Tag: साउदी अरब

  • साउदी सीमा सुरक्षा गार्डद्वारा सयौँ आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

    साउदी सीमा सुरक्षा गार्डद्वारा सयौँ आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

    यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ ।

    रियादले तत्काल कुनै टिप्पणी नगरेका यी आरोपहरूले सोमाली प्रयद्वीप (हर्न अफ अफ्रिका) देखि साउदी अरेबियासम्म खतरनाक ‘पूर्वी मार्ग’ मा दुर्व्यवहारको उल्लेखनीय वृद्धिलाई सङ्केत गर्दछ, जहाँ लाखौं इथियोपियालीहरू बस्छन् र काम गर्छन् ।

    एचआरडब्लुका अनुसन्धाता नादिया हर्डम्यानले एक विज्ञप्तिमा भनेका छन्, ‘साउदी अधिकारीहरूले यस दुर्गम सीमा क्षेत्रमा सयौं आप्रवासी र शरण खोज्नेहरूको हत्या गरिरहेका छन् ।’

    ‘साउदी छवि सुधार्न व्यावसायिक गल्फ, फुटबल क्लब र प्रमुख मनोरञ्जन कार्यक्रमहरू किन्न अरबौँ खर्च गर्नु यी भयानक अपराधहरूबाट ध्यान हटाउनु हुँदैन ।’

    न्युयोर्कस्थित उक्त समूहले साउदी अरब र यमनमा इथियोपियाली आप्रवासीविरुद्ध करिब एक दशकदेखि भएको दुर्व्यवहारकाे अभिलेखीकरण गर्दै आएको छ तर पछिल्लो हत्या ‘व्यापक र व्यवस्थित’ देखिएको छ र यो मानवताविरुद्धको अपराध हुन सक्छ ।

    सन् २०२२ को पहिलो चार महिनामा दक्षिणी साउदी अरब र उत्तरी यमनमा साउदी अरबका सुरक्षा फौजले सीमापार गोलाबारी र साना हातहतियारबाट गरेको आक्रमणमा करिब ४३० आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत वर्ष बताएका थिए ।

    साउदी अधिकारीहरूले एएफपीको प्रतिक्रियाको लागि अनुरोधको जवाफ दिएनन्, र एचआरडब्ल्यूको रिपोर्टले साउदी गृह र रक्षा मन्त्रालय, मानव अधिकार आयोग र उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी विद्रोहीहरूलाई पठाइएको पत्रको कुनै प्रतिक्रिया नभएको बताएको छ ।

    सन् २०१५ मा साउदी अधिकारीहरूले हुथी विद्रोहीलाई सत्ताच्युत गर्न गठबन्धन परिचालन गरेका थिए, उनीहरूले अघिल्लो वर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबाट यमनको राजधानी साना कब्जा गरेका थिए ।

    युद्धले संयुक्त राष्ट्रसङ्घले यमनको युद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय अवस्थाको रूपमा वर्णन गरेको छ ।

    तर एचआरडब्ल्यूले वर्णन गरेका धेरै दुर्व्यवहारहरू अप्रिल २०२२ मा लागू भएको युद्धविरामको क्रममा भएको थियो र गत अक्टोबरमा आधिकारिक रूपमा युद्धविराम सम्झौता समाप्त भए पनि धेरै हदसम्म यसले यमनमा शान्तिका लागि काम गरिरहेको छ ।

  • साउदी अरबमा भएको गोलाबारीमा नेपाली सुरक्षागार्डको मृत्यु

    साउदी अरबमा भएको गोलाबारीमा नेपाली सुरक्षागार्डको मृत्यु

    काठमाडाैं । साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ ।

    समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।

    घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।

    साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

    अमेरिकी विदेश मन्त्रालय वाणिज्य दूतावास र साउदी अरब प्रशासनले घटनाबारे जाँच गरिरहेको छ ।

  • चीन र साउदी अरबबीच सुरक्षा सम्झाैता, यस्तो भयाे सहमति

    चीन र साउदी अरबबीच सुरक्षा सम्झाैता, यस्तो भयाे सहमति

    काठमाडाैं । चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ ।

    साउदी अरबका राजा सलमान र उनका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे ।

    यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका छन् । तर आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको खबरमा उल्लेख छ ।

    दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा ऊर्जा, सुरक्षा, इरानको आणविक कार्यक्रम, यमनको सङ्कट र युक्रेन–रुस युद्धलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल भएको उल्लेख छ ।

    साथै दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ बनाउने र नयाँ तथा आशाजनक योजनामा जोड दिएका छन् ।

    तस्बिर : साउदी प्रेस एजेन्सी/राेयटर्स 

  • वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्– ठगीनबाट जोगिनु हुनेछ

    वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्– ठगीनबाट जोगिनु हुनेछ

    काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरु ठगीनेक्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्दति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन्,’ साउदी अरबस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषीराज आचार्यले भने ।

    विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेको उनले सुनाए ।

    साउदी जान चाहनेले सबैभन्दा पहिला त्यहाँको हावापानी र रहनसहन बझ्न जरुरी छ । साउदी एक इस्लामिक देश हो र यहाँ इस्लामिक कानून लागू हुन्छ । साउदी हावापानीका दृष्टिले निकै गर्मी देश हो । यहाँ गर्मीमा ५० डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले गर्मीमा खुला ठाउँमा काम गर्दा ज्यान समेत जानसक्छ ।

    साउदी जानेले बुझ्नु पर्ने दोस्रो विषय हो– कपफल पद्धती । साउदीको भिषा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो ।

    ‘कफिल भनेका मालिक हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन,’ सूचना अधिकारी आचार्यले भने ।

    कफला पद्धति सिद्धान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भए पनि कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । यो पद्धतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउने गरेको छ ।

    कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ ।

    ‘कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ,’ उनले भने ।

    कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन ।

    ‘यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने गर्छन् जसका कारण उनीहरु अझ ठूलो समस्यामा पर्ने गर्छन् । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन्,’ उनले भने ।

    साउदी अरब पुगेका महिला कामदारले धेरै समस्य भोग्नु परेपछि अहिले महिला कामदार साउदी लान बन्द गरिएको छ । अस्पतालहरूले आफ्नै भीसामा नर्स तथा सफाइ कामदारमा महिला ल्याउन चाहेमा राजदूतावासले सम्पूर्ण सेवा सुविधाका बारेमा निरीक्षण र अस्पतालसँग बैठक गरेपछि मात्र उपयुक्ताको आधारमा प्रकृया अगाडि बढ्दछ ।

    ‘घरेलु कामदारमा साउदी आउन पूर्ण बन्देज छ । परिवारका सदस्यहरू मात्र राजदूतावासको सिफारिशमा भिजिट भिसामा साउदी अरब आउन पाउने प्रावधान छ,’ सूचना अधिकारी आचार्यले भने ।

    साउदी अरब जान चाहनेले यति मात्र बुझेर हुँदैन । जानुअघि कुन कामका लागि जान लागेको हो ? सो कामको लागि सरकारले तोकेको पारिश्रमिक कति छ ? सबै बुझ्न जरुरी छ । सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता कामदारले गर्नु हुँदैन । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा पर्नु हुँदैन ।

    आफू जुन कामको लागि जान लागेको हो त्यो कामबारे आफूमा सीप छ की छैन त्यो बुझ्न जरुरी रहेको दूतावासको भनाई छ । सीप नभएको भए सिकेर जानुपर्ने दूतावासको सुझाव छ । सीप जानेको छ भने त्यसको प्रमाणपत्र आवश्यक पर्छ, जुन पेश गर्न अनिवार्य छ ।

    ‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुपर्छ,’ उनले भने, ‘विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भीसामा मात्र साउदी आउनुपर्छ ।’

    विचौलियाहरूको विश्वास नगर्न र कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिन दूतावासले आग्रह गरेको छ । भिजिट भीसामा साउदी पुगेको थुप्रै नेपालीहरू अहिले अलपत्र बनेका छन् । यसैकारण वर्किङ भीसामा मात्र साउदी आउन दूतावासको सुझाव छ ।

    ‘साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई बुझाउनु पर्दैन । दश बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाईँ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस्,’ उनले भने ।

  • साउदी अरेबियामा अड्कियो एक युवाकाे शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

    साउदी अरेबियामा अड्कियो एक युवाकाे शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

    खोटाङ । साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।

    साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।

    रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउने गरी काठमाडाैं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडाैं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।

    मेनपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक-पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौ पटक मेनपावर धाइसक्यौं,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन मेनपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ ।

  • साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ?

    साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ?

    काठमाडौं । तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्दै पैसा मागेको त छैन ?

    यदि यसरी पैसा मागेको भए नदिनु होला । दिनुभयो भने बुझ्नुहोस्– तपाईँ ठगिनु भयो ।

    एक्जिट भिसा मिलाईदिने वहानमा धेरै नेपाली ठगिएपछि साउदी अरबको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी यस्ता व्यत्तिलाई पैसा नबुझाउन अनुरोध गरेको छ ।

    ‘एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीं कतै बुझाउनु पर्दैन । यदी कुनै व्यक्तिले तपाईँलाई एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा मैले चिनेका मान्छे छन्, यति पैसा लाग्छ भन्छ वा भनेको छ भने त्यस्ता व्यक्तिको पछि कदापि नलाग्नु होला,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

    यसैगरी कुनै दलालले सेटिङ गरेर नेपाल पठाइदिन्छु, साउदी जवातलको मान्छे र पुलिसलाई चिनेको छु भन्यो भने पनि यस्ता व्यक्तिको पछि नलाग्न दूतावासले अनुरोध गरेको छ । यस्ता व्यक्तिको पछि लागेमा ठगिने दूतावासले जनाएको छ ।

    ‘यदि कोही कसैले यस्तो कुरा गर्दैछ भने त्यस्तो व्यक्तिको बारेमा साउदी प्रहरीमा– ९११ नम्बरमा तुरून्तै खबर गर्नुहोला,’ दूतावासले भनेको छ ।

    साउदीमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासले समस्यामा परेका नेपालीको लागि आवश्यक पर्ने एक्जिट भिसा झिकाउने काम गर्ने विज्ञप्तिमा उल्लेख छ । यसको लागि कुनै शुल्क नलाग्ने पनि दूतावासले स्पष्ट पारेको छ ।

    ‘एक्जिट भिसा प्रोसेसिङ पूर्ण निःशुल्क हो । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    जुन ठाउँबाट आफ्नो इकाममा बनेको छ त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने व्यवस्था साउदी सरकारले गरेको दूतावासले जनाएको छ ।

    ‘तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्नुहुन अनुरोध छ,’ विज्ञिप्तिमा भनिएको छ ।

    कुनै कारणले साउदीमा अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदार स्वदेश फर्कनु परे एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैन । यस्तो एक्जिट भिसा सम्बन्धीत देशको दूतावासको अनुरोधमा साउदी सरकारले उपलब्ध गराउने गर्छ ।

  • साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने

    साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने

    काठमाडौं । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन् ।

    यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुकाे नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेकाे हाे ।

    रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा उपलब्ध गरेको हो ।

    ‘साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा १७–२३ जुन २०२२ सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ९९ जनाको वहिर्मन भिसा प्राप्त भएको छ,’ दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।

    अवैध रुपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रुपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धीत देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

    एक्जिट भिसा आएकाहरुलाई दूतावासमा आएर भिसा लिएर जान विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा आएको ६० दिन भित्र स्वदेश फर्कनु पर्ने नियम साउदी अरबको रहेको छ ।

    ‘दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । र, एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु हुन अनुरोध गरिन्छ,’ नेपाली दूतावासले भनेको छ ।