Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • उपनिर्वाचनमा जमानत जफत हुँदापनि खुलेन रास्वपाको चेत, मिसन ८४ यथावत

    उपनिर्वाचनमा जमानत जफत हुँदापनि खुलेन रास्वपाको चेत, मिसन ८४ यथावत

    काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरु छलफलमा जुटेका छन् । एक बर्षअघि भएको प्रतिनिधि सभा उपनिर्वाचनमा दुई जित हासिल गरेको रास्वपा यस पटक कमजोर सावित भएपछि समीक्षा गर्नुपर्ने अवस्थामा छ ।

    माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका भएपछि रास्वपाले नयाँ रणनीति तय गर्न देशभरबाट सुझाव लिने बताएको छ । चितवनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँमा रास्वपाकै स्वर्णिम वाग्ले निर्वाचित भएजस्तै सोचेका नेताहरुले इलामको परिणामबाट नयाँ मिसनमा अघि बढ्नुपर्ने निचोडमा छन् ।

    चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिंगो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ । यद्यपी, इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पार्टीको छ ।

    उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निस्कर्ष निकालेको छ । बैठकले २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारी थालेको छ ।

    उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा.मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए । उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए ।

    महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए । उनले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताए । पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गर्ने पनि रास्वपाको तयारी छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र ०८० मा रास्वपाका उम्मेदवारले शहरी क्षेत्रमा राम्रो मत ल्याएर विजयी भएका थिए । सोही परिणामबाट उत्साहित भएको पार्टीले इलाममा घण्टी बजाएर छाड्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएपनि परिणाम खराब आएपछि गाउँमा संगठन बढाउनुपर्ने निष्कर्षमा रास्वपा लागेको छ ।

    रास्वपाका सभापति रवि लामिछानेलगायतका नेताहरु सहकारी ठगी प्रकरणमा मुछिएपछि जनलहर घटेको भन्ने विषयमा पार्टीले आन्तरिक छलफल गरेको छैन ।

  • प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाकोरुपमा सुरक्षित राखौँ : सांसद झा

    प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाकोरुपमा सुरक्षित राखौँ : सांसद झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राख्नु पर्ने बताएका छन् ।

    सोमबार स्वः प्रदीप गिरिको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा सांसद झाले गिरिको आश्रम आफैमा धरोहर रहेको पनि बताए ।

    उनले भने ‘काम गर्ने समयमा ढिला गरेपछि अन्त्यमा पछुताउनु बाहेक केही विकल्प हुँदैन । सिरहामा रहेको प्रदीप गिरीको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला र धरोहरुको रुपमा सुरक्षति राखौं ।’

    सांसद झाले गिरिलाई बजारको कोलाहलबीच बन्द कोठाभित्र नभई उनले रोपेका बोटविरुवाहरु रहेको बगैंचाकाबीचमा सम्झिनु पर्ने पनि बताए ।

  • आर्थिक विधेयक २०८० माथि छलफल नै औचित्यहीन छ : सांसद कार्की

    आर्थिक विधेयक २०८० माथि छलफल नै औचित्यहीन छ : सांसद कार्की

    काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यान्न र आवासको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताएका छन् ।

    आर्थिक विधेयक २०८० माथिको छलफलमा उनले भने ‘अर्थमन्त्री ज्यूलाई मेरो सुझाव राज्यमा नागरिक जन्मेपछि ५ कुराको ग्यारेन्टी राज्यले गर्नु पर्छ । शिक्षा, स्वास्थ्य, रोजगार ,खाद्यन्न र आवास हाम्रो संविद्यानमा पनि यहि लेखेका छौं । राज्यले गरेको प्रतिवद्धतासंगै मौलीक हकका मानुन पनि बनाएका छौं । तर आज व्याचलर पढेको विद्यार्थीहरुमा १०४ जना मध्ये ९६ जनाले विदेश जाने कुरा गर्नु भयो । आलु आर्थिक वर्षको डाटा हे¥यौं भने असार देखि अहिलेसम्म ८० हजार पढ्नको लागि मात्र विदेशिएका छन् । यसको विकल्प नै दिन सकेनौं त्यसैले राज्यले आफ्नो दयित्व पुरा गर्नुपर्छ ।’

    त्यस्तै सांसद माधव सापकोटाले, कर प्रणाली नै अवैधानीक रहेको दाबी गरे । हरेक वर्ष बजेटको प्रस्तुत हुदाँ सुधारको कुरा गर्ने तर पछि सोही नियती दोहोरिने गरेको उनको भनाई छ । उनले भने ‘बजेट प्रणालीमै सुधार गर्छौँ भनेर प्रधानमन्त्री र अर्थमन्त्री भनिरहनु भएको छ। अहिले त हामी तातो बहस गरेको छौं । विस्तारै यो विर्सदैँ जाने र अर्को साल फेरि यहि नियति दोहोरिन पर्ने कुरा जोगिनु पर्छ । हाम्रो कर प्रणली अवैधानीक छ । ’

    त्यस्तै सांसद तोषिमा कार्कीले, बजेटमाथिको छलफल नै निरर्थक भएको जिकिर गरिन् ।

    ‘वास्तवमा भन्नु पर्दा यो संसदमा एउटा नयाँ सांसद, नयाँ पुस्ता भएर प्रतिनिधित्व गरिरहेको छु तर मैले यो छलफलको औचित्य नै देखेको छैन । भर्खरै विनीयोजन विधेयक बहुमतले पारित भयो ।’ उनले भनिन् ‘हामी सिद्धान्तको छलफल गर्दै गर्दा यो गरिमामय संसदको सिद्धान्त गरिमा जोगाउने किसिमको सिद्धान्त हामीसंग छ की छैन ? नैतिकता छ की छैन ? ईमान्दारिताको सिद्धान्तमा नबनेको विधेयकलाई जनताले कसरी अपनत्व गर्न सक्छन् ?’

  • सांसद विकास कोष खारेज गर्न रास्वपाले संकल्प प्रस्ताव दर्ता गर्ने

    सांसद विकास कोष खारेज गर्न रास्वपाले संकल्प प्रस्ताव दर्ता गर्ने

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने भएको छ।

    रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हाे ।

    केही वर्षअघि नै खारेज गरिएको यो कार्यक्रम बजेट वक्तव्यमार्फत ब्युँताएको थियो। सरकारले आगामी वर्षका लागि एउटा योजनामा न्यूनत एक करोड छुट्टयाउने गरी प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच-पाँच करोडका दरले रकम विनियोजन गरेको छ।

    स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रमकै लागि सरकारले ८ अर्ब रुपैयाँ छुट्टयाएको छ।

  • संसदको खाली कुर्सी हेर्दै सांसद अर्यालको टिप्पणी: रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरे जस्तो

    संसदको खाली कुर्सी हेर्दै सांसद अर्यालको टिप्पणी: रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरे जस्तो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले, सदनको खाली कुर्सी हेर्दा रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लागेको टिप्पणी गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले गरेको भने ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न उपस्थित भएको छु । तर, सदनको खाली कुर्सी हेर्दा आफू पनि रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लाग्छ कहिलेकही । घरमै बसेर ऐनामा हेरेर पेन्ड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाइदिए हुने हो कि भन्नेजस्तो लाग्छ । २७५ जनाबीच हुने र सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल रेकर्डको लागि मात्रै बोलिरहेको जस्तो लाग्छ । हलको उपस्थितीलाई हेर्दा यस्तो नहुने बनाउ ।’

    त्यस्तै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने अवस्थाको नभएको पनि बताएका छन् । नीति तथा कार्यक्रम कामै नलाग्ने, खारेजै गर्नुपर्छ भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।

    ‘नीति तथा कार्यक्रमको बारेमा केही साथिहरुले पुनलेखन नै गर्नुपर्छ भन्ने कुराहरु आयो, पारित गर्न हुन्न भन्ने कुरा आयो । तर पुरै कामै नलाग्ने खारेजै गर्नुपर्ने भन्नु अतिशयोक्ति हुन्छ भन्ने मलाई लाग्छ ’ उनले भने ।

  • तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

    तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

    तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

    वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे ।

    त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन् ।

    मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

    मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो ।

  • स्वर्णिम वाग्लेकाे फराकिलाे मतान्तर, गोविन्द भट्टराईभन्दा ५ हजार मतले अगाडि

    स्वर्णिम वाग्लेकाे फराकिलाे मतान्तर, गोविन्द भट्टराईभन्दा ५ हजार मतले अगाडि

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

    पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।

    एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।

    राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन् ।

  • ‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक आज

    ‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक आज

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्न लागेकाे छ ।

    सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

    अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

    सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ ? भन्ने तर्क गर्दै आएका छन् ।

    उता सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै स्पष्ट पारिसकेका छन् ।

    यसबीच सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणसँग जोडिएको अर्को अडियो सोमबार राति बाहिरिएको छ ।

  • रास्वपाले गठबन्धनका उम्मेदवार यादवलाई मत नदिने

    रास्वपाले गठबन्धनका उम्मेदवार यादवलाई मत नदिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत नदिने भएको छ ।

    राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो ।

    रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झामध्ये कसलाई मत दिने खुलाएको छैन ।

    तर रास्वपाका एक नेताका अनुसार एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी छ ।

    जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।

    गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेका छन् ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै, केन्द्रीय समिति विस्तार गर्ने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै, केन्द्रीय समिति विस्तार गर्ने तयारी

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सोमबार बस्नेछ । दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुनेछ ।

    अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ । केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए ।

    आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ ।

    यसैबीच रास्वपाले चितवन-२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ ।

    उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन गर्दैछ ।

    सभापति लामिछानेले फेरि उम्मेदवार बन्न आफू पार्टीको प्राइमरी इलेक्सनमा सहभागी हुने बताएका छन् ।