Tag: जापान

  • जापानमा महिनौँसम्म धारो खुला राख्दा २७ हजार अमेरिकी डलर जरिवाना

    जापानमा महिनौँसम्म धारो खुला राख्दा २७ हजार अमेरिकी डलर जरिवाना

    टाेकियाे । जापानमा पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई २७ हजार अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ ।

    व्यक्तिगत गोपनीयता कायम गर्नका लागि पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो ।

    सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर ती शिक्षकमा पोखरीमा ताजा पानी प्रवाह भएमा कोभिडबाट बच्न मद्दत पुग्ने गलत धारणा आएको स्थानीय शिक्षा बोर्डका अधिकारी अकिरा कोजिरीले बताए ।

    विद्यालयका अन्य कर्मचारीले कहिलेकाँही खुला रहेको धारो देखेर त्यसलाई बन्द गरे पनि ती शिक्षकले तत्काल धारो खोल्ने गरेका थिए ।

    उनको यो गलत धारणाले ११ पटक पोखरी भर्न पुग्ने पानीको क्षतिमात्र भएन २७ हजार अमेरिकी डलर महशुल तिर्नुपर्ने भयो ।

    अब ती शिक्षक र उनको कामको सुपरीवेक्षण गर्ने दुई कर्मचारीबाट बिलको आधा रकम तिराउनुपर्ने माग योकोसुकाका अधिकारीहरूले गरेका छन् ।

  • जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्धहरु 

    जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्धहरु 

     

    काठमाडाैं । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो ।

    जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो । आज मंगलबारदेखि यहाँका अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

    यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

    बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ ।

  • जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प, २ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

    जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प, २ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

    काठमाडाैं । जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पमा कम्तीमा ९० जना घाइते भएका छन् ।

    उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको बीबीसीले जनाएको छ।

    भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ । विद्युत् नियमित गर्न प्रयास भइरहेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

    सन् २०११ को शक्तिशाली भूकम्पले जापानमा सुनामी आएको थियो ।

  • गलकोट स्पोर्ट्स क्लब जापानले सातौँ सिल्भर रनिङ कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

    गलकोट स्पोर्ट्स क्लब जापानले सातौँ सिल्भर रनिङ कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

    जापान । गलकोट स्पोर्ट्स क्लब जापानले आठौँ वार्षिकोत्सवको अवसरमा सातौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कँडेलले जानकारी दिए ।

    नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गरिँदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र सिल्भर कप र मेडल रहेको छ ।

    यसैगरी, द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल अनि सान्त्वना पुरस्कार दुई टिमलाई ५५ हजार ५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।

    खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पूरा भएका हरेक टिमले अफिसियलसहित १२ जना खेलाडी खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताए ।

    नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नका लागि खुल्ला मैत्रीपूर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आइरहेको सचिव दिनेश थापाले बताए ।

    सोही कार्यक्रमलाई निरन्तरता दिँदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी सातौँ वार्षिकोत्सवसहित प्रतियोगिता सञ्चालन गरिने महासचिव कँडेलले बताए ।

    खेलाडीको हौसला र खेलकुदमार्फत अनुशासनको संस्कृति विकासका लागि बेष्ट प्लेअर, बेष्ट स्पाइकर, बेष्ट सटर, बेष्ट डिफेन्सर, बेष्ट सर्भिससहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाइसिट मार्च १७ तारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिए ।

    कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरि विभिन्न उपसमिति बनाइ कार्य विभाजनसमेत गरिएको छ । जसमा आर्थिक समिति, प्रचार-प्रसार समिति, हल व्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खाना/पानी व्यवस्थापन, अतिथि व्यवस्थापन, रेफ्री/एम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन् ।

    प्रतियोगिता बिहान ९ बजेदेखि हिगासी कामता ओता सिटी सेन्टरमा सञ्चालन हुनेछ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जापानमा नेपालीहरूद्वारा सञ्चालित मिराइ लाइफ स्वास्थ्य बीमाले मिराइ लाइफ उत्कृष्ट खेलाडीको विशेष पुरस्कार प्रदान गर्ने बताइएको छ ।

  • टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

    टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

    काठमाडाैं । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।

    एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा भेट्न गएका तीन जना स्वास्थ्यकर्मीहरूलाई आक्रमण गर्दै तीमध्ये एकलाई गोली हानेका थिए ।

    प्रहरीका अनुसार ती बन्धक मृतक ४४ वर्षीय डाक्टर जुनिची सुजुकी रहेको क्योडो न्यूजले जनाएको छ ।

    गोली प्रहारबाट ४१ वर्षीय फिजियोथेरापिस्ट भने बेहोस अवस्तामा रहेका छन् । घटनाको पूर्ण र वास्तविक विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

  • निलुवा समाज जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

    निलुवा समाज जापानको चौथो अधिवेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

    जापान । निलुवा समाज चमुवा जापानको चौथो अधिवेशनले मोहनराज सुवेदीको अध्यक्षतामा २०२१-२०२३ कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा रामु खत्री, उपाध्यक्षमा जि आर सुवेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णु सुवेदी ‘जलन’, कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सुवेदी (विष्णु), प्रवक्ता दिपक सुवेदी, युवा संयोजक भोजराज सुवेदीलाई चयन गरेको हो ।

    त्यस्तै सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सञ्जु खत्री, पुरुषोत्तम सुवेदी चयन भएका छन् ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पुरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गरेका थिए ।

    संस्था सो अधिवेशनमा सचिव जि आर सुबेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    ‘बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामि सबैको अभियान’ भन्ने मान्यताका साथ अध्ययन तथा रोजगारीको शिलशिलामा गलकोट नगरपालिका वडा नम्वर ४ चमुवाबाट जापान पुगेका दाजुभाइ दिदी बहिनीद्धारा सन् २०१५ सालमा स्थापना स्थापित भएको सामाजिक संस्था निलुवा समाज चमुवा जापान हो ।

    संस्थाले निलुवाको पर्यटकीय विकास र पर्वद्धनसँगै समाजमा आइपर्ने हरेक सुख दुखमा हातेमालो गर्दै आइरहेको छ ।

  • निलुवा समाज जापानको चौथो अधिवेशन डिसेम्बर ३१ मा

    निलुवा समाज जापानको चौथो अधिवेशन डिसेम्बर ३१ मा

    जापान । निलुवा समाज जापानको चौथो अधिवेशन यही डिसेम्बर ३१ मा चिबामा हुँदैछ । “बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मूल नाराका साथ यस निलुवा समाज जापानकाे स्थापना भएकाे हाे ।

    सन् २०१५ मा भाेजिन्द्र सुबेदीकाे अध्यक्षतामा गठन भएकाे याे संस्था सामाजिक कार्यमा सक्रिय छ । विशेषगरी बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुकाे साझा संस्था छोटो समयमा नै जापानवासी नेपालीबीच लोकप्रिय भइरहेकाे छ ।

    याे संस्थाले विभिन्न समस्यामा परेका नेपाली नागरिककाे घाउमा मल्हम लगाउने काम गरिरहेकाे छ । काेराेना संक्रमणकाे बेलामा पनि यस संस्थाले गलकाेट नगरपालिका- ४ मा स्वास्थ्य सामग्री पठाएकाे थियाे । यसैगरी आर्थिक समस्यामा परेका नेपालीहरुका लागि पनि याे संस्थाले सहयाेग उपलब्ध गराउँदै आइरहेकाे छ ।

    संस्थाले डिसेम्बर ३१ तारिखमा नयाँ वर्षकाे शुभकामना आदान-प्रदान तथा अधिवेशन बेलुका ५ बजेबाट इन्डियन रेष्टुरेन्ट एण्ड डायनिङ बार मेहमानमा आयाेजना गरेकाे छ ।

  • जापानमा ८ तले भवनमा भीषण आगलागी, दर्जनाैँकाे मृत्यु

    जापानमा ८ तले भवनमा भीषण आगलागी, दर्जनाैँकाे मृत्यु

    काठमाडौं । जापानको ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको आशंका गरिएको छ ।

    उक्त भवनमा शुक्रबार आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको चाैथाे तलाबाट आगलागी सुरु भएको समाचारमा जनाइएकाे छ ।

    आगलागीमा परेर २८ जना गम्भीर घाइते भएका छन् ।

    अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी छ । आगलागी हुनुको कारण खुल्न सकेकाे छैन । यद्यपी त्यहाँका अधिकारीहरुले आगो लगाइएको आशंका गरेका छन् ।

  • गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन डिसेम्बर २१ मा

    गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन डिसेम्बर २१ मा

    जापान । “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन यही डिसेम्बर २१ तारिक मंगलबार हुने भएको छ ।

    स्थापना कालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबले कोरोनाका कारण गत वर्ष भलिबल प्रतियोगिता गर्न नसके पनि यस वर्ष भने मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि भव्य रुपमा सम्पन्न गरेको थियो ।

    स्थापना कालदेखि नै जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने, प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसँग सम्बन्धित क्षेत्रका लागि सहयोग पनि गर्दै आएको छ ।

    विशेषगरी बागलुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लब छोटो समयमा नै जापानवासी नेपालीबीच लोकप्रिय भइरहेको छ ।

    गल्कोट स्पोर्ट्स क्लब टोकियोका सम्पूर्ण सल्लाहकार, पदाधिकारी एवं शुभचिन्तकलगायत सम्पूर्ण साधारण सदस्यहरुमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशनमा उपस्थित भईदिनु हुन आयोजकले अनुरोध पनि गरेको छ । अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन ओमोरीमा रहेको सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुने छ ।