Tag: प्रतिनिधिसभा निर्वाचन

  • कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

    कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

    काठमाडाैं । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।

    आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

    उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

    आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

    आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ ।

    आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए/नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ ।

    आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।

  • सिन्धुपाल्चोक–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

    सिन्धुपाल्चोक–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

    सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो ।

    यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ यसअघिको जीतलाई कायम राख्ने दाउमा छन् भने बस्नेत यो क्षेत्रमा खाता खोल्ने दाउमा छन् । नेकपा (एमाले)को तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा होमिएका छन् भने बस्नेत लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

    सिन्धुपाल्चोक क्षेत्र नं १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि अग्निप्रसाद सापकोटा र मोहन बस्नेत दुवैको बलियो जिकिर थियो । सभामुखसमेत रहेका सापकोटा २०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

    सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक– १ पायो भने नेपाली कांग्रेसले सिन्धुपाल्चोक– २ पायो । माओवादीले माधवप्रसाद सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

    गत स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक–२ मा एमाले पहिलो दल बनेको थियो । एमालेले ३१ हजार सात सय ७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार तीन सय दुई मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले पाँच हजार नौ सय ३२ र नेकपा एकीकृत समाजवादीले एक हजार छ सय ६३ मत पाएको थियो ।

    लामो समय माओवादीबाट राजनीति गर्नुभएका र हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ । गठबन्धनकातर्फबाट नेकपा माओवादीका युवराज दुलाल साझा उम्मेदवार रहेका छन् । दुलाल यसअघि विसं २०७४ मा पनि यसै प्रदेशबाट निर्वाचित सांसद हुन् ।

    यस्तै, सिन्धुपाल्चोक २ को (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए । उता सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले युवा कृष्णकुमार तामाङलाई अघि सारेको छ ।

    गठबन्धनका नेताहरुले भने टिकट वितरण र विगतको राजनीतिमा जेजस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धीका रुपमा जिल्लामा पनि नेताहरुले आ–आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले बताए ।

    एमालेका नेताले पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा भएको मत नियाल्दा पहिलो दल एमाले भए पनि गठबन्धनमा रहेका दलको मत जोड्दा एमालेको मत केही कम देखिन्छ । एमालेका जिल्ला अध्यक्ष कमल नेपालले भने आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

    कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट चुनावी प्रतिस्पर्धामा भाग लिँदै आएका छन् । विसं २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका बस्नेतले २०५६ मा उनै बोहरालाई नै हराएर सांसद बने । विसं २०६४ मा टिकट पाए पनि हार बेहोर्नुपरे पनि २०७० मा चुनाव जितेर बस्नेत मन्त्रीसमेत बने । अघिल्लो संसदीय चुनावमा उनी माओवादी नेता अग्नि सापकोटासँग पराजित भए ।

    एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हारे भने पछिल्ला दुवै चुनाव जिते । पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बनेका उनले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नु पर्‍यो । विसं २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए । तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुईवटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं २ बाट विजयी भएका थिए ।

  • डु्ब्न लागेका ओलीले बच्नको लागि सर्प समाते (भिडिओसहित)

    डु्ब्न लागेका ओलीले बच्नको लागि सर्प समाते (भिडिओसहित)

    काठमाडाैं । नेकपा एमालेले चुनावका लागि राप्रपा, राप्रपा नेपाल, लोसपा र परिवार दलसंग गरेको गठबन्धनलाई पोखरीमा डुब्न लागेको व्यक्तिले बच्नका लागि सर्प समातेको रुपमा अर्थ्याइएको छ ।

    प्रा.डा. गोविन्दमानसिंह कार्कीले हुलाक सञ्चारसंग कुरा गर्दै भने, ‘विचार, सिद्धान्त केही नमिल्नेहरुसंग एमालेले गरेको गठवन्धन दुई चार हजार मत थपिएर जितिन्छ कि भन्ने आशा मात्र हो । सत्ता गठवन्धनले एमालेलाई समाप्त पार्ने योजना बनाएपछि त्यसबाट जोगिन उनले सर्प समातेका हुन् । पोखरीमा डुब्न लागेको मानिसले बाँच्ने आशामा सर्प समातेर बच्ने प्रयास गरे जस्तै हो ।’

    अहिले ओलीले एमालेको प्रतिष्ठाका लागि भएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जित्नुपर्ने बताएका छन् । यो भनेको लिङ्देनलाई जिताएर आफू पनि जित्ने ओलीको रणनीति भएको कार्की बताउँछन् ।

    सत्ता गठबन्धनले एमाले र ओलीलाई प्रतिगमनकारी भन्नु गलत भएको कार्कीको तर्क छ । जसरी सत्ता गठबन्धनका नेताहरु आफूलाई संविधान र गणतन्त्रको रक्षक तथा ओलीलाई भक्षकका रुपमा प्रस्तुत गरिरहेका छन् त्यो शतप्रतिशत गलत हो ।

    कार्की भन्छन्, ‘एकाध घटनालाई लिएर लामो इतिहास भएको पार्टी र नेतालाई जथाभावी भन्न हुँदैन । संसद विघटन गरेर ओली प्रतिगमनकारी हुनेभए देउवाले प्रजातन्त्र दरवारमा बुझाएको किन नभन्ने ? ’

    निर्वाचनपछि कांग्रेस पहिलो, एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बन्ने कार्कीको अनुमान छ । चुनावपछि प्रधानमन्त्री बन्न शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डकाबीचमा नोकझोक चल्ने र यसले गठवन्धनसमेत भत्किने स्थिति आउनसक्ने उनको बुझाइ छ ।

    कांग्रेसले आफना महामन्त्री गगन थापालाई प्रधानमन्त्रीकारुपमा अघि सारेर गए प्रभावकारी हुने र यसले कांग्रेसलाई मात्र नभइ देशलाई नै फाइदा हुने कार्कीको विश्लेषण छ ।

    विस्तृत भिडिओमा :

  • प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

    प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

    झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन्।

    उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरेका हुन्।

    शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले शनिबार दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली शनिबार दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिए ।

    ‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौं । तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौं र जित्छौं पनि ।’

    झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।

    झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने झापा–५ मा ओली उम्मेदवार छन् ।

    उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गरे ।

  • प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

    प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

    काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।

    पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ ।

    प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ ।

    आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० र प्रदेशसभाको समानुपातिकतर्फ दुई सय २० सदस्य निर्वाचित हुनेछन् ।

  • काँग्रेसको घोषणापत्र : असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने छैनौँ (पूर्णपाठ)

    काँग्रेसको घोषणापत्र : असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने छैनौँ (पूर्णपाठ)

    काठमाडाैं । मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो ।

    पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ । कांग्रेसले भनेको छ, ‘दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’

    हेर्नुहाेस् पूर्णपाठ :

  • सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

    सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् ।

    वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए ।

    प्रधानमन्त्री देउवाले भने, ‘नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।’

    संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनकाे भनाइ थियो ।

    प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहने पनि बताए । उनले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उनले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताए ।

    प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताए । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उनले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भने । साथै उनले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताए ।

    विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भइ मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताए ।

  • गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन : अध्यक्ष दाहाल

    गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् ।

    संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए ।

    वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ ।’ संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राखे ।

    उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए ।

    उनले भने, ‘विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो । त्यसकाविरुद्ध हामी सबै उभियौँ । सङ्घर्षका बीचमा गठबन्धन बनेको हो । सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन । त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो ।’

    शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो । नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए ।

    नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ । तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरङ्कुशता र सामान्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छाैँ । यो स्वभाविक र प्राकृतिक छ ।’

    विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारीसहित उनले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताए । उनले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा साझा धारणा रहेको बताए ।

    ‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले आर्थिक विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौँ भने नेपाली जनताले पुनःभरोसा प्रदान गर्ने स्पष्ट पारे ।

    उनले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गरे ।

  • प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचनतर्फ साढे पाँच हजारभन्दा बढीकाे प्रतिस्पर्धा

    प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचनतर्फ साढे पाँच हजारभन्दा बढीकाे प्रतिस्पर्धा

    काठमाडाैं । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १६५ सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र गरी कुल २,४१२ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् ।

    त्यसमध्ये २,१८७ जना पुरुष र २२५ जना महिला रहेका छन् ।

    देशका सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ कुल ३,२२४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    त्यसमध्ये २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । त्यस्तै, प्रदेशसभामा आफ्नो लैङ्गिक पहिचान ‘अन्य’ भनेर चिनाउने एक जनाले पनि उम्मेदवारी दिएका छन् ।

    देशका सातवटै प्रदेशमा गरी प्रत्यक्षतर्फ कुल ३३० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

    गत आइतवार उम्मेदवारी दर्ता गराएकामध्ये उजुरीका आधारमा खारेज भएका र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर बुधवार आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो ।

  • हृदयेश त्रिपाठीलाई एमालेकाे समर्थन

    हृदयेश त्रिपाठीलाई एमालेकाे समर्थन

    काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ ।

    नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको छ ।

    यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए ।

    नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ ।