Tag: नेकपा माओवादी केन्द्र

  • चुनावपछि देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री (भिडिओसहित)

    चुनावपछि देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री (भिडिओसहित)

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्ल ‘सुदिप’ ले मंसिर ४ को निर्वाचनपछि आफनो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

    हुलाक सञ्चारसँग कुरा गर्दै नेता मल्लले चुनावमा माओवादी सबैभन्दा ठूलो बाम पार्टी बन्ने र गठबन्धनको भावनाअनुसार प्रचण्ड प्रधानमन्त्री हुने बताए । प्रचण्ड पात्र मात्र नभइ बिचार र दृष्टिकोण भएकाले चुनावपछि प्रचण्डको नेतृत्वमा मुलुक अघि बढ्ने उनको भनाइ छ ।

    गठबन्धन निर्माण, संविधानको रक्षा, संघीय गणतन्त्रको नेतृ्त्वकर्ताको हैसियतले प्रचण्ड प्रधानमन्त्री हुने कुरामा कुनै विवाद नभएको मल्ल बताउँछन् । उनका अनुसार यो कुरामा कांग्रेस र सभापति शेरबहादुर देउवा पनि सकारात्मक छन् ।

    संविधान र परिवर्तनका उपलब्धीको रक्षार्थ गठवन्धन चुनावपछि पनि निरन्तर हुने मल्ल बताउँछन् ।

    मल्ल भन्छन्, ‘जहाँसम्म बाम एकताको सन्दर्भ छ त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली बाधक रहेका छन् । ओलीको नेतृत्व नभएको शक्तिसहितका बाम घटकसँग बाम एकता गर्न कुनै समस्या छैन । ओलीको अहंकार, घमण्ड, दम्भ र शैलीका कारण वाम एकता सम्भव हुन सकेको छैन । ओली बिनाको एमाले सच्चिएर आउँछ भने वाम एकता गर्न माओवादी तयार छ । ’

    मल्लका अनुसार राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष ओली मंसिर ४ को चुनाव विथोल्न चाहन्छन् । उनीहरुले सरकार र गठबन्धनलाई उक्साउन जति हत्कन्डा गरेपनि गठवन्धन संयमित भएर अघि बढ्नेछ । चुनाव प्रभावित गर्न खोजिएका सबै प्रयास असफल हुनेछन् ।

    सुर्खेत २ माओवादीको एकल सिफारिसमा परेका मल्लले सुर्खेतका दुई निर्वाचन क्षेत्र मध्ये एउटा माओवादीले पाउनुपर्ने दाबी स्वभाविक रहेको बताए । आफूले टिकट पाए सहजै जित हासिल गर्ने उनको विश्वास छ ।

    विस्तृत भिडिओमा :

  • माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयो : अध्यक्ष दाहाल

    माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयो : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् ।

    नेपाल समाजवादी पार्टीले काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा. बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’

    माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहाेर्‍याएर अध्यक्ष दाहालले भने, ‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।’ घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उनले उल्लेख गरे ।

    जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उनको भनाइ छ । पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पारे ।

    कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताए ।

  • भारतीय साक्षी राखेर आरजु र मबीच ७ बुँदे सम्झौता भयो भन्ने भ्रम चीनलाई परेछ : प्रचण्ड

    भारतीय साक्षी राखेर आरजु र मबीच ७ बुँदे सम्झौता भयो भन्ने भ्रम चीनलाई परेछ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको बताएका छन् र।

    शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतमा समझदारी गरेको भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो राखेको जानकारी पाएको बताए ।

    उनले भने ‘हाम्रो नेपाली राजदूत चीनमा जानुभएको, उहाँले मलाई यहाँ त निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे भन्ने कुरा चीनले पनि बडो चासो राख्यो भन्दा मलाइ अनौठो लाग्यो ।’

    उनले भारतमा आफूहरुले सहमति गरेको भन्नु झुटो र निराधार भएको बताए । ‘यति झूटो कुरा यति निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन’ उनले भने ।

    आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भएको प्रचण्डले बताए । उनले भने, ‘झूटो र निराधार कुराको यति ठूलो प्रचार गरिनुमा कहीँ न कहीँ प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् ।’

  • माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने सक्रिय छन् : प्रचण्ड

    माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने सक्रिय छन् : प्रचण्ड

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले(वासु) स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताए ।

    माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरु सक्रिय रहेको उहाको भनाइ छ । उनले जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता रहेको भन्दै जनयुद्धको बाँकी एजेण्डा पूरा गर्नका लागि आफू निरन्तर संघर्षमा रहेको धारणा राखे ।

    उनले नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइनुटमा सहि गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाइँ गठबन्धनबीच अहिले पनि जारी रहेको बताए ।

    कार्यक्रममा कम्युनिष्ट ऋषि कट्टेलले कम्युनिष्ट आदर्शलाई बिर्सन नहुने धारणा राखेपछि प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाटै भएको तर्क गरे ।

    उनले आदर्शका कुरा गर्न सजिलो हुने तर व्यवहारमा उतार्न कठिन भएकाे बताए । कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको स्मृति ग्रन्थ बिमोचन गरिएको थियो ।

  • माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल

    माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ ।

    बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि गरेको हो ।

    यही ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए भने उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो । तर, यसप्रति असन्तुष्ट रहँदै जनार्दन शर्माले फरक मत पनि राखेका थिए । उनी महासचिव पदको आकांक्षी थिए ।

    पदाधिकारी चयन असन्तुष्टि १८ दिनपछि बुधबार शर्माले सार्वजनिक मञ्चमै पोखेका हुन् । अखिल क्रान्तिकारीको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखको रुपमा उपस्थित भएको बताए । अर्थात् उनले उपमहासचिव पद अस्वीकारको अर्थ लाग्ने गरी अभिव्यक्ति दिए ।

    आफूले अध्यक्ष प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताउँदै उनले नेतृत्वले गलत गर्दा आलोचना गर्न विद्यार्थीलाई आग्रह गरे ।

    यसपछि कार्यक्रमलाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई राजनीतिक रुपमा हुर्काउन आफूले मुख्य भूमिका खेलेको जवाफ दिए ।

    पार्टीभित्र आफूले आफ्नो उत्तराधिकारी खोजेको र तयार होऊन् भन्ने चाहेको शर्मालाई लक्षित गर्दै जवाफ दिएका प्रचण्डले अब आउने उत्तराधिकारीले पनि पार्टीलाई एकताबद्ध गरेर लैजाउनुपर्नेमा जोड दिए ।

  • माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार

    माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

    बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभइ संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् ।

    शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाएका थिए ।

    माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो ।

    शर्माले कार्यक्रममा भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

  • बुधबारसम्म सिट बाँडफाँडकाे टुंगाे लाग्ने प्रचण्डकाे दाबी, ‘६० सिट आसपास माओवादीले पाउँछ’

    बुधबारसम्म सिट बाँडफाँडकाे टुंगाे लाग्ने प्रचण्डकाे दाबी, ‘६० सिट आसपास माओवादीले पाउँछ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको जानकारी दिएका छन् ।

    मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बुधबार शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

    माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

    यसैगरी, नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए ।

  • प्रचण्डको घोषणा : क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ

    प्रचण्डको घोषणा : क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ

    काठमाडौं । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् ।

    काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन् ।

    माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न सडकको जानुको विकल्प नरहेको भन्दै उनले यसका लागि आगामी निर्वाचनपछि सडकमा उत्रिने बताएका हुन् ।

    आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेसिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जाने बताए ।

  • जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनुपर्छ : प्रचण्ड

    जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनुपर्छ : प्रचण्ड

    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् ।

    शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए ।

    अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए ।

    स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

  • चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

    चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

    सुर्खेत । कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदैछ । बिहीबार हुने भनिएकाे प्रशिक्षण शुक्रबार हुन लागेकाे हाे ।

    प्रशिक्षणमा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।

    प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए ।

    एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।

    यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

    एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे ।