Tag: शेरबहादुर देउवा

  • सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

    सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

    बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

    विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए ।

    प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएकाे बताए । उनले दुवै आयोजना निर्माण नरोकिने बताए । देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको प्रष्टाए ।

    ‘विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो । त्यसैले दुवै आयोजना बन्नुपर्छ,’ देउवाले भने, ‘त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो ।’

    प्रधानमन्त्री देउवासँगै आएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनु पर्ने बताए । समयमै विमानस्थल नबने राज्यको अर्बौ लगानी खेर जाने प्रचण्डकाे भनाइ छ ।

    प्रचण्डले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल “गेम चेन्जर’ प्रोजेक्ट रहेको र प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताए ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए । उनले विमानस्थल द्रुतमार्गसँग जोडिएकाे बताए ।

    प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए ।

    टोलीले जीतपुर-सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल समेत गरेका थिए ।

  • प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    त्यसघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

    निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो ।

    भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए ।

    राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।

    साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

  • देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

    देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

    बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

    भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।

    पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्याे- प्रधानमन्त्री नआउनु अनुचित

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्याे- प्रधानमन्त्री नआउनु अनुचित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयालाई प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकषर्ण गराउने भएको छ ।

    सो समितिका सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकषर्ण गराउने निर्णय लिने बताएकी हुन् । सभापति निरौलाको सो घोषणामा कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन् ।

    ‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको थियो, अन्तिम क्षणमा आएर सचिवालयमार्फत् उपस्थित नहुने जानकारी गराउनुभयो,’ बैठकलाई अन्त्य गर्दै सभापति निरौलाले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

    सभापतिको सो घोषणासँगै नेपाली कांग्रेसका सांसदहरूले भने आपत्ति जनाएका छन् । समितिमा रहेका कांग्रेसका प्रतिनिधि सांसदहरू पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीलगायतले भने सभापति निरौलाको सो घोषणाप्रति असहमति प्रकट गरेका छन् ।

  • अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएनन् देउवा

    अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएनन् देउवा

    काठमाडाैं । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका छैनन् ।

    अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो ।

    तर देउवा बैठकमा नआउने जानकारी आएकाे बताइएकाे छ ।

    यसअघि समिति बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्माले जवाफ दिएका थिए ।

  • प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसद बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

    प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसद बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय संसदमा सम्बोधन गर्ने भएका छन् ।

    रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।

    सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् ।

    बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

    त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

  • मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर हुँदैन : प्रधानमन्त्री देउवा

    मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर हुँदैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने बताएका छन् । सत्तारुढ पार्टीका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले सत्तारूढ दलका नेताहरूसँग स्पष्ट पारेको बताएका थिए ।

    प्रधानमन्त्रीले त्यसअघि मंगलबार बेलुका सत्तारूढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

    बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफुबीच भएको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको हितविपरीत कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

    नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरु देशले चासो राखेर कसैले भने पनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।

    त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर गर्ने कुनै तयारी नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाइ छ । अध्यक्ष नेपालले अहिले सवैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखेका थिए ।

  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए । भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको बताइएको छ ।

    प्रधानमन्त्री र सभामुखबीच नियमित भेटघाटको रुपमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

  • शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

    शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह


    काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

    काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताए ।

    प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

    यसका लागि विश्वविद्यालयलाई आवश्यकपर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए । प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पुर्याउन सहयोग पुगेको बताएका छन् ।

    उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताए ।

    प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पु्याउने पनि विश्वविद्यालयलाई आग्रह गरे ।

    साथै उनले अन्तर्राष्ट्रियस्तरमा पहुँच पुर्याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे । सो समारोहमा यहाँबाट यस अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् ।

    सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिए ।

  • बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

    बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताएका छन् ।

    चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्नेे पनि बताए ।

    उनले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल दक्षिण एशियामै अग्रणी मुलुक रहेको र महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा स्वामित्व वृद्धिका लागि नीतिगत र कानुनी प्रबन्ध गरिएको स्पष्ट गर्दै राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिता र उपस्थितिका लागि पनि सरकार क्रियाशील रहेको अवगत गराए ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाली महिलाले मताधिकार पाउनका लागि पनि अग्रज महिलाले सङ्घर्ष गरेर अधिकार हासिल गरेको उल्लेख गर्दै राज्यका सबै निकायमा भविष्यमा ५० प्रतिशत महिला सहभागिताका लागि लाग्नुपर्ने बताए ।

    प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाई भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गरिन् । उनले तेजाब आक्रमणकारी विरुद्धको अध्यादेशलाई विस्थापन गर्न चाँडै कानुन ल्याउन पनि माग गरे ।

    कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, थममाया थापा, चन्दा चौधरी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलगायतले शोषित, पीडित महिलाका लागि हकअधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसको सार्थकता हुने बताए ।

    विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चिततालगायत चार बुँदे महिला अधिकारका सवालमा सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले विसं २०७६ देखि राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो ।