Tag: एनआरएनए

  • एनआरएनए निर्वाचन त्रुटिपूर्ण भन्नु झन ठूलो त्रुटि हो : डा.बद्री केसी

    एनआरएनए निर्वाचन त्रुटिपूर्ण भन्नु झन ठूलो त्रुटि हो : डा.बद्री केसी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा भएको निर्वाचन त्रुटिपूर्ण भएको प्रतिवेदन सार्वजनिक भएपछि आफूलाई निर्वाचित अध्यक्ष भएको दावी गर्दै आएका डा.बद्री केसीले प्रतिवेदनलाई ‘सुनुयोजित’ भनेका छन् ।

    शनिबार विहान नेपाल न्यूज बैंकसँगको कुराकानीमा सरकारबाट गठन गरिएको छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनबारे आफूलाई संस्थागत जानकारी नभएको पनि बताए । ‘प्रतिवेदनलाई आधार मानेर संचारमाध्यमहरुले निर्वाचनलाई त्रुटिपूर्ण भनिरहेका छन् । निर्वाचन त्रुटिपूर्ण भन्नु झन ठूलो त्रुटि हो । सबै प्रक्रिया पुरा गरेर सबैको सहमतिमा गरिएको निर्वाचन निष्पक्ष छ । केही प्राविधिक समस्या मात्र आएको थियो त्यो पनि समाधान भइसकेको थियो । अहिले प्रतिवेदनलाई आधार मानेर आएका समाचारहरुमा निर्वाचन त्रुटिपूर्ण भन्नु सुनियोजित कदम हो,’ डा.केसीले भने ।

    यसअघिको सरकारले निर्वाचित समितिलाई विघटन गर्ने प्रयास गरेपनि कुनै आधार नपाएपछि निर्वाचन प्रक्रियाभित्रका सामान्य समस्याहरुलाई त्रुटिपूर्ण भनिनु सुनियोजित भएको उनले बताए । ‘खासमा ११औं महाधिवेशनमा भएको निर्वाचनको प्रक्रियामा भएको समस्यालाई तत्कालीन तीन अध्यक्ष, अध्यक्षका उम्मेदवारहरुबिच भएको सहमतिका लागि भएको हस्ताक्षरसहितको माइन्यूट हामीसँग सुरक्षित छ । तर सरकार नै सुरुदेखि सुनियोजित रुपमा लाग्यो । अहिले प्रतिवेदन बुझाएर निर्वाचन त्रुटिपूर्ण छ भन्नु त्यो झन ठूलो त्रुटि हो,’डा.केसीले भने ।

    अदालतले सरकारलाई आदेश दिइसकेकाले संस्था एक महिनाभित्र नवीकरण हुने दावी पनि उनले गरे । ‘संस्था नवीकरण नभए कानुनले नत्थी लगाएर सरकारलाई दर्ता गर्न बाध्य बनाउँछ । यदि त्यसो नभए हामी पुनः अदालतको ढोका ढकढक्याउन जान बाध्य हुनेछौं,’ डा.केसीले भने ।

    महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको थियो । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्तगरी संघको आइटी टिममार्फत मतदातालाई उपलब्ध गराएको छानबिनका क्रममा पाइएको थियो ।

    सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित नहुनुले कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख थियो । ‘निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू निर्वाचन भइरहेको समयमा गरिएको, फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस गैरआवासीय नेपाली संघको आइटी सपोर्ट टिमलाई उपलब्ध गराएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

    यस्तै फेसियल भेरिफिकेसन बाइपास सम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरेर पुनः मतदान गराएको पाइएको छानबिन समितिको निष्कर्ष छ ।

    ‘नेपालबाट मतदान गर्ने गरी दर्ता भएका नौं जनाको ग्लोबलबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको र पाँच जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको तथा निर्वाचनको परिणाम घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ’, रिपोर्टको निष्कर्षमा भनिएको छ ।

    सह महान्यायाधिवक्ता चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको छ । समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन बुझाएको हो ।

    गत अक्टोबरमा सम्पन्न महाधिवेशनको क्रममा भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले दाबी गर्दै आएको सन्दर्भमा छानबिन समितिले पनि यस्तो ठहर गरेको हो । लामो समयसम्म पनि एनआरएनएको विवाद समाधान हुन नसकेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्बाटै निर्णय गराएर छानबिन समिति बनाएका थिए ।

    छानबिन समितिले झन्डै डेढ महिना अध्ययन गरेर फागुन अन्तिममा हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा पनि धाँधली भएकै निष्कर्ष निकालेको थियो ।

  • एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै दुरुपयोग

    एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै दुरुपयोग

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघकोआइटी टिममार्फत मतदातालाई उपलब्ध गराएको छानबिनका क्रममा पाइएको हो ।

    महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित नहुनुले कमजोरी देखिएको औँल्याएको छ ।

    समितिको रिपोर्टमा भनिएको छ, ‘निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू निर्वाचन भइरहेको समयमा गरिएको, फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस गैरआवासीय नेपाली संघको आइटी सपोर्ट टिमलाई उपलब्ध गराएको पाइयो ।’

    यस्तै फेसियल भेरिफिकेसन बाइपास सम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरेर पुनः मतदान गराएको पाइएको छानबिन समितिको निष्कर्ष छ ।

    ‘नेपालबाट मतदान गर्ने गरी दर्ता भएका नौं जनाको ग्लोबलबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको र पाँच जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको तथा निर्वाचनको परिणाम घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ’, रिपोर्टको निष्कर्षमा भनिएको छ ।

    सह महान्यायाधिवक्ता चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको छ । समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन बुझाएको हो ।

    गत अक्टोबरमा सम्पन्न महाधिवेशनको क्रममा भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले दाबी गर्दै आएको सन्दर्भमा छानबिन समितिले पनि यस्तो ठहर गरेको हो । यससँगै आफूलाई एकपक्षीय रूपमा अध्यक्ष घोषणा गरेका केसी नैतिक संकटमा परेका छन् ।

    लामो समयसम्म पनि एनआरएनएको विवाद समाधान हुन नसकेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्बाटै निर्णय गराएर छानबिन समिति बनाएका थिए । छानबिन समितिले झन्डै डेढ महिना अध्ययन गरेर फागुन अन्तिममा हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा पनि धाँधली भएकै निष्कर्ष निकालेको थियो ।
    ब्युरोको रिपोर्टमा संघको निर्वाचनबारे गम्भीर प्रश्न उठाइएको थियो । सीआईबीले अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’ बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता समेत औँल्याएको थियो ।

    गत कात्तिक ३ गते मध्य राति निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक गरिएको मत परिणामअनुसार अध्यक्षका प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठभन्दा बद्री केसीको मत बढी देखाएको थियो ।
    तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको र पदाधिकारीहरूको जोड घटाउमा समेत मिस्टेक पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए । सो पछि महेश समेतको समर्थनमा केसीविरुद्ध शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेर गतिविधि हुँदै आएको छ ।

    विवाद समाधान नभएपछि माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन भएको थियो ।

    एनआरएनको इतिहासमा पहिलो पटक भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा काठमाडौँबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य मत देखियो । त्यसपछि अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

    तीन अध्यक्षको निर्णय विपरीत भोलिपल्ट कात्तिक ४ गते मतदानमा बढी मत आएको भन्दै अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिका सदस्य टिबी कार्कीले शपथ खुवाएपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके)शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समानान्तर अर्को कार्यसमिति बनाएर अगाडि बढेका थिए । त्यसपछि हालसम्म विवाद यथावत् रहेको छ ।

    लेखामा असल अभ्यास भएन

    छानबिन समितिले संघको लेखा सम्बन्धी विषयमा पनि आफ्नो निष्कर्ष दिएको छ । जसमा मुख्य मुख्य खर्चको फाँटबरी र सम्बन्धित बिल भर्पाईहरू मगाइ समितिले स्थलगत रूपमा खर्चका पुस्टाइसहितका कागजातहरू माग गरी छानबिन गरेको थियो ।

    आव २०७९।०८० को लेखा परीक्षण प्रतिवेदनले औँल्याएका कैफियतहरू फर्छौट गर्ने कार्य पूर्ण रूपमा भएको देखिएन । संघलाई प्राप्त हुने सम्पूर्ण रकम मूल कोषमा जम्मागरी सोही कोषबाट रकम निकासा गरी सबै खर्चहरू गर्नुपर्नेमा विभिन्न बैङ्कमा १८ वटा खाता खोलिएको र फरक फरक परियोजना तथा कार्यक्रमका लागि खोलिएका खाताहरूमा सोझै रकम जम्मागरी खर्च गर्ने विगतदेखिको प्रचलन असल अभ्यासको रूपमा देखिएन’, समितिको प्रतिवेदनमा भनिएको छ ।

    यस्तै वार्षिक शीर्षकगत तथा योजनागत कारोबारहरूको विषयगत खर्चमा रकम नभएको अवस्थामा समेत कोर फन्डबाट तत्काल खर्च गर्ने गरेको, विषयगत परियोजना तथा कार्यक्रमका लागि प्रतिबद्धता जनाइएका स्रोतहरूबाट रकम प्राप्त भएपश्चात् मात्र उक्त विषयगत परियोजना तथा कार्यक्रममा खर्च गर्नुपर्नेमा विषयगत खाता ऋणात्मक भएको अवस्थामा मूल कोषबाट रकमान्तर गरी खर्च गर्ने गरिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै आयोजक समितिको स्वीकृति नलिई विश्व सम्मेलनको खर्च गरिएको समेत समितिको निष्कर्ष छ । ‘खर्चको स्वीकृत मापदण्ड नभएकोले लागत अनुमान तयार गर्ने कार्यदेखि खर्च गर्ने कार्यसमेत यथार्थपरक भए नभएको यकिन गर्ने आधार स्पष्ट देखिएन’, रिपोर्टमा भनिएको छ, ‘कार्यक्रम सञ्चालनका लागि प्रतिस्पर्धात्मक रूपमा मितव्ययी र पारदर्शी हुने गरी सेवा प्रदायक छनोट लगायतका कार्य सञ्चालन गर्नुपर्नेमा सोको पूर्ण पालना भएको देखिएन।’

    नियममा व्यवस्था गरिएका केही खर्चका आधारभूत मापदण्डहरूको पालनालाई अनदेखा गरी विगत देखिनै सङ्घले विषयगत परियोजना र कार्यक्रमका साथै आकस्मिक प्रकृतिका खर्च गर्दै आएकोमा बदनियत पूर्ण रूपमा संघको खर्च भई कोषको दुरुपयोग एवं हिनामिना भएको नदेखिए पनि संघको वित्तीय सुशासन कायम गर्न प्रचलित नियम कानुनको पूर्ण परिपालना हुनुपर्ने देखिएको छानबिन समितिको ठहर छ ।

  • एनआरएनए उपाध्यक्ष महेशकुमार श्रेष्ठको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    एनआरएनए उपाध्यक्ष महेशकुमार श्रेष्ठको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे अध्यक्ष पदका लागि हाल उपाध्यक्ष रहेका महेशकुमार श्रेष्ठले उम्मेदवारी घाेषणा गरेका छन् ।

    ‘समुन्नत नेपाली, सम्मानित प्रवासी नेपाली’ भन्ने मूल नाराकासाथ एनआरएनएकाे शाख जाेगाउनका लागि र एनआरएनए अझ सशक्त बनाउनकाे लागि आफूले अध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेकाे श्रेष्ठले बताए ।

    एनआरएनएकाे १० औँ महाधिवेशनबाट तीन–तीन जना अध्यक्ष बनेपछि संस्थाप्रति नकारात्मक सन्देश गएको र एनआरएनएलाई हेर्ने दृष्टिकाेणमा परिवर्तन आएकाे उनकाे बुझाइ छ । अब याे संस्थाप्रति गुमेकाे शाख फेरि फिर्ता ल्याउने गरी काम गर्न आफू सक्षम भएकाले आफ्नाे उम्मेदवारी रहेकाे पनि उनले स्पष्ट पारे ।

    सहमति, सहकार्य र एकता नै आजको आवश्यकता भएकाले सबैलाई समेट्न सक्छु भन्ने विश्वास राख्दै सकभर निर्विराेधकाे अपेक्षा पनि उनले गरेका छन् । श्रेष्ठले अध्यक्षमा उमेद्वारी दिने सबै गैरआवासीय नेपालीहरुमा साथ सहयोग र समर्थन गर्न अपिल पनि गरेका छन् ।

    जापानमा रहेका पुराना तथा स्थापित व्यवसायी श्रेष्ठले एनआरएन कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष भएर काम गरिरहेका छन् । गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

  • एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिने

    एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिने

    काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)काे आगामी अक्टोवरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्तासमेत रहेका साेम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

    विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एउटै छानामुनि केन्द्रित गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्दै प्रवास बस्ने सम्पूर्ण नेपालीहरूको एकमात्रै साझा सङ्गठन हो गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)।

    संघकाे स्थापनाकालदेखि नै सक्रिय सापकोटा संघकाे विभिन्न पदीय जिम्मेवारीमा रही नेपाल र नेपालीहरूको हक हितमा संस्थागत रूपमा क्रियाशील छन् । सन् २००६ मा गैर आवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रिय समन्वय परिषद्को निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे ।

    सापकोटा सन् २०११–२०१३ सम्म गैरआवासीय नेपाली संघकाे केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्य परिषद्को सहकोषाध्यक्षमा निर्वाचित भएका थिए ।

    यसैगरी, सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल संघकाे प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

    नेपालमा गैरआवासीय नेपाली संघ माध्यमबाट इलाइब्रेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका छन् । सापकाेटाले उपमहासचिव पदमा सकभर निर्विराेध अपेक्षासहित सम्पूर्णमा सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

    गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

  • एनआरएनए जापानको अध्यक्षका उम्मेदवार सिद्धार्थ श्रेष्ठ

    एनआरएनए जापानको अध्यक्षका उम्मेदवार सिद्धार्थ श्रेष्ठ

    जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

    विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले गैरआवसीय नेपाली संघ एनआरएनए जापानको आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने भएका हुन् ।

    बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुँदै अहिले महासचिव पदमा कार्यरत छन् । एनआरएनको अन्तर्राष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् ।

    प्रवक्ता रहँदा उनले एनआरएनए जापानमा भएको करोडौं भ्रष्टाचारविरूद्ध चर्को आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधानाङ्गकाे संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो ।

    सो समितिले झन्डै दुई करोडभन्दा माथिको रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    जापानका नेपाली समुदायमा परेका समस्या नाजिकबाट नियालेर समाधानमा निरन्तर रूपमा लागि परेका श्रेष्ठ यतिबेला एनआरएनए जापानकाे अध्यक्ष पदकाे उम्मेदवारकाे रुपमा प्रस्तुत भएका छन् । उनले सहयोगकाे लागि जापानबासी नेपाली जनहरूमा अपिल पनि गरेका छन् ।

    बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडीसमेत हुन् ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

    वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

    काठमाडाैं । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई आजदेखि सामाजिक सुरक्षाको दायरमा ल्याउने प्रक्रिया आरम्भ भएपछि सङ्घले लामो समयदेखि उठाउँदै आएको महत्वपूर्ण मुद्दा सम्बोधन भएको जनाएको हो ।

    सङ्घले महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउँदै यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

    पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकृत गराउन सुरु गरेपछि बहुसङ्ख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको सङ्घको भनाइ छ ।

    गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले, ‘सङ्घको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलका रुपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको हो । वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनी तथा परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेका छौँ ।’ सङ्घका अर्का अध्यक्ष कूल आचार्यले लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र सरोकारवालालाई आभार व्यक्त गरे।

    सङ्घले आफ्नो सुरुको अभियानदेखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि सरकारलगायत सरोकारवालासँग वकालत, पैरवीदेखि समन्वय र सहकार्यसम्म गर्दै आएको थियो । सङ्घले सरकारसँग सहकार्य गर्दै आगामी अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा सामाजिक सुरक्षा कोषमा आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

  • एनआरएनए यूके कार्यालयको बिजुली काटियो

    एनआरएनए यूके कार्यालयको बिजुली काटियो

    लन्डन । एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ ।

    एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।

    बिजुलीको बिल नतिर्दा जुलाइ देखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।