Tag: प्राकृतिक प्रकोप

  • पहिरोमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

    पहिरोमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

    ताप्लेजुङ । गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।

    बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन्।

    बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए।

    पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन्।

    पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ। रासस

    -फाइल तस्बिर । 

  • गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

    गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

    गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो ।

    पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे हाे ।

    घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ ।

    जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।

  • बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    बागलुङ । बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो ।

    पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

    शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए ।

     

  • भक्तपुरमा घरकाे पर्खाल भत्किएर एक जनाकाे मृत्यु

    भक्तपुरमा घरकाे पर्खाल भत्किएर एक जनाकाे मृत्यु

    काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ ।

    मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो ।

    पर्खाल भत्किएर पुरिएका बिकको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • तेह्रथुमकाे हातिखर्कमा भीषण आगलागी, १४ घर जलेर नष्ट

    तेह्रथुमकाे हातिखर्कमा भीषण आगलागी, १४ घर जलेर नष्ट

    काठमाडाैं । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।

    आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । उनका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन ।

    सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

  • जुम्लाको चन्दननाथमा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु

    जुम्लाको चन्दननाथमा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

    नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो ।

    आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

    आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

    पाँचथर । फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् ।

    स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए ।

    आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।

    आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो ।

    स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।

  • जुम्ला बाढीपहिरो : १० जनाको मृत्यु, ६ जना बेपत्ता

    जुम्ला बाढीपहिरो : १० जनाको मृत्यु, ६ जना बेपत्ता

    जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ  ।

    प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिएका हुन् ।

    उनका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ । गुठीचौर र हिमा गाउँपालिका एक/एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन् ।

    सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ। जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ ।

    अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको प्रजिअ केसरीले बताए ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन । अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ ।

    सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ । स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्रथामिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागि पर्न जरुरी भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

    तीन सय घरपरिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए ।

  • कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, ४८० घर परिवार विस्थापित

    कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, ४८० घर परिवार विस्थापित

    सुर्खेत । कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो ।

    सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उहाँका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ । डोल्पा र सल्यानमा दुई/दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

    २२ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन् । जुम्लाका दुई र दैलेखका एक जना रहेका छन् ।

    बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँच/पाँच घाइते भएका छन् । जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एक जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सयौँ घर परिवार विस्थाापित

    लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन घर परिवार विस्थापित भएका छन् । मुगुका एक सय ७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घर परिवार विस्थापित भएका हुन् ।

    डोल्पाका चार घर परिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई/दुई घर परिवार विस्थापित भएका छन् । प्रभावित जिल्लामा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

    घर क्षति र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।

  • कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता

    कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता

    कालिकाेट । कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।

    तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको हाे ।

    गत शनिबार ज्यान गुमाएका स्थानीय हेमराज शाहीको तिला नदी किनारमा आइतबार शव जलाउँदै गर्दा पहिरो झरेकाे थियाे । पहिराे झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।

    पहिराेमा परेर १३ जना हराइरहेका हुन् । गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाे स्थानीयले बताएका छन् ।

    –प्रतिकात्मक तस्बिर ।