Tag: चाडपर्व

  • बकर ईदको मुबारक दिँदै मुस्लिम समुदाय (फाेटाेफिचर)

    बकर ईदको मुबारक दिँदै मुस्लिम समुदाय (फाेटाेफिचर)

    काठमाडाैं । मुस्लिम धर्मावलम्बीको पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

    मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

    यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेका छ ।

  • आज हरिशयनी एकादशी पर्व

    आज हरिशयनी एकादशी पर्व

    काठमाडाैं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

    चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

  • ललितपुरमा मनाइयाे एक्लाे घाेडा दौडाएर घोडे जात्रा

    ललितपुरमा मनाइयाे एक्लाे घाेडा दौडाएर घोडे जात्रा

    काठमाडाैं । ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ ।

    ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाइँदै आएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ ।

    भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ ।

    त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भइ विभिन्न स्थान हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ ।

    नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिइ बिदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ ।

  • खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम जिल्लाका २ जिल्लामा सार्वजनिक बिदा

    खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम जिल्लाका २ जिल्लामा सार्वजनिक बिदा

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका अवसरमा आज २ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा बिदा दिने निर्णय भएको छ ।

    यो पर्वमा २ जिल्लामा बिदा दिने निर्णय फागुन २८ को मन्त्रिपरिषद् बैठकबाट भएको थियो ।

  • लोपोन्मुख अवस्थामा होलीको जोगिरा

    लोपोन्मुख अवस्थामा होलीको जोगिरा

    काठमाडाैं । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ। जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ ।

    पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ। तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फू) का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ ।

    आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा। होलीको मुख्य गहनाका रुपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अविरमा मात्र सीमित हुँदै गएको छ ।

    व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रुपमा मनाउने परम्परा छ । तर यी सबैलाई एक ठाउँमा बाँधेर राख्ने जोगिराको स्थानमा अचेल ‘डिस्को’ बाजा बज्न थालेपछि होलीको मौलिकता हराउँदै गएको रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ ।

    लुम्बिनीका बासिन्दा वीरेन्द्र मिश्रले स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःख सुख जोगिरामार्फत व्यक्त गर्ने गरिएको बताउँछन् । अहिलेको पुस्ता यसलाई बिर्सिदै गएको र डिजेमा भुल्ने गरेको उनले बताए ।

    ‘हामीले जेनतेन यसलाई धानिरहेका छौँ, हामी नरहे हाम्रो परम्परा जोगिरा पनि नरहने भयो । आजकलमा युवाहरु डिजेमा गीत सुन्न मै रमाउँछन्, जोगिरा जोगाउनतर्फ उनीहरुलाई उत्प्रेरित गर्न सकिएन,’ उनले भने ।

    पहिले पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने चलन थियो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो। होलीमा गाइने यस्ता गीतलाई नै ‘जोगिरा’ भनिन्छ ।

    होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवनालाई पनि उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन् ।

    सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको लुम्बिनी सांस्कृतिक विरहा समूहका राधेश्याम पालको भनाइ छ ।

    पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उनले बताए ।

    तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाको लागि केही पाका स्थानीयले ‘लुम्बिनी सांस्कृतिक विरहा समूह’ गठन गरेका छन् । समूहकै सदस्य जनार्दन यादवले आजका युवालाई फागु बुझाउन समूह लागि परेको बताउँछन् । तर युवाहरुको यसप्रति आकर्षण नभएको उनको भनाइ छ ।

    पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए ।

    हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ । रासस

  • पशुपति दर्शन गर्नेको भीड, बिहान ३ बजेदेखि चारै ढोका खुल्ला

    पशुपति दर्शन गर्नेको भीड, बिहान ३ बजेदेखि चारै ढोका खुल्ला

    काठमाडाैं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।

    बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

    जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ ।

    दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ ।

    महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ ।

    महाशिवरात्रि भव्यरुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

    यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ । तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ ।

    हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । महाशिवरात्रिका अवसरमा भारतका गोवर्द्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यस पटक नेपाल आएका छन् ।

  • ८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने, असोजमा तीज, कात्तिकमा दसैं

    ८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने, असोजमा तीज, कात्तिकमा दसैं

    काठमाडौं । नयाँ वर्षमा हिन्दूहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ ।

    हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ ।

    २०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो ।

    आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ ।

    साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् ।

    श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ ।

    असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ ।

  • तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

    तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

    पर्सा । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो ।

    छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ ।

    छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

    साथै, व्रतालुहरु छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।

    त्यस्तै छठ पूजामा नयाँ कपडा लाउनुपर्ने भएकाले कपडा पसलहरुमा पनि उत्तिकै भिड हुने गरेको छ । छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ९आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन् । मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन् । स्थानीय एफएम रेडियोहरुसमेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामग्रीहरुले भरिभराउ छ ।

    करिब एक महिना अगावै माछा, मासु खान छाडेका महिलाहरु हिजो शुक्रबार लसुन र प्याज बिना खाना खाएका छन् । उनीहरुले आज रहरको दाल, लौका र भात खान्छन् ।

    छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताइन् । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेको संस्कृविविद् उमाशङ्कर द्विवेदीले बताए ।

    तराईका जिल्लाहरुमा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको संस्कृतिविद् उमाशङ्कर द्विवेदीको भनाइ छ ।

    आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाहरुले व्रत लिने गरेका छन् । आफूले चाहेको आशीर्वाद छठीमाताले पूरा गरी दिने विश्वासका कारण व्रत बसेको वीरगञ्ज कुम्हाल टोलकी उमावती थापाले बताइन् ।

  • सयपत्री प्रतिथुंगा ४ रुपैयाँ

    सयपत्री प्रतिथुंगा ४ रुपैयाँ

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन्। तिहारका समयमा उनलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो। परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिक रूपमा फूलखेती गर्छु भन्ने सोच पलायो।

    ‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्‍याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ’, उनले भनिन्, ‘माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु।’

    उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिक रूपमा सयपत्री फूलखेती गरेकी छन्। विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्।

    ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो’, उनले भनिन्, ‘फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।’

    फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ। ‘गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन्।

    तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्‍याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ। ‘तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन’, श्रेष्ठले भनिन्, ‘तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ।’

    गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ। ‘यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ’, उनले भनिन्।

    उनले प्रतिथुङ्गा रु ४ मा फूल बिक्री गरिरहेकी छन्। फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेको उनले सुनाइन्। ‘मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचारप्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिएको छ’, उनले भनिन्।

    सरकारले केही दिनअगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ। तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ।

    सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भनिन्, ‘विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ। नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ।’

    भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिक रूपमा फूलखेती लगाएका छन्। तिहार नजिकिँदै गरेको ७० प्रतिशत मात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए।

    विकले भने, ‘बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्‍याउनुपर्छ।’

    वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लागेका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए। फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए।

    सोही ठाउँका गोविन्द अधिकारीले केही वर्षदेखि फूलखेती गरिरहेका छन्। स्थानीय स्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या भइरहेको उनको गुनासो छ। तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या भइरहेको उनी बताउँछन्। रासस

  • बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

    बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

    काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ ।

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ ।

    घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

    आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः२३ मिनेटमा तय गरिएको छ । बिहान ९ः१५ देखि १०ः२३ सम्मको समय घटस्थापनाको लागि शुभ समय निर्धारण गरिएको छ ।

    केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् । आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ । आजदेखि उपत्यका र देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । काठमाडौंको गुहेश्वरी, दक्षिणकाली र उपत्यकाभित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन् ।