Tag: रामचन्द्र पाैडेल

  • राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

    राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

    राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।

    २२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो ।

  • राजनीति, सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल

    राजनीति, सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल

    भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले, राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् ।

    आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिक अनावरण समारोहमा उनले, राजनीतिलाई सत्ता र शक्तिको साधन होइन, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावि पुस्तासम्म पुर्‍याउनु पर्ने बताएका हुन् ।

    स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ । ’

    कठिन समयमा पनि, लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाइ छ ।

  • राष्ट्रपतिकाे उपचारबारे अनर्गल प्रचार गरिएकाे भन्दै सचिवालयकाे आपत्ती

    राष्ट्रपतिकाे उपचारबारे अनर्गल प्रचार गरिएकाे भन्दै सचिवालयकाे आपत्ती

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत प्रस्थान गरेपछि अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

    बुधबार विज्ञप्ति निकाल्दै राष्ट्रपतिको सचिवालयले गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूले राष्ट्रपति विदेश उपचारका लागि गएको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यामको दुरुपयोग भएको बताएको छ ।

    राष्ट्रपति पौडेलको उपचार स्वेदशमै गर्न सकिने भए पनि भारत लगिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् ।

    राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको उपचारका विषयमा भएको अफवाहपूर्ण प्रचारजस्तो अवस्था नभएको बताए । उनले भने, ‘चिकित्सकको सुझावका आधारमा उहाँलाई उपचारका लागि दिल्ली लगिएको हो । बाहिर आएका अनर्गल प्रचारको पछि नलाग्न म सबैसँग अनुरोध गर्दछु ।’

    सल्लाहकार पोखरेलले राष्ट्रपतिको उपचार र परिवारको सदस्यहरुले भत्ता लिएको जस्ता अर्नगल विषयमा प्रचार गरिएको भन्दै दु:ख व्यक्त गरे । राष्ट्रपति तथा उपराष्ट्रपति पारिश्रमिकसम्बन्धी ऐनमै पनि उपचारका लागि जाँदा भत्ताको व्यवस्था नभएको र परिवारको कुनै पनि दबाब नरहेको उनले बताएका छन् ।

    छातीमा इन्फेक्सन देखिएपछि राष्ट्रपति पौडेल अहिले भारतमा उपचार गराइरहेका छन् । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पौडेलको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको सचिवालयले जनाएको छ ।

  • अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

    अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका हुन् ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो ।

    पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए । शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो ।

     

     

  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

    पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

    अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

    संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

  • राष्ट्रपतिकाे कुर्सी गुमाएका रामचन्द्र पौडेलले पाए गुन्द्री उपहार

    राष्ट्रपतिकाे कुर्सी गुमाएका रामचन्द्र पौडेलले पाए गुन्द्री उपहार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका छन् ।

    तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर–६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर स्वागत गरेका हुन् ।

    मिलिजुली युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा पौडेल प्रमुख अतिथि थिए ।

    जीवनमा एक पटक प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभए पनि यस पटक गठबन्धनबाट राष्ट्रपति बन्ने कसरतमा पौडेल थिए । उनले गठबन्धन टुट्न नदिन अन्तिमसम्म प्रयास गरेका थिए । गठबन्धन टुटेपछि सबै सपना भताभुङ्ग भएको टिप्पणी पौडेलले गरेका छन् ।

    बन्दीपुरमा बुनिएको गुन्द्री उपहार लिँदै पौडेलले यो गठबन्धन पनि कुनै पनि बेला भङ्ग हुन सक्ने बताए ।

  • कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

    कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

    काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ ।

    सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई जापानी दुतावासले उनकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ ।

    जापानी सम्राट मेइजिले सुरु गरेकाे राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेलले ग्रहण गर्नेछन् । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स रहेका थिए ।

    वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेकाे योगदानका लागि कदर गरिएको हो ।

    वरिष्ठ नेता पौडेलले आफू सभामुख रहनुहुँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहेका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

    जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।

  • देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

    देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् ।

    जिल्लाका सञ्चारकर्मीसँग साेमबार निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे ।

    देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।’

  • जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

    जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्ने बताएका छन् ।

    तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भमा नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।

    जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्रह पनि गरे । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता दिनुपर्ने विषयमा जानकारी गराउन उक्त कार्यशाला आयोजना गरिएको बताए ।

    कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले योजना तर्जुमा गर्ने आधारबारे जानकारी गराए । उनले स्थानीय तहको आवधिक योजनाले निर्दिष्ट गरेका विषय, दिगो विकास लक्ष्यमा तय गरिएका प्राथमिकता, नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था भएका एकल अधिकारका क्षेत्र, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र स्थानीय तहका अधिकारका विषयमा प्रष्ट पारेका थिए ।

    नगरपालिकाका वरिष्ठ इञ्जिनीयर डा. राजु पौडेलले आव २०७८/७९ का योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेका थिए । डा. शेषरमण न्यौपानेले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु र स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललगायत १४ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो ।

  • गठबन्धन बैठक : पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

    गठबन्धन बैठक : पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

    काठमाडाैं । सत्ता साझेदार दलहरुको मंगलबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ ।

    बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ ।

    समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको ढाँचाबारे मंगलबारकाे बैठकमा छलफल हुने बताइएको छ । यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो ।

    बैठकमा सत्ता साझेदार दलका शीर्षनेताहरु प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू सहभागी थिए ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीनदिने भारत भ्रमणको जानकारी पनि गराएका थिए । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ । यस्तै, बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारका तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने पनि निर्णय भएको बताइएको छ ।