Tag: रामकुमारी झाँक्री

  • चप्पल लाउनेहरूले ल्याएको गणतन्त्रको रक्षा उनीहरूले नै गर्छन्ः रामकुमारी झाँक्री

    चप्पल लाउनेहरूले ल्याएको गणतन्त्रको रक्षा उनीहरूले नै गर्छन्ः रामकुमारी झाँक्री

    काठमाडौं । नेकपा एकीकृत (समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आम जनताले लडेर ल्याएको गणतन्त्रको रक्षा पनि उनीहरूले नै गर्ने बताएकी छन्। उनले गणतन्त्र विरोधी शक्तिहरूले जति नै चुनौती खडा गरे पनि समाज अब पछाडि नफर्किने ठोकुवा गरिन्।

    विगतको आन्दोलनलाई स्मरण गर्दै उनले भनिन्, ‘हिजो जुन ट्रकका ट्रक म्याजिक चप्पल प्रहरीले भरेर लान्थ्यो, हो तिनै चप्पल लाउने मान्छेहरूले गणतन्त्रका लागि लडेको हो र त्यसको रक्षक पनि तिनीहरू नै हुन्।’ झाँक्रीले यही व्यवस्थाले आम मानिसलाई जात र पेशाको पहिचानभन्दा माथि उठेर नागरिकको सम्मान दिएको बताइन्।

    नेता झाँक्रीले समाजको विकास एकरेखीय हुने र यो पछाडि नफर्किने तर्क गरिन्। ‘अहिले जे सामन्तवादमा रैतीहरू, दासहरू बन्नको लागि मान्छे आइरहेका छन्, त्यो दास समाजतिर त समाज फर्किँदै फर्किन्न नि, समाज त एकरेखीय ढंगले अगाडि बढ्छ भने फर्केर आउँछ र ? आउँदैन त।’

    उनले राजनीतिक दल र नेताहरूको आचरणमा कमजोरी रहेको स्वीकार गरिन्। ‘हामी एकातिर भयङ्कर गणतन्त्रवादी, समाजवादी र साम्यवादीको गफ गर्छौं, अनि फेरि यहीँ ठ्याक्कै जातको फुर्को ल्याएर लाइहाल्छौं ।’ झाँक्रीले राजनीतिक वृत्तको दोहोरो चरित्रमाथि व्यङ्ग्य गरिन्।

    गणतन्त्रका उपलब्धिहरूलाई नजरअन्दाज गर्दै केही भएन भन्ने भाष्य निर्माण गर्नु सबैभन्दा खतरनाक भएको उनको भनाइ थियो। गणतन्त्रले दिएको अधिकारको उदाहरण दिँदै उनले भनिन्, ‘हिजो सीमित मान्छेले मात्र पासपोर्ट बनाउन पाउँथे, तर आज हरेक नेपाली नागरिकले पासपोर्ट बनाएर संसार घुम्ने अधिकार पाएका छन्। यो गणतन्त्रको उपलब्धि हो।’

    उनले विगतमा दरबारसँग पहुँच बनाएर विशेषाधिकार पाएकाहरू नै अहिले गणतन्त्रको विरोधमा लागेको आरोप लगाइन्। झाँक्रीले निरन्तरको आत्मभर्त्सना र निराशाको बाटो बन्द गर्नुपर्नेमा जोड दिइन्।

  • गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्न रामकुमारी झाँक्रीले दिइन् गुल्मी-२ बाट उम्मेदवारी

    गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्न रामकुमारी झाँक्रीले दिइन् गुल्मी-२ बाट उम्मेदवारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवं पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।

    झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    गत स्थानीय तहको निर्वाचनमा एमालेले ३० हजार ८७२ मत पाउँदा सत्ता गठबन्धनले ३२ हजार ३७६ मत ल्याएको थियो ।

     

  • रामकुमारी झाँक्रीलाई खुल्ला पत्र : किन अवरुद्ध भयो तपाईँको गला ?

    रामकुमारी झाँक्रीलाई खुल्ला पत्र : किन अवरुद्ध भयो तपाईँको गला ?

    माननीय रामकुमारी झाँक्रीज्यू,

    तपाईको आँसुको आशय के थियो ? संयोगले वा नियतवश पत्रिकाले तपाईको अनुहार छाप्यो । तपाईं परिचित हुनुभयो । आन्दोलनकारी लाखौँ थिए । तिनको योगदान तपाईको भन्दा हजारौँ गुणा बढी थियो । मौकामा हान्न जान्ने तपाईं मन्त्री हुनुभयो । तपाईभन्दा योग्य र त्यागी लाखौँ अरू पनि त छन् । तिनीहरू तपाईं मन्त्री हुँदा कोही रोएनन् । तपाईं मन्त्री हुँदा कतै शोकसभा राखेको खबर छापिएन । तपाईविरुद्ध नाराजुलुस लागेको दृश्य पनि टिभी देखाइएन ।

    तातो मायाको अन्त्य पनि चाँडो र चिसो हुन्छ । यो तपाईलाई भन्दा बढ्ता अनुभव मलगायत धेरै युवामा छ । हतारको यात्रामा हिँडेकाहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ ।

    अब तपाईलाई राजतन्त्रविरोधी आन्दोलनतर्फ फर्काउँछु । त्यतिबेला म १७ वर्षको थिएँ । भर्खर विद्यार्थी राजिनितिमा जोडिएको थिएँ। आन्दोलनको भिडमा म पनि राजतन्त्रिवरोधी नारा घन्काइरहेका थिए । शिरमा पट्टी बाँधेर राजतन्त्रको पतनका लागि आन्दोलनरत हजारौँको भीडबाट ढुंगामुढा गर्ने दशौँ हजार आन्दोलनकारीमा तपाईलाई नै किन देख्यो क्यामेराले ? यसको जवाफ तपाईसँग छैन होला पनि । राजतन्त्रको अन्त्यका लागि लड्ने हजारौँ योद्धा बलिदानी अनि सहिदको रगतको बलमा तपाईं मन्त्री हुनुभएको हो । तपाईलाई याद छ कि सम्झाउनुपर्छ ?

    १८३१ सालदेखिको राजतन्त्र ढल्यो । राजगद्दी त्याग्दा राजपरिवारका कुनै सदस्यको आँखामा आँसु देखिएन र देखाइएन । कसैको गला अवरुद्ध भएको सुनिएन। राष्ट्रका नाममा सम्बोधन गरिरहेका ज्ञानेन्द्रको गलामा कम्पन, अनुहारमा भग्नावशेष, ग्लानि, कुन्ठा आदि झल्किएको थिएन।

    जनताको नासो जनतामा …. भनिरहँदा ज्ञानेन्द्र न बेहोस भए न त उनले मानसिक सन्तुलन गुमाए। सत्ताबाट लखेटिनुपर्दा उनी हतास पनि देखिएनन। सम्झनुस् त हजारौँ योग्य, क्रान्तिकारी, सक्षमहरूलाई पछि पारेर तपाईं मन्त्री हुनुभएको थियो । त्यो बेलाको विजयी मुस्कान आजसम्म सम्झन्छु तपाईको ।

    माननीय रामकुमारी झाक्रीज्यू,

    तपाईभन्दा लाखौँ योग्य र त्यागी सत्ताबाहिर आफ्नो त्यो एकदिनको पर्खाइमा छन् । देश परिवर्तनका पक्षमा, रूपान्तरणका पक्षमा क्रान्ति गर्नेलाई भावुक हुने अधिकार छ ? ढंगले एउटा विषयमा सही तरिकाले काम गर्न नजान्ने, बोल्न नजान्ने तपाईं सहरी विकासमन्त्री हुनु मात्र संयोग थियो ।

    योग्यता, क्षमता र राजनीतिक योगदानमा तात्विक भिन्नता छन् । फरक कुरा हुन् । अँ, तपाईं किन रुनुभयो ? किन अवरुद्ध भयो तपाईको गला ? कि राजतन्त्रलाई सम्झनुभयो ? कि पुरानो पार्टी एमालेलाई सम्झनुभयो ? कि आफ्नै नजरबाट झरेको महसुस भयो र झार्नुभयो आँसुलाई पश्चातापले ?

    राज्यको सर्वांगीण विकास र समग्र रूपन्तरणका लागि जीवन उत्सर्ग गर्ने योद्धा, क्रान्तिकारी वा त्यागीलाई दुख्यो त्यसैले रोएँ भन्ने अधिकार हुन्न ! नत्र, गुमाएका सबैको भर्पाइ दिन तयार हुनुहोस् ।

  • मन्त्री झाँक्रीले भेटिन् र कामु प्रधानन्यायाधीश कार्की

    मन्त्री झाँक्रीले भेटिन् र कामु प्रधानन्यायाधीश कार्की

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् ।

    मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

    कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।

  • आलेपछि झाँक्रीकाे राजीनामा

    आलेपछि झाँक्रीकाे राजीनामा

    काठमाडाैं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । राजीनामाबारे जानकारी दिन ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयाेजना गरिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

    नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी झाँक्री अघि पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिइसकेका छन् ।

    यसअघि असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाएर चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए ।

    त्यसमध्ये आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए । सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेका थिए ।

    यस्तै, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने यसबारे केही बताएका थिएनन् ।

    नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

  • ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

    ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

    काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छिन् । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन् ।

    साेमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्ति प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरीन् ।

    उनले भनिन्, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोसुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई संरक्षण गरिरहेका छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।’

    उनले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्नसक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरुको रटानका कारण थप समस्या सिर्जना भएको बताएकी हुन् ।

    हाल विद्यमान कानून र स्रोतसाधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकामा जोड दिइन् ।

    कार्यक्रममा सरकारका पूर्वमुख्य सचिव एवं बागमती सफाइका मुख्य अभियन्ता लीलामणि पौड्यालले बागमती नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई सरकारले छिटो व्यवस्थित गर्नुपर्ने बताए । देशैभरका नदी किनारालाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने खालको ऐन ल्याउन उनले सरकारसँग माग गरेकाे बताए ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूर्ण अधिकारसहितको बागमती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको बताए ।

  • मन्त्री झाँक्रीद्वारा पुरातात्विक संरचनाको निरीक्षण

    मन्त्री झाँक्रीद्वारा पुरातात्विक संरचनाको निरीक्षण

    काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको बुधबार निरीक्षण गरेकी छन् ।

    मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिँदै निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताइन् ।

    मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् । उनले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनःस्थापना गर्न विकल्प खोज्न सकिने उल्लेख गरिन् ।

    सो अवसरमा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको र आगामी असारसम्म सम्पन्न गरिसक्ने जानकारी दिइन् ।

    पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

  • लैंगिक विभेद अन्त्य गर्न गर्न सरकार लागि परेको छः मन्त्री झाँक्री

    लैंगिक विभेद अन्त्य गर्न गर्न सरकार लागि परेको छः मन्त्री झाँक्री

    काठमाडाैं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन् । समाजमा रहेको लैंगिङ विभेद हटाएर समृद्ध समाज निर्माणको लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन् ।

    सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौंमा आयोजित ई-कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘समाजमा रहेको लैंगिक विभेद त्यतिबेला अन्त्य हुन्छ, जतिबेला महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्तीकरण हुन्छन् । यसले महिलाहरूको आत्मनिर्णयको अधिकार समेत सुनिश्चित गर्छ ।’

    कोरोना महामारीका कारण सबैभन्दा मारमा महिलाहरू नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले इ-कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् ।

    ईस्क्याप दक्षिण तथा दक्षिण एसिया उपप्रमुख रन्जन सुदेश रत्नले संसारमा महिला सशक्तीकरण अत्यन्त महत्त्वपूर्ण विषय रहेको बताए । उनले हरेक सफल पुरुषको पछि महिलाको भूमिका हुने भन्दै महिला समानताबाट मात्र विश्व विकासमा अघि बढ्न सकिनेमा जोड दिए ।

  • सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी

    सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी

    काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताएकी छन् । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन् ।

    उनले भनीन्, ‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटोअघि बढाउन गृहकार्य थालेका छौँ ।’ उनले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने बताइन् । सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सर्वसाधारणको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताइन् ।

    सो अवसरमा शहरी विकास सचिव डा रमेशप्रसाद सिंहले सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताए । सो अवसरमा सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल, नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोला र नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन राख्न लागिएको जानकारी दिँदै सिंहदरबारभित्र सडक बत्ती व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताए । नेपाल टेलिकमकी प्रतिभा वैद्यले ‘सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरू व्यवस्थित गर्ने बताइन् ।

  • नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

    नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

    काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् ।

    समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी होन् ।

    मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन् । ‘पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ’, उनले भनिन, ‘ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ ।’

    मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असिमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन् । उनले भनिन, ‘आयोजना स्वचालित ढङ्गले नभई आवश्यकता र प्राथमिकीकरणको आधारमा छनोट हुने प्रणालीको स्थापना गर्नु जरुरी छ ।’