Category: हुलाक समाचार

हुलाक समाचार

  • राजस्व सङ्कलन वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

    राजस्व सङ्कलन वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

    काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६।७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७।७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो ।

    आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत प्रगति हासिल भएको थियो ।त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७४.५४ प्रगति भएको थियो ।आर्थिक वर्ष २०८१/८२ को वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ । यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो ।यसैमध्ये चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तर मन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।अर्थमन्त्री पौडेलले कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न समेत निर्देशन दिए । अर्थ सचिव डा.रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्नेगरी अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिए ।त्यसैगरी राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्वको लक्ष्यलाई ध्यान दिएर थप मेहनत गरेर अघि बढ्ने बताए । अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए तापनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए ।भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताएका थिए ।

  • बेलायत अध्ययन छात्रवृत्तिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी

    बेलायत अध्ययन छात्रवृत्तिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी

    काठमाडौँ । नेपाल–स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिएको छ ।

    बिहीबार बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलन गरि प्रेस स्नातक, स्रातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा गरिएको हो । जसमा विद्यार्थीहरूले आफ्ना आश्रितहरूलाई पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ ।बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रृष्टी बिर्ताले युनिभर्सिटीले विश्वस्तरीय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन् ।

    उनले भनिन्, ‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट गन्तव्य हो, जसले भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छ । ‘स्पाई ओभरसिज, शिक्षा परामर्श क्षेत्रमा स्थापित संस्था, यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने मुख्य भूमिका खेलेको थियो । विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।’स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवासु उप्रेतीले भने, ‘हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्त्वपूर्ण योगदान पुर्याउँछ । कार्यक्रमले उपस्थित विद्यार्थीहरूलाई प्रवेश प्रक्रिया, छात्रवृत्ति, र शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी प्रदान गर्यो ।’

  • चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

    चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

    काठमाडौ । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रीत पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ ।

    टाउकोमा जडान गरिएको क्यामेराको सहारा लिएर रोबोट कुकुरले देखाएको प्रदर्शनी निकै रोचक मानिएको छ । प्रहरीकै रुपमा २४ घन्टा गस्ती गर्न सक्ने बताइएको रोबोटका कारण सम्मेलन थप प्रभावकारी बनेको छ ।सम्मेलनमा ग्लोबल डेभलपमेन्ट इनीसीएटीभ, डीजीटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषययरुमा छलफल गरिरहेको छ । (सीसीटीभी प्लस)

  • कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

    कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

    काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् ।२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

    पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित छ ।

    लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा म अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुयाउन चाहन्छु ।’लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा आफ्नो खुसी व्यक्त गर्दै भने, ‘साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ । उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ ।’साद बिन जफर लुम्बिनी लायन्समा थपिएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ । एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ भने लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ ।

  • सुनको मूल्य बढ्दा चाँदी स्थिर

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।

  • आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।सार्वजनिक मूल्य अनुसार आज आलुको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु आज ७० रुपैयाँमा झरेको छ । भारतीय रातो आलु पनि प्रतिकिलो ७० रुपैयाँ छ ।पछिल्लो समय साग पनि सस्तिएको छ । एक साताअघि १ सय रुपैयाँ प्रतिकिलो रहेको रायो साग अहिले ६० रुपैयाँमा झरेको छ । त्यस्तै पालुंगो साग १००, चमसुरको साग १२०, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ ।

    त्यस्तै प्याजको भाउ स्थिर रहेको छ । प्रतिकिलो अधिकतम ११० रुपैयाँमा प्याजको कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार स्थानीय काउली १२०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, तने बोडी १६०, मकैबोडी ७०, घिउ सिमी १२५ रुपैयाँ प्रतिकिलो छ ।लौका १००, परवर १००, घिरौंला ८०, तिते करेला १००, भिन्डी १४०, बरेला ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ३५० तथा कुरिलो प्रतिकिलो १२०० रुपैयाँ छ ।

  • जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

    जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

    हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

    हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रुपमा रहनेछ । प्रायोजन रकमबारे भने केही खुलाइएको छैन । जनकपुर बोल्ट्सका खेलाडी अनिल साह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । अनिल र शुभ दुबैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन् । यस्तै म्यानेजमेन्टले अनिल साहलाई आफ्नो ब्राण्ड एम्बेसेडर समेत नियुक्त गरेको छ ।प्रायोजनसम्बन्धी सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजेमन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले यसपटक शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको म्यानेजमेन्टले आगामी दिनमा टिम नै खरिद गर्ने सम्भावना रहने बताए ।

    क्रिकेटको विकासका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षक नियुक्त गरिएको पनि उनले बताए ।म्यानेजमेन्टमा दिवा समूहका सबै विद्यार्थीको बाक्लो उपस्थितिमाझ बारा जिल्लाका अनिल साहले आफ्नो व्यावसायिक क्रिकेटको सुरुवात भने मकवानपुरबाटै सुरु भएको बताए । उनले म्यानेजमेन्ट भन्ने बित्तिकै कडा अनुशासन भन्ने बुझिने उल्लेख गर्नुहुँदै कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागु गरेकै कारण सफलता मिलेको बताए ।आशिफ शेख मार्की प्लेयर भएको जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्यप्रशिक्षक श्रीलंकाली पुबुदु दसानायके रहेका छन् । मंसीर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलमा जनकपुर बोल्ट्समा अमेरिका निवासी हेटौँडा–५ का इन्जिनियर उत्सव सिग्देलले पनि लगानी गरेका छन् ।

  • आज विश्व टेलिभिजन दिवस मनाइँदै

    आज विश्व टेलिभिजन दिवस मनाइँदै

    काठमाडौं । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।

    टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।

    सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

  • भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

    भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने भएका छन् ।

    नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
    राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका हुन् ।

    यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर बनाउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

  • काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी

    काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी

    काठमाडौं । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

    बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ ।