Tag: अस्पताल

  • जागीरको ग्यारेन्टी गर्न अस्पतालका कर्मचारीको माग

    जागीरको ग्यारेन्टी गर्न अस्पतालका कर्मचारीको माग

    लमजुङ । जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

    गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चिताका लागि माग गरेका हुन् ।

    कर्मचारीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरामा मुख्यमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखरामा स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै रोजगारी सुनिश्चितताको माग गरेका हुन् ।

    गण्डकी प्रदेश सरकार र मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)बीच सम्झौता भएर सञ्चालन भइरहेकोमा गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालन अवधि हुँदाहुँदै एक पक्षीय ढंगले सम्झौता भंग गर्ने परिपत्र गरेको उनीहरूको भनाइ छ । परिपत्रले अस्पताल सञ्चालन गर्दै आएको संस्था र कार्यरत कर्मचारीहरूलाई आत्मबल गिराउने गरी कदम चालेकोप्रति गम्भीर ध्यानाकार्षण भएको कर्मचारीहरूले बताएका छन् ।

    इमरजन्सी, ओपडी इन्चार्ज गणेश गुरुङका अनुसार सम्पूर्ण कर्मचारीको तर्फबाट प्रजिअलाई ज्ञापन पत्र बुझाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सरकारको १८ साउनमा अस्पताल सञ्चालन सम्झौता भंग गर्न प्रस्ताव (सूचना) निकालेको छ । अस्पताल सञ्चालनका लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकार, मानव विकास सामुदायिक सेवाबीच पाँच वर्षका लागि २७ कार्तिक २०७७ मा सम्झौता भएको थियो ।

  • भरतपुर अस्पताललाई रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

    भरतपुर अस्पताललाई रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

    चितवन । भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो ।

    उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रुपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारी विद्यालयमा ई लर्निङ अभियान शुरु गरेको संस्थाले अब शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउने जानकारी पनि दिए ।

    भरतपुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा. भोजराज अधिकारीले ३५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालका लागि उपकरण उपयोगी हुने बताए । उनले सेवाका क्षेत्रमा अस्पताल सहकार्य गर्न तयार रहेको स्पष्ट गरे ।

    अस्पताल प्रमुख प्रा.डा. कृष्णप्रसाद पौडेलले दैनिक दुई हजार बढी रोगीहरुको चाप रहने भरतपुर अस्पतालको विकासमा सहयोगी हातहरुको उदारता प्रशंसनीय रहेको बताए ।

    संस्थाका अध्यक्ष प्रमेश केसी र स्वयंसेवी आरोहणनरसिंह खड्काले संस्थाको गतिविधि अब दुर्गम क्षेत्रमा केन्द्रित गर्ने बताए ।

    उनीहरुले अब ईश्वर मन्दिर र अम्याजिङ प्यारेन्टसको सहकार्यमा शिक्षा र स्वास्थ्यका गतिविधि सञ्चालन गरिने जानकारी दिए । ईलेक्ट्रोलाईट एनालाईजर उपकरणको बजार मूल्य १० लाख पर्न आउने बताइन्छ ।

  • आइतबार पनि खुल्नेछन् उपत्यकाका यी अस्पताल

    आइतबार पनि खुल्नेछन् उपत्यकाका यी अस्पताल

    काठमाडाैें । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ ।

    उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

    यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यन्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ ।

    सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताए ।

    ‘सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौँ’, उनले भने ‘तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरङ्ग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौँ ।’

    यस्तै, गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल खुल्ने बताए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्ने छ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन् ।

    यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताए । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत् अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिए । बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पताल आइतबार पनि खुल्ने उनकाे भनाइ छ ।

    त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार ५०० बिरामी उपचारका लागि आउने गर्दछन् । निजामती कर्मचारी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले भोलिको आइतबार खुल्ने र आगामी आइतबार खुल्ने वा नखुल्नेबारेमा निजामती कर्मचारी अस्पताल विकास समितिले निर्णय गर्ने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक एक हजार मानिस नियमित उपचारका लागि आउने गर्दछन् ।

    पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिए । उनले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताए । ‘अत्यावश्यक सेवामुलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ, आइतबार अस्पताल आएका बिरामी फर्कनु राम्रो होइन’, उनले भने । उनका अनुसार अस्पतालमा दैनिक १५० बिरामी आउने गर्दछन् ।

  • अस्पतालका कर्मचारीको कालो कर्तुत नक्कली पिसिआर धन्दामा संलग्न

    अस्पतालका कर्मचारीको कालो कर्तुत नक्कली पिसिआर धन्दामा संलग्न

    काठमाडौं । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ ।

    महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।

    उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

    विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्र धारी धनुषा घर भई ललितपुरको ग्वार्को बस्ने रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ ।

    यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको छ ।

    प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पिसिआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ । फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ ।

    दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ ।

    पिसिआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने र पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गर्ने गरेको खुल्न आएको छ ।

    ती अस्पतालले बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको तथ्यसमेत खुलेको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत पाइएको छ ।

    बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिएबापत रु १० हजारसम्म असुल गर्नै गरेको फेला परेको छ । उनीहरुले क्यूआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी नै नक्कली रिपोर्ट बनाउने गरेको फेला परेको छ ।

  • अब निजी अस्पतालमा पनि कोरोनाको खोप लगाउन पाइने

    अब निजी अस्पतालमा पनि कोरोनाको खोप लगाउन पाइने

    काठमाडौं । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शैय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।

    मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।

    खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको छ ।