काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले मुलुकको परराष्ट्र नीतिको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।
मंगलबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानीका क्रममा उनले अमेरिका, भारत र चीनसँगको सम्बन्ध हेर्दा सन्तुलन नदेखिएको बताएका हुन् । उनले भने, ‘तीनवटै देशसँगको सम्बन्धमा कुनै न कुनै रूपमा हेर्दा विश्वासको संकट देखियो, जुन पटक्कै राम्रो होइन ।’
उनले छिमेकीसँग सम्बन्ध राख्नु सकारात्मक कदम भएको तर सम्बन्ध सन्तुलित नहुँदा मुलुक नै समस्यामा पर्ने खतरा औँल्याए । उनले शक्ति राष्ट्रबीचको सम्बन्धमा सन्तुलन कायम राख्न नसक्दा मुलुक भूराजनीतिक द्वन्द्वको थलो बन्न सक्ने आंशका समेत व्यक्त गरे ।
चिनियाँ आर्थिक सम्झौता बीआरआईलाई सरकारले बेवास्ता गरेको पनि उनले आराेप लगाए । ‘चिनियाँ राज्य परिषद्को सदस्य एवम् परराष्ट्रमन्त्री वाङ ली भ्रमणमा आउँदा बीआरआईको कुनै चर्चा नै भएन’ उनले भने, ‘प्रधानमन्त्रीले बीआरआई यो हो र हामीले लिँदैनौँ भन्ने खालको कुरा गर्नुभयो भन्ने सुनियो । त्यो भनेको बुझाइमै गलत हो ।’
उनले परराष्ट्रमन्त्रीको चीन भ्रमणलाई सकारात्मक रूपमा हेरिएको जानकारी दिए ।