Tag: कृषि

  • सडकमा फ्याँकियो कालिमाटी तरकारी बजारकाे गोलभेँडा

    सडकमा फ्याँकियो कालिमाटी तरकारी बजारकाे गोलभेँडा

    काठमाडौं । किसानहरु तरकारीको उचित मूल्य नपाएको भन्दै विरोधमा उत्रिएका छन् ।

    गोलभेँडाको उचित मूल्य नपाएको भन्दै आन्दोलित किसानले आइतवार विहानै कालिमाटी तरकारी बजार अगाडीको सडकमा गोलभेँडा फ्याँकेर विरोध गरेका हुन्।

    तरकारीको उचित मूल्य नपाएका पीडित किसानले कृषि गरेर खान र बालबालिकालाई पढाउन पनि नपुगेको भन्दै शरिरमा पेट्रोल खनाएर मर्न पर्ने अवस्था आएको बताएका छन् ।

    उनले यस्तै चल्ने हो भने सबै किसानलाई फाँसि दिन सरकारलाई चेतावनी दिए । उनले भने, ‘व्यापारीहरुले बिउ किन्नु पर्दैन् कामदार लगाउनु पर्दैन् फाईदा नै छ । कृषि गर्ने प्रत्येक किसानलाई फाँसि दिनु पर्छ यो सरकारले, होईन भने मेरो देश कृषिप्रधान भनेर किन राखियो, देश कृषिप्रधान होईन भनेर लेख्नुपर्छ । भोलिपर्सि हेर्दै जानु कति किसान मर्छ , शरिरमा पेट्रोल खनाएर मोर्नुपर्ने अवस्था आएको छ । खान पुग्या छैन्, बालबालिकालाई पढाउन पुग्या छैन् ।’

    यस्तै, नेपाल कृषिप्रधान देश भनेर भन्नलाई मात्र भएको तर किसानहरु भने तेल खनाएर मोर्नुपर्ने अवस्थामा पुगेको पीडित किसान गीता कार्की बताउँछिन् । उनले दुःख गरेर खेती गरियो केही हुन्छ भनेर तर २५ किलो गोलभेँडा १ सय रुपैयाँमा बेच्नु पर्दा मोर्नु कि बाच्नु अवस्थामा पुगेको बताइन् ।

    उनले भनिन्, ‘भनाई चाही ठूलो छ, नेपाल कृषिप्रधान देश भनेर, खोई त कृषि प्रधान देश अरुको झोला भरिन्छ हामीलाई भने तेल खनाएर मर्नु जस्तो बाध्यता भएको छ, ऋणमा डुबेर । २५ किलो गोलभेँडाको १ सय रुपैयाँ बेचेर हामीले के गर्ने, तीन दिन भयो फर्म नगएको कामदारहरुले पैसा माग्छ भनेर, मरि मरि केही हुन्छ कि भनेर गरियो, कति दुःख गरियो बेच्ने बेला सय रुपैयाँमा २५ किलो बेच्छन् । पानी, विउ, औषधी, विजुलीको पैसा तिर्न पर्छ, बेच्ने बेला यस्तो छ ।’

    यस्तै, अर्का पीडित कर्ण बहादुर विष्टले किसानहरुले घाटामा काम गनुपरे पनि व्यापारीहरु फाईदामा रहेका भन्दै कालिमाटी तरकारी बजार बन्द गर्नुपर्ने बताए ।

  • विषादी परीक्षणको प्रस्ताव स्वत: फिर्ता भएको हो, नयाँ प्रस्ताव बनिरहेकाे छ : कृषि मन्त्रालय

    काठमाडाैं । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्नेसम्बन्धी प्रस्तावउपर वर्तमान सरकार गठनपछि कुनै अतिरिक्त निर्णय नभएको दाबी सरकारले गरेको छ ।

    कृषि तथा पशुपन्छी मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी २०७९ भदौ २१ गते मन्त्रिपरिषदमा पेश भई आर्थिक तथा पूर्वाधार समितिमा विचाराधीन प्रस्ताव नयाँ सरकार गठन भएपछि स्वत: फिर्ता भएको र त्यसमा कुनै अतिरिक्त निर्णय नगरिएको प्रस्ट पारेको हो ।

    ‘मन्त्रिपरिषद्को मिति २०७९/०५/२१ को निर्णयानुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिमा छलफलको प्रक्रियामा विचाराधीन रहँदा नयाँ सरकार गठन भएपछि मन्त्रिपरिषद् वा मन्त्रिपरिषद् समितिमा विचाराधीन रहेका सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को मिति २०७९/०९/११ को पहिलो बैठकको निर्णयअनुसार उक्त प्रस्ताव समेत स्वतः फिर्ता भएको (हो),’ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषद्‍मा पेश गर्न निर्देशन दिएको र सोहीअनुसार नयाँ प्रस्ताव पनि तयार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

    तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

    ‘गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने ।

    गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो ।

    गाउँपालिकाले असहाय रोगीलाई रु दश हजार प्रदान गर्दै आएकामा चालु आवदेखि रु पन्ध्र हजार आर्थिक सहायता प्रदान गर्दैआएको श्रेष्ठले जानकारी दिए । चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ताअन्तर्गत तीन हजार चार सय एघार लाभग्राहीलाई रु २९ लाख ८६ हजार रकम वितरण गरिएको छ ।

    आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ किसानलाई करिब एक सय बीस रोपनी क्षेत्रफलको धानमा लागेको कीरा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । किसानलाई उत्पादनसँग जोड्न १६ हजार छ सय ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

  • जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

    जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

    जुम्ला । जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए ।

    स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले भने, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था गरेको हो। एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ना उनीहरूलाई प्रोत्साहनस्वरूप गोठालो भत्ता दिने गरेको छ ।’

    भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख महतले बताए । उनका अनुसार ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो। यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।

    रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

  • वर्गीकरण नगरी कित्ताकाट गरिएको जग्गा धितो राखेर अब ऋण नपाइने

    वर्गीकरण नगरी कित्ताकाट गरिएको जग्गा धितो राखेर अब ऋण नपाइने

    काठमाडाैं । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।

    घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको छ ।

    मन्त्रालयले मातहतका मालपोत र नापी कार्यालयलाई त्यस्तो निर्णय कार्यान्वयनका लागि पठाएको छ ।

    बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निर्णय भएसँगै अब कृषियोग्य भूमिको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएको छ ।

    कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भूउपयोग परिषद्ले गरेबमोजिम स्थानीय तहबाट सिफारिश भई आएमा खेतीयोग्य जग्गा भए भूउपयोग नियमावली अनुसार गर्नुपर्नेछ ।

    गैर कृषि क्षेत्रको भए नियमावलीको अर्को प्रबन्ध अनुसारको क्षेत्रफल भन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्नेछ । मन्त्रालयका अनुसार पुनः नापीको क्रममा कुनै जग्गा ब्लकमा नापजाँच भई हाल साविक दर्ता गर्दा कित्ता छुट्याउनुपर्ने भएमा साविक प्रमाण बमोजिम कित्ताकाट हुनेछ । तर, साविकको एक कित्ता हाल साविक गर्दा हाल कायम रहेको बाटो, कुलोलगायतले सिमाना छुट्याइएको अवस्थामा बाहेक एउटा ब्लकबाट कित्ताकाट हुँदा एकभन्दा बढी कित्ता कायम हुने गरी हाल साविक गर्न पाइने छैन ।

    भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति प्राप्त गरेका कम्पनी वा निकायले प्लानिङ अनुमति पाएका कम्पनी वा निकायले प्लानिङ पर्मिट प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा बाटो तथा सार्वजनिक क्षेत्र कायम गरी सकेको भए सोही अनुसार नै कित्ताकाट हुनेछ । त्यसमा कुनै पनि बाधा पर्ने छैन ।

    मन्त्रालयका अनुसार भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै प्लानिङ अनुमति प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा कित्ताबाट गर्न बाँकी रहेको भए नियमावलीको नियम १२ बमोजिमको क्षेत्रफल कायम हुने गरी मात्रै कित्ताकाट गर्नुपर्नेछ ।

    कुनै पनि कित्ता जग्गा कित्ताकाट गरी प्लट मिलान गर्दा तोकिएको क्षेत्रफल भन्दा कम क्षेत्रफल बाँकी नहुने मात्र प्लट मिलान गर्न गराउन सकिने प्रबन्ध गरिएको छ ।

    पछिल्लो व्यवस्थाले कृषियोग्य भूमिको खण्डीकरण गर्ने काममा निरुत्साहन हुने विश्वास गरिएको छ । मन्त्रीस्तरीय निर्णय कार्यान्यनका लागि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभागलाई कार्यान्वयनका लागि पठाएको छ ।

    त्यस्तै, राष्ट्रिय भूमि आयोगलाई पनि सोही अनुसार गर्न भनिएको छ । भूउपयोग ऐन र नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित भइसकेको छ । भूउपयोग कार्यक्रम सञ्चालन नहुन्जेलसम्म वा भूउपयोग नियमावली, २०७९ को नियम ५ को उपनियम ७ बमोजिम चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नैपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार कार्यान्वयनका लागि मातहतका कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखेर रु ३१ खर्ब ५८ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् । अधिकांशले घर जग्गालाई धितो राखेर ऋण प्रवाह गरेको पाइएको छ । यस्तै, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायतले पनि घर जग्गा धितोमा ऋण प्रवाह गरेका छन् । सामाजिक सुरक्षा कोषले समेत त्यसका लागि आवश्यक तयारी गरिरहेको छ ।

  • धान उत्पादन पाँच वर्षयताकै कम

    धान उत्पादन पाँच वर्षयताकै कम

    काठमाडाैं । चालू आर्थिक वर्ष २०७८÷७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यस्तै, आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्‍याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यस वर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्‍याएकाे मन्त्रालयले जनाएको छ ।

    कुन प्रदेशमा कति उत्पादन ?

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

    यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।

    चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।