Tag: प्रधानमन्त्री

  • अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन्ः प्रधानमन्त्री

    अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन्ः प्रधानमन्त्री

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सूचकहरु बिस्तारै सुधार हुँदै गएको बताएका छन् ।

    विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    अर्थतन्त्रका कतिपय सूचकहरु आशलाग्दो रुपमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले तर पनि अर्थतन्त्रमा दबाब भने कायमै रहेको बताए ।

    ‘कतिपय कुराहरुमा सुधार आइरहेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘तर अझै पनि अर्थतन्त्रमा पक्कै दबाब छ । यसमा अझै हामीले केही गर्न बाँकी छ ।’

    पछिल्लो समय नेपालमा पर्यटन आगमन बढेको उल्लेख गर्दै यो निकै सकारात्मक पक्ष भएको प्रधानमन्त्रीले बताए ।

    अबका दिनमा नेपालमा केही छैन र केही हुँदैन भन्ने मानसिकताबाट उठेर सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

    ‘नेपालीहरु विदेशिने क्रम बढिरहेको छ । घटेको छैन । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा गम्भीर छलफल गरी नीति निर्माणमा ध्यान दिनुपर्ने छ’ प्रधानमन्त्रीले भने ।

    नेपालको अवस्थाप्रति धेरै नै नकारात्मक भावना हुने खाले प्रचार र निरासाजनक कुरा भइरहेको भन्दै उनले यसमा असन्तुष्टि जनाए ।

    उनले भने, ‘नेपाल खत्तम छ । कोही ठिक छैन । सबै नेता र पार्टी भ्रष्ट भए । नेपालमा बस्न हुँदैन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘यसो गरिनु दुर्भाग्यपूर्ण हो । हामीले सकेसम्म के गर्न सकिन्छ गरिरहेका छौं ।’

    यसैगरी, राजश्व छली र चुहावटलाई नियन्त्रण गर्नेमा पनि सरकारले आवश्यक पहलकदमी गर्ने भन्दै प्रधानमन्त्रीले उद्योगी–व्यवसायीले अघि सारेका समस्याहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

    प्रधानमन्त्री दाहालले विराटनगर कटहरी कार्गो रेल सञ्चालन नियमित गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी पनि दिए ।

    कोशी प्रदेशका प्रमुख धार्मिक स्थलहरुलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारले आवश्यक काम गर्ने उनको भनाइ छ ।

  • समाजवादको आधार निर्माणमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री दाहाल

    समाजवादको आधार निर्माणमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिर्जनात्मक कर्मसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका छन् ।

    सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेको भन्दै सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनु पर्ने बताए ।

    उनले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्ध समाज निमार्णमा मद्दत पुग्दछ । जनताको त्याग र बलिदानबाट निर्मित संविधानले समाजवाद उन्मुख राज्य निमार्णको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारीक एवम् सांस्कृतिक आधार निमार्णमा केन्द्रीत रहनु पर्नेमा सायदै हामी कसैको विमति होला ।’

    उनले पुष्पलाल राष्ट्रिय पुरस्कार प्राप्त व्यक्तिहरुले समाजवादी संस्कृति निमार्णको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको पनि बताए ।

    उनले भने, ‘समाजवादी संस्कृति निमार्णको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न समेत पुरस्कृति हुने व्यक्तिहरुबाट महत्वपूर्ण योगदान हुने विश्वास राखेको छु ।’

    प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट आन्दोलन मात्रै नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान निकै विशिष्ट रहेको स्मरणगर्दै समग्र लोकतान्त्रिक आन्दोलनको र लोकतन्त्र प्राप्तीको मार्गदर्शन गर्ने कुरामा पनि पुष्पलालको भूमिका महत्वपूर्ण रहेको बताए ।

    यस्तै, कार्यक्रममा नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्व भएको बताए । कम्युनिष्ट आन्दोलनको सुरुवातकर्ता मात्रै नभएर नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तिको रुपमा रहेको उनको भनाइ छ ।

    उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली समाजको प्रारम्भीक अध्यन गरेर नेपाली समाजलाई समाजवादसम्म पुर्‍याउनु प्रमुख कार्यभार भएको उनको भनाइ छ ।

    उनले भने, ‘नेपाली समाजको प्रारम्भीक अध्यन गर्न पर्छ र नेपाली समाजलाई समाजवादसम्म पु¥याउनै पर्छ यो हाम्रो कार्यभार हो । पुष्पलालको पहिलो सपना सयुक्त मोर्चा गठन गरेर राजतन्त्र अन्त्य गर्ने, दोस्रो नौलो जनवाद स्थापना गर्ने, तेस्रो समाजवाद स्थापना गर्ने र चौथो नेपाली समाज र इतिहासको वृहत अध्यन गर्ने सपना थियो जुन अपुरो नै छ ।’

    उक्त कार्यक्रममा पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार राजनैतिक विषयगतमा वलचन्द्र मिश्र, साहित्य तथा संस्कृति तर्फ कमल प्रसाद कोइराला र इतिहास विषयतर्फ गोपालप्रसाद थपलियालाई जनही रु १ लाख नगद सहित पुरस्कृत गरीएको थियो ।

  • प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जादेखि सीमा समस्यासम्मका एजेण्डा

    प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जादेखि सीमा समस्यासम्मका एजेण्डा

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्तिम तयारीमा रहेको बताएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा को-को जाने भन्ने अहिलेसम्म नटुंगिएको जानकारी दिइन् ।

    उनले भनिन्, ‘विषयहरू मन्त्रालयहरूले तयारी गररहेका छन् । अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याको कुरा पनि छन् । ती विषयमा छलफल भइरहेका छन् औपचारिक निर्णय भइसकेको छैन ।’

    उनले भोलिको क्याबिनेटले एजेण्डाको अन्तिम टुंगो लगाउने बताइन् ।

    शर्माले भनिन्, ‘जुनजुन क्षेत्रसँग सम्झौता हुन्छ त्यो क्षेत्रका मन्त्री वा सचिव जानुहुन्छ । यो प्रतिनिधि मण्डललाई ठुलो नबनाउने भन्ने छ । आवश्यक पर्नेहरू मात्रै जानुहुन्छ ।’

  • सत्ता साझेदारको बैठक बालुवाटारमा जारी

    सत्ता साझेदारको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सरकारमा सहभागी दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो।

    सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

    यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए ।

    उनले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समय दिएका थिए ।

    जारी बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला नै सदर गरेपछि यस विषयले पनि प्रवेश पाउने नेताहरू बताउँछन् ।

     

  • प्रधानमन्त्री दाहालले बाेलाए सबै मन्त्रीलाई सिंहदरबार

    प्रधानमन्त्री दाहालले बाेलाए सबै मन्त्रीलाई सिंहदरबार

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाएका छन् ।

    शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका हुन् ।

    सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्‍बाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ।

    नयाँ आईजीका लागि वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली, दीपक थापा प्रतिस्पर्धामा छन् ।

  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल हुने

    रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेनदिने विषयमा छलफल गर्न पार्टीको बैठक बस्न लागेको हो ।

    बैठक आजै (आइतबार) बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय, बसुन्धारामा बस्दैछ ।

    प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

  • शीतल निवासमा प्रधानमन्त्रीसहित ८ मन्त्रीले लिनेछन् शपथ

    शीतल निवासमा प्रधानमन्त्रीसहित ८ मन्त्रीले लिनेछन् शपथ

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ ।

    शीतल निवासमा पठाइएको सूचीअनुसार प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिए ।

    जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् ।

    रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ ।

    अन्य मन्त्रीहरु भने विनाविभागीय हुने बताइएको छ ।

  • सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

    सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

    काठमाडौं । सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।

    नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।

    प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।

    नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय खुलाइएको छैन ।

  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्याे- प्रधानमन्त्री नआउनु अनुचित

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्याे- प्रधानमन्त्री नआउनु अनुचित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयालाई प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकषर्ण गराउने भएको छ ।

    सो समितिका सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकषर्ण गराउने निर्णय लिने बताएकी हुन् । सभापति निरौलाको सो घोषणामा कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन् ।

    ‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको थियो, अन्तिम क्षणमा आएर सचिवालयमार्फत् उपस्थित नहुने जानकारी गराउनुभयो,’ बैठकलाई अन्त्य गर्दै सभापति निरौलाले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

    सभापतिको सो घोषणासँगै नेपाली कांग्रेसका सांसदहरूले भने आपत्ति जनाएका छन् । समितिमा रहेका कांग्रेसका प्रतिनिधि सांसदहरू पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीलगायतले भने सभापति निरौलाको सो घोषणाप्रति असहमति प्रकट गरेका छन् ।

  • गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री

    गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

    ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेका छन् ।