Tag: विमान दुर्घटना

  • अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

    अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

    काठमाडौं । अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो ।

    प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए ।

    ‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’ प्रवक्ता कर्णले भने । अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो ।

    अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उनको भनाइ छ ।

    यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ ।

    भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु नहुने उनको भनाइ छ ।

    आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेपछि प्राधिकरणले विमान उडानसम्बन्धि कडा नियम ल्याएको हो ।

  • विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

    विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

    काठमाडाैं । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका १० जनाको शव सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब मंगलबार नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

    उनका अनुसार काठमाडौं ल्याएका शवहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

    समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझैपनि कुहिरो लागेको बताइएको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

    जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सब पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेबी तमाङ रहेका थिए । यस्तै, जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी रहेका थिए ।

    यसैगरी जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

  • तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

    तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ ।

    तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।

    विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ ।

    दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।

    कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

    भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए ।

    उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएकाे थियो ।

  • तारा एअर दुर्घटना : शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

    तारा एअर दुर्घटना : शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

    महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरी, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो ।

    दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ उहाँकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको छ ।

    यसैगरी मकरबहादुरकै बहिनी र ज्वाइँ हाल काठमाडौँका बासिन्दा ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि सोही घटनामा परी मृत्यु भएपछि यहाँ जोडिएका यी बस्तीमा अहिले रुवाबासी छ । परिवारका नाताभित्रका सातै तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै थिए ।

    ‘मकर सर हामी सबैका अभिभावक हुनुहुन्थ्यो, बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्नुहुन्थ्यो, अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको पीडा छ’, लोटा बस्तीकी ४५ वर्षीया दुर्गा ध्रुङ्च्याङ्री मगरले भने, ‘गाउँको रानो नै गयो ।’ विगतमा चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहेका मकरबहादुरका महोत्तरी र धनुषाका यी बस्तीमा घरघरै शिष्य छन् । शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मकर सर ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा यहाँका बासिन्दाले सम्झना गर्छन् ।

    ‘गत शुक्रबार बिहानपख त हो, ‘नानी, हामी तीर्थ गर्न हिँड्याैँ, साता दिनमा आउँला, राम्ररी बस है’, भन्दै जानुभएको’ ४५ वर्षीया छिमेकी तुलसा पौडेल भन्छिन् ‘कहिल्यै नफर्कनुरहेछ, आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ ।’ यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई पनि सम्झँदै भक्कानिन्छन् ।

    ‘कति फरासिला थिए राजन भाञ्जा, काठमाडौँबाट गाउँ झरेपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के–कस्तो छ बुझ्ने गर्नुहुन्थ्यो’, लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठ भन्छिन्, ‘कति सहयोगी राजन भाञ्जा, गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे ।’ काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठ सम्झन्छिन् । मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेको शान्ति बताउँछिन् ।

    विमान हराएको खबर सनसनी फैलिएपछि आइतबार दिउँसो नै मकर सरको घरमा इष्टमित्र, आफन्त र वरपरका छिमेकीको जमघट बढेको थियो । ‘विमान हराएको खबर फैलियो, आइतबार दिनभरि हामी मकर सरलगायत सबै आफन्त सकुशल भेटिउन् भन्ने प्रार्थना गरी रह्यौँ, तर दैवलाई यो हाम्रो पुकारा मञ्जुर रहेनछ’, सोमबार दुर्घटनाग्रस्त विमान भेटिएर यात्रु सबैको मृत्यु भएको पुष्टि भएपछि छिमेकको बस्ती महोत्तरीको पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान भन्छन्, ‘हाम्रो पूरै बस्ती शोकमा छ ।’ रातु वारिपारिका दुवैतिरका बस्तीका बासिन्दा आपसी दुःखसुख साट्दै एउटै सामाजिक वातावरणमा बस्दै आएका बताउँदै मोक्तानले अहिले लोटा बस्तीको शोकको सन्नाटा आफ्नातिरका पर्साहीधाप र रजबासमा पनि उत्तिकै रहेको बताए ।

    विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ । छोरीहरु शान्ति र कान्ति विह्वल छन् । बुहारीहरु प्रेमा, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।

    ‘शनिबार राति ९ बजेतिर बुवा–आमा र ठूली फुपू (राममाया गोले) सँग फोनमा कुरा भएथ्यो, दुई–तीन दिनभित्रै फर्कन्छौँ भन्नुहुन्थ्यो’, मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भनिन्, ‘बुवा, आमा, फूपू, फूपाजु र भानिज भाइ राजनले हामीलाई छाड्नुरहेछ, एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ ।’

    मकरबहादुर गाउँ नै बसे पनि आफ्नै बस्तीका दिदी भिनाजु (राजनका बुवाआमा) भने छोरा राजनका परिवारसँग काठमाडौं नै बस्दै आएका थिए । यसपालि सिङ्गो परिवारको तीर्थाटनको मेसोचाहिँ लण्डन बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका रहेछन् । ‘मनोजले लण्डनबाट फोन गरेर बुवा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन)लाई लिएर तीर्थ जानु, म खर्च पठाउँछु भन्दै आउनुभएको थियो, गत चैतदेखिकै आजभोलि भन्दै जाने कार्यक्रम ढिलो भयो, गत साता राजनले काठमाडौँबाट फोन गरेर मामा, माइजु आउनु, अरु सबै हामी यतै (काठमाडौँ) छौँ भनेपछि बुवाआमा गत शुक्रबार घरबाट काठमाडौँ जानुभएको हो’, मकरबहादुरकी कान्छी छोरी कान्तिले भनिन्, ‘दिनदिनैजसो कुरा त भइनै रहेथ्यो, शनिबार रातिको बोली सुन्नु अन्तिम रहेछ ।’

    घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडाैं गए । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौंमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताए । सँगै करेसा जोडिएको ससुराली घरको वियोगले मदन पनि इन्तुनचिन्तु भएका छन् । ‘खै कसलाई सम्झाउँ ? आफ्नै मन अधिर छ’, मदनले भने, ‘जसको आड पाएर यहाँ आइयो, अब कोही रहेनन्, जता हेर्‍यो वैराग लाग्छ ।’ ससुरा मकरबहादुर र फूपू सासुका छोरा राजनको ढाडस पाएर पुर्ख्याैली घर ढल्केबरबाट लोटा बसाइँ सारेको बताउने मदनले अब हेरविचार गर्ने सबै गुमेका रुँदै बताए ।

    घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आफूहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउँछन् । ‘उहाँहरु (मकरबहादुर र राजन) सधैँ सामाजिक कामलाई उच्च महत्व दिनुहुन्थ्यो, सधैँ उहाँहरुको अभाव खट्किरहनेछ’, थापाले विह्वल हुँदै भने । ‘जे नहुनु थियो, त्यही भयो’, अहिले लोटासहित चुरे काछ बस्तीका सबैको एउटै विलाप छ ।

  • तारा एयर दुर्घटनामा परेका सबैको शव फेला

    तारा एयर दुर्घटनामा परेका सबैको शव फेला

    काठमाडाैं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।

    दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई मंगलबार हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

    आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए । आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो ।

    सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो । शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ ।

  • जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव ल्याइयो काठमाडौं

    जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव ल्याइयो काठमाडौं

    काठमाडाैं । मुस्ताङमा विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ ।

    २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौं ल्याइएको हो ।

    अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको बताइएकाे छ । १० जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं ल्याएको जनाइएको छ ।

    प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।

    शवहरूलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने जनाइएको छ । शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

  • ‘खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाज ‘लेफ्ट टर्न’ भएर भित्तामा ठाेकियाे’

    ‘खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाज ‘लेफ्ट टर्न’ भएर भित्तामा ठाेकियाे’

    काठमाडाैं । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।

    संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

    घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ ।

    पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।

  • तारा एयर दुर्घटना अपडेट : १६ जनाको शव फेला

    तारा एयर दुर्घटना अपडेट : १६ जनाको शव फेला

    काठमाडाैं । आइतबार मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरेमा भएको तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका १६ जनाको शव भेटिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार हालसम्म १६ जनाको शव फेला परेको हो ।

    उनीहरुको शवको पहिचान भने हुन बाँकी रहेको छ । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । शवलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

    १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको थियो । आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको विमान केही मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

    सम्पर्कविहीन भएलगत्तै खोजी जारी राखिए पनि साेमबार बिहान मात्रै विमान क्षतविक्षत अवस्थामा दुर्घटना भएको फेला परेको थियो ।

  • वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ : तारा एयर

    वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ : तारा एयर

    काठमाडाैं । तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ ।

    उक्त कम्पनीले साेमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएको हो ।

    उक्त वायुयान अन्तिम पटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो ।

    उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ ।

  • विमान दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने

    विमान दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने

    काठमाडाैं । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएकाे हाे ।

    सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

    दुर्घटनास्थलमा १४ वटा शव फेला परेकाे बताइएकाे छ । २ वटा शव विमानले थिचिएकाे अवस्थामा फेला परेका छन् । ती शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।

    आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । तारा एयरका अनुसार विमानमा भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए ।

    बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो । आइतबार दिनभर विमानकाे खाेजी गरिएकाे थियाे ।