Tag: पर्यटक

  • लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

    लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

    तेह्रथुम । कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका याे पाेखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियाे तर अहिले सुनसान छ ।

    हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लाेभलाग्दाे छ । सिधुवा-शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार-प्रसार अभावमा ओझेलमा परेकाे छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयकाे १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएकाे छ ।

    यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पाेखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे । धामीहरु गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उनले भने ।

    वारिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन । त्यसो त भौतिक पुर्बाधार निर्माणा नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन् ।

    पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेग्ने झाडी हटाउन आवश्य रहेकाे पर्यटक कुमार लिम्बूले बताए ।

    पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैँमा ओझेल पर्दै गएको छ ।

  • तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक आए नेपाल घुम्न

    तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक आए नेपाल घुम्न

    काठमाडौं । बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

    अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

    सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

    सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन् ।

    अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा नेपालबाट सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बंगलादेश र अष्ट्रेलियाबाट आएका छन् ।

    उक्त समयमा भारतबाट ७४ हजार ४६९, अमेरिकाबाट २२ हजार ७४८, बेलायतबाट ८ हजार ६०८, बंगलादेशबाट ७ हजार ६१६ र अष्ट्रेलियाबाट ५ हजार १७६ जना पर्यटक त्रिभुवन अन्तर्राष्टिय« विमानस्थल हुँदै नेपाल भित्रिएका थिए ।

    यस्तै, फ्रान्सबाट २ हजार ८१४, जर्मनीबाट २ हजार ४२३, क्यानडाबाट २ हजार ३७०, चीनबाट १ हजार ७९७, रुसबाट १ हजार ५६६, दक्षिण कोरियाबाट १ हजार २५०, स्पेनबाट १ हजार २८३, नेदरल्याण्ड्सबाट १ हजार २७७, सिंगापुरबाट १ हजार १९३, थाइल्याण्डबाट १ हजार १५१, बेल्जियमबाट १ हजार ७६, जापानबाट १ हजार ५२, इटालीबाट १ हजार ४३, फिलिपिन्सबाट १ हजार ३७, पाकिस्तानबाट ९९५, टर्कीबाट ९३२ र भियतनामबाट ८३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

     

  • एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

    एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

    मुगु । मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

    स्व. राजा वीरेन्द्र २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाल पुगेका थिए । पछि नेपाली एक रुपैयाँको नोटमा उक्त हिमाल अंकित गरिएकाे थियाे । तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् ।

    विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

    सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घन्टा पैदलयात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।

    हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा साना काठको टहराेमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।

  • मोदीको भ्रमणपछि लुम्बिनीमा बढ्न थाले पर्यटक

    मोदीको भ्रमणपछि लुम्बिनीमा बढ्न थाले पर्यटक

    कपिलवस्तु । कोभिडले शून्य अवस्थामा पुर्‍याएकाे लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए ।

    त्यसयता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म)मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् ।

    तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो । कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो । सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए ।

    भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ ।

    विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी गिरावट आएको छ ।

    लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा चार लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे ।

    यस वर्ष २०२१ को मे सम्म पाँच महिनाको अवधिमा मात्रै दुई लाख ८९ हजार ५ सय ९४ जना स्वदेशी पर्यटक लुम्बिनी आएका छन् । यो तथ्याङ्क भने रुपन्देही, कपिलवस्तु र नवलपरासीबाहेकका पर्यटकको सङ्ख्या हो ।