Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • कुलमानको पहिलो निर्णयसँगै अब व्यापारीले राज्यलाई तिर्नुपर्नेछ २२ अर्ब

    कुलमानको पहिलो निर्णयसँगै अब व्यापारीले राज्यलाई तिर्नुपर्नेछ २२ अर्ब

    काठमाडौं।  नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।

    यसअघि डेडिकेटेड ट्रंक लाइनको बक्यौता सम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला बक्यौता उठाइछाड्ने पक्षमा रहेकै कारण प्राधिकरणबाट बाहिरिनु परेका घिसिङले आफ्नो सोही अडानलाई मन्त्रीका रूपमा गरिएको पहिलो निर्णयमा परिणत गरेका छन् ।

    घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद चुलिएको थियो । घिसिङ बक्यौता उठाइछाड्ने पक्षमा थिए भने तत्कालीन उर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी शर्मा ओली भने त्यसका विरुद्धमा उभिएका थिए । जसले गर्दा तत्कालीन सरकारले गत चैतमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।

    तर त्यसको ६ महिनापछि देशमा भएको उथलपुथलले उनै घिसिङलाई ऊर्जा मन्त्रालय हाँक्ने जिम्मेवारीलाई पुर्‍याइदिएको  छ । यस जिम्मेवारी सम्हालेको पहिलो दिनै कुलमानले समेत बक्यौता सम्बन्धमा निर्णय गरेका छन् ।

    यसले ८ वर्षदेखि चल्दै आएको डेडिकेटेड ट्रंक लाइनको बक्यौता सम्बन्धी विवाद पुन सतहमा ल्याइदिएको छ ।

     

    के हो डेडिकेटेड ट्रंक लाइन ?

    विद्युत् प्राधिकरणको महसुल सङ्कलन विनियमावली, २०७३ ले ट्रंक लाइन भन्नाले प्राधिकरणको एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म जोड्ने ३३ केभी वा सोभन्दा माथिको लाइन र डेडिकेटेड फिडर भन्नाले प्राधिकरणको सबस्टेसनबाट ग्राहकको घर तथा कम्पाउन्डसम्म विद्युत् आपूर्तिका लागि निर्माण गरिएको लाइन भनेर परिभाषित गरेको छ ।

    मुलुकमा लोडसेडिङ रहेको बेला प्राधिकरणले वैकल्पिक रूपमा नियमित विद्युत् आपूर्ति गर्ने व्यवस्था गरेको थियो । त्यसकै लागि त्यसबेला विद्युतको सबस्टेसनबाट छुट्टै तार ल्याएर फिडरमा लोडसेडिङका बेला पनि निरन्तर विद्युत् आपूर्ति गर्ने सुविधा दिइएको थियो । त्यसबेला यसै प्रणालीमार्फत सिंहदरबार, महत्त्वपूर्ण सरकारी कार्यालयहरू, सुरक्षा निकाय, अस्पताल, टेलिकम जस्ता निकायमा नियमित विद्युत् आपूर्ति गरिन्थ्यो ।

    तर पछि उद्योगीहरूले आफूहरूलाई समेत सरकारी निकाय,अस्पतालहरूलाई झैँ नियमित विद्युत् आपूर्ति गरिनुपर्ने माग राखे । जेनरेटर चलाएर मुस्किलले उद्योग चलाइरहेका उद्योगीहरू बरु नियमित विद्युत् आपूर्ति भएको खण्डमा प्रिमियम शुल्क (लाग्दै आएको शुल्कमा थप शुल्क) तिर्न आफूहरू तयार भएका थिए । सो आधारमा प्राधिकरणले २०७० कात्तिकमा डेडिकेटेड फिडरबाट विद्युत् लिन चाहने ग्राहकलाई त्यस्तो विद्युत् दिने भनेर निर्णय गर्‍यो । २०७० साल पुसमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले त्यसरी दिइने विद्युत्मा थप शुल्क लगाउने निर्णय गराए ।

    फलस्वरूप, मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुँदा र आम नागरिक त्यसबाट गम्भीर मारमा पर्दा समेत उद्योगीहरूलाई भने २४सै घण्टा विद्युत् आपूर्ति भइरहने अवस्था बन्यो । त्यसबेला २३९ उद्योग र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत दैनिक २० घण्टाभन्दा बढी समय विद्युत् उपभोगको सुविधा पाएका थिए ।

     

    डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद किन छ ?

    प्राधिकरणले २०७५ वैशाख ३१ मा उद्योगको पनि लोडसेडिङ अन्त्य भएको घोषण गर्‍यो । त्यस अघिसम्म उद्योगीहरूले नियमित बिल तिर्दै आएका थिए । तर लोडसेडिङ अन्त्यको घोषणापछि प्राधिकरणले ६७ उद्योगीलाई २०७२ सालदेखिकै डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रिमियम शुल्कको महसुल तिर्न बाँकी रहेको भन्दै बिल पठायो । यही विन्दुबाट डेडिकेटेड ट्रंक लाइनको विवाद सुरु भएको हो।

    पहिलो विवाद
    २०७२ असार १२ गते प्राधिकरणको सञ्चालक समितिले डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति लिने ग्राहकबाट प्रिमियम शुल्कसहितको नयाँ महसुल दर दिने निर्णय गरेको थियो । फलस्वरूप, २०७२ साउनको विद्युत् खपतको प्रिमियम शुल्कसहितको बिल भदौबाट उद्योगीले पाउन थाले । तर विद्युत् ऐनले भने नियमन आयोगले तोकेको दररेट अन्तिम हुने व्यवस्था गरेको थियो । तर आयोगले भने २०७२ पुस २९ मा मात्रै  प्रिमियम शुल्क तोक्यो । यसले गर्दा त्यसबिचको ६ महिनाको विद्युत् खपतको बिल प्रिमियम शुल्कमा तिर्न पर्ने कि नपर्ने भन्ने विवाद खडा गरिदियो । उद्योगीले आयोगबाट पुसमा मात्र शुल्क तय भएर आएका कारण त्यसअघिको प्रिमियम शुल्क तिर्न बाध्यकारी नहुने बताउँदै आएका छन् ।

    दोस्रो विवाद
    २०७२ फागुन ११ मा प्राधिकरणले एक सूचना प्रकाशित गर्‍यो । डेडिकेटेड फिडर जडान गरेकाहरूलाई सम्बोधन गर्दै निकालिएको त्यस सूचनामा नदीमा जल स्तर घटेकाले विद्यूत उत्पादन घट्न गएको भन्दै डेडिकेटेड लाइनबाट विद्युत् दिन नसकिने र लोडसेडिङको तालिकाअनुसार विद्युत् उपयोग गर्न आग्रह गरिएको छ । त्यसपछि प्राधिकरणले डेडिकेटेड फिडरमार्फत नियमित विद्यूत आपूर्ति हुन थालेको अर्को सूचना निकालेन । उद्योगीले यसलाई प्राधिकरणले तय गरेको शुल्क न्यायसङ्गत नरहेको पुष्टि गर्ने अर्को आधार मानेका छन् । तर प्राधिकरणले भने पछि सूचना ननिकाले पनि डेडिकेटेड फिडरमार्फत नै नियमित विद्युत् आपूर्ति गरिएको बताएको छ ।

    तेस्रो विवाद
    विद्युत् प्राधिकरणले २०७५ वैशाख ३१ मा उद्योगको पनि लोडसेडिङ अन्त्य भएको घोषण गर्‍यो । तर विद्युत् नियमन आयोगले भने डेडिकेटेड लाइनको सुविधा २०७७ असार १ मा मात्रै खारेज गर्‍यो । यसले २०७५ वैशाख ३१ देखि २०७७ असार १ सम्मको अवधिको विद्युत् महसुलको दर रेट कुन हुनेमा समेत विवाद कायम छ । उद्योगीहरूले भने २०७५ सालमा लोडसेडिङ अन्त्य भए पनि २०७७ असारसम्मको डेडिकेटेड र ट्रंक लाइनका नाममा बिल पठाइएको दाबी गर्दै आएका छन् । यस्तै, कतिपय उद्योगीले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गर्न पाऊँ भनी निवेदन नै नदिएका उद्योगलाई पनि प्रिमियम महसुलको बिल पठाइएको जिकिर गर्दै आएका छन् । उद्योगीहरूले आफूहरूले डेडिकेटेड र ट्रंक लाइन उपयोग नगरेको अवधिको विद्युत् खपतमा प्रिमियम शुल्क तिर्नुपर्ने बताउँदै आएका छन् ।

    उद्योगी र प्राधिकरणको बिचको महसुल सम्बन्धी यो विवाद विद्युत् नियमन आयोग, ऊर्जा मन्त्रालय, प्रधानमन्त्रीसँगै अदालतसम्मै पुग्यो । सरकारले विवाद समाधानका लागि विभिन्न समिति र आयोग समेत गठन गर्‍यो । तर यी सबका माझ समेत विवाद सुल्झिएको छैन । फलस्वरूप, प्राधिकरणले उद्योगहरूबाट कुल महसुल र त्यसको जरिवाना गरेर झन्डै २२ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको बताउने गरेको छ । तर यस बिचमा समेत घोषणा गरिएका विभिन्न छुट र सहुलियतले समेत बक्यौता उठ्न सकेको छैन । नवनियुक्त ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णयसँगै बक्यौता सम्बन्धी विवाद पुन: सतहमा आउने निश्चित देखिएको छ । घिसिङले बाँकी रहेको बक्यौता उठाउने निर्णय गरे पनि यो विषय निकै जटिल छ । त्यसैले अब यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कत्तिको सहयोग गर्छन् र घिसिङले उद्योगीहरूसँग कुत तहको समन्वयकारी भूमिका खेल्छन् भन्ने कुराले बक्यौता उठ्ने/नउठ्ने तय गर्ने छ ।

  • जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

    जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

    काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।

    सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । उनले भने, ‘अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’

    सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आउनुभएकाले काम गर्न सहज हुने पनि बताए ।

     

  • ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय– डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने

    ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय– डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने

    काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।

    मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

    घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

    साथै, ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणासमेत गरेका छन् ।

  • स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने

    स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हुन् ।

    पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताए ।

    निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए ।

    साथै पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने उनको दाबी छ ।

  • नवनियुक्त मन्त्री अर्याल भन्छन्– हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो

    नवनियुक्त मन्त्री अर्याल भन्छन्– हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो

    काठमाडौं । गृह एवम् कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् ।

    सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए ।

    उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्ने छ । आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरुलाई सहिद पनि घोषणा गरिएको छ ।’

    यस्तै, उनले भ्रष्टाचाररहित समाज निर्माणको लागि देशमा शोकको परिस्थिती आएको भन्दै अब सुशासन कायम गर्ने र समृद्धि ल्याउने राष्ट्रिय विषयलाई लिएर अगाडि बढ्नु पर्ने बताए ।

    उनले भने, ‘कतिको दाहासंस्कार हुन बाँकी छ, कति घाइते हुनुहुन्छ । खासगरि जेनजीहरुको यसमा अगुवाई रहेको थियो । देशमा अहिले शोकको परिस्थिती छ । तर भ्रष्टाचाररहित समाज हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । सुशासन कायम गर्ने र समृद्धि ल्याउने भनेर राष्ट्रिय रुपमा जुन विषय उठेको छ, यसलाई राष्ट्रपतिले पनि स्वीकार गरेर अगाडि बढ्न एउटा अन्तरिम नागरिकको सरकार बनेको छ ।’

    सार्वजनिक सम्पत्तिमा क्षती पुर्‍याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ ।

    उनले भने, ‘देशको प्रमुख अंगको रुपमा रहेका कार्यालयहरु नै क्षति भएको छ । काम गर्न पनि समस्याहरु आएको छ । मर्मत वा पुननिर्माण गरेर अगाडि बढ्न पनि चुनौती छ । सार्वजनिक सम्पत्तिमा क्षती पुर्‍याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुन्छ । साथै आन्दोलनकारीहरु को पनि माग छ ।’

  • रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

    रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

    काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

    जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।

    पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।

    यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठूलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।

    यस्तो शुन्यमा पुगेको मुलुकको अर्थतन्त्र सम्हाल्ने हिम्मत गरेर अर्थमन्त्रीमा नियुक्त भएका खनाल केहि महिना अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको नियुक्तीमा उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगमा अध्यक्ष थिए । त्यसबेला उनले तत्कालीन सरकारलाई ४४७ पृष्ठ लामो आर्थिक सुधारसम्बन्धी प्रतिवेदन बुझाएका थिए ।
    खनाल आयोगको सो प्रतिवेदनमा मुलुकको अर्थतन्त्रका कमजोरीहरू के–के हुन्, ती समाधान गर्न आवश्यक तात्कालिक कदम र दीर्घकालीन उपायबारे विस्तृत सुझाव समेटिएको छ ।

    वि.सं. २०१३ साल असारमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका खनाल सानैदेखि अत्यन्तै प्रतिभाशाली थिए । तानसेनकै स्कुलबा शैक्षिक यात्रा सुरु गरेका उनले कक्षा ८ सम्म लगातार प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।

    विद्यार्थी जीवनमा उनी रेडक्रस सर्कल अध्यक्ष, विद्यार्थी सङ्गठन सल्लाहकार जस्ता भूमिकामा सक्रिय भए र स्नातकमा दोस्रो, स्नातकोत्तरमा तेस्रो स्थान हासिल गरे । जागिरे जीवनमा खनालले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा लिखित परीक्षा पास गरे ।

    उनले करिब १५ वर्ष ९ महिना शाखा अधिकृतको रूपमा काम गरे । २०५३ सालमा सहसचिव पदमा नियुक्त भई महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत भए र २०५९ सालमा अर्थ मन्त्रालय सरुवा भए ।

    २०६३ सालमा सचिव बनेर २०६७ सालसम्म सेवा दिए, तर पूरक बजेट विवादका कारण अर्थसचिव रहँदाकै अवस्थामा उनले राजीनामा दिनुपर्‍यो ।

    उनले सरकारी निर्णयमा स्वविवेकका आधारमा अवरोध गर्ने साहस देखाएका थिए, जस्तै आठ सय करार कर्मचारी स्थायी गर्ने प्रस्ताव अस्वीकार गर्नु, शेयर कारोबारमा लगानीकर्तालाई वार्तामा बाध्य बनाउनु, र निजामती कर्मचारीको अधिकार रक्षा गर्नु उनले गरेका केही साहसिक कार्यहरु थिए । अर्थ मन्त्रालयको सचिवको रूपमा सेवारत रहँदा उनले नेपालको राजस्व–देखि–जीडीपी अनुपात १२ प्रतिशत भन्दा कमबाट १५.३ प्रतिशत सम्म पुर्‍याएका थिए । जुन वित्तीय प्रदर्शनमा महत्वपूर्ण उपलब्धि मानिन्छ ।

    ०७० सालमा उनी नेपाली काँग्रेसमा प्रवेश गरेपनि आफ्नो विवेकलाई राजनीतिक आवद्धतासँग सम्झौता गरेनन् । यस कारण उनलाई अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोगको नेतृत्व जिम्मा दिएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चालू आर्थिक वर्षको बजेटमा प्रमुख सुझावको रूपमा समावेश गरिएको छ ।

    आफ्नो चार दशकभन्दा लामो करियरमा, खनालले नेपाल सरकारको जागिरसँगै शिक्षण क्षेत्र, र विभिन्न अन्तर्राष्ट्रिय विकासका विभिन्न उच्च पदहरू समेत सम्हालेका छन् र सुधारमुखी दृष्टिकोण तथा वित्तीय पारदर्शिताप्रति आफ्नो अडिग प्रतिबद्धताका लागि परिचित छन् ।

    उनको प्रभाव शिक्षण क्षेत्रमा पनि फैलिएको छ, जहाँ उनले साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालयमा वित्त तथा व्यवस्थापन नियन्त्रण विषयको अध्यापन समेत गराएका थिए ।

    प्रशासनिक भूमिकाहरूको अलावा, खनाल एक लेखक र स्तम्भकार पनि हुन् । सन् २०११ मा मात्र उनले विभिन्न पत्रपत्रिका र जर्नलहरुमा ५० भन्दा बढी लेखहरू प्रकाशन गरेका थिए । उनका आर्थिक नीतिमा आधारित विचारहरूले सार्वजनिक विमर्श र नीति निर्माणमा अझै प्रभाव पार्दै आएका छन् ।

    अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।

  • शीतल निवासमा तीन मन्त्रीकाे शपथ दृश्य: राष्ट्रियसभा अध्यक्ष उपस्थित, गएनन् सभामुख

    शीतल निवासमा तीन मन्त्रीकाे शपथ दृश्य: राष्ट्रियसभा अध्यक्ष उपस्थित, गएनन् सभामुख

    काठमाडाैं । नयाँ सरकारका तीन मन्त्रीले सोमबार शपथ ग्रहण गरेका छन् । भदौ २४ गतेको प्रदर्शनका क्रममा आगलागी भएर जलेको शीतल निवासको प्राङ्गणमै पाल टाँगेर शपथ समारोह आयोजना गरिएको थियो ।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण भने निवासभित्रको सानो कोठामा गरिएको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जामन्त्री तथा ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री पदको शपथ दिलाए । घिसिङलाई ऊर्जासँगै शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सरकारमा वरीयताका आधारमा खनाललाई प्रधानमन्त्रीपछि दोस्रो स्थान दिइएको छ । त्यसपछिको वरीयतामा घिसिङ र अर्याल छन् । खनाल र घिसिङ प्रशासनिक पृष्ठभूमिबाट आएका हुन् भने अर्याल कानुन व्यवसायी हुन् । उनी काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकार पनि रहेका छन् ।

    प्रधानमन्त्री कार्कीले पदभार समालेको तेस्रो दिन आइतबार राति तीन मन्त्री नियुक्त गरेकी थिइन् । जेन–जीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि ६ महिनाभित्र निर्वाचन गराउने सहमतिसहित कार्की नयाँ सरकारको नेतृत्वमा आएकी हुन् । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

    शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल उपस्थित भए पनि विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे भने अनुपस्थित रहे । प्रतिनिधिसभा भदौ २७ गते विघटन भए पनि सभामुखको पद भने कायमै छ ।

  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

    अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् ।

    शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन मन्त्रालयको दिइएको छ ।

    यसैगरी रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव : घोषित मितिमा निर्वाचन गराउन दबाब

    प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव : घोषित मितिमा निर्वाचन गराउन दबाब

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन्।

    सोमबार सामाजिक संजालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन्। सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिने पनि उनले बताएका छन्।

    पहिलो बुँदामा श्रेष्ठले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र,निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता सुझाव दिएका छन्।

    सम्माननीय प्रधानमन्त्रीज्यू ,

    तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन। मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु। तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु।

    एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्।

    दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस्।

    तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारवाही गर्नुस्।

    चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस्।

    पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस्।

    छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस्।

    सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गराैँ।

     

  • वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल आलमको पुनरागमन

    वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल आलमको पुनरागमन

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक सिरिजका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

    क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको छ।

    सन् २०२४ सेप्टेम्बर २७ देखि ३० सम्म चल्ने यस सिरिजलाई नेपाली क्रिकेटको लागि एक महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ। विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने राम्रो मौका प्रदान गर्नेछ।

    घोषित टोलीमा कप्तान पौडेल र उपकप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, आसिफ सेख जस्ता अनुभवी ब्याट्सम्यानहरू समावेश छन्। त्यसैगरी, तीव्र गतिको बलिङ आक्रमण सम्हाल्न करण के सी, सोमपाल कामी र गुलशन झा छन् भने स्पिनतर्फ सन्दीप लामिछाने र ललित नारायण राजवंशीले जिम्मेवारी पाएका छन्।

    टोलीमा लोकेस बम, आदिल आलम, सन्दीप जोरा, आरिफ सेख, नन्दन यादव र साहब आलमले पनि स्थान बनाएका छन्।

    युनिटी कपका लागि घोषित नेपाली टोली:
    १. रोहित कुमार पौडेल (कप्तान)
    २. दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
    ३. कुशल भुर्तेल
    ४. लोकेस बम
    ५. कुशल मल्ल
    ६. आसिफ सेख
    ७. आदिल आलम
    ८. करण के सी
    ९. नन्दन यादव
    १०. सन्दीप लामिछाने
    ११. सन्दीप जोरा
    १२. आरिफ सेख
    १३. ललित नारायण राजवंशी
    १४. गुलशन झा
    १५. सोमपाल कामी
    १६. साहब आलम