Tag: नागरिकता विधेयक

  • राष्ट्रपतिबाट प्रणाली खतरामा पार्ने काम भयाे : रामचन्द्र पाैडेल

    राष्ट्रपतिबाट प्रणाली खतरामा पार्ने काम भयाे : रामचन्द्र पाैडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणालीलाई खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् ।

    संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणालीलाई खतरामा धकेल्ने काम गरेको पौडेलले बताएका हुन् ।

    ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्ताविक विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले संविधानको मर्ममाथि चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार रहेको जिकिर गरेका छन् । पौडेलले भनेका छन्,‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।’

  • राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पास होला ?

    राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पास होला ?

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।

    राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

    तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

    बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो ।

    उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

  • विधायन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

    विधायन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

    काठमाडौं । विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ ।

    विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिाय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन् ।

    संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

    यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

    राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेस गरेको हो ।

  • नागरिकता विधेयक विधायन समितिबाट हुबहु पारित

    नागरिकता विधेयक विधायन समितिबाट हुबहु पारित

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।

    संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता गरेकी थिइन् ।

    यसपछि बसेको प्रतिनिधिसभाले उक्त विधेयक जस्ताको तस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो ।

    राष्ट्रिय सभाले थप छलफलको आवश्यकता ठानेर विधायन समितिमा पठाएको हो । बुधबार बसेको विधायन समिति बैठकले पनि संशोधनविना उक्त विधेयक हुबहु पारित गरेको छ ।

    १५ सदस्यीय समितिले बैठकले बहुमतका आधारमा पारित गरेको हो । समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ । तर, एमालेका तीन जना र स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत राखेका थिए ।

  • नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी

    नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी

    काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ ।

    सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो ।

    दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् ।

    त्यसपछि बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्तोको तस्तै पारित गरि राष्ट्रिय सभामा पठाएको छ ।

    राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ । यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो ।

    यद्यपि, एमाले बैठक भने बहिस्कार गरेको भने होइन । बैठक चलिरहँदा बाहिर अर्काे बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् ।

    एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।

  • नागरिकता विधेयक : विधायन समितिमा गठबन्धनलाई बहुमत

    नागरिकता विधेयक : विधायन समितिमा गठबन्धनलाई बहुमत

    काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ ।

    आइतबार बसेको राष्ट्रिय सभा दोस्रो बैठकले उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छन् । तर, प्रतिनिधिसभाले जस्ताको तस्तै उक्त विधेयक दोस्रो पटक पारित गरेको छ । आफूले पारित गरेको उक्त विधेयक प्रतिनिधिसभाले राष्ट्रियसभामा पठाएको हो ।

    तर, राष्ट्रियसभाले उक्त विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । नागरिकता विधेयकमा समेटिएको वैवाहिक अंगीकृतको व्यवस्थाम प्रमुख प्रतिपक्षी दल एमालेको फरक मत रहेको छ । उक्त विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न समय सीमाको व्यवस्था गरिएको छैन । एमालेले विवाह गरेको सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिनुपर्ने अडान राख्दै आएको छ ।

    प्रतिनिधिसभाले विषयगत समितिमा नपठाइ दोस्रो पटक पारित गरेको उक्त विधेयकलाई राष्ट्रिय सभाले भने विधायन समितिमा पठाएको हो । तर, विधायन समितिमा एमाले अल्पमतमा देखिन्छ भने सत्तारुढ गठबन्धन बहुमतमा छ । १५ सदस्यीय समितिमा गठबन्धनका ११ जना सांसद छन् भने एमालेका चार जना छन् ।

    समितिमा गठबन्धनमा आवद्ध कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मित्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र डा. बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी छन् । स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि गठबन्धन पक्षधर हुन् ।

    समिति सदस्यमा एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ छन् । मनोनीतबाट राष्ट्रिय सभा सदस्य तथा विधायन समिति सदस्य डा विमला राई पौडेल एमाले समर्थक हुन् ।

    विधायन समितिले नागरिकता विधेयकबारे सर्वसम्मतीबाट नभई बहुमत र अल्पमतलाई आधार मानेर निर्णय लिएमा गठबन्धन बलियो देखिन्छ ।

  • नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले भ्रम सिर्जना गरेकाे कांग्रेस प्रवक्ताकाे आरोप

    नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले भ्रम सिर्जना गरेकाे कांग्रेस प्रवक्ताकाे आरोप

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएर विधेयकमा ठूलै त्रुटि रहेछ कि भन्ने भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

    शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले राष्ट्रपति भण्डारीले पहिले ओली सरकारले त्यही कुरा समेटिएको अध्यादेश ल्याउँदा स्वीकार गरेको, तर अहिले सार्वभौम संसद्ले पास गरेको विधेयक भने रोक्ने प्रयास गरेको बताए ।

    उनले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः संसद्बाट पारित भइसकेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास
    पनि व्यक्त गरे ।

    उनले भने, ‘उहाँले फिर्ता गरेर विधेयकमा ठूलै त्रुटि रहेछ भनेझैँ गरी भ्रम सिर्जना गर्ने काम भएको छ । वास्तवमा नागरिकता विधेयकमा नयाँ कुरा केही छैन । यदि संविधानमै बाझिने गरी संसद्ले कानुन बनाएको भए उहाँले प्रश्न उठाउनु ठीकै हुने थियो । तर, खाली भ्रम सिर्जना गर्ने र राजनीतिक स्वार्थ पुर्ति गर्ने प्रयास भएको देखिन्छ । उहाँले किन त्यस्तो गर्नुभयो ? मलाई थाहा छैन ।’

    प्रवक्ता महतले नागरिकता विधेयक पुनः संसद्बाटै पास भइसकेकाले अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए ।

  • नागरिकता विधेयकमाथि छलफल, जनमत विभाजित गर्ने काम नगर्न एमालेको आग्रह

    नागरिकता विधेयकमाथि छलफल, जनमत विभाजित गर्ने काम नगर्न एमालेको आग्रह

    काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ ।

    उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो ।

    छलफलमा भाग लिँदै एमालेले नागरिकताजस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्नेगरी काम नगर्न सरकारलाई सुझाव दिए ।

    विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएका उनले विधेयकमाथि सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने माग गरे ।

    सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

  • नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय

    नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

    मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद बैठकलाई जानकारीसमेत दिइएको छ ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भइ प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

  • नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

    नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरु नै विभाजित भएका छन् ।

    सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन पक्ष राष्ट्रपतिले फिर्ता गरेको विधेयक जस्ताको तस्तै अगाडि बढाउने सोचमा छ । तर, कांग्रेसभित्रै पनि जनतामा रहेको असन्तुष्टि र राष्ट्रपतिले व्यक्त गरेको चासोलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने पक्षमा छ ।

    कांग्रेसका महामन्त्री गगन थापा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो ।’

    कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको उनको भनाइ छ । अर्थात, अब पनि जस्ताको तस्तै तुरुन्तै विधेयक पास गरिहाल्नपर्छ भन्ने पक्षमा महामन्त्री थापा देखिएका छैनन् ।

    सरकारको अर्को मुख्य घटक नेकपा माओवादी केन्द्र राष्ट्रपतिले फिर्ता गरेको विधेयकमा आवश्यक संशोधन हुनुपर्ने पक्षमा छ । विगतमा एमाले र माओवादी केन्द्र नागरिकता विधेयकलाई लिएर एकै ठाउँमा थिए । खासगरी वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्दा निश्चित अवधि राख्नैपर्ने पक्षमा एमाले र माओवादी केन्द्र छ । आफ्नो अडानका बाबजुत गठबन्धनका कारण नागरिकता विधेयक पास गर्न सहयोगी बनेको माओवादी केन्द्र राष्ट्रपतिले फिर्ता गरिसकेको अवस्थामा अब त्यसलाई सम्बोधन गर्नुपर्ने तर्क गरिरहेको छ ।

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नागरिकता विधेयेकमा वैवाहिक अंगिकृतको हकमा सात वर्षको प्रवाधान हटाउँदा विचार नपुर्‍याइएको बताउँछन् । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको प्रतिवेदनमा उल्लेख भएको सात वर्षे प्रावधान हटाउन आवश्यक नभएको उनको भनाइ छ । तर, विधेयकमार्फत नेपाली नागरिक बाबुआमाका सन्तानले नागरिकता पाउने विषय राम्रो भएको उनको भनाइ छ । नेपालमा जन्म भएको र बाबुको पहिचान नभएकोलाई आमाको स्वघोषणाका आधारमा नागरिकता दिने विषय पनि सकारात्मक भएको उनी बताउँछन् ।

    धेरै प्रावधान सही भए पनि वैवाहिक अंगीकृत विषयमा मौन रहनु उचित नहुने नेता श्रेष्ठको तर्क छ । उनी भन्छन्, ‘नेपालीसँग विदेशी महिलाले बिहे गर्दा नागरिकता पाउने व्यवस्था साह्रै खुकुलो हुने व्यवस्था राख्नु उचित होइन । पुनर्बिचार गर्ने अवसर मिलेको छ ।’

    नेकपा एकीकृत समाजवादीका नेताहरु पनि विहे गरेपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने व्वस्था उचित नभएको बताउँछन् । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउँछन् । राष्ट्रपतिले फिर्ता गरेको सन्दर्भ दलहरुका बीचमा साझा धारणा तय गर्नका लागि खर्चिनुपर्नेमा पनि उनको जोड रहेको छ । ‘बहुमत जुट्दैमा मात्रै हुँदैन । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने हुन्छ’ नेता खनालले भनेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले यो विधेयक फिर्ता गरेकोलाई असंवैधानिक भन्न नमिल्ने उनको भनाइ छ । ‘नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो । अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिनुहुन्न’ उनले भने । उनी अगाडि थप्छन्, ‘जनसांख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्छ । १/२ वटा दलले मात्र सिंगो देशलाई समेट्ने कुरामा लाग्नु हुँदैन ।’

    सरकारमै रहेको जनता समाजवादी पार्टी (जसपा) पनि राष्ट्रपतिको कदमलाई लिएर विरोधमा उत्रिएको छैन् । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ । प्रतिनिधि सभा सचिवालयका अनुसार बैठकमा राष्ट्रपतिले प्रमाणित नगरि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ ।

    साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सोमबार पुनर्विचारका लागि भन्दै प्रतिनिधि सभामै फिर्ता पठाएकी हुन् । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

    फिर्ता विधेयकबारे संसद बैठकमा जानकारी गराएपछि अर्को बैठकमा छलफल गरिन्छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधनसहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।