Tag: मेलम्ची खानेपानी

  • मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

    मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

    काठमाडाैं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो ।

    जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले राससलाई जानकारी दिनुभयो ।

    मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने उनले सुनाए । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ ।

    मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

  • पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो मेलम्चीकाे पानी

    पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो मेलम्चीकाे पानी

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ ।

    नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

    नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो । जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ ।

    पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने जनाइएको छ ।

  • आजदेखि फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

    आजदेखि फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

    काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाले शुक्रबारदेखि काठमाडौं उपत्यकामा पुनः खानेपानी वितरण सुरु गर्दैछ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गर्न लागिएको हो।

    गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो।

    गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो।

    केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो।

    असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो।

    आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

    यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

    वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।

    विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

    मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ । अर्बौँ रकम खर्च गरेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा मात्र पानी आउन थालेपछि राजधानीवासी काकाकुल हुनुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।

    आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्याङ्कीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए।

    राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौँ १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो।

    नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायीरुपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो। रासस

  • शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने

    शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने

    काठमाडाैं । शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ ।

    मेलम्चीको पानी प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

    मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो ।

    सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको छ ।

    आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ ।

    अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पुर्‍याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।

  • मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

    मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

    सिन्धुपाल्चाेक । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।

    आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरू गरिने बताएका हुन्।

    गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरूङमा पानी हाल्न थालिएको छ।

    पानी सुरूङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

    मेलम्ची खानेपानीको हेडवर्क्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए।

    उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरू गर्ने बताए। सुरूङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए।

    उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरूङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे।

    निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मंसिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

    उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरू भइरहेको बताए।

    अहिलेसम्म सुरूङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब ३१ करोड रुपैयाँ खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सकिने सचिव गेलालले बताए।

    निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए।

    उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए।

    निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्‍याएका संरचना पुनर्निर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताए। रासस

  • पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा

    पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरूङमा

    सिन्धुपाल्चाेक । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ।

    असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ।

    यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

    एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने पनि उनले सुनाए।

    आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरूङ सफा गर्नेछ। सुरूङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ।

    पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ।

    यो सञ्जालमार्फत् अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

    वर्षामा बाढी आएर सुरूङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।

    विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो।

    विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

    मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ। रासस

  • वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

    वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

    काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकावासीलाई दीर्घकालीन रूपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची खानेपानीको २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी गराएका छन् ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण भएसँगै २०७९ वैशाख ११ गतेभित्र उपत्यकाभित्र खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाए ।

    मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिक रूपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताए ।

    मेलम्ची खानेपानीको विकल्पको रूपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउनुहुँदै उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिए ।

    कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने धारणा व्यक्त गर्दै मेलम्ची खानेपानी आयोजनाको विकल्पहरूबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिए । खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरु उत्पन्न हुनसक्नेतर्फ इंगित गर्नुहुँदै उहाँले सरोकारवालाहरू सबै मिलेर खानेपानीका स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई के.यु.के.एल. र पीआईडीले मनन गर्नुपर्ने बताए ।

    मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका व्यवस्थापन बोर्डमा रहेर कार्य गर्दाको अनुभव सुनाउनुहुँदै बोर्डले मेलम्चीको पानीको विकल्पको रूप सिस्नेरी आयोजनालाई अगाडि ल्याएको बताउँदै पीआईडी र केयुकेएलको काममा स्थानीय तहसँग समन्वय गरी गर्नुपर्ने बताए ।

    कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताउनुहुँदै वैकल्पिक स्रोतहरूको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ खानेपानी मन्त्रालय अग्रसर रहेको बताए । त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाइ व्यवस्थापन एवम् सुधारलगायतका कार्यहरूमा सहकार्य गर्दै आइरहेको बताए । उपत्यकाका करिब १६ ठाउँमा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइसकेको बताउनुहुँदै उहाँले बोर्डले वर्षातको पानी संकलन गरी पुनःभरण गर्ने काम गर्दै आएको बताए ।

    कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव मिना श्रेष्ठ, केयुकेएलका कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्यराज कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूबीच आयोजित टेबुलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरे । वार्षिकोत्सवकै अवसर पारेर मन्त्री चौधरीले ‘वार रुम’ को समेत उद्घाटन र बोर्डको वार्षिक प्रतिवेदन समेच विमोचन गरेका थिए ।

  • फेरि पठाइयाे मेलम्ची नदीको पानी काठमाडाैंमा

    फेरि पठाइयाे मेलम्ची नदीको पानी काठमाडाैंमा

    काठमाडाैं । मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

    सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन मंगलबार सुरु गरिए पनि काठमाडौंमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

    परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

  • चैतभित्रै काठमाडौँ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

    चैतभित्रै काठमाडौँ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

    काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

    बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडाैं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका हुन् ।

    मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए । निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए ।

    मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको पनि सो अवसरमा स्पष्ट पारे । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनले बताए ।

    मन्त्री चौधरीले भने, ‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिनाभित्रै काठमाडौँ पानी पुर्‍याउनुपर्छ ।’

    उनले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिए । उनले हाल जारी रहेको कामको गति चित्तबुझ्दो रहेको पनि बताए ।

    मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए ।

    उनले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौँ लैजाने गरी काम भइरहेको जानकारी दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उनले दिए ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रु पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरे । उनले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन पनि आग्रह गरे ।

    काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्सातको बाढीले क्षति पुर्‍याएको थियो । त्यसपछि सो आयोजना हालसम्म नै ठप्प रहेको छ ।