Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • विश्वका घुम्नैपर्ने गन्तव्यमध्ये ३७ औं नम्बरमा ‘मुस्ताङ’

    विश्वका घुम्नैपर्ने गन्तव्यमध्ये ३७ औं नम्बरमा ‘मुस्ताङ’

    काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ । वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुनेगर्छ । मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कागवेनी पर्यटकको रोजाइमा पर्छ । तर मुस्ताङका हरेक स्थान घुम्न लायक छन् ।

    जोमसोम भन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरुले झनै रोमान्चक अनुभूति गर्न सक्छन् । खुल्ला र पठार क्षेत्र रहेको लोमान्थाङको सिरसिरे बतास, हिमाली मरुभूमी, ऐतिहासिक केभ(गुफा)हरु, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल–चीनको सीमा नाका कोरोला नजिकैका सेताम्मे समथर फाँटहरुको यात्रालाई जीवनभरका लागि अविस्मरणीय बनाइदिन्छ ।

    कालिगण्डकी नदीको तिरैतिर उराठ डाँडाहरु पारगर्दै पुगिने लोमान्थाङ साहसीक यात्रीहरुका लागि एउटा अब्बल गन्तब्य बनिरहेको छ । सन् १९९० को दशकयता मात्र विदेशीका लागि खुला गरिएको यहाँ पुग्दा मन साँच्चै रोमान्चक हुन्छ ।

    आँखै अगाडि देखिने निलगिरी र धौलागिरी हिमालको दृश्यले मन चंचल बनाइदिन्छ । र प्राचिन गुफाहरुले ध्यान खिच्छ । तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य बनिसकेको तल्लो मुस्ताङपछि सँगै माथिल्लो मुस्ताङ र मुस्ताङ्गी राजाको दरबार रहेको लोमान्थाङ पछिल्लो समय नयाँ गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ ।

    जोमसोमका होटल व्यवसायी कृष्ण सुवेदी बलिउडका चर्चित कलाकारले फिल्म सुटिङको गन्तब्य मुस्ताङलाई त्यसै मानेका होइनन् भन्दै प्रशंसा गर्छन् । हुनपनि दुई दशक पहिले नै अभिताभ बच्चनले मुस्ताङ टेकेका रहेछन् । सुवेदी भन्छन्,‘कुनै समय फिल्म ‘खुदा गवाह’को सुटिङ गर्न अमिताभ बच्चन, श्रीदेवी, डेनी डेङजोम्पा आउनुभएको यहाँका अग्रजहरुले बताउने गर्नुहुन्छ । उहाँहरुले यहाँका होटल व्यवसायीहरुसँग खिचेका तस्बिरबाट स्पष्ट हुन्छ । किन उहाँहरुले यही ठाउँलाई रोजे तपाइँ आफैं अनुमान लगाउनुहोस ?’ हुन पनि मुस्ताङ भनेपछि जोकोही पुग्न लालायित हुन्छन् । फिल्म सुटिङ मात्र होइन कतिपय जोडीको हनीमुन गन्तब्य पनि मुस्ताङ बन्ने गरेको छ ।

    मुस्ताङको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिमश्रृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो । मुस्ताङ उक्लिसकेपछि निलगिरी र धौलागिरी हिमाल आँखै अगाडि टल्किरहेको देख्न पाइन्छ । लोमाथान्ङबाट यि हिमाल झनै नजिकै देखिन्छ ।

    लोमान्थाङ भने साहसीक पदयात्री, घुमन्ते र खोज अनुसन्धानकर्ताहरुका लागि रमाइलो गन्तब्यका रुपमा परिचित छ । त्यसमध्ये हालैमात्र सडक संजालले जोडिएको कोरला नाका र नजिकै रहेको लोमान्थाङ पछिल्लो समय चर्चामा छ । नेपाल–चीनबिचको संवादपछि कोरला नाका खुल्ने तरखरमा छ ।कोरलाबाट कैलाश मानसरोवर पुग्न नजिक पर्छ । नाका खुलेपछि मुस्ताङको पर्यटनले थप उचाइ लिने लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ गुरुङ बताउँछन् ।

    उनी भन्छन्,‘मुस्ताङका सबै स्थान घुम्न लायक छन् । त्यसमध्ये लोमान्थाङमा मुस्ताङ्गी राजाको दरबार अवलोकन गर्न धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । अन्नपूर्ण राउन्ट यात्रा सकेर विदेशीहरु लोमान्थाङ आइपुग्छन् । पुरातात्वीक महत्व बोकेको प्राचिन गुफा, राजदरबार, नाकाको समथर भू–भाग, नौलो भू–वनोट र मानिसहरुको रहनसहन हेरेर रमाउने गर्छन् ।’

    विशाल हिमाली मैदानमा पर्खालले घेरिएका लोमान्थाङका घरहरु आफैंमा आकर्षक छन् । घरका छानामाथि राखिएका दाउराका चाङ, बौद्धमार्गीहरुको झन्डा र तिब्बती संस्कृति हेर्दा रोचक लाग्छ ।

    आदिमकालको गढी र किल्ला मात्र होइन आफूभन्दा होचो स्थानमा देखिने हिमश्रृंखला नियाल्न पाउँदा लोमान्थाङ अनौठो गन्तब्य लाग्न सक्छ । सिरसिर चलिरहने बतासले आनन्द महशुस गराउँछ । पुरातत्व महत्वका बस्तुहरुको अवलोकनका लागि यहाँ पुग्नेहरुले दरवार, गुम्वा, किल्ला र मानवबस्तीका गुफा हेरेर नयाँ तथ्य बुझन् सक्छन् । लोमान्थाङ दरवार बाहेक चराङ दरवार र घमी दरवार पनि आकर्षक लाग्न सक्छन् । भेडा चर्ने फाँट र याकहरु घुमन्तेहरुका लागि अझ आकर्षक लाग्छन् ।

    १५औं शताब्दीतामा निर्माण भएका थुप्तेन गुम्बा, मोन्खर दरवार, छयोदेन गुम्बा, झयाम्पाल गुम्बाहरु साँचै रोचक लाग्छन् । आठौं शताब्दीतिर तिब्बतका राजा ढिक्सुन थक्चेनले निर्माण गरिएको भनिएको विश्वकै पुराना गुम्बा, मान्हे र चैत पनि लोमान्थाङ क्षेत्रमै रहेको बताइन्छ । त्यसैले पनि बौद्ध दर्शनका अध्येता वा बौद्धमार्गीहरुका लागि उपल्लो मुस्ताङ रोजाइमा पर्ने गरेको छ । तिजी पर्व, यार्तुङ जात्रा यहाँको आकर्षण हो ।

    उपल्लो मुस्ताङको लोमान्थाङबाट २२ किलोमिटर टाढा कोरोला नाकाको नेपाली भूमिमा पुगेर धेरै नेपालीहरु रमाउने गर्छन् । २४ नम्बर पिलर अघिल्तिरको घमाइलो फाँट र सेताम्मे हिउँमा रमाउनेहरु प्रशस्त भेटिन्छन् ।

    अहिले चौडा सडक कोरोला नाकासम्मै पुगेकाले घुम्न असहज छैन् । कुनै समय तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग मानिएको यो स्थान पुगिसकेपछि दामोदर कुण्डसम्म जानेहरु पनि प्रशस्त भेटिन्छन् ।

    दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिव १२० किलोमिटर टाढा छ । पुग्न दुई दिन पैदल लाग्छ । लोमान्थाङ पुगेपछि छोटो दूरीको पदयात्रा, स्याउ तथा ओखर खेतीको अवलोकन पनि गर्न सकिन्छ ।

    मुस्ताङबाट पदयात्राका लागि तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क लोकप्रिय छन् ।

    मुक्तिनाथसँगै शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गुम्बा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गुम्बा टुकुचे रानी गुम्बा, मार्फा गुम्बा चर्चित धार्मिक स्थल हुन् । मुस्ताङमा भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको पाईन्छ ।

    कसरी पुग्ने ?

    समुद्री सतहदेखि ३८४० मिटरको उचाइमा रहेको लोमान्थाङसम्म मोटर बाटो पुगेको छ । ठूला पहाड र चट्टानहरु फोरेर निर्माण गरिएको कच्ची तर फराकिलो सडक छ । मोटर यात्रा गर्दा पट्यार लाग्दैन ।

    करिब २५–३० किलोमिटरको यात्रामा भेटिने एकान्त बस्ती र सडक छेउमा होटलहरु खुलेका छन् । तर मेन्यू निकै महंगो छ । किनकी पोखरा र बेनीबाट मोटरबाटै पुग्ने खाद्यय सामग्रीको धुवानी चर्को पर्ने ब्यापारीहरु बताउने गर्छन । सादा खानाको ३ सय ५० देखि ४ सय ५० रुपैंयाँसम्म पर्छ । होटलका कोठाहरु पाँच सयदेखि दुई हजार रुपैंयाँसम्मका भेटिन्छन् ।

    पोखराबाट जोमसोम १ सय १३ किलोमिटर हो । जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ । सार्वजनिक यातायातमा पोखरा–जोमसोम १२ सय रुपैंयाँ जोमसोमबाट लोमान्थाङ १८ सय रुपैंयाँ गाडी भाडा तोकिएको छ । तर धेरैजसो पर्यटकहरु गाडी रिर्जब गरेर जान्छन् ।

    जोमसोममा हवाइ मैदान पनि रहेकाले जहाज पनि जान्छ । लोमान्थाङमा होटल र लजहरु प्रशस्त खुलेकाले गासबासको समस्या पर्दैन । सँधै हिउँ पर्ने भएकाले अशोज–कार्तिक वा चैत–बैशाख लोमान्थाङ घुम्नका लागि उपयुक्त समय हो । हुवा र फापरको परिकार साथै च्याङग्राको सुकुटी यहाँ लोकप्रिय छ ।

  • राष्ट्रिय सभा उम्मेद्वार चयनबारे दुई कांग्रेस नेताको असहमति

    राष्ट्रिय सभा उम्मेद्वार चयनबारे दुई कांग्रेस नेताको असहमति

    काठमाडौं । नेपाली काङ्ग्रेसका नेता बल बहादुर केसी र अर्जुन नरसिंह केसीले राष्ट्रियसभाको उम्मेद्वार चयनबारे फरक मत राखेका छन् ।

    सोमबार दिउँसो एक विज्ञाप्ति जारी गर्दै उनीहरुले उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएको भन्दै राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएको जनाएका हुन् ।

    उनीहरुले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेबारे कांग्रेस केन्द्रीय कार्यसमितिले पौष १४ गते गरेको निर्णयले व्यवस्थालाई ठाडो उल्लंघन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वसनीय खडा गरेको बताए ।

    संसदीय बोर्डले विधानअनुसार पूर्णता पाउनु उम्मेद्वार छनोटको अनिवार्य वैधानिक सर्त भएतापनि त्यसमा पूर्णता नपाएको भन्दै यसबाट प्रक्रियागत गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको पनि उनीहरुको भनाई छ ।

    यस्तै, समग्र मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन, विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको र समावेशिताको सवैधानिक सिद्धान्तलाई उल्झन गरिएको पनि उनीहरुको भनाई छ । गठबन्धनबाट कांग्रेसको १० सिट भागमा परेको थियो । लामो रस्साकस्सीपछि पार्टी पदाधिकारीहरुले सानेपास्थित कार्यालयमा मध्यरातसम्म बसेर उम्मेदवारको टुंगो लगाएका थिए ।

  • बालेन र हर्कको क्यामेष्ट्री

    बालेन र हर्कको क्यामेष्ट्री

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बिच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गरेका थिए ।

    त्यसअघि उनीहरुबीच सामाजिक संजालमा नोकझोँक चलिरहेको थियो । टेडछाड चलिरहन्थ्यो । हिजोआज उनीहरुको दोस्ती जमेको छ । जब उनीहरुबिच पहिलो भेट भयो दुवैले विकास र सहकार्यका विषयमा छलफल गरे । त्यसयता बालेन र हर्कविच बाक्लै उठबस चलिरहेको छ । हरेक पटक काठमाडौं उत्रिएपछि हर्कको सेड्युलमा वालेनसँगको भेट छुट्दैन् ।

    स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेर विजयी भएका उनीहरुबिचको घनिष्टता हालै बालेनको धरान भ्रमणबाट पनि स्पष्ट हुन्छ । १२३ औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा बालेनको उपस्थितिले धरानबासी आश्चर्यमा परे । हत्तपत्त सार्वजनिक कार्यक्रमहरुमा नदेखिने बालेन धरान पुग्नुलाई रोचक एवं अर्थपूर्ण रुपमा हेरिएको छ ।

    दुई मेयरको बाक्लै भेटघाटलाई कतिपयले नयाँ दल खोल्ने प्रयास गरिरहेको भनेर अथ्र्याउने गरेका छन् । केही साताअघि बालेनसँगको भेटपछि हर्कले दिएको अभिव्यक्तिले उनीहरू पार्टी खोल्ने थिए, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ।’त्यतिमात्रै होइन ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ ?’ भनेर प्रश्न पनि तयारीमा लागेको संकेत थियो । हर्कले सामाजिक संजालमै लेखेका थिए, ‘जित हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन् विशाल बन्छौँ धन्दै नमान !’ त्यसपछि लगत्तै हर्कले लेखेका गरेका थिए ।

    हुनत उनीहरुका गतिविधि हेर्दा र अभिव्यक्ति सुन्दा नयाँ दल खोलिहाल्ने अवस्थाको देखिदैन् । शीर्ष दलमा भित्रिहाल्छन भन्ने अनुमान लगाउन पनि सकिदैन । तर स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिइसकेका छन् ।

    नेपालमा पुराना र स्थापित भनिएका राजनीतिक दल र संघीय सरकारप्रति आक्रमक अभिव्यक्ति दिंदै आएका हर्क र बालेनले नयाँ दल खोले भने अनौठो मान्न नहुने विश्लेषक एवम लेखक लाओस राई बताउँछन् ।

    ‘दलीय र संसदीय अभ्यास गरिरहेको मुलुकमा नयाँ दल खोल्नु अनौठो होइन तर सिद्धान्त र दिगोपना प्रमुख कुरा हो । बालेन र हर्कसँग जनमत होला तर नेपालको राज्य व्यवस्था र अहिलेको परिपाटीसँग जुधेर कसरी अघि बढ्न सक्छन् भन्ने कुरा प्रमुख हो,’उनी भन्छन् ।

    उपमहानगरको निम्तोमा पहिलो पटक धरानको सार्वजनिक कार्यक्रममा उत्रिएका बालेनले धरानको सांस्कृतिक सौन्दर्यताको वर्णन गरी श्रम संस्कृतिको प्रशंशा गरेका थिए । साथै उनले हर्कले जारी राखेको श्रमदानलाई विकास निर्माणसँग जोडेको प्रसंगलाई तारिफ गरेका थिए ।

    कतिपय कानुन, नीति, नियम र ऐनको ख्याल समेत नगरी परिवर्तनका लागि उत्रिएका बालेन र हर्कको हालको केमेष्ट्रीलाई २०८४ सालको निर्वाचनसम्म नयाँ दलका रुपमा उदाउन सक्ने अनुमान पनि गरिन थालेको छ ।

    हुनत स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारहरुले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन् । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई समेत समेटेर नयाँ दल खोल्नेबारे धेरै गोप्य बैठक हुनेगरेपनि त्यो निष्कर्षमा पुगिसकेको छैन् । यद्यपी, कतिपय विश्लेषकहरुले पुराना दल सुध्रिएर जनताको मन जित्नेगरी काम गर्न सुझाव पनि दिइरहेका छन् ।

     

  • बंगलादेशः जँहा हिन्दु भएकै कारण देश छोड्नुपर्छ

    बंगलादेशः जँहा हिन्दु भएकै कारण देश छोड्नुपर्छ

    काठमाडौं । बंगलादेशको राजधानी ढाकाको काजीपारामा एउटा ब्राह्मण परिवार पुस्तौंदेखि बस्दै आएको छ ।

    त्यहाँ १४ जना छन् । ७०० स्क्वायर फिटको यो दुईतले घरमा पुग्न मुख्य सडकबाट ३० मिटर हिँड्नुपर्छ । लामो साँघुरो गल्ली छ, जसमा ३ ठाउँमा गाईको मासु झुण्ड्याइएको छ । बिहान काममा जानुअघि घरको एउटा कुनामा बनेको सानो मन्दिरमा सबैले तिलक लगाउँछन् ।

    परिवारका ६७ वर्षीया मुखियाले पनि संस्कृतमा मन्त्र जप्छन्, जसको लय लगभग बंगालीसँग मिल्दोजुल्दो छ । घरकी जेठी छोरी सृष्टि २७ वर्षकी थिइन्, उनी एक कम्पनीको कनिष्ठ एचआर एक्जिक्युटिभ हुन् । घरबाट निस्कने बित्तिकै उनले पहिलो काम तिलक मेटाउने गर्छिन् । अनि मुख्य सडकमा पुग्नेबित्तिकै उनी रिक्सा चालकलाई भाइजान भन्छिन् ।

    अपरिचित व्यक्तिले आफू हिन्दू हो भनेर थाहा नपरोस् भनेर पूरा दिन बिताउँछिन् । उनी भन्छिन्, ‘यहाँ हिन्दू हुनु आफैमा सजाय हो । हिन्दू केटी हुनु त झनै ठूलो सजाय हो ।

    बंगलादेशमा हिन्दूको जनसंख्या २२ प्रतिशतबाट घटेर ७.९ प्रतिशतमा झरेको छ । यसको कारण राजनीतिक, धार्मिक र आर्थिक छन् ।

    सृष्टि भन्छिन्, ‘पूजा गरेर भर्खरै घरबाट निस्किएँ । गाईको मासुको सुगन्ध लिएको त्यो सडकमा कसैले नाक मिचिरहेको देखे पनि समस्या हुन्छ।’ त्यसोभए के तपाई आफ्नो पुरै जीवन यसरी डराएर बिताउनुहुन्छ ?

    यो प्रश्नमा उनी भन्छिन् ‘होइन । मसँग डिग्री छ । विदेश जान्छु । म शोधकर्ता बन्छु । साँझको दुई सिफ्टमा ट्युसन पनि पढाउँछु । म डेढ वर्षमा देश छोड्छु ।

    सृष्टि ती ०.५ प्रतिशत हिन्दू केटीहरू मध्ये एक हुन् जसले स्नातकोत्तर गर्न सक्छिन् । त्यसैले विदेश जाने सपना देख्छिन् । तर, विद्यालयभन्दा अगाडि बढ्न नसक्नेहरूलाई के गर्ने ? अभिभावक जतिसक्दो चाँडो विवाह गरिदिन चाहन्छन् । जसले गर्दा उनीहरु धर्म परिवर्तन, बलात्कार वा जबर्जस्ती गाईको मासु खुवाउने जस्ता घटनाबाट बच्न सकुन् ।

    २०२३ को सरकारी तथ्याङ्कले देशभर ६६ हिन्दू केटीहरू बलात्कृत भएको र ३३३ महिलाहरूलाई जबरजस्ती गाईको मासु खुवाइएको देखाउँछ ।

    यी दर्ता भएका मुद्दा मात्र हुन् । बंगलादेश अल्पसंख्यक आयोगको अध्ययनअनुसार धर्मको नाममा अल्पसंख्यकमाथि हुने अपराधका ८० प्रतिशतभन्दा बढी मुद्दा प्रहरीसम्म पुग्दैनन् । पुगे पनि अदालतबाहिर बस्छन् ।

    ढाका विश्वविद्यालयमा एउटा ठाउँ छ – जगन्नाथ हल । यहाँ एक छात्रावास छ, जुन गैर–मुस्लिम विद्यार्थीहरूलाई मात्र व्यवस्था गरिएको छ । चोकमा ४० फिट अग्लो शिव मन्दिर छ । पोखरी छ । एउटा सानो कोठामा इस्कोन मन्दिर छ । यो ठाउँलाई बंगलादेशमा हिन्दूहरूका लागि सबैभन्दा सुरक्षित स्थान मानिन्छ । सन् १९७१ मा पाकिस्तानी सेनाको दमनका विरुद्ध स्वतन्त्रता संग्राममा हाम फालेका सयौं महान् व्यक्तिहरूको मूर्ति यहाँ राखिएको छ ।

    जसमा हिन्दु, इसाई र बौद्ध धर्मावलम्बीहरु पर्छन् । तर आज ५२ वर्ष बितिसक्दा पनि मूर्ति मात्र बनेका छन् । बंगलादेशलाई स्वतन्त्र गर्न उनीहरूले गरेका बलिदानहरूले यहाँ बसोबास गर्ने अल्पसंख्यक विद्यार्थीहरू बिना निडर पूजा गर्न सक्ने अवस्था छैन ।

    २०२१ मा यहाँ विद्यार्थीहरूले मिलेर सरस्वती पूजाको आयोजना गरेका थिए । मुस्लिम विद्यार्थी पनि यसमा परेका थिए ।

    तर, त्यही विश्वविद्यालयका मुस्लिम विद्यार्थीहरूको समूहले आक्रमण गरेको थियो । यी घटनाबारे यहाँका विद्यार्थी निलयकुमार विश्वास भन्छन्– ‘यसको पछाडि राजनीतिक नियत थियो ।

    अहिले पनि भइरहेका घटनाका राजनीतिक कारण छन् ।’ निलोयले स्नातकोत्तर गरेपछि के गर्ने ? उनी भन्छन्– ‘उच्च शिक्षाका लागि विदेशका धेरै विश्वविद्यालयमा छात्रवृत्ति पाउन खोज्दै छु ।’ वास्तवमा हिन्दूमाथि आक्रमण हुनुको कारण धर्म मात्र होइन । बरु धर्मको नाममा हुने राजनीति हो । दोस्रो कारण विशुद्ध आर्थिक हो, जसमा धर्मलाई आवरणको रूपमा प्रयोग गरिन्छ ।

    वर्षौंदेखि बंगलादेशमा अल्पसंख्यकहरूको लागि काम गर्दै आएका अनुसन्धान र सशक्तीकरण संस्थाका अध्यक्ष प्राध्यापक चन्दन सरकार भन्छन्, ‘बंगलादेशमा हिन्दूहरूको आर्थिक अवस्था राम्रो छ, तर सामाजिक अवस्था खराब छ । असुरक्षाको भावना उत्कर्षमा छ । हरेक पाइलामा संघर्ष छ ।’

    बंगलादेश माइनोरिटी वाचका अध्यक्ष र सर्वोच्च अदालतमा अधिवक्ता रवीन्द्र घोष भन्छन्, ‘जब हामी सन् १९७१ अघि स्वतन्त्रताको लागि लडिरहेका थियौं, तब पनि पाकिस्तानी सेनाले अधिकतम २० लाख हिन्दूको हत्या गरेको थियो । त्यसपछि हामी स्वतन्त्र भयौं तर हिन्दूको हत्या आज पनि जारी छ । यसमा भारतले पनि हस्तक्षेप गरोस् भन्ने हामी चाहन्छौं ।’

    कुमिल्ला ढाकाबाट १०० किलोमिटर टाढा जिल्ला हो । यहाँ २०२१ मा दुर्गा पूजाको बेला १० हजार मानिसको भीडले हिन्दूहरूको घर, पसल र मन्दिरलाई निशाना बनाएको थियो । ६ जनाको ज्यान गयो । सयौं मानिस घरबार छोडेर भागेका छन् । स्थिति यस्तो बन्यो कि केन्द्रीय फौज तैनाथ गर्नु पर्यो । यहाँका उच्च प्रहरी अधिकारीहरूलाई हटाइयो । त्यसपछि २०२२ मा नोरियाल जिल्लामा दुर्गा पूजाका क्रममा सोही ढाँचामा हिंसा भएको थियो ।

    सयौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । पछि यहाँका प्रहरी प्रमुखलाई पनि हटाइयो । बंगलादेशी सञ्चारमाध्यममा हिंसाको समाचार छापिएको छ । तर, यी दुई जिल्लाका प्रहरी प्रमुखहरू हिन्दू थिए भन्ने उल्लेख छैन । उनको कार्यकाल सबैभन्दा बढी साम्प्रदायिक हिंसाका घटनाहरूबाट प्रभावित भएको थियो ।

    ढाकामा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा भने– ‘कट्टरपन्थीहरूले समय समयमा जनतालाई यस्तो सन्देश दिन चाहन्छन् कि हिन्दू अफिसरहरू प्रशासन चलाउन राम्रो छैनन् ।

    कुमिल्ला र नोरियालमा भएका घटनामा हिंसा भड्काउनुअघि हिन्दु धर्मको निन्दा गरेको आरोप लागेको थियो । प्रहरी अधिकारीले हिन्दुलाई समर्थन गरेको आरोप लगाए । त्यसैले यी जिल्लाहरूमा अतिवादीहरू आफ्नो योजनामा सफल भए ।  विभिन्न स्रोतहरुको सहयोगमा

  • अष्ट्रेलियाको नयाँ नीति बुझ्नसक्दा नेपालीलाई सहजै भिसा

    अष्ट्रेलियाको नयाँ नीति बुझ्नसक्दा नेपालीलाई सहजै भिसा

    काठमाडौं । नेपाली विद्यार्थीहरुको सर्वाधिक रोजाइको देश अस्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपालमा परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अस्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली बढी चिन्तित छन् ।

    क्यानबेरा बस्दै आएका इलामका रबिन सापकोटा अष्ट्रेलिया सरकारको नयाँ नीति नबुझ्दा र त्यसको पालना नगर्दा यहाँका नेपालीहरुमा धेरै चिन्ता थप्ने गरेको बताउँछन् । नियम पालना गर्नसके अष्ट्रेलिया सबैभन्दा सजिलो देश भएको उनको बुझाइ छ ।

    यता, शैक्षिक परामर्शदाताहरु नेपाली विद्यार्थीहरुलाई अहिले नै अतालिने अवस्था आइनसकेको भन्दै शान्तवना दिइरहेका छन् । नेपालीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ आप्रबासी नीतिले चिन्ता बढाएकोप्रति परामर्शदाताहरूले शान्तवना दिने गरेका हुन् ।

    नेपाल र सिड्नीमा परामर्श कम्पनी ‘टीम कन्सलटेन्सी’ संचालन गरिरहेका सत्यप्रकाश कँडेलका अनुसार सरकारको नयाँ आप्रवासन नीतिलाई स्वाभाविक मान्नुपर्छ र चासो चिन्ता हुनुलाई अन्यथा मान्न सकिदैन । उनी भन्छन्,‘यहाँ आएर पढ्ने र पढेको क्षेत्रमै भविष्य सुनिश्चित गर्न चाहनेहरूका लागि नयाँ नीति अवसर हो,’ उनले भने,‘अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ होम अफियर्सले विदेशी विद्यार्थी भिसाका लागि बनाएको चेकलिष्टलाई फलो गर्नसक्नेलाई सरकारले सँधै स्वागत गरिरहेको छ ।’

    एनआरएनए ओसियाना क्षेत्रीय उपसंयोजक एवम फोरनेसन इन्टरनेशनल एन्ड माइग्रेसन सर्भिस कम्पनीका निर्देशक कोमलराज पाठक अष्ट्रेलियामा लिबरल र लेबर पार्टी नेतृत्वको सरकारले फरक फरक नीति लिने गरेको उल्लेख गर्दै अहिले लेबर पार्टीको सरकारले ल्याएको नीतिलाई जटिलताका रूपमा लिनु नहुने बताउँछन् ।

    ‘नयाँ नीतिमा केही गाइडलाइनहरू छन् । त्यसलाई फलो गर्न सकियो भने यो समस्या होइन । अष्ट्रेलिया सरकारको चाहना भनेको आउ, पढ र गाइडलाइन फलो गर भन्ने हो तर विद्यार्थीरूले पढाइ र काम गराइमा तालमेल मिलाउन नसक्दा समस्या आएको हो,’ पाठकले भने ।

    अष्ट्रेलियाले नियम पालना नगरे तुरुन्तै हात बाँधेर स्वदेश नफर्काउने तर त्यसको विभिन्न वैकल्पिक उपायहरू दिने गरेको बताउँदै पाठक भन्छन्,‘अपराधिक गतिविधि गरेकाहरु कारवाहीमा पर्छन । पढाइका नाममा कमाइ खाने भाँडो बनाउने, कलेज भर्ना गर्ने, पैसा तिर्ने अनि काम मात्र गरेर बस्नेहरू कारवाहीमा परिरहेका छन् । गैरकानुनी काम गरिरहेकाहरूका लागि समस्या पर्छ । यद्यपी, नियम र कानुन चाहीं सजिलो छ, इमान्दार भएर पालना गरे कसैलाई समस्या पर्दैन,’पाठकले भने ।

    अस्ट्रेलियामा अध्ययन गर्न चाहने शैक्षिक र आर्थिक रुपमा सबल विद्यार्थीले नयाँ नीतिबारे चिन्ता लिनु नपर्ने परामर्शदाताहरूको सुझाव छ । विशेषगरी आप्रवासीसम्बन्धी नयाँ योजनाले उक्त देशमा ‘अस्थायी भिसामा रहेका’ तथा छोटो अवधिका कोर्सहरु गर्न जाने नेपालीलाई बढी प्रभावित पार्ने परामर्शदाताहरूको बुझाइ छ । अध्ययनपछि अस्ट्रेलियामा काम गर्न पाइने वर्ष घटाइने योजनाले केही चिन्ता थपेको छ ।

    अस्ट्रेलियासहित विकसित देशहरुले आफ्नो जनशक्तिलाई व्यवस्थापन गर्ने मनसाय अनुरुप समय समयमा रणनीति परिवर्तन गर्ने गरेको छ । परामर्शदाताहरू अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले परिवर्तित पछिल्ला नियमहरूको मूल्यांकन गरेर मात्र प्रक्रिया अघि बढाउन सुझाव दिन्छन् ।

    अस्ट्रेलिया अवसरको देश मानिएकाले अध्ययन गरेर दक्ष बन्दा अवसर पाउन समस्या छैन् । दक्ष व्यक्तिले सात दिनमै भिसा पाउने संभावना पनि रहेको सरोकारवालारूको भनाइ छ ।

    नेपालमा राम्रो पढाइ भएका, राम्रो विषयमा राम्रो अंक ल्याएर पास गरेका, अंग्रेजी भाषा टेस्टमा राम्रो स्कोर ल्याएका, पढाइमा धेरै ग्याप नभएका, अध्यागमनसँग निरन्तर समन्वयमा रहेका विद्यार्थीका हकमा नयाँ नियम सामान्य रहेको शैक्षिक परामर्शदाताहरूको बुझाइ छ । अष्ट्रेलियाको संघीय सरकारले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर अढाई लाख बनाउने लक्ष्य अनुरुप नयाँ आप्रवासी नीति अघि सारेको हो ।

    आर्थिक वर्ष २०२२-२३ मा विदेशमा अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने एक लाख नौ हजार चार सय ८२ मध्ये ३१ हजार आठ सय ५२ विद्यार्थीले अस्ट्रेलिया रोजेका थिए ।

  • विद्युत महसुल विवाद : प्रधानमन्त्री आश्वासन दिने, प्राधिकरण तर्साउने

    विद्युत महसुल विवाद : प्रधानमन्त्री आश्वासन दिने, प्राधिकरण तर्साउने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको समाधान गर्न उच्च तहको आयोग बनाउने आश्वासन दिएको थाहा भएको छ।

    हिजो शुक्रबार उद्योगको लाइन काटेपछि आफूसँग भेट्न पुगेका ठूला उद्योगीहरूको गुनासो सुनिसकेपछि प्रधानमन्त्री दाहालले सर्बोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्च तहको आयोग बनाएर समस्या समाधान गर्ने आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघका एक उच्च पदाधिकारीले बताए।

    नेपाल विद्युत प्राधिकरणको नेतृत्वले भने महशुल विवादको समस्या समाधान गर्नेभन्दा पनि बल्झाउने व्यवहार गरेको भन्दै उद्योगी व्यवसायी क्रुध्द बनेका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले यथार्थ भन्दा पनि भावनात्मक कुरा गरेर उद्योगी व्यवसायी विरुध्द जनमत भड्काउने काम गरेको उनीहरुको भनाई छ ।

    घिसिङले प्रधानमन्त्रीको निर्देशनको हवाला दिएर लाइन काटेपछि ठूला उद्योगीहरूले प्रधानमन्त्रीसँग भेटेर गुनासो गरेका थिए ।

    उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका अनुसार , नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सहितका उद्योगीहरूसँगको भेटमा प्रधानमन्त्रीले विवाद समाधान गर्ने आश्वासन दिए पनि उनीहरु नयाँ रणनीति बनाउन सक्रिय छन् । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत लाईन काटिएको बिषयमा आइतबार बसेर छलफल गर्ने सल्लाह भएको बताए ।

    उद्योगीहरूका अनुसार प्रधानमन्त्रीले लोडसेडिङपछि (२०७५ वैशाखपछि) र विद्युत महसुल निर्धारण आयोगले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल स्वीकृत गर्नुभन्दा अघिको अतिरिक्त बिजुलीको बिल तिर्नु नपर्ने आश्वासन दिएका छन् ।

    कानूनअनुसार नेपाल विद्युत प्राधिकरणले आफैं महसुल बढाउन नपाउने र प्राधिकरणले प्रस्ताव गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि मात्रै लागू हुने स्पष्ट कानूनी व्यवस्था भएको प्रधानमन्त्रीले उद्योगीहरूसँग चर्चा गरेका थिए ।

    २०७२ माघदेखि २०७५ वैशाखसम्मको हकमा भने कानुनअनुसार महसुल लिइने भन्दै प्रधानमन्त्रीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्च तहको आयोग मार्फत समस्याको समाधान गर्ने वचन दिएका छन् ।

    कसको कति बाँकी?

    प्राधिकरणको दाबी अनुसार ६१ उद्योगबाट साँवा, ब्याज र जरिवानासहित २२ अर्ब २४ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ ।

    प्राधिकरणले बक्यौता महसुल नतिरेको भन्दै अहिलेसम्म प्राधिकरणले नौवटा ठूला उद्योगको लाइन काटिसकेको छ । जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योग छन् ।

    कार्यकारी निर्देशक घिसिङले बिहीबार पत्रकार सम्मेलन गरेर आफूसँग लाइन काट्ने मात्रै अन्तिम विकल्प भएको बताएका थिए ।

    उनले थप उद्योगहरूको पनि क्रमशः लाइन काट्दै जाने बताएका थिए । घिसिङले पनि २०७५ पछि विद्युत नियमन आयोगले महसुलको विषय नटुङ्ग्याएको कारणले पुरानै मूल्य लिनु परेको तर्क गरेका थिए ।

    प्राधिकरणले पनि विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेको छ । जस अनुसार २०७२ साउनदेखि पुससम्मको ९७ करोड रूपैयाँको बक्यौता छ।

    २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म ६ अर्ब बक्यौता छ । २०७५ जेठदेखि २०७७ जेठ मसान्तसम्म ८ अर्ब तीन लाख बक्यौता छ । यो रकममा जरिबाना र ब्याज सहित २२ अर्ब २४ करोड रूपैयाँ बढी बक्यौता पूगेको प्राधिकरणको विवरणमा देखिन्छ ।

    प्राधिकरणका अनुसार बाबा जुट मिल्सको ५ करोड ६१ लाख ४९ हजार, निगाले सिमेन्टको १४ करोड २० लाख ८४ हजार रुपैयाँ, त्रिवेणी सिन्थेटिकको १५ करोड ६५ लाख ५७ हजा रुपैयाँ, हिमाल आइरन एण्ड स्टिलको ८ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता छ ।

    जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख २८ हजार, हामा आइरनको ११ करोड ५५ लाख ४६ हजार रुपैयाँ, एभरेस्ट पेपर मिल्सको २१ करोड ३५ लाख ७७ हजार रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।

    कसमस सिमेन्टको ३५ करोड ८१ लाख ९४ हजार रुपैयाँ, शुभश्री अग्नि सिमेन्टको ३८ करोड लाख ३४ हजार, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख ४१ हजार रुपैयाँ, घराना फुड्सको ५ करोड ९२ लाख ९ हजार रुपैयाँ, सिद्धार्थ पेट प्लास्टको ५ करोड २३ लाख ८२ हजार रुपैयाँ र बुटवल सिमेन्टको ३२ करोड ९७ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

  • रामेछाप,मैदानेका विद्यार्थीको पीडा : दैनिक पाँच घण्टामा जङ्गल छिचोलेर विद्यालय

    रामेछाप,मैदानेका विद्यार्थीको पीडा : दैनिक पाँच घण्टामा जङ्गल छिचोलेर विद्यालय

    रामेछाप । लिखु तामाकोशी गाउँपालिका–२ सैपु मैदानेका बालबालिका विद्यालय जानआउन दैनिक पाँच घण्टा जङ्गलको यात्रा गर्न बाध्य छन् ।

    नजिकै विद्यालय नहुँदा सो गाउँका बालबालिकाले विद्यालय जान जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।

    सोही जोखिम मोल्दै मैदानेकी निशा मगरले ११ कक्षासम्मको पढाइ छिचोलेकी छिन् । सो गाउँबाट विद्यालय जाने एक मात्र विद्यार्थी हुन् निशा ।

    ‘पहिला अरू पनि थिए, स्कुल सारै टाढा भएपछि कोही काठमाडौं गए, म चाहिँ सुरु देखि नै घरैबाट विद्यालय धाइरहेकी छु’, निशाले भनिन् ।

    निशालाई बिहान ७ देखि ७ः३० बजेसम्म घरबाट निस्किसक्नु पर्छ । बेलुका घर फर्कँदा पनि साँझको ७ नै बज्छ । ‘हिँड्दा हिँड्दै थाकिन्छ, पढ्ने समय नै हुँदैन’, निशाले सुनाईन् ।

    त्यस गाउँबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो । मैदानेबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ । ‘सो गाउँबाट सबैभन्दा नजिकैको स्कुल नै चण्डेश्वरी मावि हो, बच्चालाई पढ्न जान तीन घण्टासम्म हिँड्नु पर्छ, त्यसैले केहीले आफ्ना बच्चालाई बाहिरै राखेर पढाउन लागेका छन्’, लिखु तामाकोसी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेलले भने ।

    मैदानेमा धेरै घर पनि छैनन् । त्यसैले सो गाउँको लागि छुट्टै विद्यालय, स्वास्थ्य चौकी लगायतको व्यवस्था हुन सकेको छैन । ‘गाउँमा जम्मा तीन घर छन्, त्यति घरको लागि छुट्टै व्यवस्था पनि गर्न नसकिने, उहाँहरू पनि पुर्खाको थाकथलो छाडेर हिँड्ने कुरा पनि भएन’, वडाध्यक्ष सन्तोषले भने ।

    मैदानेमा एउटै बाबुका तीन भाइ छोराहरूको घर छ । धनबहादुर मगर काजी, सोमवीर मगर सुब्बा र जितबहादुर मगर सञ्चा, तीन भाइका घर गोठ छन् । सो गाउँको जमिन अति उब्जाउयोग्य छ । मैदानेको आलु जिल्लामा नै कहलिएको छ । त्यसैले पनि तीन भाइले सो गाउँ छाड्न सकेका छैनन् ।

    वडाध्यक्ष पौडेलकै अगुवाइमा बुधवार साँझ सो गाउँमा बिजुली बत्ती बलेको छ । सो गाउँमा विद्युत पुर्याउने जिम्मा लिएको निर्माण व्यवसायीले घाटा हुने भन्दै काम गर्न आनाकानी गरेपछि निर्माण व्यवसायीका मान्छे लगाएर जनप्रतिनिधि तथा स्थानीयले समेत श्रमदान गरी गाउँमा बिजुली पुर्याएका हुन् ।

    मैदानेमा वडा कार्यालयकै पहलमा मोटर बाटो त पुगेको छ । हिउँदमा जेनतेन मोटर चल्न सक्ने सो बाटोमा मोटर चढ्ने मान्छे नै नभएपछि सार्वजनिक यातायात चल्ने सम्भावना नै छैन । त्यसले गर्दा वडाको केन्द्रसम्म हिँडेरै आउनुको विकल्प स्थानीयसँग छैन ।

  • विद्युत कटौती बक्यौता असुलीको अन्तिम उपाय : कुलमान घिसिङ (भिडिओसहित)

    विद्युत कटौती बक्यौता असुलीको अन्तिम उपाय : कुलमान घिसिङ (भिडिओसहित)

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल असुल गर्ने अन्तिम उपायको रुपमा उद्योगका विद्युत कटौती गरेको बताएका छन् ।

    उद्योगले प्रयोग गरेका ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादबारे प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा आएर लाइन काट्न बाध्य भएको प्रष्टीकरण दिए । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको सहमतिमा भन्दै ९ वटा उद्योगको विद्युत लाइन काटेको छ । घिसिङले महसुल असुलीका लागि प्राधिकरण पछि नहटी क्रमिक रुपले लाइन काट्दै जाने बताए ।

    उनले भने, ‘हाम्रा प्रयासहरु अब विद्युत लाइन नकाटीकन सम्भव छैन भन्ने भएपछि अन्तिम चरणमा आएर हामी लाइन काट्न बाध्य भएका हौं । हामीले ९ वटा उद्योगको लाइन काटेका छौं । करिब ६१ वटा उद्योगको महसुल उठाउन बाँकी छ । अब क्रमिक रुपले हामी काट्दै जान्छौ । यो विद्युत प्राधिकरणको सम्पूर्ण पदाधिकारीहरुले गरेको निर्णय पालन गर्दै जान लागेको हो । अब यो मैले रोकेर पनि रोकिँदैन ।’

    प्राधिकरणले ठुला उद्योगको लाइन काट्न सुरु गरेपछि निजी क्षेत्रले विरोध गरिरहेको छ । उद्योगीहरुले ट्रंक र डेडिकेटेड लाइनको बिल देखाउन चुनौती दिएका छन् । यस विषयमा घिसिङले बक्यौताका सबै विवरण देखाउन तयार रहेको बताए । उनले पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणअन्तर्गत आवश्यक डाटाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘आजबाट जुन विवाद भइरहेको छ, त्यसको हकमा तपाईहरु कसैले कुनै पनि डाटा विद्युत प्राधिकरणअन्तर्गत माग्नु भयो भने उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु । डाटा लुकाएको भन्ने विषय उठ्ने गरेको हुनाले मैले यति भनेको हो ।’

    उनले यसको सम्बन्धमा २०७० सालमा ऊर्जा मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनले पनि प्रष्ट्याएको बताए । मुलुकमा लोडसेडिङ भइरहेका बेला उद्योग प्रतिष्ठानहरुले विद्युत पाएको प्रमाणित तथ्य रहेको पनि उनले बताएका छन् ।

    उद्योगी व्यवसायीहरुले महसुल बुझाउन अस्वीकार गरेपछि विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० बमोजिम पुस ६ गतेबाट लाइन काट्न सुरु गरेको उनले बताए ।
    ‘बिगतमा सर्वसाधारण उपभोक्ताले दैनिक १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेका बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी विद्युत उपभोग गरिरहेका थिए,’ उनले भने, ‘२ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंकलाइन बापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् ।’

    डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ६१ वटा उपभोक्ताहरुको गत मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन बिच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको उनले बताए ।

    पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत ५ गते विराटनगरबाट केही उद्योगहरुको विद्युत लाइन विच्छेद गर्न सुरु गरेको थियो । तर, तत्कालीन मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णय बमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवहरुको बैठकले कोरोना भाइरसको कारण समग्र उद्योग व्यवसायमा परेको प्रभावलाई समेत ध्यानमा राखी डेडिकेटेड तथा ट्रक महसुल सम्बन्धी विवाद भएका उद्योगहरुको सम्बन्धमा थप निर्णय नहुन्जेल विद्युत लाइन नकाट्ने र उद्योगहरुलाई साबिक बमोजिम नै सेवा नियमित गराउन विद्युत प्राधिकरणलाई लेखी पठाउने भन्ने निर्णय प्राप्त भएपछि लाइन पुनः जोडिएको थियो ।

    विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति विच्छेद गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीलाई विद्युत् प्राधिकरण जवाफ दिएको छ । पत्रकार सम्मेलनमार्फत प्राधिकरणले बक्यौता असुलीमा अझ सशक्त भएर जाने उद्घोष गरेको छ ।

  • रामेछापमा यस वर्ष २० करोड रुपैँया बढीको जुनार सुन्तला उत्पादन हुने अनुमान

    रामेछापमा यस वर्ष २० करोड रुपैँया बढीको जुनार सुन्तला उत्पादन हुने अनुमान

    रामेछाप । रामेछाप जिल्लाबाट यस वर्ष २० करोड रुपैँया बढीको जुनार र सुन्तला बिक्री हुने अनुमान गरिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष जुनार सुन्तला राम्रो उत्पादन भएको र सो परिमाणको बिक्री हुने अनुमान गरिएको छ ।

    रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सो जुनार र सुन्तलाको होलसेल मूल्य २० करोड भन्दा माथि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले बताए ।

    किसानले उत्पादन गरेको सुन्तला बगैँचाबाटै प्रतिकेजी १ सय रुपैँया र जुनार प्रतिकेजी ५० देखि ६० रुपैँया किलो सम्ममा बिक्री हुने गरेको छ । सडक सञ्जाल पुगेको ठाउँमा जुनार सुन्तला किन्न व्यापारीहरू किसानको बगैँचामा पुग्ने गरेका छन् । यसले गर्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सजिलो भएको छ ।

    कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाईले केही वर्ष यतादेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गरेको छ । जसले गर्दा किसानहरू अमिलो जातका फलफूल खेतीमा लागेका छन् । ती कार्यालयले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

    रामेछापमा २ सय बढी व्यावसायिक कृषि फर्म रहेका छन् । रामेछापको ओख्रेनी, सुकाजोर, रामेछाप, रामपुर, गोठगाउँ, हिमगंगा, सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ, फुलासी, माकादुम, हिलेदेवी, खनियापानी, दोरम्बा, बेथान लगायतका क्षेत्रमा व्यावसायिक रूपमा जुनार खेती हुने गरेको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकाको १, २, ४, ५, ६, ७ र ८, मन्थली नगरपालिकाको ४, ५, ६, ९, १३ र १४ वडालाई जुनार जोन घोषण गरी जुनार खेती प्रवर्धनको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जोन क्षेत्रमा मात्रै ५ सय ३० हेक्टरमा जुनार खेती भइरहेको कार्यालयले जनाएको छ ।

    जोन क्षेत्रमा परियोजनाले प्राविधिक सहयोगका साथै सिँचाईका लागि पोखरी, पाइप लगायत सहयोग गरेको छ । त्यस्तै, रोग तथा किरा नियन्त्रण र चिस्यान केन्द्र निर्माण समेत कार्यालयले सहयोग गरिरहेको छ ।

     

  • सम्झनामा सन्त नेता : ‘सेन्स अफ ह्युमर’ का धनी भट्टराई

    सम्झनामा सन्त नेता : ‘सेन्स अफ ह्युमर’ का धनी भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक नेता कृष्णप्रसाद भट्टराईको आज शताव्दी जन्मजयन्ति हो। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं.१९८१ सालमा जन्मिएका हुन् भने २०६७ मा उनको निधन भएको हो।

    युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसदको पहिलो सभामुख चुनिएका थिए। उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुनस्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एकवर्षमै संविधान बनाउन सफल भएका थिए।

    वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय रुपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपु र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए।

    आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा आफू काठमाडौँको क्षेत्र नम्बर एकबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उनी पर्सा एकबाट बिजयी भै छोटो समय प्रधानमन्त्री भएका थिए।

    गान्धीवादी सन्त नेता भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्छन्। हरदम हँसिलो रहने भट्टराईको ‘सेन्स अफ ह्युमर’ उनको व्यक्तित्वको उच्च कोटीको शैली मानिन्छ। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको परिचितहरु सम्झन्छन्। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

    स्व. पिता संकटाप्रसाद र स्व. माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो।

    राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे।

    गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौँ आएर दरबारमा नै पुरोहित भई बसे। यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए। संकटाप्रसादका चार भाइ छोरा बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए। यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद हुन् भट्टराई।

    बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन।

    कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी सोभियत सङ्घको कम्युनिष्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभको अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए।

    भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका थिए। सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहे। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सँगठनमा लागेका थिए।

    नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कोलकातामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए।
    नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए।

    २०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुप¥यो। त्यसपछि पनि पटक–पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय सुन्दरीजल जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।

    २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गरे। नेपाली कांग्रेसको आठौँ महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि यिनले २०५३ सम्म सभापतिको पद सम्हाले।

    भट्टराईको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि यिनैले गरेका थिए।

    भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाएनन्।

    पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बने। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे। २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए।

    राजतन्त्रबारे भने उनको छुट्टै मत थियो। जनआन्दोलनपछि पनि उनी तत्कालै राजा हटाउने पक्षमा थिएनन्। यद्यपि गणतन्त्रको स्थापना पश्चात् उनी यस विषयमा मौन नै रहे। त्यसो त बिपी सिद्दान्तका साधक जसले कुनै न कुनै प्रकारको राजतन्त्र नेपालमा चाहिन्छ भनेर बारम्बार भन्थे नयाँ राजनीतिक माहोलमा उनका कुरा सुन्न छाडीएपछी उनी मौन रहेको कांग्रेस वृतमै बेलाबेलामा चर्चा चल्ने गरेको छ। नेपाली कांग्रेस गणतन्त्रको पक्षमा उभिने निर्णयमा पुगेपछि भट्टराईले पार्टीको सदस्यता परित्याग गरेका थिए।

    सन्त नेता भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएका थियो।