Tag: शिवरात्री

  • शिवरात्रि विशेष ट्राफिक योजना : यस्ताे छ मंगलबारकाे ट्राफिक व्यवस्थापन

    शिवरात्रि विशेष ट्राफिक योजना : यस्ताे छ मंगलबारकाे ट्राफिक व्यवस्थापन

    काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भिड मध्यनजर गरेर ट्राफिक प्रबन्ध मिलाएको छ ।

    पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ । महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ जाने-आउने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ ।

    यस्तै, पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगल, तिलगंगाबाट गौशालातिर आउने सवारीलाई रोक लगाइएको छ ।

    भक्तजनको लागि छुट्टा-छुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ ।

    टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने पार्किङ गर्ने स्थानहरु समेत तोकिएको छ।

    महाशाखाका अनुसार भक्तजनहरूका लागि सिफल चौर, गुह्येश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङस्थल तोकिएको छ ।

    आवश्यक अनुसार थप सवारीसाधन ड्राइभर्ट गर्ने पनि महाशाखाले जनाएको छ ।

  • महाशिवरात्रिमा पशुपति क्षेत्रमा ५० लाख रुपैयाँका बत्ती र फूलले सजाइने

    महाशिवरात्रिमा पशुपति क्षेत्रमा ५० लाख रुपैयाँका बत्ती र फूलले सजाइने

    काठमाडाैं । महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ ।

    दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ ।

    पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताउनुभयो । फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो ।

    बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् । दाताको करिब रु ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो ।

    यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ । दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

    महाशिवरात्री नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ । खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ । ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ । महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ । हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।