Tag: बालेन साह

  • काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

    काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।

    काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

    यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्‍याइएको हो ।

    काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।

  • कानुन मिचेर कसैलाई मोटाउन दिँदैनौँ : बालेन साह

    कानुन मिचेर कसैलाई मोटाउन दिँदैनौँ : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रुमख बालेन्द्र साह (बालेन)ले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएका छन् । आइतबार विज्ञप्ति जारी गरेर कानुनको उल्लंघन गरेर बनाइएको संरचना भत्काएको बताएका हुन् ।

    कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले अहिले भयावहको अवस्था सृजना भएको उनले बताए ।

    ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ साहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    साथै कानुन मिचेर कसैलाई मोटाउन पनि नदिने उनको भनाइ छ ।

    ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘अब मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन दिने छैनौं । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सकेसम्म मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन् ।’

    विज्ञप्तिको पूर्णपाठ :

    अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा

    कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ । आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् । महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ ।

    कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो । कानूनको अनुपालना गर्न पैतीस दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानूनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहल बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको सर्वविदितै हो । स्मरण रहोस्, भूइँ तला वा बेसमेन्टमा पार्किङ गर्ने गरी भवनको नक्सा स्वीकृति लिएका व्यक्ति वा संस्थाले सोबाापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन् । तर, कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरु भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक छ ।

    नेपालको संविधान र कानुनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानुन कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको छ । वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो । अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ले दिएको छ ।
    कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।

    आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

    सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ । अब मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन दिने छैनौं । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सकेसम्म मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसंग खुला छन् । अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा छौं ।

    बालेन्द्र शाह
    प्रमुख, काठमाडौं महानगरपालिका
    मिति २०७९/५/१२

  • डाेजर लिएर राहदानी विभागमा मेयर बालेन साह

    डाेजर लिएर राहदानी विभागमा मेयर बालेन साह

    काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिँडेका छन् ।

    बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ ।

    ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैँ फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

  • अल्फाबिटामा डाेजर चलाएपछि बालेन साहकाे ‘स्टाटस’ : मैले के बिराएँ ?

    अल्फाबिटामा डाेजर चलाएपछि बालेन साहकाे ‘स्टाटस’ : मैले के बिराएँ ?

    काठमाडौं । काठमाडाैं महानगरका मेयर बालेन साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाउन निर्देशन दिएपछि स्टाटस पोस्ट गरेका छन् ।

    अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँग मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको उनको भनाइ छ । उनले भनेका छन् ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’

    अब उप्रान्त यस्तो गर्नु नपरोस् भन्ने उनको कामना छ । सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् । ‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।

    अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएका छन् । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ ।

  • अनधिकृत संरचना हटाउन बालेन साह नयाँबानेश्वर र शंखमुलमा (तस्बिरसहित)

    अनधिकृत संरचना हटाउन बालेन साह नयाँबानेश्वर र शंखमुलमा (तस्बिरसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ ।

    महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो ।

    शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

    महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।

    नयँ बानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

  • बालेन साहमाथि फेरि खनिए हर्क साम्पाङ : व्यवस्थापनको प्रबन्ध नमिलाई विस्थापित गर्न हुन्न

    बालेन साहमाथि फेरि खनिए हर्क साम्पाङ : व्यवस्थापनको प्रबन्ध नमिलाई विस्थापित गर्न हुन्न

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङ फेरि काठमाडाैंका मेयर बालेन साहमाथि खनिएका छन् ।

    काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरिरहेका छन् ।

    धराने मेयर साम्पाङ पनि बालेनको यो एक्सनप्रति असहमत देखिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।

    अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनीसमेत उनले दिएका छन् ।

    ‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।

    केही दिनअघि काठमाडौं आएर फर्केदेखि उनी यहाँका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमा खनिएको खनियै छन् ।

  • नर्भिककाे मुद्दामा सर्वाेच्चलाई बालेनकाे व्यंग्य : अल्पकालीन आदेशकाे पेसी बुढाे भएपछि चढाउने ?

    नर्भिककाे मुद्दामा सर्वाेच्चलाई बालेनकाे व्यंग्य : अल्पकालीन आदेशकाे पेसी बुढाे भएपछि चढाउने ?

    काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले सर्वाेच्च अदालतप्रति कटाक्ष गरेका छन् । नर्भिक अस्पतालकाे संरचना नहटाउन सर्वाेच्चले अल्पकालिन आदेश जारी गरेकाे थियाे । उक्त आदेशप्रति उनले कटाक्ष गरेका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा ‘नर्भिककाे पेसी पर्खदै’ क्याप्सनमा आफू बुढाे भएकाे तस्बिर राखेर उनले लेखेका छन् ‘अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ।’

    यसअघि पनि मेयर साहले नर्भिक अस्पतालकाे संरचना नहटाउन अल्पकालीन आदेश जारी गरेपछ व्यंग्यात्मक शैलीमा अदालतप्रति कटाक्ष गरेका थिए । त्यतिबेला उनले नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने जिम्मा सर्वाेच्चलाई नै दिउँ भन्ने प्रस्ताव गरेका थिए । उनले भनेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

  • निहारिकालाई भेटेपछि बालेन साहकाे प्रश्न : डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने हो ?

    निहारिकालाई भेटेपछि बालेन साहकाे प्रश्न : डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने हो ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् ।

    आज टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेका हुन् ।

    भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् ।

    उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

  • मेयर बालेन साह र नर्भिक अस्पतालका कर्मचारीबीच चर्काचर्की

    मेयर बालेन साह र नर्भिक अस्पतालका कर्मचारीबीच चर्काचर्की

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की भएको छ ।

    अस्पतालले नियमविपरीत बनाएका टहरा मंगलबार भत्काउने तयारीबीच बालेन अस्पताल पुगेका थिए । बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान हटाउन आग्रह गर्दा कर्मचारी आक्रोशित भएका हुन् ।

    महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो ।

    अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।

    अस्पतालले भने अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको छ ।

  • गगन थापा र बालेन्द्र साहको भेट, के भयो कुराकानी ?

    गगन थापा र बालेन्द्र साहको भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

    मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए ।

    बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए ।

    ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ उनले भने ।