Tag: रवि लामिछाने

  • फण्डा गर्नेहरुलाई मंसिर ४ मा ‘ब्याटल बक्स’बाट जवाफ दिनेछाैँ : रवि लामिछाने

    फण्डा गर्नेहरुलाई मंसिर ४ मा ‘ब्याटल बक्स’बाट जवाफ दिनेछाैँ : रवि लामिछाने

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले विभिन्न किसिमका फण्डा भइरहेको बताएका छन् ।

    आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डामात्र भएको उनको दाबी छ ।

    लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट पनि गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत लामिछानेले भनेका छन्, ‘हामीमाथि फिजिकल र डिजिटल दुवै आक्रमण निरन्तर चलिरहेको छ यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने छु । त्यसैका आधारमा यहाँहरूलाई जानकारी हुने नै छ ।’

    उनले ७ दिनको म्याद दिएर पत्र काटेको सुनेको भन्दै पत्र प्राप्त भएपछि सबै जवाफ दिइने बताए । उनले आफूविरुद्ध फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्याटल बक्सबाट जवाफ दिइने पनि बताए ।

    उनले आफूविरुद्ध भ्रम फैलाउनका लागि केही मान्छे चितवनमा अड्डा जमाएर बसेको पनि दाबी गरे ।

    मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएकाे थियाे ।

    राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।

  • रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे पनि आज वाचापत्र सार्वजनिक

    रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे पनि आज वाचापत्र सार्वजनिक

    काठमाडाैं । पहिलोपटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचा पत्र सार्वजनिक गर्न लागेकाे छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गर्ने छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिष्कार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न लागेको बताएको छ ।

    यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टी चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

  • रवि लामिछानेले दिए चितवन-२ बाट उम्मेदवारी

    रवि लामिछानेले दिए चितवन-२ बाट उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् ।

    सञ्चारकर्म छाडेर पार्टी खोलेका लामिछानेले मनोनयन दर्तापछि फेसबुकमा लेखेका छन्, ‘म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’

    लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

  • हिरासतमा कुँवरलाई भेटेपछि रवि लामिछानेले भने- मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस्

    हिरासतमा कुँवरलाई भेटेपछि रवि लामिछानेले भने- मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् ।

    सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।

    कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् ।

    ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नै पर्‍यो ।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस् । दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन् ।

     

  • यस्ता छन् रवि लामिछानेको पार्टीका पदाधिकारी

    यस्ता छन् रवि लामिछानेको पार्टीका पदाधिकारी

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ ।

    सो पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको हाे ।

    बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

    उता, बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ ।

  • प्रदेशमा समस्या छ त्यही कारण उम्मेदवारी नदिने निर्णय गरेका हाैँ : रवि लामिछाने

    प्रदेशमा समस्या छ त्यही कारण उम्मेदवारी नदिने निर्णय गरेका हाैँ : रवि लामिछाने

    काठमाडौं । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा समस्या रहेकाले आफूहरूले प्रदेशसभाका लागि उमेदवारी नदिने घोषणा गरेको बताएका छन् ।

    बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू व्यवस्थाको विरोधी नरहेको तर प्रदेशमा समस्या देखिएकाले उमेदवारी नदिने निर्णय गरेको बताए ।

    उनले भने, ‘हामी अहिले प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदैनौँ । यसमा समस्या छ भनेर बहस सुरु गरेका हौँ । हामी व्यवस्थाको विरोधी होइनौँ ।’

     

  • रवि लामिछानेकाे पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    रवि लामिछानेकाे पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ ।

    पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले भिडियाे सन्देशमार्फत बताएका हुन् ।

    उनले भनेका छन्, ‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौँ नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्र, तेस्रा, चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ । यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौँ ।’

  • अमेरिकामा ऋण र सम्पत्ति दुवै छैन, ऋण भएको थाहा पाए अघिल्लो जन्मकाे समेत तिर्छु : रवि लामिछाने

    अमेरिकामा ऋण र सम्पत्ति दुवै छैन, ऋण भएको थाहा पाए अघिल्लो जन्मकाे समेत तिर्छु : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अमेरिकामा आफ्नो ऋण र सम्पत्ति दुवै नभएको स्पष्टीकरण दिएका छन् । साथै, संसारमा कतै पनि आफूविरुद्ध कुनै मुद्दा नरहेको उनको भनाइ छ ।

    लामिछानेविरुद्ध अमेरिकामा विभिन्न मुद्दा चलिरहेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि उनले प्रष्टीकरण दिएका हुन् । उनले अमेरिकामा आफ्नो जायजेथा सबै बिक्री गरिसकेको र ऋण पनि चुक्त गरिसकेको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘अमेरिकामा सबै ऋण नतिरी जायजेथा बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेको छु । न मेरो नाममा ऋण बाँकी छ न मेरो नाममा कुनै सम्पत्ति छ ।’

    उनले ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नुपर्दैन भनेर वादीले नै फिर्ता गरेको उल्लेख गरेका छन् । लामिछानेका अनुसार निश्चित समयपछि त्यो पनि ‘क्लोज्ड’ देखिन्छ ।

    ‘मैले मेरो बक्यौता तिर्ने तर सकेसम्म कम तिर्ने सोच राखेको हुँ । भागेको, लुकेको, ठगेको केही पनि होइन । भुलेको भए बेग्लै कुरा, तर मैले नियतवश व्यक्तिगत लेनदेनसमेत गरी कसैलाई केही तिर्नुपर्ने बाँकी राखेको छैन,’ उनले लेखेका छन् ।

    उनी थप्छन्, ‘यो दुनियाँमा आजका मितिमा मेराविरुद्ध कुनै मुद्दा भएको मलाई थाहा छैन । थाहा पाएँ भने अघिल्लो जन्मको समेत तिर्छु ।’

  • हर्क साम्पाङ भेट्न पुगे रवि लामिछाने

    हर्क साम्पाङ भेट्न पुगे रवि लामिछाने

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो ।

    भेटका क्रममा लामिछानेले साम्पाङलाई बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

    पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।

  • यी हुन् रवि लामिछानेकाे पार्टीका २१ केन्द्रीय सदस्य (सूचीसहित)

    यी हुन् रवि लामिछानेकाे पार्टीका २१ केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।

    शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

    लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।