Category: समाज

समाज

  • घरेलु मदिरा नष्ट अभियानमा रौतहट प्रहरी, भट्टीहरु तोडफोड

    घरेलु मदिरा नष्ट अभियानमा रौतहट प्रहरी, भट्टीहरु तोडफोड

    काठमाडौ। रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरु नष्ट गरेको हो ।

    गौर नगरपालिका ५ स्थितमा बस्ने सुुशिल श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट तयारी मदिरा १५ लिटर, कच्चा पदार्थ दुईसय लिटर घरेलु मदिरा प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।भट्टीबाट मदिरा बनाउन प्रयोग गरिने ग्यास एकवटा, ग्यास चुलो एकवटा र भाडाबर्तन ३१ वटा समेत नियन्त्रणमा लिएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीय सामाजिक अगुवाहरुको रोहवरमा नष्ट गरिएको छ । त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुदै आएको सूचनाका आधारमा प्रहरीले भट्टीहरु नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक एलिजा गिरीका अनुसार प्राय घरेलु मदिराका कारण गाँउ घरमा झै झगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको हो ।

    भारतीय भूमीमा मदिरा बिक्री वितरणमै रोक लगाइएकाले भारतीय नागरिक नेपालतर्फ खुलेका अवैध भट्टीमा मदिरा पिउन आउने गर्छन । जसका कारण समाजिक अपराधका घटना बढेको प्रहरीको वुझाई छ ।घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाई छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ ।

    जिल्ला प्रहरी कार्यालयमा सूचना प्राप्त हुने बितिकै त्यहाँ प्रहरी पुगेर धमाधम भट्टी पसल भत्काउने काम गदै आएको उल्लेख गरेको छ ।जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • गौर नगरपालिकामा पहिलो पटक कृषि एम्बुलेन्स संचालन

    गौर नगरपालिकामा पहिलो पटक कृषि एम्बुलेन्स संचालन

    काठमाडौ। रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ । किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो ।

    कृषि एम्बुलेन्स सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ ।

    गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुका अनुसार किसानले उब्जाएको कृषि उपज, फलफुल तथा नगदे बालीको ढुवानीमा सहज हुनेछ । कृषकलाई घर तथा खेतसम्म सेवा दिनको लागि कृषि प्राविधिकको उपयोगको लागि कृषि एम्बुलेन्स ल्याइएको उनको भनाई छ । कृषकले उत्पादन गरेका बालीको ढुवानी तथा बजारीकरणमा नै समस्या आएकाले सम्भवतः यस जिल्लामा नै पहिलो पटक कृषि एम्बुलेन्स संचालनमा ल्याइएको उनले दावी गरेका छन् ।

    उनले कृषक, पशुपालक, कुखुरा व्यवसायीले पनि कृषि एम्बुलेन्सले सहयोग लिन सक्ने बताए । कृषि र पशुपक्षी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि कृषि प्राविधिक ठाउँको ठाउँ उपलब्ध गराउन कृषि एम्बुलेन्सले नगरका किसानको हकमा महत्वपूर्ण काम गर्ने नगरप्रमुख साहको भनाइ छ ।गाउँका कृषक नागरिकको जनजीवन उकास्न व्यवसायिक कृषि उद्यम नै प्रमुख माध्यम भएको ठहर गर्दै त्यसलाई प्रबद्र्धन गर्न कृषि एम्बुलेन्स उपयोगी हुने वुझाई छ ।

    एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु खुसी भएका छन् । यसअघि कृषक उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता भइरहेको बेला एम्बुलेन्स पाएपछि अव बेच्न सहज हुने कृषकहरु बताउँछन् । कृषि नै आयआर्जन र समृद्धिको आधार भएको भन्दै कृषि प्रबद्र्धन गर्न गौर नगरपालिकाले वर्षेनी बजेट छुट्याउने गरेको छ ।

    गौर नगरपालिकाले कृषि क्षेत्रलाई बिशेष प्रथामिकता दिदै आएको समेत उल्लेख गरेको छ । किसानलाई नयाँ र आधुनिक खालको विउविजन निःशूल्क उपलब्ध गराउनेदेखि उत्पादित कृषि उपज व्यवस्थापन विक्री वितरण गर्नेसम्म गौर नगरपालिकाले सहयोग गर्दै आएको जनाएको छ ।

  • काठमाडौंमा भइरहेको बर्षा उत्तरपूर्वतर्फ सर्ने क्रममा

    काठमाडौंमा भइरहेको बर्षा उत्तरपूर्वतर्फ सर्ने क्रममा

    काठमाडौं । काठमाडौंमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । पश्चिमी भू–भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो । विभागका अनुसार काठमाडौंमाअझै केही घण्टा वर्षा हुनेछ । त्यसपछि विस्तारै पानी काभ्रे हुँदै पूर्वतर्फ अघि बढ्ने छ ।

    बुटवल–चितवनबाट विकास भएको स्थानीय प्रणाली काठमाडौंसम्म आइपुगेको हो । डेढ दुई घण्टाअगाडि बुटवल र चितवनमा विकास भएको स्थानीय वायुको प्रणाली सर्दै काठमाडौं आइपुगेको हो ।
    विभागले भनेको छ,‘हाल गण्डकी, बागमती र मधेश प्रदेशमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकसीत भई यी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भईरहेको छ र उत्तरपूर्वी भू–भागतिर सर्ने क्रममा रहेको हुंदा सतर्क र सचेत रहौं।’

    यस वर्षको मनसुन हाल (३१ मे २०२४) भारतको उत्तर पूर्वी भू –भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको थियो ।

     

  • कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने क छ।

    हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
    हाल कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

    मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

    यस्तै, आज राती कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने

    मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने

    काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ ।

    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले मनसुनजन्य विपद्बाट यो वर्ष १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताएका छन् ।मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ ।

    कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने जनाएको छ ।

    यस्तै, मधेश प्रदेशमा २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पर्ने, बागमतीमा सात हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र एक हजार पाँच सय घरपरिवारलाई राहत तथा उद्धार आवश्यक हुने पूर्वानुनुमान गरिएको छ । लुम्बिनी प्रदेशमा १५ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय र सुदूरपश्चिममा करिब एक हजार पाँच सय घरपरिवार मनसुनबाट प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान छ ।

    मनसुनजन्य विपद् परेका नागरिकको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरीका गरी ३१ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी गृह मन्त्रालयको छ । मन्त्रालयले विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गर्ने, काठमाडौं, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राख्ने, अवरुद्ध सडक खुलाउन आवश्यक साामग्री र जनशक्ति तयारी अवस्थामा राखिने लगायतका योजना बनाएको छ ।

    यस्तै, बाढी पहिरोको कहरबाट नागरिक बच्न बचाउन सातै प्रदेशमा कम्तीमा पाँच वटा हिसाबले ३५ वटा बेलिब्रिज राख्ने तयारीसमेत गृहले गर्ने जनाएको छ ।

  • समाज रुपान्तरणमा गीत संगीतको ठूलो भूमिका छ : उपसभामुख

    समाज रुपान्तरणमा गीत संगीतको ठूलो भूमिका छ : उपसभामुख

    काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सामाजिक र राजनीतिक रुपान्तरणमा गीत संगीतको ठूलो भूमिका रहेको बताएकी छन् ।

    काठमाडौंमा सोमबार अन्तर्राष्ट्रिय रचनात्मक संगीत पुरस्कार २०२४ को ग्रान्ड फिनालेमा उनले मानिसको सोच परिवर्तन नभएसम्म रुपान्तरण सम्भव नभएको भन्दै त्यसका लागि कलाकारहरु महत्वपूर्ण भएको बताइन् ।

    उनले भनिन्, ‘सपना बोकेका नयाँ कलाकारहरु, पुराना कलाकार, जो अफ्नो जीवनभर कला, संस्कृतिलाई जोगाउन योगदान दिने काम गर्नु भएको छ । यस्तो कलाकार हाम्रो देशको लागि एकदमै महत्वपूर्ण हुन्छ । हामीले मानिसको सोच परिवर्तन गर्न नसकेसम्म सामाजिक र राजनीतिक रुपान्तरण गर्न सक्दैनौ । तपाई जस्तो कलाकारहरुले कला र अभिनयबाट आफ्नो तर्फबाट रुपान्तरणको लागि जुन प्रयास गर्नु भएको छ ।’

    उनले कलाकर्मीको जीवनका विषयमा पनि चिन्ता व्यक्त गरिन । देशका लागि बाँच्ने कलाकारका लागि देशले केही गर्न नसकेको भन्दै चिन्ता जाहेर गरेकी हुन् ।

    उनले भनिन्, ‘देशको लागि जीवनयापन गर्दा पनि उनीहरुको लागि देशले केही गर्न नसकेको देख्दा दुःख लाग्छ तर पनि म तपाईहरुको यो कामको लागि सलाम गर्न चाहन्छु र उत्साह भर्न चाहन्छु ।’

  • जातीय विभेत नहटेकोमा चिन्ता

    जातीय विभेत नहटेकोमा चिन्ता

    काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबलीले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा वहस कार्यक्रम गरेको छ ।सोमबार काठमाडौं स्थित आरआर क्याम्पसको प्रर्दशनीमार्गमा संविधानमा जातीय भेदभाव नगर्ने भनेर घोषणा गर्दा पनि आजसम्म लागु नभएको भन्र्दै वहस गरेका हुन् ।

    कार्यक्रममा सहभागी कानुन विद्यार्थी रञ्जना कामीले, गाउँ र सहरमा जातीय विभेद घट्दो भन्दा पनि बढ्दो क्रममा रहको गुनासो गरिन् ।धेरै पढेलेखाकाहरुबाट नै झन धेरै जातीय विभेद हुने गरेको भन्दै भनिन्, ‘गाउँ र सहरमा जातीय विभेद केही फरक छैन । सहरमा अलिकति स्टान्डर्ड मेनटेन गर्न खोज्छन् त्यतिमा फरक हो । तर जातीय विभेद जहाँको त्यहिँ नै छ । बरु बढिरहेको छ । तर कम भने कलिकति पनि भएको छैन । जुन ठाउँमा जातीय विभेद गर्न हुँदैन् भनिन्छ त्यहि ठाउँमा झन धेरै भेदभाव हुन्छ । म त भन्छु कक्षा ५ देखिनै जातीय भेदभाव सम्बन्धि छुट्टै पाठ्यक्रम राख्नुपर्छ । किनकी मास्टर डिग्रि पढेकाहरुले झन धेरै भेदभाव गरेको पाईन्छ । तिनिहरुलाई पढे लेखेको भन्ने हामीले ?’

    भर्खर जातीय विभेद अन्त्यका लागि सामाजिक कथावस्तुमा आधारीत गत १० गतेदेखि प्रदर्शनमा आएको फिल्म पुजार सार्कीको समेत टिप्पणी गरेकी छिन् । उनले फिल्मले बिजनेस ग¥यो पैसा कमायो आफ्नो व्यापार गरेको छ तर फिल्मले केही परिवर्तन नहुने उनको भनाई छ ।उनले भनिन्, ‘लाईक फलोअर्सको लागि भाइरल हुन जे पनि गर्ने जमाना आइसक्यो, उदाहरणका लागि खुलेआम भन्छु भर्खरै प्रदर्शनमा आएको फिल्म पुजार सार्की फिल्मले बिजनेस ग¥यो । तर परिवर्तन केही पनि हुँदैन । पैसा कमायो आफ्नो व्यापार ग¥यो ।’

  • आज १८ औँ जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस

    आज १८ औँ जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस

    काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुतविरुद्धको १८ औँ राष्ट्रिय दिवस संघीय राजधानी काठमाडौंसहित देशैभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसद्बाट जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा को प्रस्ताव पारित गरेको थियो । त्यही दिनलाई आधार मान्दै सरकारले त्यसयता हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत दिवस मनाउने गरिएको छ । सोमबार पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् ।

    संयुक्त राजनीतिक दलित संघर्ष दलित, राष्ट्रिय दलित आयोग लगायत संघसंस्थाको संयुक्त आयोजनामा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नेछन् ।त्यस्तै, दिवसकै अवसरमा प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । नेपालमा हजारौँ वर्ष पहिलेदेखि सामाजिकरुपमा रहेको जातीय भेदभाव र छुवाछुतलाई पहिलो मुलुकी ऐन १९१० ले कानूनी मान्यता दिएको थियो । मुलुकी ऐनलाई जातीय भेदभाव नगर्ने व्यक्तिलाई नै कारबाही गर्ने व्यवस्था गरेको थियो । मुलुकी ऐन २०२० ले त्यसलाई हटाएपनि उत्पीडित समुदायलाई न्यायका लागि भने खासै प्रबन्ध गरेको थिएन ।

    नेपालको संविधानले २०७२ ले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प छ ।

    राज्यले कानूनीरुपमा संस्थागत गरेर समाजमा जात प्रथा स्थापित गरेको र अब कानूनीरुपमै त्यसलाई निरुपण गर्नुपर्ने भन्दै दलित समुदायले क्षतिपुर्तिसहितको विशेष व्यवस्था गर्न माग गर्दै आएको छ । शताब्दीऔँसम्म राज्यबाट पछाडि पारिएको समुदायलाई अब विशेष व्यवस्था गरेर उनीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक शशक्तिकरण गरिनुपर्ने माग उठ्दै आएको छ ।

     

  • डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस’

    डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस’

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ ।
    शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् ।

    लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताए । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए ।उनले भने,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपयो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्पे्रषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

    कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ

  • महानगरले वुमन अफ द वल्र्ड फेस्टिभल आयोजना गर्ने

    महानगरले वुमन अफ द वल्र्ड फेस्टिभल आयोजना गर्ने

    काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किएकी छन् ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन ।

    ‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो, ’ डंगोलले भनिन, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो ।

    राजनीतिक क्षेत्रको प्रतिनिधित्व गर्दै अष्टे«लियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेका थिए ।फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन ।संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन ।

    सम्मेलनपछि विभिन्न द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ् द हिमालयज’ कार्यक्रममा सहभागी भइन ।नेपालका हिमाली क्षेत्रका तस्वीर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उनले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयासहरु गरिरहनुपर्ने बताइन ।

    यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘सहरीकरणको अभ्यास अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासका बारेमा प्रस्तुतिकरण गरेकी थिइन ।
    व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो ।

    यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेका छन् ।लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।हालसम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।