Category: समाज

समाज

  • आज देशभरका दोहोरी साँझ बन्द

    आज देशभरका दोहोरी साँझ बन्द

    काठमाडौं । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा लोकदोहोरी गायिका नीरा छन्त्यालको निधन भएको छ ।

    छन्त्यालको निधनको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ समेत बन्द गर्ने निर्णय गरेको हो ।

    छन्त्याल माघे संक्रान्ति पर्वको अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंबाट यति एयरलाइन्सको विमान मार्फत पोखरा प्रस्थान गरेकी थिइन् । २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिष्ठानले सोमबार छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने समेत निर्णय गरेको छ ।

  • बारामा मोटरसाइकल दुर्घटना : २ जनाको ज्यान गयो

    बारामा मोटरसाइकल दुर्घटना : २ जनाको ज्यान गयो

    काठमाडौं । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

    सिम्रौनगढ नगरपालिका – १ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

    दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।

    आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना।२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाईकलमा तीन जना सवार थिए ।

    दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएको थियो ।

    कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिणतर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी तहिदको शव दिउँसो १२:५० बजे पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

  • गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि, बजार भाउ भने बढेन

    गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि, बजार भाउ भने बढेन

    गुल्मी । सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ । पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन् ।

    सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ । तर, कृषकहरु भने उचित मूल्य नपाएर मारमा पर्ने गरेका छन् ।

    गत वर्षभन्दा सुन्तला उत्पादन बढी भएको कृषकहरुको भनाइ छ । उत्पादन बढे पनि गत वर्षभन्दा कम मूल्यमा सुन्तला बेच्न बाध्य छन् कृषकहरु । गुल्मीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भएपछि उत्पादन बढ्दै जान थालेको छ । जोनले सुन्तला कृषकलाई गरेको प्रोत्साहनका कार्यक्रमले गर्दा उत्पादन बढ्दै जान थालेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोनले सुन्तला पकेट क्षेत्रमा नयाँ गाउँमा अवलोकन गरेको छ । सुन्तला पाक्दै गरेको समयमा कृषकका समस्या र उत्पादनको पछिल्लो अवस्था बारेमा जोनले सुन्तला कृषककहाँ अवलोकन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोनका प्रमुख गंगा पोखरेलले बताइन्।

    जिल्लाका सवै स्थानमा सुन्तला खेती गरिएको छ । तर जिल्लाको धुर्कोट गाउँपालिकाको नयाँ गाउँमा मात्रै २ करोड बढीको सुन्तला उत्पादन हुने गरेको छ । उत्पादित सुन्तला बजारीकरणको कुनै समस्या नरहे पनि उचित मूल्य नपाएको कृषक मिनराज पोखरेल बताए ।

    बजारमा सबै चिजको मूल्य बढ्दा सुन्तलाको मूल्य पनि बढ्नुपर्ने उनको भनाइ छ । सुन्तला बिक्रीबाटै वार्षिक दुई लाख आम्दानी गर्दै आएको उनले बताए । सुन्तला कृषकले अहिले बोटबाटै केजीको ५० देखि ५५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । गत वर्ष ६० रुपैयाँ केजीमा सुन्तला बिक्री गरेको कृषक मिना घिमिरेले बताइन् ।

    उनले गत वर्षभन्दा पनि कम मूल्यमा बिक्री गर्न परेको बताइन् । सुन्तला उत्पादक कृषकहरुका लागि सिंचाइको अभाव रहेको मिनप्रसाद पोखरेलले बताए । उनले सरकारले सिंचाइको व्यवस्था गर्नुपर्ने भनाइ छ । नयाँ गाउँको सुन्तलाको माग बढ्दो रहेको छ।

    स्थानीय व्यापारीहरुले बगैंचा नै खरिद गरी बुटवलसम्म पठाउने गरेका छन् । स्वादका हिसाबले नयाँ गाउँको सुन्तला राम्रो हुने गरेको छ । नयाँ गाउँमा धेरै कृषकहरुको सुन्तला उत्पादन पुर्ख्यौली पेशा हो । पछिल्लो समयमा मात्र त्यहाँका कृषकहरुले व्यावसायिक रुपमा सुन्तला उत्पादनमा लागेका हुन् ।

    यहाँका कृषकहरुको जीविकोपार्जन गर्ने माध्यम सुन्तला उत्पादन हो । सुन्तला बेचेरै यहाँका कृषकहरुले परिवार चलाउँदै आएका छन् । उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठुलो लुम्पेक, कालीगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् ।

    गुल्मीदरबारको गौडाकोट, जुभुंग, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् । यी बाहेकका क्षेत्रमा पनि सुन्तला उत्पादन हुने गरेको छ ।

     

  • दाङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

    काठमाडौं । दाङमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

    दाङको सर्रा–सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २१ वर्षका सुशील चौधरी र त्यही ठाउँका १८ वर्षका विवेक चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

  • यती एयरलाइन्सकाे साेमबार हुने सबै उडान रद्द

    यती एयरलाइन्सकाे साेमबार हुने सबै उडान रद्द

    काठमाडाैं । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।

    आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।

    भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

    पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।

    अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ ।

     

  • विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

    विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

    पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

    पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

    पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने तयारी भइरहेकाे पनि उनले जानकारी दिए ।

    ६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

    दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए ।

    विमानमा १५ जना विदेशी नागरिक थिए । ५ भारतीय, ४ रुसी, २ काेरियन र आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक–एक नागरिक विमानमा थिए ।

  • अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

    अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

    म्याग्दी । भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शीला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ।

    बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि अनुसार क्षमापूजा गरेका हुन्।

    क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति थियो।

    क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दासमार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शीलाको प्रतिकस्वरुप तीन शालिग्राम हस्तान्तरण गरेका थिए।

  • पोखरा विमान दुर्घटना (अपडेट) : मृतक ११ जनाको सनाखत

    पोखरा विमान दुर्घटना (अपडेट) : मृतक ११ जनाको सनाखत

    पोखरा । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको पहिचान खुलेको छ । गण्डकी अस्पतालकाअनुसार ११ जनाको सनाखत भएको हो । जसमा १ विदेशी नागरिक पनि रहेका छन् ।

    दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ ।

    सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर रहेका छन् ।

    यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

  • यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

    यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

    काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए ।

    जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

  • विमान दुर्घटनामा भएकाे क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दु:ख व्यक्त

    विमान दुर्घटनामा भएकाे क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दु:ख व्यक्त

    काठमाडाैं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर जहाज दुर्घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।

    आइतबार पूर्वराजा शाहले एक विज्ञप्ति जारी गरी दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

    जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु थिए ।