Tag: भूकम्प

  • टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेकाे संख्या ३३ हजारभन्दा बढी

    टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेकाे संख्या ३३ हजारभन्दा बढी

    काठमाडाैं । टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन् । अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ । १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराइरहेका छन् ।

    दर्जनौं घाइतेको उद्धार कार्य जारी छ । एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ ।

    यतिबेला टर्कीकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन् ।

    यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।

  • ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प

    ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।

    ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए ।

    ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

    पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

    पश्चिम रुकुम । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

    पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

  • टर्की र सिरियामा भूकम्पका कारण १५ हजार बढीकाे मृत्यु, उद्धार कार्यमा ढिलाइ

    टर्की र सिरियामा भूकम्पका कारण १५ हजार बढीकाे मृत्यु, उद्धार कार्यमा ढिलाइ

    काठमाडाैं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ हजारभन्दा बढी भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५,००० मानिसले ज्यान गुमाएको पुष्टि भएको बीबीसीले उल्लेख गरेकाे छ ।

    आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन् ।

    टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गरी दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन् ।

    सिरियाको अवस्था झन् जटिल छ । सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पुर्‍याउने प्रयासहरू जटिल बनेका छन् ।

    टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल-हवा क्रशिङ, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ ।

    सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने पुष्टि गरेको छ ।

    यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पुर्‍याउनु पर्ने जनाइएको छ ।

    भूकम्प प्रभावित दुवै देशहरूमा मानवीय क्षति निकै बढी हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । विश्वभरका अन्य देश तथा दाताहरूले सहायता सामग्री, जनशक्ति र चिकित्सकीय सामग्रीहरू प्रस्ताव गरेका छन् ।

  • टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या करिब १० हजार

    टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या करिब १० हजार

    काठमाडाैं । टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार पुगेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टर्कीमा हालसम्म ६,९५७ र सिरियामा कम्तीमा २,५३० जनाको ज्यान गएको छ । त्यहाँ मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ ।

    अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने आस कम हुँदै गएको छ ।

    युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्।

    विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

    उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन् । अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ ।

    अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन् ।

    स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

    त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन् । तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो । अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ ।

    भूकम्पको केन्द्रबिन्दु सीमाबाट नजिकै भएकाले सिरियामा पनि ठूलो क्षति भएको छ।

    सिरियामा त भूकम्प प्रभावित सबै क्षेत्रमा सरकारको नियन्त्रण पनि छैन । उत्तरी सिरियामा पर्ने भूकम्प प्रभावित क्षेत्रमध्ये केही राज्य नियन्त्रित छ भने केहीमा टर्की अधिपत्य छ, केही क्षेत्रमा विद्रोहीहरूले कब्जा जमाएका छन् । गृह युद्धले क्षतविक्षत भएको ठाउँमा भूकम्पले थप पीडा थपेको छ ।

  • भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

    भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार

    काठमाडौं । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् ।

    सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले उल्लेख गरेकाे छ ।

    शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

    समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू छन् । अत्याधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ ।

    टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको छ ।

  • शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका १० प्रान्तमा आपतकाल घोषणा

    शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका १० प्रान्तमा आपतकाल घोषणा

    काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।

    खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

    एर्दोगानले दक्षिणी टर्कीमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताएका छन् ।

    यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने ४ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको जनाएका छन्। हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएका राष्ट्रपतिले बताए।

    विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भूकम्पबाट थुप्रैको मृत्यु भएको छ ।

    स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प र ६ दशमलव २ रेक्टर स्केलको भूकम्प भएको थियो ।

    एर्दोगानले सोमबार सातदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

  • टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्छ : डब्लूएचओ

    टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्छ : डब्लूएचओ

    सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

    सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ ।

    पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो ।

    उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् ।

    विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।

    यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

    भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकाे सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन् ।

    भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको समाचारमा जनाइएकाे छ ।

    पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो ।

    यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन् ।

    टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।

    उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

  • धनकुटा केन्द्रबिन्दु भएर भूकम्प

    धनकुटा केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । धनकुटा केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको हाे ।

    भूकम्पकाे धक्का नेपालको पूर्वी क्षेत्रमा महसुस गरिएकाे थियाे ।

  • सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प

    सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प

    बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

    भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए ।

    बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

    भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।