Tag: नेपाल-भारत

  • बहुआयामिक नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा

    बहुआयामिक नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा

    सदियौंदेखिको नेपाल भारत सम्बन्ध बहुआयामिक छ । देश फरक भए पनि धर्म, संस्कृति, रहनसहन, भेषभूषा, खानपान, भाषा, मनोरञ्जन, राजनीतिमा एकरुपता छ । दुई देशका जनताबीच पारिवारिक सम्बन्ध छ । जसलाई रोटीबेटीको नामले पुकारिन्छ ।

    यी सम्बन्धहरुमा पछिल्लो समय नयाँ आयामहरु देखिएको छ । नेपाल भारत सम्बन्धमा खासगरी धार्मिक र आर्थिक कुटनीतिकले महत्त्व पाएको देखिन्छ ।

    धार्मिक/सांस्कृतिक सम्बन्ध

    राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्धको प्रगाढता दर्शाउँछ । यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहीआएको छ । सनातन धर्म र संस्कृतिका नयाँ आयामहरु राजनीतिक सम्बन्धमा पनि देखिएको छ । पछिल्लो समय नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच राखी बाधेर दिदीभाइको सम्बन्ध कायम भयो । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आए । त्यस्तै भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष राख्न लागिएको छ । केही महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा बनारसमा पशुपतिनाथ मन्दिरको उदघाटन भयो । यसले द्विपक्षीय धार्मिक सम्बन्धका साथै पर्यटनलाई पनि प्रवर्द्धन गरेको छ । त्यसमाथि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल प्रेम पनि उदाहरणीय छ । यसरी धार्मिक सम्बन्धमा नयाँ आयामहरु देखिएको छ ।

    धार्मिक पर्यटन

    धार्मिक–सांस्कृतिक पर्यटनलाई बढावा दिने र भारतबाट धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल घुम्न तथा नेपालबाट धेरैभन्दा धेरै पर्यटकलाई भारत घुम्नका लागि प्रेरित गर्ने प्रयास भएको छ । विशेषगरी, रामायण सर्किट र बुद्ध सर्किट नेपाल र भारतबीचको प्राचीन सम्बन्धलाई आधुनिक कालमा जोड्ने सेतू हो । यी परियोजनाहरुले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने र आर्थिक समृद्धिको ठूलो आधार तयार गर्ने अपेक्षा गरिएको छ । रामायण सर्किटमा भारतका अयोध्या, सीतामढी, चित्रकुट, जगदलपुर, नन्दीग्रामलगायत नेपालको जनकपुर (जहाँ सीताको जन्म भयो) पनि समावेश छ ।
    अयोध्या नरेश भगवान् श्रीराम र मिथिलाकी राजकुमारी माता जानकीको जन्मस्थल क्रमशः भारतको अयोध्या र नेपालको जनकपुरधामसहित रामायण सर्किटको पर्यटन विकासका लागि दिल्लीबाट ‘भारत गौरव पर्यटक रेल’ करिब ६ सय भारतीय पर्यटक बोकेर असारमा आएको थियो । यो रेल नियमित रुपमा सञ्चालन हुने बताइएको छ ।

    जनकपुरदेखि अयोध्यासम्मको बस सेवा सन् २०१८ देखि नै सुरु भएको थियो । यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा सीता माताको पूजा पनि गरका थिए । ‘पूरै दुनियाँको पर्यटन तेज गतिमा बढिरहेको छ । हामी दुई देश मिलेर रामायण सर्किटको योजना अघि बढाइरहेका छौँ,’ मोदीले उक्त कार्यक्रममा भनेका थिए । भगवान् राम, जहाँ–जहाँ गएका थिए, त्यहाँसम्म यातायात सञ्जाल बिस्तार गर्ने भारतको योजना छ । जसअनुसार श्रीलंकामा पनि रामायण सर्किटलाई बिस्तार गर्ने योजना बनेको छ । यस्तो हुन सकेमा यो सर्किटले त्रिदेशीय पर्यटनको आधार तय गर्नेछ ।

    यसैगरी बुद्ध सर्किट नेपाल र भारतबीचको पर्यटनलाई जोड्ने अर्को महत्वपूर्ण योजना हो । यस सर्किटमा बौद्धमार्गीको आस्था जोडिएका विभिन्न ठाउँलाई जोड्ने लक्ष्य लिइएको छ । जसअन्तर्गत नेपालतर्फ लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदी क्षेत्र समेटिएको छ । त्यस्तै, लुम्बिनी र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क बिस्तार गर्ने योजना पनि अघि बढिरहेको छ । यो सर्किट निर्माण हुन सकेमा भारतबाट ठूलो संख्यामा पर्यटकहरु नेपाल आउनसक्ने अनुमान गरिएको छ । १ अर्ब ३८ लाखभन्दा धेरै अर्थात् विश्वको दोस्रो ठूलो जनसंख्याको देश भारतसँगको कनेक्टिभिटी जति धेरै बिस्तार हुनेछ, त्यति नै भारतमा नेपालको प्रचार–प्रसार हुनेछ । र, भारतीय पर्यटकहरुको आगमन नेपालमा बढ्नेछ । त्यसैले यी परियोजनाहरुको निर्माण चाँडैभन्दा चाँडै सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    आर्थिक सम्बन्ध

    नेपाल र भारतबीच आर्थिक सम्बन्ध पनि पुरानो छ । भूपरिवेष्ठित राष्ट्रलाई समुद्र मार्गसम्म पहुँच, पेट्रोलियम पाइपलाइन, जयनगर-जनकपुर-बर्दिवास रेल्वे ट्रयाक, सीमा नाकाबाट सहज आवतजावत आर्थिक सम्बन्धमा उच्चतम नमूना हुन् ।

    हालैका दिनहरुमा नेपालले भारतसँग बिजुली ब्यापार पनि गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्ष १६ अर्बभन्दा बढीको बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ भने अहिलेसम्म ५ अर्बभन्दा बढीको बिजुली बेचेको प्राधिकरणको तथ्यांक छ ।

    यसैगरी, नेपालले भारतीय बजारमा सिमेन्ट पनि निर्यात गर्न थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्राण्डको सिमेन्ट भारतमा निर्यात गरिरहेको छ ।

    पूर्वाधार विकास

    भारतले नेपालको पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ । हुलाकी सडक निर्माणमा तदारुकताका साथ अगाडि बढेको छ । मध्य पहाडी लोकमार्गमा पनि सहयोग गरेको छ । जलविद्युत आयोजनाहरुमा भारतको निरन्तर सहयोग छ । भौतिक पूर्वाधारअन्तर्गत विद्यालय भवन निर्माण, एम्बुलेन्स सहयोग, सुरक्षाकर्मीलाई सवारी साधन सहयोग लगायत थुप्रै सहयोगहरु भएका छन् । भारतीय सहयोगमै पशुपतिनाथको मन्दिरमा धर्मशाला पनि निर्माण भएको छ । त्यसैगरी तराईका धेरै स्थानमा भारतले सडक निर्माणमा सहयोग गरेको छ । कतिपय ठाउँमा भारतको सहयोगमा सडक निर्माण चलिरहेको छ । जनकपुर जयनगर रेल सञ्चालन भइसकेको छ । त्यसैगरी, जोगवनी–नेपाल कस्टम यार्डको ट्रयाक निर्माण पूरा भइसकेको छ ।

    हेटौँडामा २०१९ देखि नै नेपाल–भारत मैत्री पोलिक्लिनिक इन्स्टिच्युट सञ्चालनमा आइसकेको छ । भारत सरकारले सामुदायिक विकास परियोजनाहरु पनि अघि बढाइरहेको छ । भारतीय दूतावासका अनुसार ४ सय ५४ भन्दा धेरै परियोजनाहरु ९ अर्ब १३ करोड नेपाली रुपैयाँमा सम्पन्न भइसकेका छन् । २ अर्ब १२ करोड ६० लाख नेपाली रुपैयाँमा ६८ वटा सामुदायिक विकास योजनाहरु अहिले पनि सञ्चालन भइरहेका छन् । नेपालका दुर्गम क्षेत्रहरुमा सेवा पुर्यापउने उद्देश्यले सबै ७७ जिल्लामै भारतीय सहयोगका परियोजनाहरु चलिरहेका छन् । यहाँ परियोजनाले स्वास्थ,शिक्षा, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छन् ।

    सामाजिक सम्बन्ध

    ‘रोटी-बेटी’ नेपाल र भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध दर्शाउने चर्चित भाष्य बनिसकेको छ । नेपाली र भारतीय नागरिकबीचको वैवाहिक सम्बन्ध सदियौं पुरानो छ । सीमा क्षेत्रका जनताहरु बजार, किनमेल, शिक्षालगायत विभिन्न विषयमा एकआपसमा निर्भर छन् । उनीहरु सीमा वारी र पारी निर्वाध रुपमा विवाह मात्रै नभएर अन्य सांस्कृतिक पर्वहरु पनि सँगै मिलेर मनाउने गर्छन् ।

    नेपाल र भारतको सम्बन्ध जनस्तरमा जोडिनुको कारण पनि यही हो । यही सम्बन्धका कारण भारतीय जनताले नेपाल र नेपाली जनताले भारतमा अप्ठ्यारो पर्दा दिलो ज्यान दिएर सहयोग गर्ने गरेको इतिहास छ । महाभूकम्प र अहिले कोभिड १९ महामारीको समय पनि भारत सरकार र भारतीय जनताले स्वतस्फूर्त रुपमा नेपाल र नेपालीलाई सहयोग गरेका छन् ।

    चलचित्रको सम्बन्ध

    नेपाल भारत फिल्मी सम्बन्धमा पनि नयाँ आयाम आएको छ । पहिलोपटक नेपाली फिल्म प्रेम गीत ३ हिन्दी भाषामा भारतमा प्रदर्शनमा आउँदैछ । बलिउड फिल्म नेपालमा सफल भइरहेका बेला नेपाली फिल्म पनि भारतमा प्रदर्शन हुने अवस्थाले चलचित्र सम्बन्धको नयाँ आयामलाई बुझ्न पर्छ । त्यस्तै नायिका परमिता राणा भारतीय फिल्ममा अनुबन्धित भएकी छन् । त्यस्तै भारतीय कलाकार ब्रहमानन्दनसहित थुप्रै कलाकार चलचित्र ह्रस्वदीर्घमा आबद्ध भएका छन् । कलाकार आदानप्रदान बढेको छ । यसलाई नयाँ आयामको रुपमा लिनुपर्छ । जसले सम्बन्धलाई थप उचाइमा पुर्‍याइरहेको छ ।

    नेपालमा बलिउड फिल्मका पारखीहरु धेरै छन् । यसको प्रभाव पनि उत्तिकै छ । त्यसैले, नेपाली हलबाट बलिउड फिल्मले राम्रो आम्दानी गर्छन् । बलिउडका स्टारहरु नेपालमा झन्डै त्यति नै प्रख्यात छन्, जति भारतमा उनीहरुको ख्याति छ । बलिउड चलचित्रकै माध्यमबाट धेरै नेपालीहरुले हिन्दी भाषा समेत सिकेका छन् । दक्षिण भारतीय फिल्महरु पनि नेपालमा उत्तिकै लोकप्रिय छन् ।

    पछिल्लो समय नेपाली फिल्महरुलाई पनि हिन्दीमा डब गरेर युट्युबमा हाल्ने क्रम बढेको छ र भारतीय दर्शकबाट यी फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका छन् । नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा भारतीय कलाकार माला सिन्हाले अभिनय गरेकी थिइन्, यी फिल्मका कालजयी गीतहरुमा लता मंगेशकर, आशा भोस्लेलगायत दिग्गज गायिकाहरुले स्वर थिए ।

    लता मंगेशकरको स्वर रहेको ‘जुन माटोमा मेरो’ बोलको गीत राजा महेन्द्रले नै लेखेका थिए । बिस्तारै नेपालमा विदेशी चलचित्र सुटिङ हुने क्रम चल्यो, उनीहरुले नेपालका हिमाल, अग्ला पहाड, हरियाली, झरना र तालहरुलाई आफ्नो क्यामेरामा कैद गर्न थाले । भारतका दिग्गज कलाकार स्वर्गीय देव आनन्द अभिनित ‘जोनी मेरा नाम’ नामक चर्चित फिल्मको ‘पल भर के लिए’ बोलको गीत नेपालको गोदावरीमा सुटिङ गरिएको थियो, यस गीतमा हेमा मालिनीले अभिनय गरेकी छन् । यही फिल्मको सुटिङमा नेपाल आएका देवानन्दलाई तत्कालीन राजा महेन्द्रले यहीँको कथामा फिल्म बनाउनका लागि प्रोत्साहित गरे । नेपालको सौन्दर्यलाई विश्वसामु चिनाउने महेन्द्रको चाहना थियो । त्यसैले, नेपालमा सुटिङ गरिने चलचित्रहरुलाई विभिन्न सहयोगहरु उपलब्ध गराउने उनको योजना थियो ।

    देवानन्दले काठमाडौंको संस्कृतिलाई केन्द्रमा राखेर १९७१ मा ‘हरे कृष्ण हरे राम’ नाम फिल्म निर्माण गरे । ‘राजा महेन्द्रसँगको मित्रताले नै मलाई यो फल्म नेपालमा सुटिङ गर्न मिल्यो । यसमा नेपालको राजपरिवारको ठूलो भूमिका छ,’ उनले भनेका थिए । यसअघि पनि विदेशी भाषाका फिल्महरु नेपालमा सुटिङ नभएका होइनन्, तर ‘हरे कृष्ण हरे राम’ विशेष थियो, किनकी यसको अधिकांश सुटिङ नेपालमै भएको थियो । यस चलचित्र रिलिज भएपछि नेपालमा अन्य देशका फिल्महरु सुटिङ हुने क्रम पनि पहिलेभन्दा बढ्यो, त्यसैले यसलाई बलिउडमा नेपाल चिनाउने फिल्म पनि भनिन्छ । प्यागोडा शैलीका नेपाली मन्दिरहरु तथा यहाँको मौलिक संस्कृति, यहाँ मानिस, भेषभुषाको प्रचार चलचित्रमार्फत धेरै देशमा भयो, अनि यहाँ पर्यटकहरुको आगमन पनि बढ्यो ।

    युद्ध, महान्, खुदा गवाह, बेकाबु, घरवाली–बहारवाली, लभ इन नेपाललगायत धेरै बलिउड फिल्महरु नेपालमै सुटिङ भएका हुन् । यस अवधिमा नेपालकी चर्चित नायिका मनिषा कोइराला बलिउडमा स्थापित भइन् । नेपाली मुलका उदीत नारायण बलिउडमा स्थापित पार्श्व गायक छन् । निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह, उत्तम प्रधानसहित धेरै भारतीयहरुको योगदान नेपालको फिल्म उद्योगमा उच्च छ । बलिउड गायक सोनु निगम, कैलास खेर, कुमार सानु, प्रशान्त तामाङ आफ्ना गीतहरुका कारण नेपालमा लोकप्रिय छन् । बलिउडका प्रख्यात कलाकार डेनी डेन्जोङ्पा नेपाली फिल्ममा गरेको अभिनय र आफ्नो गायनकलाका कारण पनि चर्चित छन् । त्यसैगरी, नेपाली अभिनेता सुनिल थापाले ‘मेरी कोम’ फिल्ममा गरेको कामका लागि पनि निकै वाहवाही पाएका थिए ।

    खेल सम्बन्ध

    नेपाल भारतबीच खेल सम्बन्ध पनि नयाँ उचाइमा पुगेको छ । केहीदिन अघिमात्र नेपाली क्रिकेट टोलीको कोचमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई भारतले आईपीएलमा स्थान दियो ।

    नेपालबाट पहिलोपटक आईपीएलमा नेपाली खेलाडी लामिछानेले छनोटमा परेका थिए । त्यसबाहेक नेपाली फुटबल टोलीका किरण चेम्जोङ, विमल घर्तीमगरलगायत खेलाडीहरु भारतीय क्लबमा आबद्ध भएर राम्रो पारिश्रमिक लिएर खेलिरहेका छन् । त्यस्तै भारतीय खेलाडीहरु पनि नेपाली टिमबाट खेलिरहेका छन् ।

    यसबाहेक महत्वपूर्ण पक्ष के भने लाखौँको संख्यामा नेपाली युवाहरु भारतीय बजारमा वर्षौँदेखि काम गर्दैआएका छन् । विशेषगरी पश्चिम नेपालका अधिकांश ग्रामीण भेगका युवाहरु भारतमा गएर काम गर्छन् । सानै संख्यामा भए पनि भारतबाट पनि नेपाल आएर काम गर्ने क्रम जारी छ ।

  • कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटघाट, नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल

    कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटघाट, नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल

    नयाँदिल्ली । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका बिषयमा छलफल भएको छ ।

    सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (पूmलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन् ।

    निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक बिभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए । जटही–जनकपुर–ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो ।

    यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म बैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन् ।

    यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको छ । भेटमा दुबै देशको सडक, जलस्रोत, उर्जा विकास तथा बाढी नियन्त्रण लगायतका बिषयमा छलफल भएको थियो ।

    मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए । त्यस अबसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राबिधिक सहयोग उपलब्ध गराउने बिषय अगाडि सारेका थिए ।

  • भारतकाे सहयाेगमा नुवाकाेटमा बनेकाे विद्यालय भवनकाे उद्घाटन

    भारतकाे सहयाेगमा नुवाकाेटमा बनेकाे विद्यालय भवनकाे उद्घाटन

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएकाे छ ।

    भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले विद्यालयका लागि निर्मित भवनको मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएकाे छ ।

    कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

    भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो ।

    यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

    यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर श्री के.आई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

    भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएकाे छ ।

  • भारतकाे सहयाेगमा तनहुँमा बनेकाे विद्यालय भवनकाे उद्घाटन

    भारतकाे सहयाेगमा तनहुँमा बनेकाे विद्यालय भवनकाे उद्घाटन

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा रहेकाे दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएकाे छ ।

    भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त भवनकाे आइतबार उद्घाटन गरेका हुन् ।

    भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड १ लाख ९० हजारको लागतमा उक्त भवनको निर्माण भएको हो ।

    यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

    सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको हो ।

    यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारतको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएकाे छ ।

  • रामायण सर्किटले नेपाल–भारत सम्बन्ध अझ मजबुत बन्छ : मन्त्री श्रेष्ठ

    रामायण सर्किटले नेपाल–भारत सम्बन्ध अझ मजबुत बन्छ : मन्त्री श्रेष्ठ

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरूलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

    बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आएकी भारतीय दूतावासका मिसन उपप्रमुख नाग्मग्या सी खम्पासँगको भेटमा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

    भेटमा नेपाल–भारतका हवाई सेवासम्बन्धी अन्य विषयमा पनि छलफल भएको थियो । खम्पाले मन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

    मन्त्री श्रेष्ठले रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुई देशविचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

  • बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन

    बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन

    काठमाडाैं । भारत सरकारका माननीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आइतबार रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।

    नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा सो उद्घाटन सम्पन्न भएको हो ।

    रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरुको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरुले सुसज्जित आधुनिक प्रयोगशाला हो ।

    यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ । हाल यी नमुनाहरुको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ ।

    लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएकोमा अहिले आएर याे पूरा भएको छ । यस खाद्य प्रयोगशालाको निर्माण ‘छिमेकी पहिलो’ नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रुपमा रहेको छ ।

  • पर्वतकाे एक विद्यालयमा भारतले बनाइदियाे कम्प्युटर भवन

    पर्वतकाे एक विद्यालयमा भारतले बनाइदियाे कम्प्युटर भवन

    पर्वत । कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित श्री पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका छन् ।

    सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु १ करोड ७५ लाख लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजनाको निर्माण गरिएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

    पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् । भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरिय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरुका लागि सुविधा प्रदान गर्नेछ ।

    सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ । यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा रहेका छन् ।

  • नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

    नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

    भैरहवा । नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो ।

    भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सोमबार नै लुम्बिनीमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।

  • यसरी मनाइयाे आमाकाे माया छात्रावासकाे १२ औँ वार्षिकाेत्सव

    यसरी मनाइयाे आमाकाे माया छात्रावासकाे १२ औँ वार्षिकाेत्सव

    काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाकाे माया छात्रावासकाे १२ ओैँ वार्षिकाेत्सव ललितपुरकाे डीएभी कलेजमा सम्पन्न भएको छ ।

    विगत १२ वर्षदेखि सामाजिक कार्य गर्दै आईरहेकाे जनजाति कल्याण आश्रममले विश्वकाे सबैभन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णकाे भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युकाे प्रमुख आतिथ्यमा आमाकाे माया छात्रावास वाग्मती प्रदेशकाे १२ ओैँ वार्षिकाेत्साह कार्यक्रममा सम्पन्न भएको हाे ।

    ‘जाउँ बालाैँ दीप त्यहाँ , जहाँ अझै अँध्यारो छ’ भन्ने मूल नाराकाे साथ जनजाति कल्याण आश्रम नेपालले देशकाे प्रमुख केन्द्रहरूमा आर्थिक स्थिति कमजोर भएको, दुर्गम, गरीब, जनजाति, आमाबाबु गुमाएका बालबालिकाहरूलाई आमाकाे माया छात्रावासद्वारा विराटनगर, जनकपुर, भरतपुर चितवन, काठमाडौं, धादिङ, नुवाकोट, दाेलखा हुँदै धनगढीसम्म ११ वटा छात्रावास सञ्चालन गरी तीन सय जना विद्यार्थीहरूलाई नि:शुल्क रूपमा खान बस्न, पढ्न र उनीहरू सम्पूर्णकाे व्यवस्थापन गरिरहेकाे जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङले बताए ।

    उनले जनजाति कल्याण आश्रम नेपाललले देशकाे धर्म संस्कृति, संस्कार, रितिरिवाज सिकाउँदै जनजातिहरूकाे क्षेत्रमा धार्मिक र सांस्कृतिक जागरण गर्दै आइरहेकाे पनि बताए ।

    कार्यक्रममा प्रमुख अतिथि डा.नितिश भारद्वजले नेपाल आएर पशुपतिनाथ भगवानकाे दर्शन गर्न पाएकाेमा धेरै खुसी भएको व्यक्त गर्दै नेपाल र भारत सांस्कृतिक रूपमा एउटै देश भएको र कुनै समय वर्तमान नेपाल, भारत, पाकिस्तान, श्रीलंका, म्यानमार एउटै देश भएको र त्याे पूरा भारत वर्षकाे रूपमा रहेकाे बताए ।

    उनले अहिले आएर देश संचालन गर्न राज्य व्यवस्था ठिक गर्न राजनीतिक रूपमा सिमा बनाउनु पर्ने अवस्था छ त्याे ठिक रहेकाे र हामीले नै सीमा बनाएको भन्दै मैले चाहिँ याे कुनै सीमा नमान्ने र मुनुश्य भावकाे कुनै पनि सीमाना नरहेकाेले विश्व बन्धुत्वकाे साेच्नु पर्ने उल्लेख पनि गरे । उनले राजनीति सीमालाई स्वीकार्दै धर्म, संस्कृतिकाे कुनै पनि सीमाना नहुने बताए ।

    कार्यक्रममा पुशपतिनाथकाे मुल पुजारी भट्ट गणेश रावल, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघ चालक कल्याण कुमार तिम्सिना, राष्ट्रिय सह-प्रचारक रेवित कुमार, भारतीय दूतवासका प्रथम सचिव नवीन कुमार, चर्चित टेलिश्रृखला महाभारतका भगवान श्रीकृष्ण ( डा.नितेश भारद्वज ) लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेकाे थियोे ।

  • रवीन्द्र संगीतको वाचन गरेर मनाइयाे रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती

    रवीन्द्र संगीतको वाचन गरेर मनाइयाे रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती

    काठमाडाैं । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयले साेमबार भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएकाे छ ।

    यो कार्यक्रम हाल जारी ‘INDIA@75 आजादीका अमृत महोत्सव’ हिस्सा अनुरुप आयोजना गरिएको हो ।

    कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह पनि गरे ।

    स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले ‘शान्ति निकेतनः शिक्षामा टैगोरको विचार’ शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु, सीबीएसई विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र अन्य विज्ञहरुकाे सहभागिता रहेकाे थियाे ।