Tag: माओवादी केन्द्र महाधिवेशन

  • माओवादी केन्द्रले बनायाे सात सदस्यीय अध्यक्ष मण्डल

    माओवादी केन्द्रले बनायाे सात सदस्यीय अध्यक्ष मण्डल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

    अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

    आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले साेमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ ।

     

  • माओवादीको मञ्चमा शंखर पोखरेलले भने : फर्केर हेर्दा पश्चाताप लागेको छ

    माओवादीको मञ्चमा शंखर पोखरेलले भने : फर्केर हेर्दा पश्चाताप लागेको छ

    काठमाडाैं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले दिएको कार्यादेश बमोजिम नेकपा निर्माण भए पनि त्यसलाई बचाउन नसकिएकाले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए ।

    उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताए ।

    ‘राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि जनताले खोजेको समृद्धि र विकास दिन किन सकेनौँ भन्नेबारेमा आत्म समीक्षा गर्नुपर्ने भएको छ’, महासचिव पोखरेलले भने, ‘जनताका अधिकारका मामिलामा हामी दलहरू च्याम्पियन छौँ तर जनताका आकाङ्कक्षालाई पूरा गराउन हामीले कति सकेका छौँ भन्नेमा यस्ता महाधिवेशनमा घोत्लिएर समीक्षा गर्नुपर्छ । त्यसमा यो महाधिवेशन सफल हुन सकोस् ।’

    माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरण गर्दै महासचिव पोखरेलले संविधानसभा र राज्य पुनःसंरचनाका माध्यमबाट मुलुकको निकास सम्भव छ भन्ने प्रस्ताव पनि आफूले अघि सारेको बताए । उनले नेपालको राष्ट्रियता, स्वाधीनता, वैदेशिक मामिला र आर्थिक विकासका प्रश्नमा सबै दलहरूबीच साझा धारणा बनाउन सक्नुपर्ने पनि बताए । उनले एमालेले चाहेको र माओवादी केन्द्रले चाहेको समृद्धि र समाजवादमा भिन्नता छैन भने एक ठाउँमा बसेर अघि बढ्न सकिने स्पष्ट गरे ।

    महासचिव पोखरेलले महाधिवेशनबाट अध्यक्ष प्रचण्डलाई पुनः नेतृत्वमा आउने स्थिति देखिएकाले उनलाई सफलता हासिल गर्न शुभकामना पनि दिए ।

  • माओवादी महाधिवेशनमा माधव नेपालले भने- मन मिलेपछि अरू केही चाहिँदो रहेनछ

    माओवादी महाधिवेशनमा माधव नेपालले भने- मन मिलेपछि अरू केही चाहिँदो रहेनछ

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीसँग आफूहरूको मन मिलेको बताएका छन् ।

    ‘तपाईँहरूसँग मन मिल्यो । मन मिलेपछि अरू केही चाहिँदो रहेनछ । मन मिलेपछि भावना मिल्दै जाँदो रहेछ,’ उनले भने ।

    उनले नेपाली समाजवाद कस्तो हुने भन्ने सबैसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह पनि गरे । सत्ता गठबन्धन, संसदमा रहेका दलहरूबीच र बौद्धिक समुदायमा नेपाली समाजवाद कस्तो हुने भन्ने व्यापक रूपमा छलफल गर्न अध्यक्ष नेपालले प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन् ।

    उनले पार्टीहरूभित्र पनि नेपाली समाजवाद कस्तो हुने भन्ने छलफल हुनुपर्ने बताए ।

  • राप्रपा महामन्त्री कुन्ती शाहीले जब एमाले महासचिवको नाम बिगारिन्…

    राप्रपा महामन्त्री कुन्ती शाहीले जब एमाले महासचिवको नाम बिगारिन्…

    काठमाडाैं । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा सम्बाेधन गर्न पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले सम्बाेधनका क्रममा अतिथीकाे नाम लिन गल्ती गरेकी छिन् ।

    सम्बोधनका क्रममा शाहीले नेकपा एमालेका महासचिव ईश्वर पोखरेल भनेपछि हलमा हाँसो गुन्जियो । त्यहाँ उपस्थित एमाले महासचिव शंकर पोखरेल कुन्तीतर्फ पुलुक्क हेर्दै हाँसे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनीतर्फ हेर्दै मुसुमुसु हाँसे ।

    त्यसपछि शाहीले सच्याउँदै एमाले महासचिव शंकर पोखरेल भनिन् । यसपछि पनि जनता समाजवादी पार्टीका अध्यक्ष भनेपछि हतपति उपेन्द्र यादवको नाम लिन सकिनन् । पछाडिबाट कसैले भन्दिएपछि उनी अगाडि बढेकी थिइन् ।

  • रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

    रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

    काठमाडाैं । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ ।

    एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा आम कार्यकर्ता पङ्क्तिमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै थियो । शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गर्नुभयो र सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भयो । शनिबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले नै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी गराएका थिए । उनले पार्टीको महाधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा समेत जानकारी गराए ।

    स्थानीय तहदेखि नै सबै प्रक्रिया पुर्‍याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखिएको र विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्न लागेकाले यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखिने अध्यक्ष प्रचण्डको भनाइ थियो । माओवादीले वैधानिक र कानुनी रुपमा के हुन्छ, भनेर केन्द्रीय सदस्य मुक्ति प्रधानलाई निर्वाचन आयोगसँग परामर्शका लागि खटाएको थियो । वैधानिक र कानूनी पाटो के हुन्छ भनेर आयोगसँग छलफल गरेपछि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले जनाएको छ ।

    नेता प्रधानले आयोगसँग बुझ्दा भेला, सम्मेलन र महाधिवेशन जे भने पनि तपाईंहरूको कुरा हो तर एउटै कुरा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भए पनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिए महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ प्राप्त भएको थियो ।

    पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रावधान छ । विसं २०७३ मा तत्कालीन नेकपा (एमाले)सँग एकता भएकाले महाविधेशनलगायतका नियमित प्रक्रिया अगाडि बढेको थिएन । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टाछट्टै दलका रुपमा विभक्त भए । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।

    अध्यक्ष प्रचण्डले भने, “महाधिवेशनका गर्ने तर नाम चाही सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ, त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्तावेज र विधानको महत्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दै छौँ भन्ने भएपछि महाधिवेशनमा परिणत गरिएको हो ।”

    माओवादीको विधानअनुसार सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाले गर्दा तुरुन्तै महाधिवेशनको आयोजना गर्नुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोग खोइ महाधिवेशन भनेर प्रश्न गरेको अवस्थामा प्रेसर दबाब हुने भएकाले पनि यस्तो निर्णय गरिएको अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा जानकारी गराएका थिए ।

    अध्यक्ष प्रचण्डको थप भनाइ थियो, “हाम्रो अनुकूलतामा त महाधिवेशन गरी नै हाल्छौँ, दुई वर्ष अढाइ वर्ष जहिले पनि गर्न सक्छौँ, तर अहिले महाधिवेशन भनिएन भने त चाँडै गर्नुपर्ने हुन्छ, त्यो तनावमा हामी किन बस्ने ? एकछिनलाई कसैले अस्तिसम्म सम्मेलन भन्ने आज महाधिवेशन भन्लान्, तर त्यसको हामी मजाले जवाफ दिन सक्छौँ ।”

    सबै प्रक्रिया पुर्‍याइएकाले महाधिवेशन भन्न लायक र उपयुक्त रहेको तर्क गर्दै उनले व्यवस्थित ढङ्गले विधान संशोधन गर्न लागिएको तथा सम्मेलनलाई महाधिवेशनान परिणत गरिएको बताए । शनिबार साँझ बसेको स्थायी कमिटीको बैठकमा सम्मेलनलाई राष्ट्रिय महाधिवेशनका रूपमा सम्पन्न गर्न उचित हुन्छ भन्ने नेताबीच समझदारी भएको थियो । पार्टीको सदस्यता नवीकरणदेखि वडामा सम्मेलन र त्यहाँ प्रतिनिधि चुन्नेदेखि त्यहाँ प्रतिवेदन पारित गर्ने तथा नेतृत्व चयन गर्नेसम्मका काम नियमित रुपमा नै सम्पन्न भएका छन् ।

    यस्तै पालिकाको सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व निर्माणको निर्वाचन पनि गरिएको छ । राष्ट्रिय रुपमा सहभागी हुने प्रतिनिधिको छनोट र कमिटीको निर्वाचन प्रक्रिया पनि पूरा भएको छ । केन्द्रीय समितिको पनि निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले काम गरेको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ ।

    अन्य प्रमुख पार्टीले महाधिवेशन गर्दा सबै विधि नपुगे पनि महाधिवेशनका रुपमा नै स्थापित भएको माओवादीको तर्क छ । ‘राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दै छौँ’, अध्यक्ष प्रचण्डको भनाइ थियो । सम्मेलनमा विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, माओवादी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक विवेचना र कार्यनीति तय गरिएको माओवादीको दाबी छ । रासस