Category: समाज

समाज

  • श्रमाधान मेलामा शिक्षामन्त्री, सहकार्य गर्न इच्छुक

    श्रमाधान मेलामा शिक्षामन्त्री, सहकार्य गर्न इच्छुक

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’आज(मंगलबार)देखि वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ ।

    मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवात मात्रै भएको वताइन । मेलाले रोजगारीको अवसर मात्रै होइन करिअर काउन्सिलको काम पनि गर्ने बताइन् । मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ ।

    ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि करिअर काउन्सिलबाट सुरु गर्दैछौ,’ उनले भनिन । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने बिषयमा पनि छलफल गरिने उनले बताइन ।

    त्यस्तै, शिक्षामन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन् । ‘अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सृजना तथा स्वरोजगार बन्न युवाहरुलाई प्रेरित गर्ने सक्छौ । सहकार्य लागि पनि हामीले छलफल चलाईरहेका छौ ।’

    जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा आजदेखि शुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ ।

    मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

  • कभर्ड निर्माणमा काम नगर्ने ठेकेदारलाई प्रश्रय दिएको भन्दै महालेखाले उठायो प्रश्न

    कभर्ड निर्माणमा काम नगर्ने ठेकेदारलाई प्रश्रय दिएको भन्दै महालेखाले उठायो प्रश्न

    काठमाडौ। मकवानपुरको थाहा नगरपालिकामा कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यवसायीलाई उन्मुक्ति दिइएको भन्दै महालेखाले प्रश्न उठाएको छ । सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङले कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने, सरकारी बाँकी रकम असुल गर्नुपर्ने लगायत कुनैपनि प्रक्रिया पूरा नगरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

    समयमै निर्माणको काम गर्ने भनेर निर्माण कम्पनीले म्याद थप गरेपनि काम भने अधुरै राखेको थियो । त्यसतर्फ ध्यान दिन महालेखा परीक्षकको कार्यालयले ध्यानाकर्षण समेत गराएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यालयले थाहा नगरपालिकामा निर्माण हुने कभर्डहलको लागि ७ करोड ६४ लाख ४६ हजार लागत लाग्ने अनुमान गरेको थियो ।

    तर, ४ करोड ९४ लाख ५२ हजारमा निर्माण व्यवसायीसँग २०७८ साल असोज ११ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ साल असोज ११ गते नै एक वर्षको लागि सम्झौता गरेको थियो ।

    तोकिएकै समयमा काम पूरा नगरेको निर्माण कम्पनीलाई दुई पटक आयोजनाको म्याद थप गरेको देखिएको छ । पछिल्लो पटक २०७९ साउन ११ गतेसम्मलाई समय थपिएको प्रतिवेदनमा उल्लेख छ । सम्झौताको चार वर्षमा पनि उक्त हलले पूर्णता नपाएपछि २०८० असार १७ गते पेश्की जमानत २८ लाख र कार्य सम्पादन जमानत ६२ लाख जफत गरी ठेक्का तोडिएको प्रतिवेदनमा उल्लेख छ ।

    ‘प्राविधिक प्रतिवेदन अनुसार २०७८ कार्तिकदेखि निर्माण व्यवसायीले काम अगाडि नवढाएको, निर्माण कार्य अगाडि बढाउन पटक पटक ताकेता पत्र पठाउँदा समेत सम्पर्कमा नत्राएको र जवाफ पनि नपठाएको कारण पेश्की जमानत २८ लाख र कार्य सम्पादन जमानत ६२ लाख जफत गरी २०८० असार १७ मा ठेक्का सम्झौता अन्त्य गरेको छ,’ महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    तर, इकाइले निर्माण व्यवसायीलाई ज्यादा रकम दिएको, ठेक्का तोडिसकेपछि व्यवसायीबाट भुक्तानी फिर्ता गराउन कुनै प्रयास नगरेको समेत महालेखाले औंल्याएको छ । ‘निर्माण व्यवसायीले सम्झौता बमोजिम १ करोड ३८ लाख ५२ हजारको कार्य गरी काम गरी भुक्तानी लिएको र ३ करोड ५६ लाखको काम बाँकी राखेको छ । लागत अनुमान अनुसार सम्पादन हुन बाँकी काम ५ करोड ८९ लाख ५२ हजार रहेको छ ।

    ठेक्का तोडेपश्चात निर्माण व्यवसायीलाई कालो सूचीमा राखे तथा उक्त सम्पादन हुन बाँकी कामको लागि निज निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असूल उपर गरी अधुरो कार्य पूरा गर्ने प्रक्रिया अघि बढाएको देखिएन’, प्रतिवेदनमा भनिएको छ ।

     

  • सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

    सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

    काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए भने बाँकी सञ्चालकले नै बन्द गरेका हुन् ।

    विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।

    विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहराहरुमा ताला लगाएका हुन् ।

  • ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि

    ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि

    काठमाडौं । ललितपुरमा आजबाट ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ ।
    पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ ।

    मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटल एसोसियसन नेपाल (हान), नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गर्नेछन्। बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष राखिने छन् ।

    सातै प्रदेशमा सञ्चालन गरिएको मेलाको उद्घाटन यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमत्री पुष्पकमल दाहालले सुरु गरेका थिए । यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित विरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा सम्पन्न श्रमाधान रोजगार मेला आज बागमती प्रदेशको ललितपुरमा सुरु हुँदैछ ।

    मेला बुधबार सम्पन्न हुन लागेको हो। मेला प्रत्येक प्रदेशमा दुई दुई दिन सञ्चालन भइरहेको हो।मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।

  • बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा

    बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा

    काठमाडौं । बागमतीस्तरीय प्रदेश श्रमाधान रोजगार मेला मंगलबार र बुधबार ललितपुरस्थित पाटन क्याम्पसमा हुने भएको छ ।

    आफ्नो क्षमता र योग्यताअनुसारको रोजगारीको खोजीमा रहेकालाई काम र कामदार चाहिएका रोजगारदातालाई जोड्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा आयोजना गरेको मेला बागमतीमा पनि हुन लागेको हो । जेठ १७ गतेदेखि सुरु मेला ३० गते समापन हुँदैछ ।

    बागमती प्रदेश रोजगार मेला समितिले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जनाएको छ । मेला पाटन क्याम्पसको हलमा मंगलबार बिहान १० बजेदेखि सुरु हुनेछ ।
    बागमती प्रदेश रोजगार मेला संयोजक डम्बर बहादुर सुनुवारले स्वदेशमा नै केही गर्न सकिन्छ भनेर यो मेला एउटा कोसे ढुंगा साबित हुन सक्ने बताए ।

    उनले भने, ‘श्रमसँग जोडिएका सबै सम्भावना, अवसर र चुनौतीहरुलाई कहाँ कसरी जोड्नु पर्छ र नेपालको आन्तरिक रोजगारीलाई कसरी व्यवस्थित गर्नपर्छ भन्ने विषयलाई केन्द्रमा राखेर सम्पूर्ण आयामहरुलाई जोड्दै हामीले पूर्वबाट सुरु गर्दै भोली बागमती प्रदेशमा बिट मार्ने हाम्रो तयारी हो ।’

    देशमै केही गर्छौ भन्ने युवा शक्तिहरुलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको उनले बताए ।मेलाका लागि हरेक प्रदेशमा दुई दुई दिनको समय निर्धारण गरेर थालिएको हो । जेठ १७ गते कोशी प्रदेशबाट सुरु भएको मेला बागमती प्रदेशमा अन्तिम हुनेछ ।

    कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २०, गण्डकी प्रदेशको पोखरामा २१ र २२, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते आयोजना गरिएको थियो ।

  • काठमाडौं महानगरले विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउँदै

    काठमाडौं महानगरले विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने तयारी गरेको छ ।

    सोमबार एक विज्ञप्तीमार्फत वडा कार्यालय र टोल विकास संस्थाहरुलाई सार्वजनिक शौचालयका लागि सहयोग गर्न महानगर कार्यपालिकाले अनुरोध गरेको छ ।

    कार्यपालिकाले निजी प्रयोजनका लागि बनाइएका शौचालयलाई सार्वजनिक प्रयोग गर्न मिल्नेगरि शौचालय बनाउन २५ जना स्वयंमसेवक खटाएको छ ।

  • श्री केश तेल गुणस्तरीय रहेको उत्पादक कम्पनीको प्रष्टीकरण

    श्री केश तेल गुणस्तरीय रहेको उत्पादक कम्पनीको प्रष्टीकरण

    काठमाडौं । कपालमा लगाउने ‘श्री केश’ ब्राण्ड तेलको उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ ।

    श्री केश तेलका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कम्पनीले दाबी गरेअनुसारको गुणस्तर नभएको भन्दै प्रश्न उठ्ने क्रम बढेपछि कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएको हो ।

    कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले श्री केश हेयर आयलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण, उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बताए ।

    उत्पादनको प्रक्रियाबारे जानकारी दिन श्रव्यदृश्य रिपोर्ट सञ्चारकर्मीलाई देखाएको कम्पनीले कार्यक्रममा ३२ प्रकारका जडीबुटी संकलन, प्रशोधन र प्याकेजिङबारे प्रष्ट्याएको छ ।

    ‘जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरुको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना छ,’ उनले भने, ‘जसबाट बेरोजगारी घटाइ गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पुग्नेछ ।’

    उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धान जस्ता कार्यक्रम सरकारले बजेटमा समावेश गरेकोमा उनले खुसी व्यक्त गरे ।

    ‘नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुनेछ भन्ने आशा लिएका छौं,’ उनले कम्पनीद्वारा जारी विज्ञप्ति वाचन गर्दै भने, ‘नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको जानकारी गराउँदछु ।’

    कम्पनीले युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी तेल उत्पादन गरेर विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने र कृषकलाई आत्मनिर्भर बनाएर रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने काम गरिरहेको प्रबन्ध निर्देशक बुढाथोकीले बताए ।

    कम्पनीले जडीबुटी संकलक, किसान, बिक्रेता, उद्योगका कामदार–कर्मचारी सबैलाई प्रत्यक्ष एवम् परोक्ष रोजगारी प्रदान गरिरहेको पनि उनले बताए ।

  • विमानस्थल बन्द गरेर उद्धारबारे तालिम

    विमानस्थल बन्द गरेर उद्धारबारे तालिम

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने सम्बन्धी अभ्यास सम्पन्न भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइ उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धी सबै निकायहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    एयरपोर्ट अपरेशन डिपार्टमेन्टको निर्देशक एवं एरपोर्ट प्रवक्ता सुवास झाले यो अभ्यास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक दुई वर्षमा सम्पन्न गर्ने बताए ।

    उनले विमानस्थलमा आपत्तकालिन अवस्थामा सम्बन्धीत विभिन्न निकायले आफ्नो काम प्रभावकारी रुपमा गर्न सक्छन् कि सक्दैँनन् भन्ने जाँच गर्नको लागि एयरपोर्ट इमरजेन्सी प्लान अनुसार हुने गरेको पनि बताए ।

    उनले भने, ‘हामीले यो तालिक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेका दुइ वर्षमा पूर्ण कौशल आपतकालीन अभ्यास (फूल स्केल इमर्जन्सि एक्सर्साइज) गर्नुपर्ने हुन्छ । जसमा विमानस्थलमा आपत्तकालिन अवस्थामा कुनै घटना भयो भने, त्यो अवस्थामा हाम्रो विभिन्न निकायले आफ्नो काम प्रभावकारी रुपमा गर्न सक्छन् कि सक्दैँनन् भन्ने जाच गर्नको लागि हाम्रो एरपोर्ट इमर्जन्सि प्लानमा सबैलाई काम दिइएको छ त्यो अनुसार सबैले काम गर्नु हुन्छ कि नाइ भनेर जाच गर्नको लागि पनि यो एउटा काल्पनिक घटनालाई परिकल्पना गरेर त्यसमा कसरी उद्धार गर्ने भनेर तालिम गरेको हो ।’

    दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो । अभ्यासको अवलोकन गर्न पर्यटन मन्त्री हितबहादुर तामाङलगायत अधिकारीहरू उपस्थित थिए ।

     

  • वाइ वाइले ल्यायो क्रिकेट स्पेसल प्याकेट

    वाइ वाइले ल्यायो क्रिकेट स्पेसल प्याकेट

    काठमाडौं । टी–२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सीजी फुड्स नेपाल लिमिटेडले ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

    सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो ।

    टी २० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको नयाँ प्याकेट विशेष हुने अपेक्षासहित नयाँ प्याकेट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

    पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

    सोही क्रममा क्यानका सचिव खड्काले प्राप्त रकमलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्ने बताए ।

    उनले भने, ‘जतिपनि रकम प्राप्त हुन्छ त्यसलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्नेछांै । वाइ वाइले घोषणा गरेको रकम सम्पूर्ण नेपाली क्रिकेट टिममा नै आउनेछ । टिमको हौसला बढाउनुपर्छ भनेर पनि सम्झौता गरिएको हो ।’

    साथै उनले क्रिकेटलाई सुधार गर्नको लागि क्यान निरन्तर लागि रहेको पनि बताए । विगत लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला यू–१९ टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने जनाइएको छ ।

    यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा रु ३० लाख तथा मनोवल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत रु. १ हजार, प्रत्येक चौका वापत रु.८ हजार, प्रत्येक छक्का बापत रु.१२ हजार, प्रत्येक विकेट बापत रु. १५ हजार, प्रत्येक अर्धशतक वापत रु. ५० हजार, प्रत्येक शतक वापत रु एक लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

     

  • बागमती सफाइ अभियान जेठ ३० गतेबाट

    बागमती सफाइ अभियान जेठ ३० गतेबाट

    काठमाडौं । यस वर्ष बागमती नदी सरसफाई महोत्सवको २४ औँ संस्करण यही जेठ ३० गतेबाट सुरु गरिने भएको छ ।

    नेपाल नदी सरक्षण संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा २००१ देखि सुरु गरेको अभियान यसवर्ष नेवार समुदायले मनाउने सिथी नख : पर्वको दिन पारेर २४ औँ सस्करणको उदघाटन गर्ने संस्थाकी सुमिक्षा खड्काले जानकारी दिइन । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न कार्यक्रम गरी महोत्सव साढे दुई महिनासम्म मनाउने तयारी आयोजकको छ ।

    ‘विभिन्न निजी, सरकारी तथा समाजिक संघ संस्थाको सहकार्यमा महोत्सवको २४ औं संस्करण मनाइँदै छ । नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उदघाटन हुने यस अभियान साढे दुई महिनासम्म हरेक हप्ता नदी सरसफाइ, पर्यावरणीय संरक्षण, कला, साहित्य, तथा संस्कृती झल्काउने कृयाकलाप, नदीमा र्याफ्टिङ र जल पर्यटनको सम्भावनाको उजागर गर्नेगरी कार्यकमहरुको योजना बनाइएको छ,’ खड्काले भनिन् ।

    कार्यक्रम काठमाडौं र ललितपुर महानगरपालिकाको स्वामित्वमा रहेको बागमती नदी सरसफाइमा केन्द्रीत रहनेछ । भदौको पहिलो शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरी महोत्सवको समापन गर्ने तयारी छ ।

    बढ्दो सहरीकरण, काठमाडौंबासीको लार्परवाही, नीतिगत व्यवस्थाको कार्यान्वयनमा कमजोरी र सरसफाइमा चासो नहुनु नै बागमती नदीको अवस्था टिठलाग्दो भएको अभियानको निष्कर्ष छ । साथै तीन दशकदेखिको नदी सफाइ अभियानको प्रभावकारिता सावित हुन नसकेको खड्काले बताइन ।

    उनले भनिन्, ‘जैविक विविधताको दृष्टिकोणले समेत महत्वपूर्ण बागमती नदीको संरक्षणका लागि तीन दशकदेखिका प्रयासहरुको हालसम्म कुनै दिगो प्रभाव भने देखिएको छैन् ।’

    नदीको हालको समस्या समाधान गर्न समय सापेक्ष जनचेतनामूलक कार्यक्रमहरुको आवश्यकतालाई मध्यनजर गर्दै बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धन गर्ने मुख्य उद्देश्य लिएर महोत्सवकै रुपमा बाग्मती नदी महोत्सव सुरुवात गरिएको आयोजकले जनाएको छ ।

    सरकारले आर्थिक वर्ष २०८१/८२ मा बागमती सफाइ र सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरेको छ । त्यसले नदी सफाई कार्यक्रमको महत्व झन् बढाएको अभियानको ठहर छ ।