Tag: कतार फिफा विश्वकप-२०२२

  • नेयमारले दिए ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत

    नेयमारले दिए ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत

    काठमाडाैं । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत गरेका छन् । उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका हुन् ।

    २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित भएर विश्वकपको दाबेदार टोली क्वार्टरफाइनल चरणबाट बाहिरिएको छ ।

    ब्राजिल बाहिरिएपछि नेयमारले भने, ‘मैले राष्ट्रिय टोलीका लागि कुनै पनि ढोका बन्द गरिसकेको छैन तर म फर्किन्छु भनेर शत प्रतिशत सुनिश्चित गर्न पनि सक्दिनँ ।’ उनले थपे, ‘मैले यसबारे थप सोच्नुपर्ने हुन्छ, मेरो लागि र राष्ट्रिय टोलीका लागि के सही हो भनेर मैले सोच्नुपर्ने हुन्छ ।’

    उता, प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए ।

    १८ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न सुरु गरेका नेयमारले तीनवटा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् ।

    सन् २०१४ मा आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन सहयोग गरेका उनी घाइते भएका कारण जर्मनीविरुद्धको सेमिफाइनल खेल्न पाएका थिएनन् ।

    सो खेलमा ब्रजिल ७-१ गोल अन्तरले लज्जास्पद रुपमा पराजित भएको थियो ।

    ब्राजिल अघिल्लो विश्वकप क्वार्टरफाइनलमा बेल्जियमसँग २-१ अन्तरले पराजित भएकाे थियाे । उक्त पराजयभन्दा पछिल्लो हार पीडादायी रहेको उनले बताएका छन् ।

  • विश्वकप फुटबलकाे क्वार्टरफाइनलमा आज यी टाेलीबीच हुनेछ भिडन्त

    विश्वकप फुटबलकाे क्वार्टरफाइनलमा आज यी टाेलीबीच हुनेछ भिडन्त

    काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

    पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८ : ४५ बजे सुरु हुनेछ ।

    दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

    यस्तै, अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ ।

    साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकालेर अन्तिम चारमा पुग्ने योजनामा रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।

  • पेनाल्टी सुटआउटमा ब्राजिल र नेदरल्याण्डस् स्तब्ध, क्रोएसिया र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

    पेनाल्टी सुटआउटमा ब्राजिल र नेदरल्याण्डस् स्तब्ध, क्रोएसिया र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

    काठमाडाैं । क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध भएर ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी भएरर सेमिफाइनलमा प्रवेश गरेको हो ।

    निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

    यस्तै, गएराति नै भएकाे अर्काे खेलमा नेदरल्याण्डस् लाई पेनाल्टी सुटआउटमा पराजित गरी अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो ।

    कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्‍याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

    तर, खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका खेलाडी ओटले गोल फर्काए । यस्तै, खेलको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए ।

    खेलका क्रममा केहीबेर तनाव समेत भएको थियो । अर्जेन्टिनाका खेलाडीले नेदरल्याड्सका खेलाडीमाथि खतरनाक फल गरेपछि तनावको अवस्था सिर्जना भएको थियो ।

    रेफ्रीले दुबैतर्फ पहेँलो कार्डको प्रयोग गर्नुपरेको थियो । खेलमा कुल १५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो । जसमा अर्जेन्टिनाले ८ वटा र नेदरल्याड्सले ७ वटा कार्ड पाएको थियो ।

    अर्जेन्टिनाले सेमिफानलमा अब क्रोएसियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

  • अर्जेन्टिना र नेदरल्यान्ड्स तथा ब्राजिल र क्रोएसिया, कसकाे हाेला जित ?

    अर्जेन्टिना र नेदरल्यान्ड्स तथा ब्राजिल र क्रोएसिया, कसकाे हाेला जित ?

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनल खेलहरू सुरू हुनेछ । पहिलो दिन ब्राजिलले क्रोएसिया र नेदल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ ।

    नेपाली समयअनुसार पौने ९ बजे सुरू हुने खेलमा पाँचपटकको विजेता ब्राजिल र साबिक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    समूह विजेताका रूपमा नकआउट चरण पुगेको ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

    यस्तै, समूहगत चरणमा एक जित र दुई बराबरीसहित अपराजित रहेको क्रोएसियाले प्रिक्वाटरफाइनलमा जापानलाई टाइब्रेकरमा हराएको थियो ।

    ब्राजिल यसअघि अन्तिमपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो । ब्राजिल र क्रोएसिया यसअघि अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा गरेका थिए जसमा ब्राजिल ३-१ गोलले विजयी भएको थियो ।

    सन् २००६ र २०१४ को विश्वकपमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएकामा ब्राजिल दुवैमा विजयी भएको थियो । क्रोएसियाले हालसम्म ब्राजिललाई हराउन सकेको छैन ।

    पौने १ बजे सुरू हुने खेलमा दुईपटकको विजेता अर्जेन्टिना र तीनपटक फाइनल पुगेर पराजित भएको नेदरल्यान्ड्स भिड्न लागेका छन् । सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै पराजित गरेर पहिलोपटक विश्व विजेता बनेको अर्जेन्टिना सन् २०१४ मा उसैलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।

    यसपटक पहिलो खेलमा साउदी अरबसँग पराजित भएपनि त्यसपछि लगातार जित हात पारेर नकआउट चरण पुगेको अर्जेन्टिना अस्ट्रेलियालाई २-१ गोलले हराएर क्वाटरफाइनल आइपुगेको हो ।

    समूहगत चरणमा दुई जित र एक बराबरी खेलेको नेदरल्यान्ड्सले प्रिक्वाटरफाइनलमा अमेरिकालाई ३-१ गोलले हराएको थियो ।

  • कतार विश्वकपमा पहिलाे ह्याट्रिक गर्ने रामाेस काे हुन् ?

    कतार विश्वकपमा पहिलाे ह्याट्रिक गर्ने रामाेस काे हुन् ?

    काठमाडाैं । पोर्चुगलका फरवार्ड गोन्सालाे रामोसले कतार विश्वकप फुटबल २०२२ मा ह्याट्रिक गोल गरेका छन् । उनी कतार विश्वकपमा पहिलो ह्याट्रिक गोल गर्ने खेलाडी भएका छन् ।

    कतारको लुजेल रंगशालामा पोर्चुगलले स्वीट्जरल्यान्डविरुद्ध ६–१ गोलको फराकिलो अग्रता बनाउँदा रामोसले ह्याट्रिक गरे ।

    खेलको १७औँ मिनेटमा नै रामोसले गोल गर्दै पोर्चुगललाई १–० गोलको अग्रता दिलाए । उनले जोआओ फेलिक्सको पासमा सुन्दर गोल गरेका हुन् ।

    खेलको ३३औँ मिनेटमा पेपेले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै पोर्चुगललाई २–० गोलको अग्रता दिलाए । पेपेले यो गोल गरेसँगै उनी सबैभन्दा पाको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने खेलाडी भएका छन् । उनी ३९ वर्ष ९ महिना पूरा भएका छन् । पेपे पोर्चुगलका मुख्य डिफेन्डर हुन् ।

    खेलको ५१औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा राफेएल गुरेइरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रतामा पुर्‍याए ।

    तर खेलको ५८औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्वीट्जरल्यान्डलाई ४–१ को स्थितिमा पुर्‍याए ।

    खेलको ६७औँ मिनेटमा रामोसले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा राफेएल लियोले गोल गर्दै पोर्चुगललाई ६–१ गोलको फराकिलो जित दिलाए ।

    रामोसले समूह चरणको खेलमा बिरलै भाग लिएका थिए । मंगलबारको खेल पोर्चुगलको लागि उनको मात्र चौथो खेल थियो । तर, उनले सो अवसरको भरपुर फाइदा उठाए । २१ वर्षीय रामोस पोर्चुगलको विश्वकप टोलीमा लिभरपुलका डिओगो जोटा घाइते भएर मात्र अटाएका हुन् ।

    बेनफिकाको चर्चित यूथ सिस्टमबाट आएका रामोसलाई यसअघि नै राम्रो सम्भावना भएको खेलाडीको रुपमा भने गनिएको थियो । विश्वकपमा उनको प्रदर्शनले अब उनलाई युरोपभर चर्चित बनाउने अपेक्षा गरिएको छ ।

    यसअघि सन् २०१९ को अन्डर–१९ युरोपियन च्याम्पियनसीपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । १२ वर्षको उमेरमा सन् २०१३ देखि बेनफिकामा रहेका उनलाई जहिले पनि उनको गोल गर्ने क्षमताका लागि चिनिँदै आएको छ । पोर्चुगल टोलीमा यति धेरै प्लेमेकरहरु रहँदा रामोसको क्षमता मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसका लागि उत्कृष्ट सावित भएकाे छ ।

    अब पोर्चुगलले शनिबार क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

    -अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा । 

  • स्पेनलाई हराउँदै मोरक्को विश्वकप फुटबलको क्वार्टरफाइनलमा

    स्पेनलाई हराउँदै मोरक्को विश्वकप फुटबलको क्वार्टरफाइनलमा

    काठमाडौं । पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गरि मोरक्को कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    एजुकेसन सिटी रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोलको नतिजामा मोरक्कोले पराजित गरेको हो ।

    मोरक्को इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको हो ।

  • विश्वकपको ट्रफी दीपिका पादुकोणले अनावरण गर्ने

    विश्वकपको ट्रफी दीपिका पादुकोणले अनावरण गर्ने

    काठमाडाैं । बलिउड अभिनेत्री दीपिका पादुकोणले कतारमा जारी फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।

    फिफा विश्वकपको इतिहासमै ट्रफी अनावरण गर्ने पहिलो सेलिब्रेटी दीपिका हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्वकप फुटबलको अन्तिम खेल आगामी पुस ३ गते लुसैल रंगशालामा हुने छ ।

    विश्वकपमा भाग लिन दीपिका कतार जाने तयारीमा छिन् ।

    हालै सम्पन्न कान्स फिल्म फेस्टिभलको जुरीका रूपमा सहभागी भएकी दीपिकाका लागि विश्वकपको सहभागितालाई पनि ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।

  • मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्याण्डबीच भिडन्त आज

    मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्याण्डबीच भिडन्त आज

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेल हुनेछ ।

    यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ ।

    समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

    ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो ।

    स्पेनलाई स्तब्ध पारी क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।

    यस्तै, समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीट्जरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ ।

    अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो । यसअघि युरोपका दुई टोली फ्रान्स र पोल्याण्डले प्रतिस्पर्धा गरेका थिए, जसमा विजयी भएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

    आज हुने दुवै खेलको विजेता क्वाटरपाइनलमा आमने–सामने हुनेछन् ।

    अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोएसिया र ब्राजिलले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

  • विश्वकप फुटबल : ब्राजिल क्वार्टरफाइनलमा

    विश्वकप फुटबल : ब्राजिल क्वार्टरफाइनलमा

    काठमाडाैं । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    कतारमा मंगलबार बिहान भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए ।

    त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।

    खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो ।

    यसअघि भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

  • विश्वकप फुटबल : जापानविरुद्ध क्रोएसिया तथा कोरियाविरुद्ध ब्राजिल, कसकाे हाेला जित ?

    विश्वकप फुटबल : जापानविरुद्ध क्रोएसिया तथा कोरियाविरुद्ध ब्राजिल, कसकाे हाेला जित ?

    काठमाडाैं । फिफा विश्वकप २०२२ मा आज अन्तिम १६ को खेलमा जापान र क्रोएसियाबीच पहिलो खेल हुँदैछ ।

    खेल नेपाली समयअनुसार राति ८:४५ मा सुरु हुनेछ ।

    दोस्रो खेलमा पाँच पटकको विजेता ब्राजिल र एसियन टिम दक्षिण कोरिया भिड्दैछन् । खेल राति १२:४५ मा सुरु हुनेछ ।

    चोटका कारण अघिल्ला खेल गुमाएका ब्राजिलिय फरवार्ड नेइमार आजको खेलमा मैदान फर्कने सम्भावना छ ।

    समूहको अन्तिम खेलमा पराजित भएको ब्राजिलविरुद्ध कोरियाको खेल हेर्न लायक हुने विश्वास गरिएको छ ।

    अघिल्लो खेलमा कोरियाले पोर्चुगलमाथि २-१ गोलको जित निकालेको थियो ।