Tag: पर्यटन व्यवसायी

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई

    काठमाडाैं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन् ।

    उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताए । भट्टराईले राज्यका कतिपय निकायहरूले विमानस्थलको विषयमा बुझ्न नसकेको बताए ।

    उनले वातावरण सम्बन्धी चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाए । उनले निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नुरहेको बताए । सांसद भट्टराईले निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको पनि बताए । उनले राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने त्यो काम नगरेको भन्दै न्यायको निरुपण गर्नेले पुतली गरिरहेको उल्लेख गरे ।

    त्यस्तै,पूर्व पर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरुलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्नसक्ने बताए । उनले सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रुपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने बताए ।

    उनले सरकारले त्यसतर्फ ध्यान दिएमा मात्रै नागरिक उड्डयनले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नसक्ने बताए । उनले हवाई उडान क्षेत्रलाई नेपालको जिडिपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगको रुपमा बुझ्न नसकिएको बताए । उनले नेपालमा हवाई उडान क्षेत्रको धेरै ठूलो महत्व रहेको बताए ।

  • आन्तरिक पर्यटकको रोजाइमा डोल्पा

    आन्तरिक पर्यटकको रोजाइमा डोल्पा

    डाेल्पा । हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

    पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो ।

    डोल्पामा निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से–फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल लगाएतका पर्यटकीय गन्तव्यहरु रहेका छन् ।

    चालू आर्थिक वर्षमा मात्रै करिब तीन हजारभन्दा बढी पर्यटनकले से–फोक्सुन्डो तालको अवलोकन गरेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिए ।

    डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले डोल्पा घुम्न जान पर्यटकहरु इच्छुक हुने गरेका छन् ।

  • एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

    एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

    मुगु । मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

    स्व. राजा वीरेन्द्र २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाल पुगेका थिए । पछि नेपाली एक रुपैयाँको नोटमा उक्त हिमाल अंकित गरिएकाे थियाे । तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् ।

    विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

    सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घन्टा पैदलयात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।

    हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा साना काठको टहराेमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।

  • शनिबार र आइतबार बिदा दिने निर्णयकाे पर्यटन व्यवसायीले गरे स्वागत

    शनिबार र आइतबार बिदा दिने निर्णयकाे पर्यटन व्यवसायीले गरे स्वागत

    पोखरा। पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ ।

    कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    हाेटल संघले विज्ञप्ति नै निकालेर सरकारकाे निर्णयले सकारात्मक सन्देश दिएको बताएकाे छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    कोभिड-१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले दुई दिन बिदा पर्यटनका लागि सुखद समाचार रहेको बताउँछन् । अरु देशमा पनि यस्तो अभ्यास रहेकोमा नेपालले ढिलो गरी यसलाई पछ्याएको उनी बताउँछन् । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताए ।

    पोखरामा हिजाेआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन् । विस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ । पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् ।

    पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेको छ । अहिले व्यवसायीहरूले लगानी बढाएका छन् भने साहसिक खेलकुदका गतिविधि थपिएकाे छ।