Tag: काेशी प्रदेश

  • कोशी प्रदेशमा चक्का जामसहितका थप आन्दोलनका कार्यक्रम घोषणा

    कोशी प्रदेशमा चक्का जामसहितका थप आन्दोलनका कार्यक्रम घोषणा

    विराटनगर । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएपछि पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

    उनीहरुले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामङ्कनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।

    यस्तै, बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।

    बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।

  • कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा

    कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा

    काठमाडौं । कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा गरिएको छ ।

    भर्खरै नामाकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ ।

    किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने विज्ञप्तिमा जनाइएको छ ।

    त्यसैगरी, संघर्ष समितिले फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने र चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।