Tag: फुटबल

  • केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक

    केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक

    काठमाडाैं । फागुन ११ गतेबाट सुरु हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक गरिएको छ ।

    आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको हो ।

    तालिका अनुसार च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे सुरु हुनेछ ।

    प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

    प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ ।

    ’ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।

    प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  • एम्बाप्पे तीन हप्ता मैदान बाहिर रहने

    एम्बाप्पे तीन हप्ता मैदान बाहिर रहने

    काठमाडाैं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर रहने भएका छन् ।

    थाइ इन्जुरीका कारण एम्बाप्पे ३ हप्ता मैदान बाहिर रहने भएका हुन् ।

    फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति मोन्टपेलियरविरुद्धको खेलमा उनले २१ औँ मिनेटमै चोट बोकेर बाहिरिएका थिए ।

    चोट निको हुन अझै केही समय लाग्ने भएकाले उनले आगामी फेब्रुअरी १४ मा यूएफ च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा जर्मन च्याम्पियन बायर्न म्युनिखविरुद्धको खेल गुमाउने भएका हुन् ।

    पहिलो लिगमा बायर्नले पीएसजीको भ्रमण गर्ने तालिका छ ।

    यस्तै, २४ वर्षीय एम्बाप्पेले फ्रेन्च कपमा मार्सेविरुद्धको खेल र त्यसको तीन दिनपछि लिग वानमा मोनाकोविरुद्धको खेल पनि गुमाउने छन् ।

  • कसरी राखिएकाे थियाे पेलेकाे नाम ?

    कसरी राखिएकाे थियाे पेलेकाे नाम ?

    काठमाडाैं । ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट पीडित थिए ।

    ब्राजिल विश्वकप फुटबलमा सबैभन्दा सफल टोली हो । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको यो सफलतामा सबैभन्दा ठूलो योगदान रहेको खेलाडीलाई विश्वले पेलेको नामले चिन्छ ।

    पेलेले आफ्नो टोलीलाई तीन पटक विश्वकपको उपाधि दिलाएका थिए । उनी केही समयदेखि अस्वस्थ थिए ।

    उनको उपस्थितिमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबलको उपाधि जितेको थियो । पेले तीनवटा विश्वकप जित्ने विश्वका एक मात्र फुटबलर हुन् ।

    पेलेको नामको कथा रोचक छ, जसले फुटबललाई ब्राजिलमा मात्र नभई विश्वभर लोकप्रिय बनाएको छ । सबैभन्दा चाखलाग्दो कुरा के छ भने पेले नामले विश्वभर चर्चित व्यक्तिको पेले न त नाम थियो न उपनाम नै थियो ।

    पेलेको जन्म अक्टोबर २३, १९४० मा ब्राजिलको सानो सहर मिनास गेराइसमा भएको थियो। बुबा क्लब स्तरका फुटबलर र आमा गृहिणी थिइन् । आमाबाबुले आफ्नो छोराको नाम एडसन राखे ।

    उनकाे पूरा नाम एडसन अरान्टेस दो नासिमेन्तो रह्यो । ब्राजिलमा नामहरू लामो र चौडा राखिएको छ, त्यसैले मानिसहरूको उपनामहरू पनि प्रचलित हुन्छन् । ब्राजिलमा, सामान्यतया प्रत्येक व्यक्तिको एक वा दुईवटा उपनामहरू हुन्छन्, जसद्वारा उनीहरूको परिवारका सदस्यहरूले उनीहरूलाई बोलाउँछन् ।

    एडसन अर्थात् पेलेलाई डिको उपनाम पनि दिइएको थियो । पेलेका बाबुआमा, दाजुभाइ वा उनलाई चिन्ने साथीहरूले उनलाई डिकोको नामले बोलाउन थाले । डिकोका बुबा आफैँ पनि फुटबल खेल्थे, तर २५ वर्षको उमेरमा चोटका कारण उनको फुटबल करियर क्लब स्तरभन्दा अगाडि बढ्न सकेन, त्यसैले उनले छोरालाई फुटबलर बनाउने सपना देखे ।

    केही समयपछि उनको परिवार मिनास गेराइसबाट साओ पाउलोको बउरु सहरमा बस्न आएको थियो । सानैदेखि पाएको तालिमका कारण सडकमा पेलेको विशेषताको चर्चा हुन थाल्यो तर स्रोतसाधनको अभाव थियो । पेले कहिले च्यातेका पुराना कपडाबाट बल बनाएर फुटबल खेल्थे भने कहिले छिमेकी स्टेशनबाट गायब भएको रेलका सामान बेचेर बलको पैसा उठाउने गर्थे ।

    १० वर्षको उमेरमा, डिकोले आफ्ना साथीहरूलाई चकित पार्न थाले र बल खुट्टामा राखेर दौडाउन थालेपछि कसैले पनि उनलाई समात्न सकेन । साथीहरुले उनको नयाँ नाम गैसोलिना राखे । यो नामको कारण यो थियो कि उनी ग्यास जस्तै छिटो दौडन्थे ।

    तर उनको नाम पेले कसरी भयो ? यस सम्बन्धमा धेरै प्रकारका दाबीहरू गरिन्छ । पेलेको अर्थ गेलिक भाषामा फुटबल हो भन्ने व्यापक रूपमा दाबी गरिएको छ । तर यो दाबीलाई सत्य मान्न सकिँदैन, किनकि गेलिक आयरल्याण्डको वरिपरिको भाषा हो र त्यसको कुनै पनि शब्द त्यस समयमा हजारौं माइल टाढा रहेको बउरु गाउँ ब्राजिलमा कसरी पुग्यो भन्ने ठोस आधार छैन ।

    पेले शब्द हिब्रू भाषामा पनि छ, जहाँ यसको अर्थ चमत्कार हो। तर त्यो बेला प्यालेस्टाइन र इजरायलको कुनै पनि शब्द ब्राजिलमा पुग्न असम्भव थियो। यस्तो अवस्थामा पेलेको नाम पेले कसरी भयो भन्ने प्रश्न उठेको छ ।

    त्यसबेला ब्राजिलमा पोर्चुगिज भाषा प्रचलित थियो र यसमा पेले शब्दको कुनै अर्थ थिएन। तर त्यसको बावजुद पेले १५ वर्षको उमेरमा ब्राजिलको चर्चित क्लब सेटन्समा आबद्ध हुँदा उनको नाम पेले राखियो ।

    पेले नाम राखिएको बारे सत्यताको बारेमा पेलेले ‘ह्वाइ फुटबल म्याटर्स’ मा भनेका छन्, ‘पेले नाम कहाँबाट आएको हो भनेर कसैले पनि ठ्याक्कै भन्न सक्दैन। तर मेरो काका जर्जले मलाई भनेको कुरामा विश्वास गर्न सकिन्छ ।’

    पेलेका काका जर्ज उनीसँगै बस्थे र धेरै वर्षसम्म पेलेको परिवारलाई उनको जागिरले सहयोग गरेको थियो । जर्जका अनुसार बउरुको स्थानीय फुटबल क्लब टोलीका एक गोलकिपरको नाम बिले थियो, जुन क्लबबाट पेलेका बुबाले पनि खेलेका थिए । बिले आफ्नो उत्कृष्ट गोलकिपिङका कारण निकै लोकप्रिय थिए ।

    अर्को तर्फ बाल्यकालमा पेले अर्थात डिकोले धेरै खेलमा गोलकिपरको भूमिका निर्वाह गर्नुपरेको थियो, जब उनी उत्कृष्ट डिफेन्स गर्थे मानिसहरूले उनी अर्कै बिले हो भन्न थाले । यो बिले केही समयमै पेलेमा परिणत भयो भनेर कसैले अनुमान पनि गर्न सकेनन् । पेलेले पुस्तकमै भनेका छन्, ‘मलाई पेले भनेर कसले बोलायो, ​​किन बोलायो, ​​कम्तिमा मेरो नाम त राम्ररी लिनुस् भनेर डिकोले आफ्ना सहकर्मीहरूसँग झगडा गर्ने समय थियो ।’

    छिमेकीले उनलाई पेलेको नामबाट चिन्थे, तर आधिकारिक रूपमा भने सान्तोस क्लबमा आएपछि नै पेले भनेर बोलाउने चलन सुरु भयो । पेलेलाई ब्रान्डमा परिणत गर्न सान्तोसका प्रबन्धकहरूले मुख्य भूमिका खेलेका थिए भन्ने अनुमान गर्न गाह्रो छैन ।

    कसैले एडसन, कसैले डिको, कसैले विले अनि कसैले पेले भनेर बोलाउँथे । पेले आफ्ना नाम सम्झेरै हैरान हुन्थे । सान्तोसले १६ वर्षको उमेरमा सिर्जना गरेको पेले ब्रान्ड ६ दशकपछि पनि चम्किरहेको छ र ८२ वर्षको उमेरमा पेलेको मृत्युपछि पनि पेलेलाई विश्वभर फुटबलको ब्रान्ड एम्बेसेडरको रूपमा हेरिनेछ ।

    -अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा ।

  • फुटबलका महान् खेलाडी पेलेबारे १० राेचक कुरा

    फुटबलका महान् खेलाडी पेलेबारे १० राेचक कुरा

    विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षकाे उमेरमा निधन भएको छ । पेलेकाे उपचारका क्रममा साओ पाउलोमा निधन भएको हाे । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।

    सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएका पेले अझै पनि विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् ।

    २१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।

    यस्ता छन् पेलेबारे १० राेचक तथ्य

    रेफ्रीले मैदान छाड्नुपरेकाे थियाे

    सन् १९६८ जुन १८ मा बाेगाेटामा पेलेकाे क्लब सान्ताेस एफसी र र काेलम्बियनन ओलम्पिक स्वाडबीच मैत्रीपूर्ण खेल चलिरहेकाे थियाे ।

    खेलकाे क्रममा रेफ्रीले पेलेले फउल गरेकाे र आफूलाई अपमान गरेकाे आराेप लगाउँदै मैदानबाट बाहिर जान भनेका थिए । रेड कार्डकाे प्रयाेग सन् १९७० मा सुरु भएकाे थियाे ।

    तर रेफ्रीकाे याे निर्णयकाे निकै ठूलाे विवाद भयाे र यसकाे विराेध सुरु भयाे । सान्ताेसका खेलाडीले रेफ्रीकाे निर्णयकाे विराेध गर्दै उनलाई घेरे । खेल हेर्न आएका अरू दर्शकले पनि त्याे निर्णयकाे विराेध गरे ।

    पछि सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्याे खेलमा आफूलाई मैदानबाहिर जान लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए ।

    रेफ्री बाहिर गएपछि पेलेलाई तत्कालै खेलमा भित्र्याइएकाे थियाे ।

    के पेलेले साँच्चै युद्ध राेकेका थिए ?

    सन् १९६० काे दशकमा पेलेकाे सान्ताेस एफसी विश्वकाे सबैभन्दा चर्चित फुटबल क्लबमध्ये एक थियाे । यसकाे फाइदा उठाएर याे टिम विश्वरभरमा मैत्रीपूर्ण खेल खेल्ने गर्दथ्याे ।

    तिनैमध्येको एउटा खेल युद्ध भइरहेको नाइजेरियामा सन् १९६९ फेब्रुअरी ४ मा भएकाे थियाे । त्याे खेल सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा दुई-एक गाेलले जितेको थियो ।

    त्यस समयमा नाइजेरियामा गृहयुद्ध चलिरहेकाे थियाे । इतिहासकार ग्युहरमे गरचेका अनुसार ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा पक्षबीच युद्धविराम घोषणा गरिएको थियो ।

    पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा यसरी उल्लेख गरेका छन्, त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए ।

    पेले र बीटल्सकाे कथा

    सन् १९७५ मा पेले न्युयाेर्क कसमसका लागि खेल्न अमेरिकाकाे न्युयाेर्क गएका थिए । त्यहाँ उनले अङ्ग्रेजी सिक्न सुरु गर्दा बीटल ब्यान्डका जाेन लेनन जापानी भाषा सिकिरहेका थिए ।

    उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्व कपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए । तर उनीहरूलाई ब्राजिल फुटबल एसाेसिएशनका निर्देशकले राेकेका पेलेले आफ्नाे पुस्तकमा लेखेका छन् ।

    पेलेले युराेपकाे क्लबका लागि किन खेलेनन् ?

    पेलेका आलाेचकहरू उनले कहिल्यै युराेपकाे क्लबका लागि नखेलेर आफ्नाे जीवन सहज बनाएकाे मान्छन् ।

    ब्राजिलका अन्य खेलाडीलाई पेलेलाई पनि आफ्नाे महत्त्वपूर्ण समयमा विदेश गएर खेल्न राेक लगाइएकाे थियाे ।

    सान्ताेस क्लबले रियल मड्रिड र एसी मिलान जस्ता क्लबकाे प्रस्ताव अस्वीकार गरेकाे थियाे । त्यस समयमा आफू कहाँ खेल्ने भनेर निर्णय गर्ने अधिकार खेलाडीकाे हातमा हुँदैनथ्याे र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाब पनि थियो ।

    सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई ‘राष्ट्रिय सम्पत्ति’ भन्दै ‘निर्यात गर्न नसकिने’ बताउनुभएकाे थियाे ।

    ५० वर्षकाे उमेरमा ब्राजिलकाे कप्तान बने

    पेले मात्र एक पटक ब्राजिलकाे कप्तान बने । यसअघि उनले क्लब र देश दुवै टिमकाे कप्तानी गर्न अस्वीकार गरेका थिए ।

    राष्ट्रिय टिमबाट सन्न्यास लिएकाे १९ वर्षपछि सन् १९९० मा उनले कप्तानका रूपमा एक मैत्रीपूर्ण खेलमा भाग लिए । ब्राजिलले रेस्ट अफ र वर्ल्ड टिमसँग खेलेकाे थियाे ।

    याे खेल पेलेकाे ५० औँ जन्मदिनकाे अवसर पारेर खेलाइएकाे थियाे । पेले खेलेकाे पहिलाे ४५ मिनेटका लागि मैदानमा आएका थिए ।

    जब पेलेकाे ‘अपहरण’ गरियाे

    सान्ताेस क्लबका खेलाडी सन् १९७२ सेप्टेम्बर ५ मा ट्रिनिडाड एन्ड टोबागोमा खेल्दा सन्तुष्ट थिएनन् ।

    त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए । उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए ।

    तर त्यस खेलमा पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए । मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले । उनलाई उद्धार गर्न असहजरूपमा केही मिनेट समय लाग्यो ।

    सल्भेस्टर स्टिलोन फिका देखिए

    सन् १९८० सम्म सल्भेस्टर स्टिलोन एक चर्चित नाम बनिसकेकाे थियाे । उनकाे फ्लिम ‘एस्केप टु भिक्टरी’ काे शुटिङ सन् १९८० मा सुरु भएकाे थियाे । याे फ्लिम दोस्रो विश्वयुद्ध ताकाको नाजी-११ र बन्दीहरूको टोलीबीचको खेलको एउटा काल्पनिक कथामा थियाे ।

    केही पूर्व फुटबल खेलाडी र त्यही समय खेलिरहेका खेलाडीसँगै पेले पनि त्यसकाे हिस्सा थिए । पेलेले एक सिनमा एक्रोबेटिक बाइसाइकल किक हानेका थिए ।

    पेलेले ब्राजिलकाे वेबसाइट यूओएललाई दिएकाे एक अन्तर्वार्तामा त्याे शट स्टिलाेनले हान्नुपर्ने भए पनि उनले नसकेकाे बताएका थिए ।

    उनले भने, स्क्रिप्टका अनुसार स्टिलाेनले शट हान्नुपर्ने थियाे र म गाेलकीपर थिएँ । तर उनले बल प्रहार गर्न सकेनन् ।

    पेले गाेलकिपर बनेकाे भए

    यदि पेले गाेलकीपर बनेकाे भए पनि उनले सायद निराश गर्दैन थिए । सान्ताेस क्लबका लागि खेल्दै उनले चार खेलमा गाेलकीपरकाे भूमिका निभाएका थिए ।

    यसमा सन् १९६४ मा खेलिएकाे ब्राजिलियन कपकाे सेमिफाइनल पनि छ । ब्राजिलले सबै खेल जित्याे । पेलेले कुनै पनि खेलमा एक गाेल पनि हुन दिएनन् ।

    एउटामात्रै पेले छैनन्

    पेलेका प्रशंसकहरू ‘देअर इज वन्ली वन पेले !’ गीत गाउँदा निकै रमाउँछन् । तर गीतमा भनिए झैँ वास्विकतामा एक जनामात्र पेले छन् भन्ने होइन ।

    अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु अवेदीले पेलेको रूपमा घाना र कैयौँ युरोपेली क्लबमा खेले । इङ्ग्ल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए ।

    राष्ट्रपति बन्न चाहन्थे

    सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न आफूले रुचाइरहेको बताएका थिए । त्यो अवसर कहिल्यै आएन ।

    यद्यपि उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने ।

    -बीबीसीबाट

  • रोनाल्डो कीर्तिमानी मूल्यमा साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने

    रोनाल्डो कीर्तिमानी मूल्यमा साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने

    काठमाडाैं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन् ।

    साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो ।

    नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको छ । २ वर्षपछि उनको पारिश्रमिक बढाएर वार्षिक २०० मिलियन पाउण्ड बनाएर ७ वर्षको सम्झौता गर्न लागेको गोल डटकमले जनाएको छ ।

    म्यानचेस्टर युनाईटेड छाडेपछि स्वतन्त्र रूपमा रहेका रोनाल्डोलाई क्लबमा भित्र्याउन साउदी क्लबले कीर्तिमानी मूल्यमा प्रस्ताव राखेको हो ।

    सन् २०३० पछि रोनाल्डलोले क्लबको ब्राण्ड एम्बेस्डरको रूपमा काम गर्नेछन् ।

    स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोले इजिप्ट र ग्रीससहित सन् २०३० मा विश्वकप आयोजना गर्न साउदी अरेबियाको प्रस्तावलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाउनेछन् ।

    रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो विश्वकप अगाडिबाट क्लब बिहीन बनेका थिए ।

  • हाजार्डले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

    हाजार्डले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

    काठमाडाैं । बेल्जियमका प्रभावशाली मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

    विश्वकपमा बेल्जियम समूहगत चरणबाटै बाहिरिएपछि हाजार्डले ३१ वर्षकै उमेरमा सन्यासकाे घोषणा गरेका हुन् ।

    १७ वर्षको उमेरमा सन् २००८ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हाजार्ड बेल्जियमको गोल्डेन पुस्ताका सदस्य हुन् । सन् २०१८ को विश्वकपमा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो।

    उनले बेल्जियमको सिनियर टोलीका लागि एक सय २६ खेल खेलेका छन् भने ३३ गोल गरेका छन् ।

    सन्यास घोषणामा हाजार्डले भनेका छन्, ‘आज एउटा पाना पल्टिएको छ । तपाईँहरूको मायाका लागि धन्यवाद दिन चाहन्छु ।’

    हाजार्डले स्पेनिस क्लब रियल म्याड्रिडका लागि व्यावशायीक फुटबल खेल्छन् ।

  • वेल्समाथि इरानकाे २-० काे जित

    वेल्समाथि इरानकाे २-० काे जित

    काठमाडौं । विश्वकप फुटबलमा इरानले वेल्समाथि जित निकालेको छ ।

    कतारमा जारी विश्वकपमा इरानको यो पहिलो जित हो । खेलको अतिरिक्त समयमा इरानकले २ गोल गर्दै महत्वपूर्ण जित निकालेको हो ।

    वेल्सका गोलकिपर वेन हेनेसीले खेलको ८५ औं मिनेटमा खराब फउल गरेपछि रातो कार्ड पाएका थिए । इरानका खेलाडीलाई खराब फउल गरेपछि भारमार्फत उनलाई रातो कार्ड दिइएको हो ।

    त्यसपछि १० खेलाडीमा सीमित भएको वेल्समाथि गोल गर्दै इरानले सनसनीपूर्ण जित निकालेको हो ।

    इरानका लागि अतरिक्त समयको ९७ औं मिनेटमा रुजबेह चेम्सले गोल गरेका थिए । यस्तै, रमिन रिजियनले १०० औं मिनेटमा अर्को गोल थपे । जितपछि इरानले ३ अंक बटुलेको छ ।

  • रोनाल्डोले युनाइटेड छोड्ने क्लबको घोषणा

    रोनाल्डोले युनाइटेड छोड्ने क्लबको घोषणा

    काठमाडौं । पोर्चुगिज स्टार फरवार्ड किस्टियानो रानाल्डोले इङलिस क्लब म्यान्चेस्टर युनाइटेड छोड्ने भएका छन् ।

    मङ्गलबार युनाइटेडले रोनाल्डोले आपसी सहमति मै क्लब छोड्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

    युनाइटेडले ओर्ल्ड ट्राफोडमा सफल पहिलो इनिङ र उतारचढावपूर्ण दोस्रो इनिङ बिताएका रोनाल्डोलाई क्लब प्रतिको योगदानका लागि धन्यवाद व्यक्त गर्दै आगामी भविष्यको शुभकामना दिएको छ ।

    रोनाल्डोले युनाइटेडका लागि ३ सय ४६ खेल खेल्दै १ सय ४५ गोल गरेका छन् ।

  • पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालकाे जित

    पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालकाे जित

    काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले जित हासिल गरेकाे छ ।

    दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरे ।

    पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् ।

    दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

  • जेरार्ड पिकेले गरे फुटबलबाट सन्यास लिने घोषणा

    जेरार्ड पिकेले गरे फुटबलबाट सन्यास लिने घोषणा

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

    शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेलेर फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् ।

    पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने निर्णय लिएका थिए । बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ । ‘मैले सधै भनेको छु । बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् ।

    पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए । यसपछि म्यानचेस्टर पुगेका थिए । सन् २००७–८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए ।

    यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन् । जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ । पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए ।