Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • ५४ अंकले बढ्याे सेयर बजार, काराेबार रकममा गिरावट

    ५४ अंकले बढ्याे सेयर बजार, काराेबार रकममा गिरावट

    काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ ।

    ५४ अंकले बढेपछि नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।

    परिसूचक बढेपनि बिहीबार कारोबार रकममा भने गिरावट आएको छ । आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार ८ अर्ब तीन करोड रुपैयाँको कारोबार भएको थियो ।

    परिसूचकमा उल्लेख्य सुधार आउँदा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मध्यभोटेकोसी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली विकास बैंक र शिवश्री हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।

  • हत्या अभियोगमा फरार युवकलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

    हत्या अभियोगमा फरार युवकलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

    काठमाडाैं । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ ।

    इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो । प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो ।

    प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • बाटाे खन्ने क्रममा धादिङमा पहिरो, डाेजरसहित तीन जना बेपत्ता

    बाटाे खन्ने क्रममा धादिङमा पहिरो, डाेजरसहित तीन जना बेपत्ता

    काठमाडाैं । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा एक्स्काभेटरसमेत पुरिएको छ ।

    धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पुर्‍याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

    घटनास्थलमा नेपाल प्रहरी र स्थानीयवासी पुग्दै गरेकाले थप विवरण आउन बाँकी छ । घटनामा हराएकाहरुको खोजी भइरहेको छ । एक्स्काभेटर चालक, उनका सहयोगी र एक स्थानीयवासी हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले जानकारी दिए ।

  • निर्वाचन आयाेगले बाेलायाे सर्वदलीय बैठक

    निर्वाचन आयाेगले बाेलायाे सर्वदलीय बैठक

    काठमाडाैं । निर्वाचन आयोगले २९ गते शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएको छ ।

    माघ १२ गते राष्ट्रिय सभा चुनावसहित स्थानीय तह र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई बाेलाइएकाे छ ।

    आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए ।

    तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

  • थप तीन हजार ७५ जनामा काेराेना पुष्टि, काठमाडाैंमा मात्र १५ सय बढी

    थप तीन हजार ७५ जनामा काेराेना पुष्टि, काठमाडाैंमा मात्र १५ सय बढी

    काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यो कुल परीक्षणको २३ दशमलव ५८ प्रतिशत हो । पीसीआर परीक्षणको सङ्क्रमण दर भने २७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा दुई सय ७८ जना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालययले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् । अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

  • २४ घण्टामा थपिए २४ सय ४४ जना कोरोना संक्रमित

    २४ घण्टामा थपिए २४ सय ४४ जना कोरोना संक्रमित

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २४ सय ४४ नयाँ संक्रमित थपिएका छन्।जसमा १९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन्। त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको छ।

    यही अवधिमा मृत्युदर भने निकै कम रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मात्रै ज्यान गएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३ सय ८५ परीक्षण भएको थियो।

     

  • प्रदेश २ को नामाकरण र स्थायी राजधानी टुंगो मतदानबाट लगाउने सहमति

    प्रदेश २ को नामाकरण र स्थायी राजधानी टुंगो मतदानबाट लगाउने सहमति

    काठमाडाैं । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ ।

    प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हाे ।

    प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ । सचिवालयका अनुसार माघ पहिलाे सातामा राजधानी र नामाकरणका लागि मतदान हुनेछ ।

  • ‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’

    ‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’

    काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ ।

    सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । सङ्क्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो ।

    पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ सङ्क्रमति देखिएका छन् । साथै नेपालमा हाल सात हजार ८५५ सक्रिय सङ्क्रमति पुगेका छन् । यसरी अहिले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

    सङ्क्रमण दर बढ्दै

    सङ्क्रमण दर पनि वृद्धि भएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।

    यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन)को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । “बन्दाबन्दी बारेमा छलफल नै भएको छैन” उनले भने, “हामी अहिले सङ्क्रमणका रोकथाम र नियन्त्रणमा ध्यान दिन्छाैँ । अहिल्यै नै बन्दाबन्दीबारे सोचेका नै छैनौँ ।”

    मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उहाँका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ ।

    “जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई त्यहाँ रहेको अस्पतालमा उपचार गर्न सकिन्छ । त्यो अवस्था हेरेर डिसिएमसीले ‘स्मार्ट लकडाउन’ गर्न सक्दछ,” उनले भने, “सङ्क्रमित सङ्ख्या र उपचार गर्नसक्ने क्षमता हेरेर ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार दिइएको छ ।”

    मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन पाँच लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याइरहेकाे बताए ।

    स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पुर्‍याइएकाे छ । मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ । बुस्टर डोज अग्रपङ्क्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो ।

    ओमिक्रोन भेरियन्ट रोकथामको तयारी

    सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुननदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेन्डेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

    उनका अनुसार यहाँ सघन उपचार कक्ष दुई हजार ७९७, भेन्टिलेटर एक हजार ८, एचडियु तीन हजार ८४६ उपलब्ध छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सन्ट्रेटर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटार १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् ।

    प्रदेश नं १ मा ११ वटा प्रदेश २ मा छ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताइन् ।

    “समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेनमार्फत परीक्षण गर्न र पहिचान भएका सङ्क्रमितको उचित व्यवस्थापन गर्नसमेत सबै स्थानीय तह र प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ,” उनले भनिन् । यस्तै, सीमा नाकामा कोरोना भाइरसको परीक्षण थप बढाउने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ रहेको छ । ओमिक्रोन भेरियन्ट पत्ता लगाउन मन्त्रालयले नियमित रुपमा परीक्षणको काम गरिरहेको छ । रासस

  • नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

    नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

    होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चालन सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले ठेक्का दिँदा नै मिलेमतो गरेर दिइएको निष्कर्ष निकालेको छ ।

    उक्त प्रतिवेदनमा दरबार संग्रहालय व्यवस्थापन समितिले तोकेको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर रेष्टुरेन्ट निर्माण गर्न दिएको निष्कर्ष निकालिएको छ।

    प्रतिवेदनको निष्कर्ष छ, ‘तोकिएको जग्गा भन्दा बढी क्षेत्र ओगटी निर्माण कार्य भएको देखिन्छ।’

    प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए ।

    हेर्नुहाेस् पूर्णपाठ :

  • थप १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं । नेपालमा सोमबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ८ हजार ९ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, थप २ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ४ सय ८५ जना निको भएका छन् ।

    हाल नेपालमा ७ हजार ८ सय ५५ सक्रिय संक्रमित आइसाेलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।