्काय पनि लाभान्वित भएका थिए ।

  • संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रालयको जोड

    संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रालयको जोड

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृति संरक्षण र दस्तावेजीकरणको लागि नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिइएको बताएका छन् ।

    काठमाडौंमा बुधबार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक बहुसांस्कृतिक भएकै कारण संस्कृतिबाट नै समृद्धिको आधार तयार हुने भन्दै यसमा सरकारले विशेष ध्यान दिएको दाबी गरे ।

    उनले भने, ‘नेपाल बहुसांस्कृतिक देश भएकै कारण संस्कृतिबाट नै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यान दिइ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवर्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ ।’

    यस्तै, उनले सांस्कृतिक संस्थान संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय भएको भन्दै हरेक जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल आवश्यक रहेको बताए ।

    उनले भने, ‘मन्त्रालयको संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएको हुनाले नेपाल र नेपालीको पहिचानसँग जोडिएको संस्कृतिजस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरि हरेक जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल आवश्यक छ ।’

    सांस्कृतिक रुपान्तरणसँगै समाज रुपान्तरणका लागि नेपाल सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एक मात्र आधिकारिक एंव जेष्ठ निकाय सांस्कृतिक संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।

     

  • ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने

    ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यहि असार ७, ८ र ९ गते तीन दिन ‘सहकारी रोजगार मेला २०८१’ आयोजनामा गर्ने भएको छ ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघले ललितपुरको पुलचोकमा मेला लाग्ने जानकारी दिएको छ ।

    ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मुख्य नाराका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन लागेको रोजगार मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरू प्रवर्द्धन गर्ने प्रतिबद्धतामा कोसेढुङ्गा सावित हुने आयोजकको विश्वास छ ।

    ‘हाल ३१ हजार भन्दा वढी सहकारी संघ संस्थामार्फत १ लाखलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौं ।

    मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्नेलगायतका उद्देश्यवाट प्रेरित छ,’ महासंघले जनाएको छ ।

    मेलामा ५० भन्दा बढी उत्कृष्ट सहकारी संघसंस्थाहरुको सहभागिता हुने छ भने ५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा विभिन्न संघसंस्थाका ३० वटा स्टल रहनेछन् ।

    मेलामा हाल पूर्ण रोजगारमा नरहेका व्यक्तिहरु, उत्पादनको क्षेत्रमा काम गरिरहेका, साना तथा मझौला उद्योग सञ्चालन गरिरहेका, कृषि उत्पादन तथा बजारिकरणमा लागेका, १६ वर्षदेखि माथि जुनसुकै उमेर समूहका व्यक्तिहरु, सेवानिबृत्त तथा हाल रोजगारको खोजीमा रहेकाहरुले सहभागिता जनाउन सक्नेछन् ।

    सहकारी रोजगार मेलालाई नेपाल सरकार भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायतका संघ संस्थाको छ ।

  • जलवायु परिवर्तनको असरबारे राष्ट्रपतिको ध्यानाकर्षण

    जलवायु परिवर्तनको असरबारे राष्ट्रपतिको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमणका क्रममा नेपालमा जलवायु परिवर्तनका नकारात्मक असर र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको परराष्ट्र सचिव सेवा लम्सालले जानकारी दिएकी छन् ।

    आज राष्ट्रपति स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए पछिको पत्रकार सम्मेलनमा सचिव लम्सालले ‘ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घघाटनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले श्रमिकहरुको लागि नेपाल सरकारले लिएका प्रमुख कदमको बारेमा प्रकाश पार्दै जलवायु परिवर्तनको असरतर्फ पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताइन् ।

    उनले भनिन्, ‘जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घघाटनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै श्रमिकहरुको सामाजिक न्याय सुनिश्चित गर्न नेपाल सरकारले लिएका प्रमुख कदमको बारेमा प्रकाश पार्दै जलवायु परिवर्तनका नकारात्मक असर र यसले सामाजिक न्याय सुनिश्चित गर्न थपिएका चुनौतीका बारेमा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको थियो ।’

    यसको साथै, राष्ट्रपतिले विश्वका सबै मुलुकहरुलाई स्वदेशी कामदारहरु सरह सम्मान गर्न र आफ्नो नागरिक सरह व्यवहार गर्न आह्वान पनि गरेको बताइन्  स्वीट्जरल्याण्डका भ्रमणका क्रममा राष्ट्रपति पौडेलले त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निमन्त्रणा गरेका छन् ।

  • स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

    स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् ।

    बुधबार ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए । उनले डिजिटल स्काउटिङको आवश्यकता औंल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराए ।

    कार्यक्रममा शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, ‘स्काउट अब समय सापेक्ष हुनुपर्छ । त्यो भनेको २१ औं शताब्दिमा धेरै जसो संस्थाहरु समय सापेक्ष बन्न खोज्ने क्रममा आफू को हो र के का लागि स्थापना गरेको भन्ने नै विर्सने बानी छ यहाँ । तर नेपाल स्काउटले २१ औं शताब्दि सापेक्ष हुने आफ्नो जरा, माटोलाई नबिर्सिकन मूल्य मान्यता अगाडि बढाउनु पर्छ ।’

    यस्तै, स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ् द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए । उनले त्यो सँगै सापेक्ष स्काउट बनाउनका लागि स्काउटको डिजिटल रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

    ‘सबै कुरा डिजिटलमा सिफ्ट हुँदै जाँदा सामाजिक गतिविधि पनि त्यहाँ हुने भएकाले डिजिटल स्काउटिङ आजको आवश्यकता हो । यसमा गम्भीर हुन आग्रह गर्छु,’ मन्त्री श्रेष्ठले भने ।

    मन्त्री श्रेष्ठले सामाजिक, सांस्कृतिक पक्षको कार्यसँगै विश्वव्यापी चुनौतीको रुपमा आएको मानसिक स्वास्थ्यको मुद्दामा समेत स्काउटले काम गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘स्काउट जुन भद्र र शिष्ट तरिकाले गैरहेको छ यसले ग्लोबल मुद्दा भैरहेको हेट स्पिचमा सर्तक हुन पर्छ । किनभने मानसिक स्वास्थयको समस्या धेरैमा पाइएको छ । विशेषगरी महिलाहरुमा देखिएको मनोवैज्ञानिक चुनौतिमा स्काउटले हेर्नुपर्छ ।’

    यस्तै उनले दीगो विकासको लक्ष्य हाँसिल गर्नमा स्काउटले महत्वपूर्ण सहयोग गर्न सक्ने चर्चा गरे ।सरकारी र अन्तर्राष्ट्रिय कार्यक्रमहरु धेरै भन्दा धेरै स्काउटले लिनुपर्नेमा जोड दिँदै उनले भने, ‘दीगो विकासको लक्ष्य हासिल गर्न नेपालले जुन सन्धिहरु गरेको छौं, त्यसको लागि स्काउट एउटा एकदमै राम्रो संगठन हो जसले दीगो विकास लक्ष्यलाई योगदान गर्न सक्छ ।’

  • गण्डकी, बागमती, कर्णालीमा बिहानैबाट वर्षा, दिउँसो कोशीमा भारी वर्षाको सम्भावना

    गण्डकी, बागमती, कर्णालीमा बिहानैबाट वर्षा, दिउँसो कोशीमा भारी वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    बुधबार बिहानैबाट कोशी, बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

    आज दिउँसो बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

    यस्तै, बुधबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

  • संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवान गोलेले गरे आत्महत्या

    संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवान गोलेले गरे आत्महत्या

    काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

    बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए ।

    ‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैंलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने ।

    उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैंले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए ।जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ ।

    मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन् ।