Tag: नेपाल-भारत

  • दार्चुलाको व्याँसमा दुईओटा झोलुंगे पुलको उद्घाटन

    दार्चुलाको व्याँसमा दुईओटा झोलुंगे पुलको उद्घाटन

    दार्चुला । नेपाल सरकारको तुइनमुक्त कार्यक्रम अन्तर्गत दार्चुलाको व्याँसमा निर्माण भएका दुईओटा झोलुंगे पुलको बिहीबार उद्घाटन गरिएको छ ।

    महाकाली नदीमा बनाइएको झोलुंगे पुलको उद्घाटन गरिएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

    व्याँस गाउँपालिकाको वडा ४ मा स्थित मलघट्टे पुल र वडा नं २ स्थित माल झोलुंगे पुलको उद्घाटन गरिएको उपाध्यक्ष कुँवरले बताए ।

    केही महिना अघि निर्माण सम्पन्न गरिएका पुलहरुको नेपाल र भारतका अधिकारीहरुले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् । पुल उद्दघाटन भएसँगै दुवै देशका नागरिकलाई आवतजावतमा सहज हुने उपाध्यक्ष कुँवरले बताए ।

    पुल उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवरसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

    यस्तै, भारतका तर्फबाट पिथौरागढ जिल्लाका डिएम रीना जोशी लगायतको सहभागिता रहेको थियो । आज उद्घाटन गरिएका २ वटा पुलमा नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई खटाउने जिल्ला प्रशासन कार्यालय दार्चुलाले निर्णय गरिसकेको छ ।

    गत साता बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरेको थियो ।

  • भारतीय विदेश सचिव क्वात्राको नेपाल भ्रमणको अर्थ

    भारतीय विदेश सचिव क्वात्राको नेपाल भ्रमणको अर्थ

    काठमाडाैं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा नेपालको दुई दिने भ्रमण सकेर फर्किसकेका छन् । उनको उच्च राजनीतिक भेटवार्ताले भारत नेपालको आन्तरिक राजनीतिमा केही गर्न खोजिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

    प्रमुख दलका नेताहरु मात्र नभइ भारत निकट मानिने अन्य नेताहरुसँग पनि छुट्टाछुट्टै भेटेर क्वात्राले भारत विशेष तयारीमा रहेको प्रष्ट सन्देश छोडेका छन् ।

    क्वात्राले पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरे । उनी नेपाली समकक्षी नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा पनि सहभागी भए ।

    दोस्रो दिन पनि उनी राजनीतिक भेटघाटमै व्यस्त रहे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूसँग उनले भेटघाट गरे ।

    नेपालका लागि भारतीय राजदूत रहिसकेकाले भारतीय विदेश सचिव क्वात्राले नेपालका नेता र राजनीतिक दलहरूबारे राम्रो जानकारी राख्ने मानिन्छन् । कतिपय नेतासँग उनको एक्ला एक्लै छलफलमा भएका कुरा बाहिर आएका छैनन् ।

    उनको नेपाल भ्रमण आन्तरिक राजनीतिबारे अनेक अनुमान भइरहेका बेला भएकाले थुप्रै आशंका उब्जिएका छन् । पुरानो सत्ता समीकरण फेरिएर अचानक नयाँ सत्ता गठबन्धन बनेको छ । उक्त नयाँ गठबन्धनको भविष्य अन्योलमा पारिदिने गरी राष्ट्रपतिको चुनाव हुन लागेको छ ।

    पुरानो सत्ता समीकरण नफेरियोस् भन्ने भारतीय चाहना रहेको भन्ने समाचार र विश्लेषणहरू नभएका होइनन् । अहिलेको भ्रमणले त्यसको प्रष्ट जवाफ नदिए पनि अनेक अडकलबाजी भने हुन थालेका छन् ।

    एमाले निकट नेताहरुले भने वर्तमान सरकारसँग पनि हामी उत्ति नै प्राथमिकताका साथ काम गर्न चाहन्छौँ भनेर भारतले आश्वस्त पार्न खोजेको रुपमा अर्थ्याइरहेका छन् ।

    खास गरी दुई ठूला कम्युनिस्ट पार्टी सहितको सरकार बन्दा त्यसमा उत्तरी छिमेकीको भूमिकाबारे पनि समाचारहरू आएकाले त्यसबारे बुझ्ने मनसाय पनि हुनसक्ने उनीहरु बताउँछन् ।

    माओवादी केन्द्र निकट नेताहरु भने क्वात्राको भ्रमणलाई नियमित प्रक्रियाको रूपमा व्याख्या गरिरहेका छन् । नेपालको रणनीतिक महत्व निकै बढेको देखिएका बेला भारतीय विदेश सचिवले प्रधानमन्त्री प्रचण्डसँग मिलेर अघि बढ्न चाहेको उनीहरु बताउँछन् ।

    पुरानो सत्ता गठबन्धन भत्किएदेखि कांग्रेस नेताहरू राष्ट्रपतिको चुनावलाई लिएर नयाँ समीकरण भत्काउने प्रयासमा छन् । यसका लागि क्वात्राको समर्थन आफूहरुलाई रहने कांग्रेसको बुझाइ छ । यसैका लागि माहोल बनाउन क्वात्रा आएको उनीहरुको विश्लेषण छ ।

    कतिपयले माओवादी केन्द्रको राष्ट्रिय सहमतिको प्रस्तावलाई एमालेबाट राष्ट्रपति हुन नदिने खेलका रुपमा समेत व्याख्या गरेका छन् । त्यसमा भारतीय रुचि पनि मिसिएको चर्चा चलेको छ ।

    कतिपय विश्लेषकहरुले भारतलाई लामो समयदेखिको मित्र भन्ने र असाध्यै राष्ट्रवादी भन्नेहरुको हबिगत पनि देखिएकाले भारतको नेपाल नीति सोझो रेखामा अघि नबढेको बताउने गरेका छन् ।

    क्वात्राले भेटवार्ता गरेका कतिपय नेताहरू भावी राष्ट्रपतिको उम्मेदवारको रूपमा पनि चर्चामा छन् । क्वात्राले उनीहरुको मनशाय बुझेर प्रतिबद्धता खोजेको पनि हुनसक्ने कतिपयको बुझाइ छ ।

    नेपालको राजनीतिक समीकरणका मुख्य खेलाडीहरूको नाडी छाम्ने प्रयासको रूपमा भारतीय विदेश सचिव क्वात्राको भ्रमणलाई पनि कतिपयले ब्याख्या गरेका छन् ।

    अमेरिकी अधिकारीहरूको लगातारको नेपाल आगमनपछि पछिल्लो घटनाक्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राको भ्रमण भएको हो । यसले भारत र अमेरिकाको नेपाल चासो निकै गहिरो रहेको प्रष्ट पारेको छ ।

  • भारतीय विदेश सचिव नेपालमा, प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग भेट्ने कार्यक्रम

    भारतीय विदेश सचिव नेपालमा, प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग भेट्ने कार्यक्रम

    काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा सोमबार बिहान नेपाल आइपुगेका छन् ।

    विदेश सचिव क्वात्रा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका हुन् ।

    नेपाल बसाईको क्रममा क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

    सचिव क्ववात्रा सोमबार नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन् । लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमाबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

    विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

  • भारतद्वारा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान सहायता

    भारतद्वारा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान सहायता

    काठमाडौं । भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान सहायता उपलब्ध गराउने भएकाे छ ।

    वित्त वर्ष २०२३/२४ का लागि वित्त मन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गरकी हुन् ।

    जसमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ ।

    तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।

    वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै खर्च भुटानका लागि खर्च गर्ने भएको छ । यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ ।

    यसैगरी, अफगानिस्तानले २ अर्ब, बंगलादेशले २ अर्ब, श्रीलंकाले १ अर्ब, माल्दिभ्सले ४ अर्ब, म्यानमारले ४ अर्ब र मंगोलियाले ७ करोड भारु सहायता पाउने भएका छन् ।

    अफ्रिकी मुलुकहरुले २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।

     

  • भारतबाट बढेर आयो इन्धनको मूल्य

    भारतबाट बढेर आयो इन्धनको मूल्य

    काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ ।

    पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बताएकाे छ ।

    यस्तै, मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

    भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

  • भारतले सम्पन्न गर्‍यो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’, अर्थमन्त्री पाैडेल पनि सहभागी

    भारतले सम्पन्न गर्‍यो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’, अर्थमन्त्री पाैडेल पनि सहभागी

    काठमाडाैं । भारतले ७९ पौष २८ र २९ गते दुई दिने ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ को आयोजना गरेको छ । भर्चुअल ढाँचामा आयोजित सो शिखर सम्मेलनमा कुल १० वटा सत्र थिए । कार्यक्रममा ग्लोबल साउथका १२५ वटा राष्ट्रका नेता तथा मन्त्रीको उपस्थिति थियो ।

    विकासशील देशहरुको प्राथमिकता, धारणा र चासोबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्न भारतले पहिलो पटक यो शिखर सम्मेलनको आयोजना गरेको हो । स्वास्थ्य, खाद्य सुरक्षा, ऊर्जामा सहज पहुँच, जलवायु वित्त तथा प्रविधि र आर्थिक विकासमा देखा परेका चुनौती र त्यसबाट सृजित कठिन परिस्थितिबाट सिंगो विश्व गुज्रिरहेकाले यो शिखर सम्मेलनको विशेष सान्दर्भिकता छ ।

    विभिन्न समस्याहरुको घातक असरको चरम जोखिममा रहेका विश्वका तीन चौथाई जनसंख्याका जटिलताहरुलाई नियाल्ने अवसर यस सम्मेलनले दिएको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पौष २८ गते उदघाटन गरेको यो शिखर सम्मेलनको उद्घाटन सत्र पछिको आठवटा मन्त्रिस्तरीय सत्रमा विकासशील देशका अहम चासोबारे व्यापक छलफल भएको थियो ।

    उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री मोदीले विकासशील देशले भोग्नु परेको समस्याबारे चर्चा गरे । उनले साझा संकल्प र परिवर्तनको एजेण्डामार्फत ग्लोबल साउथको सामाजिक एवम् आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । मोदीले ग्लोबल साउथको विकासमा भारत आफ्नो अनुभव बाँड्न तत्पर रहेको बताए ।

    उनले खोपको उत्पादन एवम् विकास, biometric based identification, डिजिटल सार्वजनिक सामान, वित्तीय समावेशीकरण, स्याटलाइट प्रविधि, डिजिटल गभर्नन्स, बिकत last mile connectivity आदिका क्षेत्रमा भारतले हासिल गरेका उपलब्धिहरुको चर्चा गरे । उनले प्रविधि, ज्ञान र अत्यावश्यक स्रोतमा विकासशील देशहरुको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री मोदीको नवीन मानव केन्द्रित विकासको प्रस्तावलाई कार्यक्रममा सहभागी नेताहरुले खुलेर समर्थन गरे ।

    अर्थमन्त्री सम्मिलत सत्रमा मन्त्रीहरुले ग्लोबल साउथका विकास आवश्यकताहरु पूरा गर्न चाहिने वित्तीय सहयोग, वित्तीय समावेशीकरण, वित्तीय क्षेत्रमा डिजिटल पब्लिक गुड्सको कार्यान्वयन र परिणाममुखी एवम् दिगो वित्तीय विकास साझेदारी जस्ता विषयहरुमा आ–आफ्ना विचार एक अर्कासँग आदानप्रदान गरेका । उक्त सत्रमा नेपालका अर्थमन्त्री विष्णु पाैडेल पनि सहभागी थिए ।

    वातावरणमन्त्री सम्मिलित सत्रमा विकास र स्थायित्वबीचको सन्तुलन, पर्यावरण संरक्षणमा चालिएका उत्कृष्ट अभ्यासहरु र भारतीय प्रधानमन्त्रीले सन् २०२२ अक्टोबरमा अघि सारेको वातावरणका लागि जीवनशैलीको महत्वमाथि छलफल गरियो ।

    Equity and Common But Differentiated Responsibilities and Respective Capabilities (CBDR–RC) को सिद्घान्त अनुसार बढ्दो जलवायु प्रभावको सामना गर्न मन्त्रीहरुले जलवायु परिवर्तनका कारण निम्तिने जोखिमहरु न्युनीकरणका लागि यस क्षेत्रमा द्रूत गतिमा कार्य गर्न र यस क्षेत्रका लागि जलवायु वित्त तथा नोक्सान एवम् क्षतिमा आर्थिक सहयोगको आवश्यकता रहेको बताए ।

    परराष्ट्रमन्त्री सम्मिलित सत्रमा मन्त्रीहरुले अन्तर्राष्ट्रिय भूदृश्यको बढ्दो खण्डीकरणमा चिन्ता व्यक्त गर्नुका साथै ग्लोबल साउथका विकास प्राथमिकताहरुका लागि कसरी अनुकूल वातावरण सिर्जना गर्न सकिन्छ भनेर आ–आफ्ना विचार राखे ।

    मन्त्रीहरुले अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र मल अभावका कारण देखा परेका तीनवटा चुनौतीलाई सम्बोधन गर्न आग्रह गरे । मन्त्रीहरुले समसामयिक यथार्थलाई प्रतिबिम्बित गर्ने नवीकरण र समावेशी बहुपक्षीयताको लागि आवाज उठाए । सहभागीहरुले आतंकवादको प्रकोप विरुद्ध सामूहिक आवाज उठाउनु पर्ने आवश्यकतामा जोड दिए ।

    ऊर्जामन्त्री सम्मिलित सत्रमा विश्वव्यापी एवम् मानव विकासका लागि ऊर्जा सुरक्षाको अपरिहार्यतामा जोड दिइयो । बढ्दो अस्थिरताका बाबजुद ऊर्जामा पहुँच, ऊर्जा स्रोतहरुको विविधीकरण मार्फत ऊर्जा किफायतीमा सुनिश्चितता, नवीकरणीय ऊर्जा र वैकल्पिक ऊर्जाको विकासका लागि चालिएका उत्कृष्ट अभ्यासहरु, र जैविक इन्धनको सम्भावनाको उपयोगिता छलफलका मुख्य विषयहरु थिए ।

    वाणिज्य/व्यापारमन्त्री सम्मिलित सत्रमा मन्त्रीहरुले विकासशील राष्ट्रहरुमा व्यापार र लगानीको वातावरण सुधार गर्न, कनेक्टिभिटी र वाणिज्य स्तरोन्नत गर्न, अत्यावश्यक प्रविधि र स्रोतहरुमा पहुँच सुनिश्चित गर्न, नवीन खोजलाई प्रोत्साहन गर्न र उत्कृष्ट अभ्यासहरु साटासाट गर्न, आपूर्ति श्रृंखलामा विविधिकरण ल्याउन विभिन्न रणनीतिहरुबारे आफ्ना धारणा राखे । मन्त्रीहरुले महामारीपछिको दीर्घकालीन सुधारका प्रयासहरु प्रक्रियालाई सरल बनाउने, प्रविधिमा आधारित समाधानहरु कार्यान्वयन गर्ने, पूर्वाधारमा लगानी गर्ने र विश्व बजारमा समतामूलक पहुँच सुनिश्चित गर्ने जस्ता विविध पक्षमा निर्भर रहने कुरामा सहमति जनाए ।

    स्वास्थ्यमन्त्री सम्मिलित सत्रमा सहभागीहरुले विश्वव्यापी स्वास्थ्य सुरक्षाका लागि समावेशी तरिकाहरु अपनाउनुपर्ने आवश्यकतामा जोड दिए । उक्त सत्रमा स्वास्थ्य सेवामा डिजिटल पब्लिक गुड्स विकास गर्न, परम्परागत औषधिको प्रवद्र्घन गर्न, सार्वजनिक क्षमताहरु निर्माण गर्न तथा क्षेत्रीय सञ्जालहरु विकास गर्न र आफूले आर्जेका ज्ञानहरु एक आपसमा आदानप्रदान गर्नका लागि विभिन्न तरिका एवम् उपायमाथि छलफल गरियो । दक्षिण–दक्षिण सहकार्यको एक ठोस प्रतिबिम्बको रुपमा विशेष गरी कोभिड महामारीको बेला भारतले लिएको खोपमैत्री पहलको सहभागी मन्त्रीहरुले प्रशंसा गरे ।

    शिक्षामन्त्री सम्मिलित सत्रमा भविष्यमा तयारी अवस्थाका जनशक्ति तयार पार्न विकासशील राष्ट्रलाई ज्ञानमा आधारित समाजमा परिणत गर्ने विचारहरुबारे छलफल गरियो । शिक्षामा समानता र गुणस्तरियता प्रदान गर्न व्यावसायिक तालिम, क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगमा चालिएका उत्कृष्ट अभ्यासहरु आदानप्रदान गर्नुपर्ने मन्त्रीहरुले बताए । भारतले पहुँच, समानता, गुणस्तरियता, किफायती र जवाफदेहिताका आधारभूत स्तम्भहरुमा निर्मित आफ्नो राष्ट्रिय शिक्षा नीति पनि सबैसँग साझा गर्‍यो ।

    भारतको जी–२० अध्यक्षताका लागि विचारहरु आदानप्रदान गर्न समर्पित सत्रमा भारतीय विदेशमन्त्रीले जी–२० अध्यक्षताका लागि भारतका प्रमुख प्राथमिकताहरुबारे सबैलाई अवगत गराउनुका साथै भ्वाइस अफ ग्लोबल साउथ समिट र जी–२० बैठकमा साझेदार राष्ट्रहरुबाट प्राप्त अमूल्य सुझावहरु विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्ने आश्वासन दिए।

    आफ्ना प्राथमिकता तथा चुनौतीलाई तदारुकताका साथ सम्बोधन गर्न सम्मेलनले विविध विषयवस्तुमार्फत नयाँ दिशा कोरेकोमा र फलदायी वार्तालापमा संलग्न गराएकोमा सहभागी राष्ट्रहरुले प्रशंसा व्यक्त गरे । यी राष्ट्रहरुले विश्वव्यापी रुपमा देखापरेका चुनौतीहरुको समाधानका लागि उठाइने विषयवस्तुमा ग्लोबल साउथ जस्ता ठूला सरोकारवालाका आवाज पनि समावेश गरिनुपर्छ भन्ने कुरामा जोड दिए ।

    दोस्रो दिनको समापन सत्रको अध्यक्षता पनि प्रधानमन्त्री मोदीले नै गरेका थिए। सहभागी नेताहरुले महत्वपूर्ण मोडमा यस शिखर सम्मेलनको आयोजना गरेको भन्दै प्रधानमन्त्री मोदीलाई बधाई दिनुका साथै सम्मेलनको आयोजना गर्न उनले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे। उनीहरुले यस शिखर सम्मेलनले ग्लोबल साउथको आवश्यकतालाई कदर गर्ने समृद्ध एवम् समावेशी विश्वको निर्माणमा उत्पे्ररकको भूमिका खेल्ने आशा व्यक्त गरे।

    समापन सत्रका क्रममा प्रधानमन्त्री मोदीले भारतले ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ सँग सम्बन्धित अघि सारेका नयाँ कार्यक्रमहरुको घोषणा गरे ।

  • भारतीय दूतावास र त्रिविले मनायो काठमाडौंमा विश्व हिन्दी दिवस

    भारतीय दूतावास र त्रिविले मनायो काठमाडौंमा विश्व हिन्दी दिवस

    काठमाडौं । भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागले काठमाडौंमा विश्व हिन्दी दिवस मनाएको छ ।

    मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा त्रिवि हिन्दी विभाग प्रमुख डा. सञ्जिता वर्मा र भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवको प्रतिनिधित्व रहेको थियो ।

    श्रीवास्तवले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश बाचन गरेका थिए । उक्त सन्देशमा भारतीय प्रधामन्त्री मोदीले यस दिवसमा हाम्रो भाषा र पहिचानको याद दिलाउने अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

    उक्त सन्देशमा उनले नेपालका सबै हिन्दी भाषाप्रेमी, विद्वान साहित्यकारप्रति आभार प्रकट गरेका छन्, जसले हिन्दी भाषाको माध्यमबाट नेपाल भारतको सम्बन्ध मजबुत बनाउन योगदान दिएका छन् ।

    यसैगरी, कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ताले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन हिन्दी भाषाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    कार्यक्रममा भारतका प्रख्यात भाषाविद् डा. विमलेश कान्ति वर्मा, नेपालका वरिष्ठ हिन्दी लेखक तथा विद्वान गंगाप्रसाद अकेला र डा. रामदयाल राकेश विशेष अतिथि रहेका थिए ।

    डा. विमलेश कान्ति वर्माले आफ्नो सम्बोधनमा हिन्दी भाषाको अनुसन्धान, इतिहास र अन्य भाषासँग यसको सम्बन्धको विषयमा आफ्नो अनुभव शेयर गरेका थिए ।

    यसैगरी, कार्यक्रममा विभिन्न विद्यालयका छात्र÷छात्राले ‘आजादीको महोत्सव’ विषयमा कविता बाचन गरेका थिए । १० जनवरी १९७५ मा भारतको नागपुरमा पहिलोपटक ‘विश्व हिन्दी सम्मेलन’को आयोजना भएको थियो । त्यसपछि हरेक वर्ष जनवरी १० मा भारत र विश्वका धेरै देशहरूमा विश्व हिन्दी दिवस मनाइने गरिएको छ ।

  • भारतबाट आयाे २५ सय टन युरिया मल

    भारतबाट आयाे २५ सय टन युरिया मल

    काठमाडाैं । भारत र नेपाल सरकारको पहलमा २५ सय टन युरिया मल भित्रिएको छ ।

    पहिलो चरणमा ल्याइने ३० हजार टन मलमध्ये २५ सय टन युरिया मल शनिबार वीरगञ्ज नाका भित्रिएको कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पूण्य प्रसाद उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार बाँकी सबै मल १५ दिनभित्र आइसक्ने छ ।

    ‘एउटा र्‍याकमा २५ सय टन मल अट्छ । बाँकी मल पनि अब १५ दिन भित्र आइहाल्छ,’ उनले भने।

    भन्सारमा भित्रिएसँगै शहकारीमार्फत किसानलाई मल बाँडिने छ।

    गत फागुनमा नेपाल र भारत सरकारबीच पाँच वर्षका लागि जिटुजीमार्फत् मल ल्याउन समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

    सम्झौताअनुसार पहिलो वर्ष एक लाख युरिया र ५० हजार डिएपी, दोस्रो वर्ष एक लाख १० हजार युरिया र ६० हजार डिएपी, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी, चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी र पाँचौ वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी मेट्रिक टन मल आउने छ।

  • भारतले ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को आयोजना गर्ने

    भारतले ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को आयोजना गर्ने

    काठमाडाैं । भारतले यही पुस २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

    ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ विषयवस्तु अन्तर्गतको यस ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ले ग्लोबल साउथका राष्ट्रहरूलाई साझा मञ्च प्रदान गरी उनीहरूका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरूलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरेको भारतको विदेश मन्त्रालयले जानकारी दिएको हो ।

    यो पहल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको परिकल्पना ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ बाट प्रेरित छ र भारतको वसुधैव कुटुम्बकम दर्शनमा आधारित छ ।

    यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ । भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरूबाट आएका अमूल्य सुझावहरूलाई विश्वव्यापी रूपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्नेछ ।

    यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्ध नभएका राष्ट्रहरूलाई जी–२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्दछ ।

    यो जी–२० का सदस्यहरूसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरूका आवाजलाई पनि उत्तिकै महत्त्व दिँदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री मोदीको भनाइ अनुरूप रहेको मन्त्रालयको भनाइ छ ।

  • प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएको बधाई पत्र हस्तान्तरण गरेका थिए ।

    भेटमा नेपाल-भारतबीचको सम्वन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री प्रचण्ड र अमेरीकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको थियो ।