Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

    काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा आउन आग्रह गरिएको छ ।

    बालुवाटारमा बसेको बैठकमा छलफलको एजेण्डा रास्वपालाई सरकारमा ल्याउने पनि रहेकाे छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

    सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

    जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् ।

    दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ ।

    बैठकमा प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल गरिने बताइएकाे थियाे ।

  • रवि लामिछानेको नेतृत्वमा रास्वपा पनि सरकारमा सहभागी हुने

    रवि लामिछानेको नेतृत्वमा रास्वपा पनि सरकारमा सहभागी हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

    पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए ।

    तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनकाे भनाइ छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

     

  • तीन वर्ष अघिकाे भिडिओ भाइरल भएपछि साेविताले भनिन्- त्यतिबेला बुझाइ र अनुभव कम थियाे

    तीन वर्ष अघिकाे भिडिओ भाइरल भएपछि साेविताले भनिन्- त्यतिबेला बुझाइ र अनुभव कम थियाे

    काठमाडाैं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले तीन वर्षअघि आफूले अध्ययन र अनुभवको कमीले बलात्कारसम्बन्धी असंवेदनशील अभिव्यक्ति दिएको बताएकी छन् ।

    यद्यपि, आफ्नो आशय यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने रहेको उनको दाबी छ ।

    सोबिताले ३ वर्षअघि दिएको एक अन्तर्वार्तामा बलात्कारबारे अत्यन्तै हल्का टिप्पणी गरेको भन्दै अधिकारकर्मीले विरोध गरेका थिए ।

    ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकि, अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिस्कृत भएको छ’, उनले ट्विटरमा लेखेकी छन्, ‘पीडित’ शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’

    साेबिताले अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति आफूलाई पश्चाताप भएको पनि उल्लेख गरेकी छन् । ‘उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु’, उनले लेखेकी छन् ।

    के भनेकी थिइन् तीन वर्षअघिकाे अन्तर्वार्तामा ?

    उनले बलात्कृत हुनु र शरीरमा चोट लाग्नुको घटना तुलना गरेकी थिइन् ।

    उनले भनेकी थिइन्, ‘म आफ्नै उदाहरण दिन चाहन्छु, मलाई कसैले बलात्कार गर्‍यो, म पीडित महिला भएँ । अर्को सिनारियो- कोही मान्छेले आएर मेरा दुइटै खुट्टा काटिदियो । अब तपाईं यी दुइटा इन्सिडेन्टलाई कम्पेयर गरेर हेर्नुस्, म बलात्कृत महिला धेरै विचरा भएँ वा खुट्टा काटिएकी महिला विचार भएँ ? यसरी हेर्दा खुट्टा काटिएको घटनाचाहिँ जघन्य अपराध हो नि त । खुट्टै काटिदिएपछि अब म के गर्ने ? बलात्कृत भएर पुनर्स्थापना हुन कुनै गाह्रो छैन ।’

    अहिले सांसद चुनिएकी साेविताको यो पुरानो अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

    उक्त भनाइप्रति अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ ! बलात्कृतको शरीर सद्दे हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सांसद केही दिनमा संसद् प्रवेश गर्दैछिन् । सोच्नुस् कस्तो भविष्य हुनेछ बालिकाको ? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ । उहाँको सोच यस्तो छ भने के आशा गर्ने ?’

  • सोविता गौतमको चुनावी खर्च ३ लाख ७१ हजार

    सोविता गौतमको चुनावी खर्च ३ लाख ७१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी सोविता गौतमले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् ।

    उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पुगेर आफ्नो चुनावी खर्च विवरण बुझाएकी हुन् । उनले निर्वाचनका क्रममा ३ लाख ७१ हजार खर्च भएको विवरणमा उल्लेख गरेकी छन् ।

    गौतमले सबैभन्दा धेरै खर्च खाना र खाजामा गरेकी छन् ।

    उनले गोष्ठी र कार्यकर्ता परिचालन शीर्षकमा ८० हजार ९९५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेकी छन् ।

    त्यस्तै, सवारी साधनमा ७८ हजार , इन्धनमा ६२ हजार ५०५ र घोषणापत्र तथा नमूना मतपत्रमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेकी छन् ।

     

  • यस्ताे छ रवि लामिछानेकाे रास्वपाबाट समानुपातिक सांसद हुनेकाे सूची

    यस्ताे छ रवि लामिछानेकाे रास्वपाबाट समानुपातिक सांसद हुनेकाे सूची

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

    शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

    यस प्रकार छन् रास्वपाका १३ जना समानुपातिक सांसद :

    दलित

    १. सन्तोष परियार

    २. शिव नेपाली

    आदिवासी/जनजाति

    १. डा. ढाकाकुमार श्रेष्ठ

    २. इन्दिरा रानामगर

    ३. सुमना श्रेष्ठ

    खस आर्य

    १. डा. चन्दा कार्की

    २. डोलप्रसाद अर्याल

    ३. निशा डाँगी

    ४. विनीता कठायत

    मधेसी

    १. लक्ष्मी तिवारी

    २. मनिष झा

    थारु

    १. अशोककुमार चौधरी

    मुस्लिम

    १. असिम शाह

  • पार्टी विवादबारे रवि लामिछानेकाे प्रतिक्रिया : गज्जब भएकाे छ

    पार्टी विवादबारे रवि लामिछानेकाे प्रतिक्रिया : गज्जब भएकाे छ

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक प्रणालीतर्फबाट संघीय सांसद चयनलाई लिएर पार्टीमा हाल जारी विवादलाई गज्जब भएको बताएका छन् ।

    बिहीबार काठमाडौंबाट भरतपुर पुगेका उनले विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

    उनले बढी मत आएकालाई छाडेर कम मत पाउनेलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको उल्लेख गरे ।

    उनले रास्वपाभित्र कसैलाई पक्षपता नहुने पनि बताएका छन् । ‘पार्टीभित्र कोही पनि तलमाथि छैनन्’, उनले भने, ‘मैले नै खबरदारी गर्नुस् भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि अवस्था पनि छैन ।’

  • मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीकाे राजीनामा

    मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीकाे राजीनामा

    काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् ।

    कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा बुझाएकी हुन् । काउन्सिलले डा. कार्कीको राजीनामापत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ ।

    उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सांसद हुन् ।

  • समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले कटायाे १० लाख मत, अन्य कसकाे कति ?

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले कटायाे १० लाख मत, अन्य कसकाे कति ?

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ ।

    हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार २४० मत प्राप्त गरेको हो ।

    यस्तै, नेकपा एमालेले २४ लाख ४१ हजार मत पाउँदा कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ ।

    यस्तै, नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार, राप्रपाले ५ लाख २७ हजार, जसपाले ३ लाख ३ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार जनमत पार्टीले २ लाख ३७ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार, लोसपाले १ लाख २२ हजार, नेमकिपाले ७२ हजार र हाम्रो नेपाली पार्टीले ५१ हजार मत पाएका छन् ।

    अन्य पार्टीले भने ५० हजार मत कटाउन सकेका छैनन् ।

  • रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी

    रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

    लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

    उनले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् ।

    एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरे । याे क्षेत्रमा मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

  • रवि लामिछानेको उदय : संयोग कि योजना ?

    रवि लामिछानेको उदय : संयोग कि योजना ?

    काठमाडाैं । आमनिर्वाचनको प्रारम्भिक नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कारिक परिणाम ल्याइरहेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ स्वतन्त्र पार्टीले उल्लेख नतिजा प्रदर्शन गरेको छ ।

    अहिले सबैको मुखमा एउटै प्रश्न छ : रविको पार्टीलाई यति धेरै मत कसरी आयो ? अब रविको पार्टी सरकारमा जान्छ ?

    टेलिभिजनको जागिर छाडेर राजनीतिक दल खोलेकाबेला धेरैले उनको खिल्ली उडाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘अहिले मलाई उडाउनेहरु कुनैदिन मेरै समाचारको हेडलाइन बनाउनेछन् ।’

    अहिले अवस्था हेर्दा त्यस्तै देखिन्छ । रविको पार्टीका विषयलाई जोडेर आगामी राजनीतिक यात्रा र सरकार निर्माणको बहससमेत प्रारम्भ भैसकेको छ ।

    यसरी हेर्दा कतिपयले रविको उदयलाई संयोग ठानेकाछन । विद्यमान राजनीतिक दल र नेताहरुबाट वाक्कदिक्क भएकाहरुले विकल्पको रुपमा रविलाई छानेका हुन् । तर, स्वयं रवि भने राजनीतिमा आउने आफनो लामो तयारी रहेको बताउँछन् ।

    कतिपयले रविलाई शंकाको नजरले हेरेकाछन् । उनी पश्चिमाहरुको आडमा उदाइरहेको उनीहरुको शंका छ । उनीहरुका तर्क र कतिपय राजनीतिक मुद्दामा रविको अलमल देख्दा त्यो सत्य जस्तो पनि लाग्छ ।

    केही महिनाअघि मात्र खुलेको र पहिलो पटक निर्वाचनमा भाग लिएको उक्त दलले प्राप्त गरिरहेको प्रारम्भिक नतिजालाई कतिपय राजनीतिशास्त्रीले पुराना दलप्रतिको वितृष्णाको मत भनिरहेका छन्।

    उक्त दलका केन्द्रीय प्रवक्ता डा. मुकुल ढकाल चाहिँ अहिलेको प्रारम्भिक नतिजा आफूहरूले अपेक्षा गरे अनुरूपकै भएको बताउँछन्।

    नेपालको लोकतान्त्रिक इतिहासमा यस पटक मतदानबाट क्रान्ति हुन खोजेको भन्दै त्यसले आफूहरूलाई उत्साहित बनाएको स्वतन्त्र पार्टीका नेताहरु बताउँछन् ।

    ढकालका भनाइमा उक्त दलले चुनावको अन्तिम परिणाम आएपछि सांसदको संख्या हेरेर सरकारमा जाने वा नजाने रणनीति बनाउनेछ । उल्लेख मत आए सरकारको नेतृत्व गर्न पनि तयार हुने ढकाल बताउँछन् ।

    स्वतन्त्र पार्टीको उदयपछि लामो समयदेखि सरकारको बागडोर सम्हालिरहेका कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता दलहरुलाई पनि दुई कदम पछाडी हट्नुपर्ने स्थिति आएको छ । सरकार निर्माण र राष्ट्रिय मुद्दामा स्वतन्त्र पार्टी निर्णायक हुने स्थिति आएपछि ठूला दलहरु दबाबमा परेका छन् ।