कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए । त्यसैगरी उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे । १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।
पुनर्वासमा कांग्रेस विजयी
त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुनर्वासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए ।