Tag: प्रतिनिधिसभा

  • विद्युत विधेयक, २०८० माथि छलफल, कसले के भने ?

    विद्युत विधेयक, २०८० माथि छलफल, कसले के भने ?

    काठमाडौं । प्रतिनिधिसभा अन्तरगत पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ ।

    मंगलबार बसेको बैठकमा ९ जना सासंदहरु उपस्थित भएका थिए । जसमा नेपाली काँग्रेसका गगन थापा, संजय कुमार गौतम, कुसुमदेवी थापा, नेकपा एमालेका शान्ति चौधरी, नेपाल कम्युनिस्ट पार्टीका जर्नादन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका बिन्दवासिनी कंसाकार र लक्ष्मी तिवारी, स्वतन्त्र सांसद अमरेश कुमार सिंह र सिराज अहमद फारुकी उपस्थित भएका थिए ।

    छलफलका क्रममा गगन थापाले यो कानुन बनाउनमा धेरै समय नलगाउन अनुरोध गरेका छन् ।

    ‘अघिल्लो पटक यो कानुनमा सयौं संशोधन परेको थियो । ऐन अन्तिम समयसम्म छलफल गर्दा पनि हामीले पारित गर्न सकेनौं । त्यसपछि यसलाई संशोधन गर्ने, परिमार्जन गर्ने भन्दाभन्दै लामो समयमा भएन ।’

    उनले भने, ‘अहिले यो पटक बन्दै छ । यो चाँडो भन्दा चाँडो टुगिंयोस ।’ तर, यो बन्दै गर्दा यस्तो नबनिदियोस की लामो समयपछि नेपालको जलविद्युत क्षेत्रमा सम्भावना आएको छ । त्यहाँ भित्रका विकृतिहरु हटाउनु पर्ने छ । त्यसैले, यो कानुन हतोत्साहित हुने खालको नबनोस् ।’

    नेपाल कम्युनिस्ट पार्टी माओवादीका जर्नादन शर्माले सरकारले पहिचान गरेका आयोजनाहरुमा अनिवार्य प्रतिस्पर्धा हुनेपर्ने बताएका छन । शर्माले भने,‘सरकारले पहिचान गरेका आयोजनाहरुमा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्छ । तर, निजी क्षेत्रको सन्दर्भमा  उनीहरुले पाउने क्षेत्रअधिकार भित्रको प्रयोग गर्न दिनुपर्छ ।’

    यसैगरी, सासंद अमरेश कुमार सिंहले उर्जाको अधिकार प्रदेश सरकार र स्थानीय सरकारलाई दिन नहुने बताएका छन् । ‘उर्जाको कुरा प्रदेश सरकार र स्थानीय सरकारलाई दिनु हुँदैन । किनभने, उर्जाको कुरा अन्तराष्ट्रिय सम्बन्धको पनि एउटा संस्था हो । उर्जा मन्त्रालय, पराराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयसँग अन्तराष्ट्रिय सम्बन्ध सिधै जोडिएको हुन्छ ।’

    राप्रपाकी सासंद विना लामाले विद्युत विधेयक, २०८०को उदेश्य र कारणमै समस्या रहेको बताएकी छन् । उनले भनिन्, ‘मेरा संशोधन उदेश्य र कारणमै छ । उदेश्य र कारणमै एउटा स्वार्थ बाझिएको जस्तो देखियो । व्यक्ति तोकेर या त संस्था तोकेर जुन उदेश्य र कारण राखिएको छ त्यो राख्न हुँदैन ।’

  • गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

    गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडाैं । बिहीबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

    गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

    गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

  • एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    काठमाडौं । एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तारै खुल्दै जाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

    उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

  • राष्ट्रपतिका लागि भोट हालेर फर्किँदै गर्दा लडेर सांसद न्यौपाने घाइते

    राष्ट्रपतिका लागि भोट हालेर फर्किँदै गर्दा लडेर सांसद न्यौपाने घाइते

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।

    मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन् ।

    टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्‍याइएको छ । सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन् ।

  • बाजुरामा मतगणना अझै अनिश्चित

    बाजुरामा मतगणना अझै अनिश्चित

    बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ।

    जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो।

    निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ।

    यस्तै, नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ।

    कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ।

    आयाेगको टोली बाजुरामा

    मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुलछी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो।

    आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

    निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले कुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।

    टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव संकलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताए।

    निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ।

    मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताए।

    उनले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलकाे भनाइ छ।

  • राष्ट्रिय हित, स्वाधिनता रक्षा र स्थिर सरकारका लागि भाेट माग्दैछु : अध्यक्ष ओली

    राष्ट्रिय हित, स्वाधिनता रक्षा र स्थिर सरकारका लागि भाेट माग्दैछु : अध्यक्ष ओली

    काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट मागेका छन् ।

    ‘म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु’, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गरी ओलीले भनेका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेता अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि एमालेकाे सूर्य चिन्हमा मत हाल्न आग्रह गरेका हुन् ।

    अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, ‘प्रिय मतदाता ! अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्याैल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस् ।’

    अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भनेका छन् । ‘प्रिय मतदाता ! म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेकाे व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ’, सन्देशमा भनिएको छ, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहेमुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।’

  • प्रतिनिधिसभामा सांसदहरुले भने, ‘आज यो अन्तिम बैठक हो’

    प्रतिनिधिसभामा सांसदहरुले भने, ‘आज यो अन्तिम बैठक हो’

    काठमाडाैं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् ।

    प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताइन् । सांसद राजेन्द्रकुमार केसीले वर्तमान संसद् बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसद्को कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    यस्तै, सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल सकिन लागे पनि अछामको शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासमा सरकारले विशेष ध्यान दिुनपर्नेमा जोड दिए । सांसद महेन्द्रकुमारी लिम्बूले संसद्मा आजको बैठक आफ्नो अन्तिम भएको उल्लेख गर्दै आगामी मङ्सिर ४ गते गठबन्धन सरकारले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

    सांसद यशोदा गुरुङ सुवेदीले आगामी असोज १ गते राति १२ बजेदेखि हालको प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने भनी निर्वाचन आयोगले पठाएको पत्रका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराइन् । साथै, उनले राष्ट्रिय सहमति नबनेको अवस्थामा नागरिकताविहीनलाई नागरिता दिलाउनका लागि भए पनि राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्ने बताइन् ।

    सांसद रामबहादुर विष्टले डेङ्गुका कारण धेरै व्यक्ति प्रभावित भए पनि सरकारले नियन्त्रण गर्न उचित ध्यान दिन नसकेको आरोप लगाए । सांसद महेश बस्नेतले डेङ्गुबाट धेरै व्यक्ति प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    सांसद बिमला विकले बर्दियामा यही भदौ २६ गते ६१ वर्षीय झठारु चौधरीको भैँसी चराउने क्रममा निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट मृत्यु भएकामा मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् । सांसद भीमसेनदास प्रधानले संसद्को यो कार्यकालमा संसद्मा बस्ने र नबस्नेको सही मूल्याङ्कन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

    सांसद मनकुमारी जिसीले आज राष्ट्रिय बाल दिवस मनाइरहँदा महिनौँदेखि शिक्षक आन्दोलनमा रहेका र स्थायी पदपूर्तिलगायत मागको सम्बोधन नभएसम्म बाल विकासदेखि उच्च माविसम्म गुणस्तरी शिक्षा सम्भव नभएको बताइन् ।

    सांसद यज्ञराज सुनुवारले महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीशले उठाएको विषयमा गम्भीर भए पनि त्यस विषयमा सरकार र समितिका सदस्यसमेत मौन बस्दा आम जनतामाझ अझ प्रश्न उठेको बताए ।

    सांसद राजबहादुर बुढाले चाडपर्व नजिकिँदै जाँदा धेरैले यात्रा गर्नुपर्ने समयमा राजमार्गलगायत गाउँका सडक सुधार गर्न जरुरी भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै चीनसँग सिमाना खोल्ने विषयमा ठोस पहल गर्न सरकारसँग आग्रह गरे । सांसद रेखा शर्माले सङ्क्रमणकालीन न्याय अहिलेसम्म टुङ्गिन नसकेको उल्लेख गर्दै मेलमिलाप दिशामा देशलाई अगाडि बढाउने राज्यको काम भएको हुँदा समाजमा मेलमिलाप स्थापना गर्ने गरी विधेयक अगाडि बढाउनुपर्ने बताइन् ।

  • प्रतिनिधिसभाको कार्यकालसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी

    प्रतिनिधिसभाको कार्यकालसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी

    काठमाडौं । २०७४ मा संघीय चुनाव मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा भएको थियो । दलहरुबाट समानुपतिक सूची लिने, राष्ट्रिय सभाको चुनाव गर्ने लगायतका कार्य सकेर संघीय सांसदहरुले २० फागुनमा शपथ लिएका थिए ।

    राष्ट्रिय सभाले २० फागुनमा शपथ लिएको दिनलाई कार्यकाल सुरु भएको दिनको रुपमा मानेर दुई दुई वर्षमा हुने दुईवटा चुनाव गरेर अगाडि बढिसकेको छ । २० फागुनलाई कार्यकाल सुरु भएको मानेर प्रत्येक दुई दुई वर्षमा आउने एक चौथाइ सांसदले त्यही दिन शपथ लिएका छन् ।

    राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्दा पद रिक्त हुनु (फागुन २०) भन्दा ३५ दिनअगावै निर्वाचन सम्पन्न हुने गरी मिति तोक्नुपर्ने व्यवस्था राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा छ ।

    राष्ट्रिय सभाको यही नजिरलाई मानेर प्रतिनिधिसभाको पनि कार्यकाल सुरु २० फागुनलाई नै मान्नुपर्ने कतिपयको तर्क छ । माओवादी केन्द्रका नेता देव गुरुङ भन्छन्, ‘चुनाव दुई महिना, तीन महिना अगाडि ने गरे पनि शपथ २० फागुनमै गर्नुपर्छ । यसले आगामी दिनमा पनि सहजता ल्याउँछ र संविधानले भनेको प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भन्ने पनि पूरा हुन्छ ।’

    माओवादी नेताहरुले राष्ट्रिय सभाको नजिरलाई देखाएर प्रतिनिधिसभाको कार्यकाल पनि २० फागुनपछि सुरु भएको मानिने र प्रत्येक पाँच वर्षमा त्यही दिन नयाँ सांसद सदस्यहरुको शपथ हुने गरी कानुनमै व्यवस्था गरिनुपर्ने माग गरेका छन् । यसबारे प्रष्ट कानुन बनाएर चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने पनि माओवादी केन्द्रका नेताहरूको सुझाव छ ।

    यही बेला प्रतिनिधिसभाको कार्यकालसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी भएको छ । प्रतिनिधिसभाको कार्यकाल चुनाव घोषणा गरेपछि सकिन्छ कि सकिँदैन ?, नोमिनेसनको दिनसम्म कार्यकाल रहन्छ कि रहँदैन ? वा २०७४ को चुनाव भएको मितिका हिसावका प्रतिनिधिसभाको कार्यकाल तय हुन्छ ? भन्ने प्रश्नहरु बहसमा रहेका बेला सांसदहरुले यससम्बन्धी बहसलाई प्रतिनिधिसभामै चलाएर कानुन बनाउने उद्देश्यका साथ जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी गरेका हुन् ।

    माओवादी सांसद अमृता थापा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विवादलाई कानुन बनाएर हल गर्ने गरी जानुपर्ने भन्दै यससम्बन्धी प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी गरेको बताउँछिन् । ‘दलहरुले आ-आफ्ना ढंगले व्याख्या गरिरहनु भन्दा कानुन बनाएर जानु उपयुक्त हुन्छ । प्रतिनिधिसभाको कार्यकालसहित एकजना व्यक्ति एउटै निर्वाचन क्षेत्रबाट कतिपटक सम्म चुनाव लड्न पाउने ? भन्नेलगायतका विषय समेटेर संसदमा प्रस्ताव लैजाने तयारी छ,’ थापाले भनिन् ।

  • नागरिकता विधेयक संसदमा प्रस्ताव

    नागरिकता विधेयक संसदमा प्रस्ताव

    काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ ।

    प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन् ।

    प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो ।

  • जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

    जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

    काठमाडाैं । प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक छलफल कर्यक्रममा उनले संविधानले कर उठाउने दायराको अधिकांश हिस्सा केन्द्र सरकारलाई दिए पनि स्थानीय तहले जनताले तिर्न सक्ने न्यूनतम् र जायज हुने खालका कर उठाउन सक्ने बताएका हुन् ।

    सभापति साहले कुखुराको अण्डा र ज्योतिषीलाई समेत महँगो कर लिइएको गुनासो आएकाले यसरी कर लिने जनप्रतिनिधि आगामी निर्वाचनमा जनताको परीक्षामा उत्तीर्ण हुन कठिन हुने जनाए । “जनप्रतिनिधिले हामीले जे गरे पनि हुन्छ भन्ने भावनाले होइन, जनताका प्रतिनिधि हौँ भन्ने भावनाले काम गर्नुपर्छ,” उनले भने, “दीर्घकालीन योजनाका आधारमा बजेट तर्जुमा गरेर कानुनबमोजिम पारदर्शीरुपमा खर्च गरेमा बेरुजुका समस्या पनि आउने छैनन् ।”

    उनले स्थानीय तहमा प्रत्यायोजित अधिकारलाई अतिक्रमण हुने गरी केन्द्र र प्रदेश सरकारले कुनै कानुन बनाउन नहुनेमा जोड दिँदै लेखा परीक्षण गर्दा साना कारोबारभन्दा ठूला कारोबारमा विशेष ध्यान दिन महालेखा परीक्षणको कार्यालयलाई आग्रह गरे ।

    नेकपा (एमाले) का सांसद घनश्याम खतिवडाले असारमा एकै पटक खर्च गर्ने विकृतिको अन्त्य गर्न पारदर्शी वित्त व्यवस्थापन प्रणालीलाई लागू गर्न आग्रह गरे । उनले अनुदानमुखी बजेट प्रणालीबाट मुक्त भई प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

    बागमती प्रदेशसभाका सदस्य रमेश पौडेलले शक्ति र पहुँचका भरमा योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्न र सांसद विकास कोषलाई खारेज गर्न माग गरे ।

    नायब महालेखा परीक्षक पदमराज पौडेलले लेखा परीक्षणका समस्या र सम्बोधनका लागि नयाँ सफ्टवेयर लागू गर्ने तयारी भएको जानकारी दिए । हाल मुलुकभर रु ४१ अरब बेरुजु रहेको छ । स्थानीय सरकारको बेरुजु पाँच प्रतिशतको हाराहारीमा रहेको छ ।

    अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले स्वीकृत नभएको खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न आग्रह गरे ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा गोपीकृष्ण खनालले सार्वजनिक खरिद ऐनका जटिलतालाई फुकाउन र ठेक्का दिने प्रक्रियामा सुधार ल्याउन आवयश्यक रहेको बताए । महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले मापदण्डबिनाका योजना लाद्ने कार्यले स्थानीय सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गरे ।