Tag: एमसीसी

  • एमसीसीको परियोजनामा कति भयो काम ?

    एमसीसीको परियोजनामा कति भयो काम ?

    काठमाडाैं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति र भावी योजनाबारे जानकारी गराउँदै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले रातमाटे सबस्टेसनका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम लगभग सकिएको बताए । उनले भने, “प्रसारण लाइन पुनर्वास कार्ययोजना र जीविकोपार्जन पुनस्र्थापना कार्यक्रमका लागि विभिन्न टोली परिचालन भई काम अघि बढिरहेको छ । प्रसारण लाइनका लागि जग्गा अधिग्रहणका लागि ६ जिल्लामा सूचना प्रकाशित भइसकेर प्रारम्भिक प्रतिवेदन बनाउने चरणमा पुगेको छ ।”

    बैठकमा प्रसारण लाइनअन्तर्गत नुवाकोटको रातमाटे, रुपन्देहीको बुटवल र तनहुँको दमौलीमा बनाउन पर्ने सबस्टेसन निर्माण ठेक्काका लागि १० दिनभित्रै बोलपत्र आह्वान हुने, प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि परामर्श सेवाको बोलपत्रको सूचना प्रकाशित गर्ने तथा इन्टरनेसनल रफनेस इन्डेक्स उपकरण खरिदका लागि करार सम्झौता भई सामान आपूर्तिको चरणमा रहेको जानकारी दिइयो ।

    आयोजनाको चालु आर्थिक वर्षको समष्टिगत भौतिक प्रगति ६ दशमलव ९७ र वित्तीय प्रगति पनि ६ दशमलव ९७ नै रहेको प्रमुख विष्टले जानकारी दिए। करिब रु ७४ अर्ब ३४ करोडको आयोजना रहेकामा हालसम्म करिब पाँच अर्ब १८ करोड खर्च भएको बताइएको छ । समितिले हालसम्मको प्रगति र कार्यसम्पादन सन्तोषजनक रहेको जानकारी दिएको छ ।

    आयोजनाले १० जिल्लामा जग्गाको मुआब्जा निर्धारण समिति गठन गरी दर घोषणा, जग्गा आयोजनाको नाममा दर्ता, प्रसारण लाइनको भोगाधिकार क्षेत्र निर्धारण र मुआब्जा वितरण, वन क्षेत्रमा हटाउनुपर्ने रूख गणना लगायतका कार्यलाई मुख्य क्रियाकलापका रुपमा राखेको छ ।

    आयोजनालाई समयसीमाभित्रै सम्पन्न हुने छवटा पूर्वसर्तमध्ये आधारमध्ये राष्ट्रिय गौरवको आयोजना घोषणा, विद्युत् नियमन आयोगको ऐन तर्जुमा र गठन, योजना कार्यान्वयन सम्झौता, बुटवल–गेरखपुर प्रसारण लाइन निर्माणबारे नेपाल–भारतबीच सहमति र संसद्द्वारा सम्झौता अनुमोदन सम्पन्न भइसकेको छ ।

    आयोजनाका लागि जग्गा प्राप्ति, रूख कटान र निर्माण क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने कार्य भने अझै बाँकी रहेको छ । आयोजना अघि बढाउने सन्दर्भमा पूर्वतयारी सम्पन्न गरी कार्यान्वयन चरणमा प्रवेश गर्ने समयका रुरुपमा आगामी भदौ महिना तय गरिएको छ । सोही मितिदेखि एमसिसी नेपाल कम्प्याक्टको पाँचवर्षे कार्यविधिको दिन गणना सुरु हुनेछ ।

    आयोजनाअघि बढाउने सन्दर्भमा ठेकेदारको छनोट गुणात्मकताका आधारमा हुने जानकारी दिइएको छ । ठेकेदारको छनोट मूल्य, क्षमता र गुणात्मकताका आधारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा हुने प्रमुख विष्टले बताए ।

    प्रसारण लाइन जाने तीन सय १५ किमी लामो मार्गमा केही सामुदायिक र कबुलियती वन परेको र त्यहाँका रूख निर्माण कार्य प्रारम्भ गर्नुपूर्व नै कटान गरिसक्नुपर्ने भएकाले आउन सक्ने विभिन्न खाले समस्यालाई पन्छाएर अघि बढ्न समय लाग्ने चुनौती देखिएको संसदीय समितिलाई जानकारी गराइएको छ ।

    अर्थ मन्त्रालयका राजस्व हेर्ने सचिव रामप्रसाद घिमिरेले एमसीए–नेपालले अघि बढाउने योजना राष्ट्रिय हित र राष्ट्रिय सरोकारको विषय भएकाले समयमै सुरु गर्ने र सम्पन्न गर्ने कार्ययोजना बनाएर दृढताका साथ काम अघि बढाइने दृढता व्यक्त गरे । उनले भने, “आयोजना अघि बढाउने सन्दर्भमा कुनै स्थान विशेषमा आउने चुनौती देखाएर काम रोक्नु हुन्न । सबै तह र तप्कासँग समन्वय र सहकार्य गरी आयोजनालाई मूर्तरुप दिलाउने कार्यमा आयोजनाका पदाधिकारीले घनिभूत रुपमा काम गर्नुहुनेछ ।”

    आयोजना सञ्चालक समितिको अध्यक्षमा अर्थमन्त्रालयका सचिव रहेका छन् । आयोजना अघि बढाउने सन्दर्भमा क्षतिपूर्व बापतको वृक्षरोपण, जग्गा अधिग्रहण, मुआब्जा विवादलाई मुख्य चुनौतीका रुपमा हेरिएको छ । आयोजनाका लागि करिब दुई लाख दुई हजार कटानका लागि रूख गणना गरी यकिन गर्नुपर्नेछ ।

    उक्त आयोजना खासगरी विद्युत् र सडक सञ्जाल विस्तार एवं मर्मतमा केन्द्रित छ । आयोजनाका लागि अमेरिकी सरकारको ५० करोड डलर अनुदान र नेपालका तर्फबाट १३ करोड उपलब्ध हुनेछ ।

    आयोजनाको सम्पूर्ण पूर्वतयारी पूरा भएपछि वास्तविक निर्माण अवधि ४२ महिना रहनेछ । तीन सय १५ किमी विद्युत् प्रसारण लाइन निर्माण गर्ने सन्दर्भमा आठ सय ५६ वटा टावर बनाउन पर्नेछ ।

    बैठकमा यसअघि सदस्यहरुले मुलुकमा निकै ठूलो बहस र छलफलपछि अघि बढाइएको आयोजना समयमै सुरु गरेर निर्धारित समायावधिभित्रै पूरा गर्ने गरी दृढताका साथ काम गर्न सम्बन्धित पक्षलाई सुझाव दिए । उनीहरूले राष्ट्रिय गौरवका अरू आयोजना जस्तै वन, वातावरण र मुआब्जाका विषयलाई देखाएर समय लम्ब्याउने छुट यसलाई नभएकाले प्रारम्भमै आउन सक्ने चुनौती पहिचान गरी समन्वय र सहकार्य गरी आयोजनाको जिम्मेवारी पूरा गर्ने कार्यमा कमीकमजोरी नगर्न ध्यानाकर्षण गराए ।

    सभापति दिलकुमारी रावलले आयोजनालाई समयमै सम्पन्न गर्ने सिलसिलामा देखिएका जग्गाप्राप्ति, वन क्षेत्रको उपभोग, जग्गाको भोगाधिकारमा देखिएका समस्या सरोकारवाला पक्षसँग समन्वय गरी आयोजनाको कार्यान्वयन र अनुगमन गर्न अर्थ, वन तथा वातावरण, भौतिक पूर्वाधार, ऊर्जा मन्त्रालयलाई समितिले निर्देशन दिएको बताइन् ।

    उक्त विकास समितिलाई लैङ्गिक मैत्री बनाउन समावेशको पाटोमा ध्यान दिन पनि समितिले सुझाव दिएको छ । रासस

  • एमसीसी परियाेजना सुरु, प्रसारण लाइनका लागि बोलपत्र आह्वान

    एमसीसी परियाेजना सुरु, प्रसारण लाइनका लागि बोलपत्र आह्वान

    काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

    एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

    त्यस्तै, रातमाटे-दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

    आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।

    एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ ।

    लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो ।

  • प्रेम सुवालकाे दाबी : एमसीसी अनुमाेदन भएका कारण मूल्यवृद्धि बढ्याे

    प्रेम सुवालकाे दाबी : एमसीसी अनुमाेदन भएका कारण मूल्यवृद्धि बढ्याे

    काठमाडाैं । नेपालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेकै कारण नेपालमा आर्थिक संकट र मूल्यवृद्धि बढेको एक सांसदले दाबी गरेका छन् ।

    विनियोजन विधेयकअन्तर्गत प्रधानमन्त्री कार्यालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै नेमकिपा सांसद प्रेम सुवालले एमसीसी अनुमोदन गरेकै कारण मूल्यवृद्धि बढेको दाबी गरेका हुन् ।

    ‘गठबन्धनले एमसीसी पारित गरेपछि आर्थिक संकट बढ्यो, यसको प्रमाण हामी दिन सक्छौं । अमेरिकाले शेरबहादुर देउवा सरकारलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा रुसको विपक्षमा मतदान गर्न दबाब दिएका कारण आर्थिक संकट बढेको हो,’ सुवालले भने, ‘तटस्थ बसेको भारतलाई रुसले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा एकतिहाइ कम मूल्यमा इन्धन दिएको छ । नेपालले तेल सस्तोमा ल्याउन सक्दैन भारतले जस्तै ? रुसविरुद्ध मतदान नगरेको भए अन्तर्राष्ट्रिय बजार मूल्यको एकतिहाइ कम मूल्यमा नेपालले इन्धन ल्याउन सक्थ्यो । खोइ देउवा (प्रधानमन्त्री शेरबहादुर देउवा)को कूटनीति ?’

    सांसद सुवालले नेपाल भ्रमणमा आएका अमेरिकी अधिकारीले दिल्लीमा गएर चीन र भारतबीच लद्दाख विषय उचालेर दुई देशबीच फाटो ल्याउन खोजेको आरोप पनि लगाए ।

  • राष्ट्रिय सभामा नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी खारेज भएको हो ?

    राष्ट्रिय सभामा नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी खारेज भएको हो ?

    काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) कम्प्याक्टबारे जिज्ञासा राखेका छन् ।

    राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९\०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौता खारेज भएको हो ? भन्दै प्रश्न गरेका हुन् ।

    एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा जारी गरिएको १२ बुँदे घोषणापत्रबारे अमेरिका मौन बसेको र सडक तथा विद्युत प्रशारण लाइन निर्माणमा सरकारले बजेट छुट्याइएको उनको भनाइ छ ।

    ‘१२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख छ । अमेरिकाले अहिलेसम्म घोषणापत्रबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर चार सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाउने बजेट छुट्याइएको हो ?,’ श्रेष्ठले प्रश्न गरे ।

  • एमसीसीकाे विवादित बुँदा संशाेधनकाे पत्र संसदमा पेश गर्न भीम रावलकाे माग

    एमसीसीकाे विवादित बुँदा संशाेधनकाे पत्र संसदमा पेश गर्न भीम रावलकाे माग

    काठमाडाैं । नेकपा एमालेका नेता डा.भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विवादित बुँदा संशोधनको पत्र संसदमा पेश गर्न सरकारसँग माग गरेका छन् ।

    बिहीबार संसदमा जारी बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा डा.रावलले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास भएको भनिएको एमसीसीको संशोधित पत्र हालसम्म संसदमा पेश नभएको र सो सम्बन्धमा कार्यप्रगति के कति भएको छ, सो जानकारी अविलम्ब संसदलाई दिन सरकारसँग आग्रह गरेका हुन् ।

    एमसीसीको विराेध गरिरहेका डा.रावलले यसअघि पनि संसदमा विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सोही मुद्दा उठाएका थिए ।

     

  • एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

    एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

    बुटवल । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

    बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाईं सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।

    ‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको हो,’ देउवाले भने । उनले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने दाबी पनि गरे ।

    ‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ,’ उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवा र दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुनेवाला छ ।’

    उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे । उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे ।

    प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

    बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताए ।

  • अघि बढ्यो एमसीसी परियाेजना, सब-स्टेशन बनाउन अधिग्रहण गरिएका जग्गा खाली गर्न सूचना

    अघि बढ्यो एमसीसी परियाेजना, सब-स्टेशन बनाउन अधिग्रहण गरिएका जग्गा खाली गर्न सूचना

    काठमाडाैं । एमसिसी परियोजनाअन्तर्गत सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ ।

    मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो ।

    सूचनामा भनिएको छ ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ ।’

    हेर्नुहोस् सूचना :

  • एमसीसी अन्तर्गतकाे ग्लाेबल टेण्डरमा सहभागी हुन निर्माण व्यवसायीलाई देउवाकाे आग्रह

    एमसीसी अन्तर्गतकाे ग्लाेबल टेण्डरमा सहभागी हुन निर्माण व्यवसायीलाई देउवाकाे आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई सुझाव दिएका छन् ।

    शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकाले एमसीसी अन्तर्गतका परियोजनामा नेपालका निर्माण व्यवसायीले पनि भाग लिनुपर्ने बताएका हुन् ।

    उनले नेपाली निर्माण व्यवसायीले एमसीसी अन्तर्गतका आयोजना प्राप्त गर्न सके आफू पनि खुसी हुने जिकिर गरे । त्यस्तै, प्रधानमन्त्री देउवाले समयमा नै निर्माण सम्पन्न हुन नसक्ने समस्यालाई समाधान गर्नुपर्ने धारणा राखे । उनले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिदलगायतका नियमावली संशोधनलगायतका विषयमा सरकार लचिलो रहेको उल्लेख गरे । मुलुकलाई समृद्ध बनाउनका लागि सरकारसँगै निजी क्षेत्रको सहकार्य एवं समन्वय अपरिहार्य रहेको उनकाे भनाइ छ ।

    कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको भन्दै व्यवसायीमैत्री कानून निर्माण गरिएको जानकारी दिए । उनले निर्माण व्यवसायी देशका धरोधर भएको भन्दै कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्ने स्पष्ट पारे ।

    कार्यक्रममा व्यवसायीहरुले राज्यले आफूहरुको समस्यमा गम्भीरता नदेखाएको गुनासो गरेका थिए ।

  • प्रकाण्डकाे आक्राेश : प्रचण्डजति ‘गद्दार’ र गगन थापाजस्ताे ‘दलाल’ अरु काेही देखिएन (भिडियाेसहित)

    प्रकाण्डकाे आक्राेश : प्रचण्डजति ‘गद्दार’ र गगन थापाजस्ताे ‘दलाल’ अरु काेही देखिएन (भिडियाेसहित)

    काठमाडाैं । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्राेश व्यक्त गरेका छन् ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले एमसीसी राष्ट्रकाे हित विपरित रहेकाे जनाएकाे छ । उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्डले प्रचण्डकै कारण १५ गते एमसीसी पारित भएकाे आराेप लगाए । उनले भने- ‘प्रचण्डजी जस्ताे दलाल र राष्ट्रघाती, राष्ट्रकाविरुद्ध गद्दार गर्ने अरु काेही देखिएन । प्रचण्डजीकै कारण १५ गते एमसीसी पारित भयाे ।’

    उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि अमेरिकी दलाल भएकाे आराेप लगाए । उनले बुढा दलालहरुले गर्न नसकेपछि युवा दलालहरु सक्रिय भएकाे दाबी पनि गरे । उनले भने, ‘बुढापाका दलालहरुले नसकेपछि युवा नेताका नाममा दलाली सुरु गरे ।’

    उनले अब आफूहरुले एमसीसी लागु हुन नदिने पनि बताए ।

    उनले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको आरोप पनि लगाए । सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफूहरुले यसलाई रोक्ने चेतावनी पनि दिए ।

    एमसीसी आर्थिक परियोजना मात्र नभएर सैन्य रणनीतिका लागि आएको १२ बुँदेले पुष्टि गरेको पनि उनले दाबी गरे ।

    अब एमसीसीको विरोधमा जनता उर्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उनकाे भनाइ छ ।

    हेर्नुहाेस् भिडियाे :

  • एमालेकाे प्रतिक्रिया : गठबन्धनको छेपारे प्रवृत्ति उदांगो भयाे, ओलीलाई पदच्यूत गर्नमात्र एमसीसीमा विवाद

    एमालेकाे प्रतिक्रिया : गठबन्धनको छेपारे प्रवृत्ति उदांगो भयाे, ओलीलाई पदच्यूत गर्नमात्र एमसीसीमा विवाद

    काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद झिकिएकाे बताएको छ ।

    संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको हो ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पहल गरेकाे आराेप पनि लगाए ।

    व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको पनि ज्ञवालीले बताए ।

    हेर्नुहोस् एमालेको विज्ञप्तिको पूर्णपाठ

    १. अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाको २०७८ फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ । यस घोषणासँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारवाजीको पटाक्षेप भएको छ । यसक्रममा फिँजाइएका भ्रम तथा विभिन्न रंग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरुले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरुमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ । राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरुको अविश्वसनीयता समेत उदाङ्गो भएको छ ।

    २. फागुन १५ गतेको प्रतिनिधिसभा बैठकका दुबै सत्रमा हाम्रो पार्टीलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरियो । यसले देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी गठबन्धनको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल– नेकपा (एमाले)लाई वेलमा राखेर अवरोधका बीच यस्तो संवेदनशील निर्णय गरिएको छ । केही अघि हाम्रो नेतृत्वमा सरकार रहेको बेलामा नयाँ नक्सालाई संविधानको अनुसूचीमा समेट्न संविधान संशोधन गर्ने जस्तो संवेदनशील विषयमा संसद्लाई एक बनाई राष्ट्रिय एकता प्रदर्शन गरिएको घटनालाई हामी स्मरण गरिरहेका छौँ । यस सन्दर्भमा राष्ट्रिय महत्वको मुद्दामा सबै दलहरुलाई एक ठाउँमा उभ्याउने दायित्वबाट स्वयम् प्रधानमन्त्री समेत विमुख हुन पुग्नु दुःखद् कुरा हो । ‘प्रमुख प्रतिपक्षी दललाई छक्याएर गठबन्धन टिकायौँ’ भन्नेजस्ता सत्ताधारीहरुको प्रलापले लोकतान्त्रिक अभ्यासको उपेक्षा मात्र होइन, समाजमा कलह सिर्जना गर्ने र हाम्रो दललगायतका दलहरुलाई विभाजन गर्ने ठगी धन्दाको पर्दाफास भएको छ ।

    ३. संसदमा माननीय सदस्यहरुको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ । उहाँ नै दलहरुले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो । अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ । संसदभित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो । संसद् जननिर्वाचित प्रतिनिधिमार्फत् लोकतन्त्रको अभ्यास गरिने थलो हो । चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ । त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ । यी सबै घटनाक्रमले सभामुख यस गरिमामय पदका लागि योग्य हुनुहुन्न भन्ने थप पुष्टि भएको छ ।

    ४. गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दै आए, विषाक्त प्रचारबाजी गरे । द्विपक्षीय विषयलाई भूराजनीतिक विषयजस्तो बनाइयो । चौबीस घन्टाअघि उनीहरुले सत्ता छोड्ने तर सहमति नगर्ने पनि भन्न भ्याए । २४ घण्टापछि उनीहरुमा ‘दिव्यज्ञान’ पलायो र शुरु भयो अर्को स्पष्टिकरणको सिलसिला– पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति, गठबन्धन ढले आफू ढल्ने, आफ्ना हितैषीहरुको पनि पद जाने भएकोले समर्थन गर्नुको विकल्प नरहेको वयानबाजी गरे । खासगरी नेकपा (एमाले)का विरुद्ध हतियारका रुपमा प्रयोग गरिएको यस सम्झौताका सन्दर्भमा अढाई वर्षको अवधिमा के–के मात्रै भनिएन र गरिएन ? पहिलो– केपी ओली प्रधानमन्त्री पदबाट फ्याँकिएपछि अनुमोदन गर्ने । दोस्रो– ४/५ महिना समय पाऊँ, पारित गर्छौं । तेस्रो– चुनावपछि पारित गरौंला । चौथो– यथास्थितिमा पारित गर्दैनौं । पाँचौंं– बहिस्कार गरेर पारित गर्न सहयोग गर्छाैं । छैटौं– लाज छोप्ने पातलो र पारदर्शी पर्दा पाऊँ, अनि पारित गर्छौंं, आदि । यी सबै रङ्गीविरङ्गी हरकतको सार एउटै थियो– नेकपा (एमाले)लाई कमजोर पार्ने र सत्ता टिकाउने । एकातिर आप्mनो स्वार्थअनुकूल सत्ताको लेनदेन गर्ने, अर्कातिर आफ्ना नेता–कार्यकर्तालाई राष्ट्रवादको नाममा सडकमा उतार्ने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्न लगाउने र कार्यकर्ता तथा राज्यका सुरक्षा निकायबीच भिडन्त गराउने दुष्कर्म गराए । यस्तो लबस्तरोपनले उनीहरुको वास्तविक अनुहार उदाङ्गो भएको छ र भ्रमको पर्दा च्यातिएको छ ।

    ५. प्रतिनिधिसभाको बैठकमा प्रस्तुत ‘व्याख्यात्मक घोषणा’ शाकाहारीले ‘कितावको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’ भनेजस्तै हो । गठबन्धनका नेताहरु त्यस घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन् । दुई सरकारबीच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फी व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हास्यास्पद कुरा हो । यो तथ्य प्रतिनिधिसभाको बैठकमा सत्तापक्षीय केही माननीयहरुद्वारा समेत अभिव्यक्त भएको छ । यस सम्बन्धमा एमसीसी आफैँले वक्तव्य दिएर यस्ता कथित घोषणाले सम्झौतामा कुनै फरक नपार्ने कुरा स्पष्ट पारिसकेको छ । तर, अझै पनि केही नेताहरु ‘व्याख्यात्मक घोषणा’ हिजो आपूmले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रुपमा प्रचार गर्न खोज्दै छन् । यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो । हामी केही नेताहरुका ‘लत्रिएका जुँगा’लाई ‘ठाडो पार्ने हतियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौँ ।

    ६. एउटा तथ्यमा हामी सबै स्पष्ट हुनुपर्छ, एमसीसीसम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो । गलत मनशायमा आधारित त्यस ‘अभियान’ले झण्डै तीन वर्षदेखि नेपाली जनमानसलाई अनावश्यक ढङ्गले गिजोल्यो, विभाजित गर्‍यो । विवाद यसरी उछालियो कि त्यसले नेपाल राष्ट्रको सामर्थ्यलाई उपेक्षा गर्‍यो र नेपाली स्वाभिमानको समेत तेजोबध गर्‍यो । मुलुकलाई माया गर्ने र विकास तथा समृद्धिको सपना बोकेका नेताप्रति द्वेषपूर्ण अभिव्यक्तिको लागि सिङ्गो समाजलाई उकास्यो । कुत्सित स्वार्थपूर्तिको लागि चलाइएको अफवाह र हल्लैहल्लामा सिर्जना गरिएको कृत्रिम विवादमार्फत् नेपाली–नेपालकाबीच एकापसमा अविश्वासको अकल्पनीय खाडल खडा गर्‍यो ।

    ७. एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरे । यसलाई विवादास्पद पनि तिनै गठबन्धनका नेताहरुले बनाए । सम्झौता आफूले गरे, जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेस्र्याए । सन्धि–सम्झौताका सन्दर्भमा राज्यले गर्नुपर्ने पत्राचारजस्तो विषयमा दलका नेताले हात हालेर कूटनीतिक मर्यादाको घोर उल्लंघन गरे । हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे । हाम्रो पार्टी यसखाले दुःषित अभियानमा संलग्नहरुप्रति खेद प्रकट गर्दछ ।

    ८‍. नेपाललाई चाहिने कुनै पनि विकास अभियान सञ्चालन गर्न हामी नेपाली सक्षम र स्वतन्त्र छौँ । नेपालको संविधान जारी भएसँगै नेपाल विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीलाई द्विपक्षीय होस् वा बहुपक्षीय व्यापक मात्रामा वैदेशिक सहायताको आवश्यकता छ । हामीले भनेका छौँ– हामी हाम्रो राष्ट्रिय हित र स्वाभिमान विपरीत कुनै पनि अनुचित शर्तसहित आउने लगानी होस् वा सहायता केही पनि स्वीकार्दैनौं । हामी हाम्रो आवश्यकता र प्राथमिकता एवम् उचित आधारमा आउने बाह्य ऋण, लगानी वा सहायता स्वीकार्छाैं । हामी त्यस्तो सहायता परिचालन गरी विकासको प्रतिफल आफ्ना देशवासीलाई उपलब्ध गराउने सामर्थ्य राख्छौँ । सार्वभौम समानताको आधारमा कुनै पनि मित्रराष्ट्र र हितैषी दातृसंस्थासँग सहायता परियोजना लिने वा नलिने निर्णय गर्न पनि स्वतन्त्र तथा सक्षम छौँ । कुनैै पनि दाताबाट प्राप्त विकास सहायता परिचालन गर्दा छिमेकी मित्रराष्ट्रहरुको संवेदनशीलताप्रति हामी सजग रहन्छौँ । हामी सबै मित्रराष्ट्रको सहयोगलाई उत्तिकै महत्व दिन्छौं । सहयोगी कुनै पनि राष्ट्रहरुका चासो तथा संवेदनशीलताप्रति सजग रहन्छौँ ।

    ९. सरकार भनेको राज्यका तर्फबाट अधिकारप्राप्त अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । एउटा सरकारले दातृराष्ट्र या निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण र प्रक्रियाविनै रद्द गर्ने हो भने त्यस्ता राष्ट्रप्रति विश्वासको सङ्कट उत्पन्न हुन्छ । तसर्थ, राज्यका निकायहरुले विमर्श गरी, हाम्रो राष्ट्रिय आवश्यकता पूरा गर्न अनुरोध गरिएका, सम्झौता गरिएका परियोजनाहरुलाई जुन सरकारको नेतृत्वमा शुरु भएको भए पनि उत्तराधिकारी सरकारले निरन्तरता दिनुपर्ने सामान्य विधिप्रति हामी स्पष्ट छौँ भन्ने कुरा व्यवहारले नै प्रमाणित गरिसकेको कुरा हो । यसले हाम्रो पार्टी अरुभन्दा फरक र जिम्मेवार पार्टी हो भन्ने कुरा थप पुष्टि भएको छ ।

    १० कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व सबै पक्षहरुमा यथेष्ट ध्यान दिनु आवश्यक छ । सम्झौता गरिसकेपछि कार्यान्वयनतर्फ लाग्नुपर्दछ । यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुन्छ । अहिले सत्ता गठबन्धनका केही नेताहरुबाट अपारदर्शी ढङ्गले जे–जस्तो सहमति पनि गर्न तयार हुने तर जननिर्वाचित प्रतिनिधिहरुको नजरबाट लुकाउन खोज्नेजस्ता द्वैध चरित्र प्रदर्शन भएको छ । ‘सरकारले गरेको सम्झौता सुटुक्क लागू गर्न छोडेर संसद्मा किन पेश गरियो’ भन्नेजस्ता छली प्रवृत्तिसँग नेकपा (एमाले) सहमत हुन सक्दैन । त्यसै कारण यो संसद्मा अनुमोदनका लागि प्रस्तुत गरिएको थियो ।

    ११. एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।

    १२. मुलुकको विकासका लागि दूरदृष्टिसहितको बलियो राष्ट्रिय सङ्कल्प चाहिन्छ । त्यो सङ्कल्प पूरा गर्न राष्ट्रिय दृष्टिकोण र अडान भएको बलियो राष्ट्रिय पार्टी चाहिन्छ । दरिलो राष्ट्रिय एकता कायम गरी विकास अभियान सञ्चालन गर्न कुण्ठा एवम् स्वार्थप्रेरित अतिरञ्जनापूर्ण प्रचारबाजीबाट मुक्त हुनु आवश्यक छ । एमसीसी प्रकरणमा गठबन्धनमा रहेका केही पार्टीका गलत चालवाजी र उनीहरुबाट प्रकट भएका घातक प्रवृत्तिबाट मुलुकलाई मुक्त पार्न आवश्यक छ । ती दलहरुसँग आस्थाका कारण भावना जोडिएका निर्दोष कार्यकर्ताहरु अझै हुनुहुन्छ । सङ्कीर्ण राजनीतिक स्वार्थका लागि भ्रमको पर्दा खडा गरेर आफ्ना कार्यकर्तालाई बारम्बार दुरुपयोग गर्ने नेतृत्वबाट सचेत रहँदै बलियो राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्नका लागि हाम्रो पार्टी त्यस्ता कार्यकर्ता तथा सदस्यहरुलाई आह्वान गर्दछ ।

    केपी शर्मा ओली
    अध्यक्ष