Category: समाज

समाज

  • देशभर बढ्दाे चिसाे, काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस

    देशभर बढ्दाे चिसाे, काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दिउँसो केही न्यानो हुने भए पनि बिहान बेलुकी चिसो बढिरहेको छ ।

    मौसमविद्का अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

    चिसोबाट बच्न सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँ झनै चिसो हुने मौसम विभागले जनाएको छ ।

  • सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प

    सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प

    बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

    भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए ।

    बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

    भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

     

  • पत्रकार सरोजराज अधिकारी मृत फेला

    पत्रकार सरोजराज अधिकारी मृत फेला

    काठमाडौं । कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेका  पत्रकार तथा लेखक सरोजराज अधिकारी बुधबार सिद्दार्थ हाेटेलकाे एक काेठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    २१ गतेदेखि सम्पर्कविहीन रहेका उनकाे खाेजीकाे लागि उनकी श्रीमतीले बुधबारमात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । निवेदन पश्चात् प्रहरीले खाेजी गर्दा अधिकारी सिद्दार्थ हाेटेलकाे काेठा नं. ५०२ मा मृत भेटिएको प्रहरीले जनाएको हो ।

    पत्रकारितासँगै पुस्तक लेखनमा सक्रिय उनका चक्रब्युहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक प्रकाशित छन् ।

  • सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

    सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

    डाेटी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए ।

    उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उनले भने, ‘लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन् ।’

    भूकम्पछि पराकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ ।

    भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ ।

    भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए ।

    यस्तै, भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ ।

  • तीव्र गतिमा सवारी चलाए सचेतना कक्षा

    तीव्र गतिमा सवारी चलाए सचेतना कक्षा

    काठमाडाैं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।

    यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो ।

    कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भइ मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण छ सय ४९ दुर्घटना भएको छ ।

    आव २०७८/७९ मा १८ हजार चार सय ४७ र चालु आवको तीन महिनामा आठ हजार पाँच सय ८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले जानकारी दिए ।

  • सुदूरपश्चिममा भूकम्प : डोटीमा ६ जनाको मृत्यु

    सुदूरपश्चिममा भूकम्प : डोटीमा ६ जनाको मृत्यु

    डोटी/बझाङ । डाेटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनाैँ घर भत्किएका छन् ।

    डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।

    मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

    भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।

    भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए ।

    त्यसअघि पनि राति ९ : ७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

    यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।

    उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ ।

  • कालीकाेटमा जीप दुर्घटना, तीन जनाकाे मृत्यु

    कालीकाेटमा जीप दुर्घटना, तीन जनाकाे मृत्यु

    कालीकोट । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकाेटकाे तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

    जीप दुर्घटनामा एक जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकाे छ ।

    मृत्यु हुनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।

    दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएकाे छ ।

  • अर्घाखाँचीको सन्धिखर्कबाट दिल्लीसम्म सिधा बस सेवा सुरु

    अर्घाखाँचीको सन्धिखर्कबाट दिल्लीसम्म सिधा बस सेवा सुरु

    सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधा सम्पन्न नेपाल भारत मैत्री एसी बस सञ्चालनमा आएको छ।

    सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुशी भएका छन् ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको बस सेवाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । बस सेवाको सञ्चालन गर्दै प्रमुख श्रेष्ठले जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताए ।

    सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुर भएर याे बस दिल्ली पुग्नेछ । सन्धिखर्कबाट झण्डैं ९ सय मिलो मिटरको दुरीमा दिल्ली छ । बसमा ३६ सिट, २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ ।

    तत्कालका लागि हप्ताको ३ दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने पश्चिम नेपाल बस व्यवसायी प्रालि अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले बताए ।

    सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ ।

  • धनुषामा बाेलेराे दुर्घटना, एक नवजात शिशुकाे मृत्यु, ६ जना गम्भीर घाइते

    धनुषामा बाेलेराे दुर्घटना, एक नवजात शिशुकाे मृत्यु, ६ जना गम्भीर घाइते

    धनुषा । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

    लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

    दुर्घटनामा परि मृत्यु भएका शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

    जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको हाे ।

    दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल लगिएको छ । घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

    मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

    काठमाडाैं । आगामी ४ मंसिरमा हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार चुनावभर लाइसेन्स आवेदन बन्द हुने भएको हो ।

    विभागले एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने जानकारी गराएको छ ।

    निर्वाचनका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको अयोगले जनाएको छ ।

    अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले बताएको छ ।