Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • शान्ति प्रक्रिया टुंगोमा नपुग्दा विभिन्न चलखेल सुरू भए : सञ्चारमन्त्री शर्मा

    शान्ति प्रक्रिया टुंगोमा नपुग्दा विभिन्न चलखेल सुरू भए : सञ्चारमन्त्री शर्मा

    काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन्। उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पारिन्।

    धादिङको गल्छीमा आजदेखि सुरू भएको सामुदायिक रेडियोहरूको दुई दिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्दै उनले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्‍याउने बताइन्।

    अघिल्लो संसदमा विधेयक पेस भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले सङ्क्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन्। यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माको भनाइ छ।

    शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरू भएको उल्लेख गर्दै उनले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रूपमा भन्दा शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायभित्र रहेर निष्कर्षमा पुर्‍याउनु पर्ने बताइन्।

    एक अर्को प्रसङ्गमा सरकारका प्रवक्ता शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्रराष्ट्रसँग सन्तुलित परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको बताइन्। कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितविपरीत अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

    राजनीतिक, सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँ-गाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन् महत्वपूर्ण रहेको बताइन्। मिडियाको यो शक्ति अब जनताको जीवनस्तर परिवर्तनमा लगाउनुपर्ने उनको भनाइ छ।

    राजनीतिक परिवर्तनसँगै संवैधानिक र कानुनी रूपमा धेरै परिवर्तन गरिएको भए पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको उल्लेख गर्दै उनले कानुनी सचेतताका लागि सञ्चारमाध्यमले आफ्ना सामग्री उत्पादन र प्रकाशन प्रसारणमा जोड दिनुपर्ने बताइन्।

    नेपालमा धेरै मातृभाषा र मौलिक संस्कृति सङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री शर्माले मातृभाषाप्रति समुदायको सकारात्मक धारणा विकास गर्दै यसको प्रयोगमा व्यापकता ल्याउन सामुदायिक रेडियोलगायत सबै सञ्चारमाध्यामले मातृभाषाका कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको बताइन्।

    पछिल्लो राजनीतिक परिवर्तनपछि हामीले संविधानमै सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु महत्वपूर्ण उपलब्धि भएको औंल्याउँदै उहाँले भनिन्, ‘मातृभाषालाई प्रयोगमा ल्याएर सबै भाषाभाषीलाई व्यापक बनाउनु आजको आवश्यकता हो, यसमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ।’

    युनेस्कोको सहयोगमा रेडियो धादिङले आयोजना गरेको सम्मेलनमा देशभरिका सामुदायिक रेडियोबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ। सम्मेलनमा पाँचवटा शीर्षकमा प्यानल छलफल हुने आयोजक रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए।

  • प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र राज ढकालले जानकारी दिए ।

    अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने दर्ता प्रक्रियामा छ ।

    द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च गएका हुन् ।

    शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयाँलको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो ।

    यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए । सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो ।

    त्यसपछि आरन र बुढाथोकी रिट दर्ता गर्न सर्वोच्च गएका हुन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए ।

    माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए ।

  • सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ : प्रधानमन्त्री प्रचण्ड

    सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् ।

    नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’

    प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।

     

  • सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

    सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने बताए ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारीसमेत रहेको उनले बताए ।

    ‘ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो। ऐतिहासिक र प्रेरणादायी दिन हो । विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ,’ सन्देशमा भनिएको छ ।

    पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ ।

    ‘ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदायलगायत सम्पूर्ण जनसमुदायमा फेरि एकपटक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ ।

  • भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

    भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोलीसितको भेटमा उनले विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।

    ‘विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ उनले भने, ‘त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।’

    प्रधानमन्त्री दाहालले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अङ्ग तथा तहको समन्वयात्मक भूमिका र सङ्कल्प हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ । तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र सङ्कल्पका साथ अघि बढौँ ।’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नलाई विज्ञहरू सम्मिलित कार्यदल बनाएर सम्बोधन गर्न पहल गरेकामा प्रधानमन्त्री दाहालले त्यसको सराहना गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल तथा प्रा.डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजक र उपप्रधानमन्त्रीको सचिवालय टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिएर सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवाद उन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौँ सुधार थालिएको बताए । उनले त्यसका लागि कयौँ ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औँल्याए ।

    त्यस क्रममा पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक आचार्य र यातायात सुधार कार्यदलका संयोजक पौडेलले कार्यदलले प्राथमिकतामा जोड दिन खोजेका विषयबारे प्रधानमन्त्री दाहाललाई ब्रिफिङ गरेका थिए ।

  • ओलीसँगकाे भेटपछि प्रचण्डकाे प्रतिक्रिया : राष्ट्रपतिमा सहमति हुन्छ

    ओलीसँगकाे भेटपछि प्रचण्डकाे प्रतिक्रिया : राष्ट्रपतिमा सहमति हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् ।

    बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने दाबी गरेका छन् । उनले राष्ट्रपतिको विषयमा पनि केही दिनमै टुंगो लाग्ने प्रतिक्रिया दिए ।

    राष्ट्रपतिमा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ । दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने अडान लिएका छन् भने ओलीले सहमतिअनुसार एमालेले पाउनुपर्ने बताइरहेका छन् ।

  • गाेंगबु लुटपाट घटना गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीकाे निर्देशन

    गाेंगबु लुटपाट घटना गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीकाे निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर गाेंगबु घटनाकाे बारे चासाे राखेका हुन् ।

    प्रधानमन्त्रीले घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिएकाे उनको सचिवालयले जानकारी दिएकाे छ ।

    सोमबार दिउँसो यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोबाइल पसलमा लुटपाट भएको थियो ।

    त्यस्तै, आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुईवटा गाडी र प्रहरी विट पनि जलाएका थिए ।

  • माओवादी आगामी निर्वाचनबाट फेरि शक्तिशाली हुन्छ : प्रचण्ड

    माओवादी आगामी निर्वाचनबाट फेरि शक्तिशाली हुन्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको बताएका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि चुनौतीपूर्ण भएको बताए ।

    उनले भने, ‘एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ । पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनै पर्छ ।’

    सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता भएको उल्लेख गर्दै यो लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

    उनले भने, पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ । पार्टीको २ महिने संगठनात्मक अभियान चलाउँदै छौँ। जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ । अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौँ, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ ।’

    उनले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताए ।

    उनले भने, पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो । त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ । त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु ।

  • प्रचण्ड भेट्न बालुवाटार पुगे गगन, राष्ट्रपतिकाे विषयमा छलफल

    प्रचण्ड भेट्न बालुवाटार पुगे गगन, राष्ट्रपतिकाे विषयमा छलफल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

    सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न थापा बालुवाटार पुगेका थिए ।

    माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान लिएपछि एमालेले शंका व्यक्त गरिरहेको छ ।

    पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रचण्डले अनिच्छा देखाउन थालेपछि गठबन्धन के हुने अन्यौल छ ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम महामन्त्री थापाले एमालेबाट अघि सारेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका थिए ।

  • प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, यी विषयमा छलफल

    प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता, यी विषयमा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् ।

    दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनीहरु निकट स्रोतहरुले बताएका छन् ।

    सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

    शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । मन्त्रिपरिषद् विस्तारमा ओली र आफू सहमति नजिक रहेको प्रचण्डले बताएका थिए ।