Category: प्रविधि

प्रविधि

  • मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

    मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

    काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ ।व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको बिषय उठाउँदा कार्यक्रम नै भाडिएको थियो । सो कार्यक्रम व्यवसायीहरुले बहिष्कार नै गरेका थिए ।नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए ।

    ‘व्यवसाय सम्बन्धि कुनै पनि बिषय कार्यक्रमका शिलशिलामा उठ्छन, मार्जिनको बिषय त केन्द्रको चासोको विषय नै थियो,त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन,’ महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने ।

    महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जस अनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका ब्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

    महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए ।धनगढीमा आयोजित रिटेल मीटमा व्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए ।

    तर सामसुङ नेपालका प्रतिनिधिहरुले भने सो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरुलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य विषयमा छलफल नै नहुने जवाफ दिएका थिए ।महासंघका सुदूरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले व्यवसायीहरुलाई अपमानित व्यवहार गरेकाले त्यसपछि व्यवसायीहरु कार्यक्रम नै बहिष्कार गरेर हिडेको बताएका थिए ।

  • काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध

    काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध

    काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

    अनामनगर पुर्वीगेट हुदैं हनुमान स्थान, सिंहदरवार दक्षिणगेट हुदैं न्युरो हस्पीटल अगाडी,प्रभु बैंक अगाडी धोवीखोला हुदैं सेतोपुल मैतीदेवी जालीकारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    काठमाडौं । क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन् ।

    शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

    समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिता लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएका हुन् ।

    यस्तैगरी सदस्यमा संगीता लामा तथा सदस्यहरूमा अमिला राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विक। रुपा खड्का, लक्ष्मी बस्नेत चयन भएका हुन्।

    साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी थिइन् । उदघाटन सत्रको अध्यक्षता डब्लुडब्लुकेकी अध्यक्ष निर्मला आचार्यले गरेकी हुन् ।

    समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासंघका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सन्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवालगायतको उपस्थित रहेको थियो।

  • उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्दैन : सिके राउत

    उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्दैन : सिके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नुपर्ने जरुरी नभएको बताएका छन् ।

    शुक्रबार कर्मचारी एकता मंच, नेपाल नागरिक उडड्यन प्राधिकरणको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दापनि नागरिकहरुले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जासपद भएको बताएका हुन् ।

    उनले भने, ‘पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमाथि गम्भीर प्रश्नहरु उठेका छन् । तर यसो भन्दैमा आत्तिहाल्नुपर्ने जरुरी छैन । कुनैपनि विमान दुर्घनामा पर्दा कुनै अन्य प्राविधिक कारणले भन्दा पनि नागरिकहरले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्ने गर्दछन् । यसले देशको छविमा कस्तो प्रभाव पार्न सक्छ भनेर जिम्मेवार नागरिकको हैसियतले लाग्नुपर्दछ ।’

    साथै उनले नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापुर्ण हुनुपर्ने बताए । उनले विविधतापुर्ण भयो भने हाम्रो समाजको लागि सकारात्मक सन्देश दिन सजिलो हुने जिकिर गरे ।उनले भने, ‘नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापुर्ण देश भएको हुनाले संसदमा होस् वा अन्य कुनै ठाउँमा विविधतापुर्ण भयो भने त्यो समाजको लागि सकारात्मक हुन्छ ।

    यदि एउटा अथवा दुईवटा मात्र संगठनहरु भयो भने त्यसले आवाज पनि उठाउन सक्दैन । कुनै कुनै देशमा रुलिङ पार्टीको मात्र संगठन हुन्छ । त्यसले त सरकारको विरोध नै गर्न सक्दैन । सरकारले जे जे भन्यो त्यहीँ गर्नुपर्ने हुन्छ । त्यसैले बढी संगठनहरु भए भन्दैमा नकारात्मक रुपमा लिनुहँुदैन । त्यसले विभिन्न पक्षबाट समस्याहरु समाधान गर्न ठुलो सहयोग गर्ने गर्दछ । त्यसैगरी धेरै संगठनहरु भयो भन्दैमा हामीले एकअर्काको विरोध गर्नुपर्छ भन्ने पनि छैन । ’

  • सिटिइभिटीको पाठ्यक्रम समय अनुसार निर्माण गरिनुपर्ने

    सिटिइभिटीको पाठ्यक्रम समय अनुसार निर्माण गरिनुपर्ने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् ।

    विहीबार काठमाडौंमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सिटिइभिटी सम्बन्धी नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘ सिटिइभिटीलाई पुनःसंरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि कम्तिमा सिटिइभिटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधिन रहेको ऐनमा पनि सुझावदिन सकिन्छ । सिटिइभिटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसको लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’

    यस्तै, उनले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरु भइरहेको बताइन् ।युवाहरुलाई देशमा राख्नको लागि धेरै काम गर्न बाकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाई छ ।

  • टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

    टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

    काठमाडाैं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    सञ्चार मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो । गत वर्ष कात्तिकदेखि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

  • टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै

    टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै

    काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ । आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।

    गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् ।

  • ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी

    ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी

    काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपाल ले ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको छ ।

    सोमबार विश्व फोटोग्राफी दिवसको अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको हो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उदघाटन गरेका थिए ।

    प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसँग सम्बन्धित तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

    एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ । अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो ।

    पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

  • सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु

    सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु

    काठमाडौं । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ ।

    सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो ।

    ‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका(५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ’टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ ।

     

     

     

  • महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने

    महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने

    काठमाडौ । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा महासंघलाई साझा संस्थाका रुपमा क्रियाशील बनाउने निर्णय गरेको छ ।

    प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले पत्रकार महासंघको सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न महासंघसँग आग्रह गरेको छ ।

    बैठकले युनियनले महासंघलाई सबै आस्था र विचार राख्ने व्यावसायिक पत्रकारहरूको छाता संस्थाका रूपमै अघि बढाउनुपर्छ भन्ने मूल्य, मान्यतालाई आत्मसात गर्दै सबै क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्न आवश्यक पहलकदमी लिने निर्णय पनि गरेको हो ।

    त्यस्तै बैठकले युनियनले नयाँ पत्रकारहरूलाई संगठनमा आकर्षित गर्न र पत्रकारिताका बारेमा चिन्तन मनन गर्न पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने भएको छ। सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाई पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यो वर्ष २०८१ भरि प्रेस युनियनमा नयाँ पत्रकारलाई आबद्ध गराउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र युनियनका शाखाहरूलाई परिचालन गरी अभियान सञ्चालन गर्ने निर्णय भएको युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए । बैठकले प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको युनियनको ठहर गरेको छ ।

    कार्यसम्पादन समितिको बैठकपछि महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा ‘राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण गर्दा ‘वर्ग’ घटाएर सार्वजनिक गरेको नतिजाका त्रुटि सच्याई आवश्यक प्रक्रिया पुर्याएर न्यायोचित रूपमा पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई हार्दिक आग्रह गर्ने निर्णय भएको’उल्लेख गरिएको छ ।

    श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

    श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन पनि युनियनले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ।सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, सुविधा वृद्धि गर्न, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गर्न युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।