Tag: रामचन्द्र पौडेल

  • राष्ट्रपति पौडेलको सन्देश: लोकतन्त्र र न्यायको संरक्षणमा न्याय र कानुन जगतको भूमिका

    राष्ट्रपति पौडेलको सन्देश: लोकतन्त्र र न्यायको संरक्षणमा न्याय र कानुन जगतको भूमिका

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र र निष्पक्ष न्यायपालिका, कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको बताउँदै यी मूल्यहरूको संरक्षण, प्रवर्द्धन र न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराएका छन्।

    शुक्रबार कानुन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस क्षेत्रसँग आबद्ध सबैको दायित्वको बोध निरन्तर गराइने विश्वास व्यक्त गरे। “कानुन दिवसको यो अवसरले न्याय र कानुनको क्षेत्रमा कार्यरत सबैलाई आफ्नो जिम्मेवारीको महत्त्व पुनः सम्झाउनेछ,” उनले भने।

    राष्ट्रपति पौडेलले इतिहासको दृष्टिकोणबाट राज्यका कार्यकारी, विधायिका र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको अवस्थामा २००८ मा लागू भएको प्रधान न्यायालय ऐनले न्यायपालिकाको स्वतन्त्रता र शक्ति पृथकीकरणको अवधारणा स्थापित गरेको उल्लेख गरे। यसले न्याय सम्पादनमा नयाँ युगको थालनी गरेको उनले बताए।

    नेपालको संविधानको मर्म र वर्तमान आवश्यकता अनुसार नयाँ कानुन निर्माण र प्रचलित कानुनमा सुधारका लागि पनि राष्ट्रपति पौडेलले आवश्यक कदम चाल्नुपर्ने कुरा औंल्याए। उनले भने, “आधुनिक पद्धति र प्रविधिको प्रयोगमार्फत आम नागरिकको न्यायमा सहज पहुँच र शीघ्र न्याय प्राप्ति सुनिश्चित गर्नुपर्नेछ।” “विधिको शासन कायम राख्दै न्यायिक मूल्य र मान्यतामा क्षति नगरी न्यायपालिकामा जनआस्थाको वृद्धिका लागि कानुन दिवसले सबैलाई सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस्,” राष्ट्रपति पौडेलले शुभेच्छा दिएका छन्।

  • विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौँ : राष्ट्रपति पौडेल

    विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौँ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

    मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोलाई सम्बोधन गर्दे राष्ट्रपति पौडेलले गाँउमा विकासको उपभोग गर्ने मानिसको अभाव भएको भन्दै नीति निर्माण र साशनसत्तामा बस्नेहरुले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

    ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतिकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, उनले भने, ‘यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौ नेपाली युवाहरु ताँती लागेर विदेशीने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।’

    कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा उनको जोड थियो ।

    बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको उनको भनाई छ ।

    राष्ट्रपति पौडेलले आफू स्वयम्ले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन हुन पाएकोमा खुसि व्यक्त गरे ।

    ‘मेरा जीवनको उर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भईरहँदा अलिकति भावुक पनि भएको छु । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ’, उनले भने ।

    उनले सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भईरहेका ती दिनहरूमा पनि सस्तो र सुलभ ढंगले नेपाली जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरे ।

  • राष्ट्रपति पौडेल र चीनका राजदूत चेनबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र चीनका राजदूत चेनबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका राजदूत चेन सोङल भेटवार्ता गरेका छन् ।

    आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट भएको हो ।

    भेटका क्रममा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र चासोका विषयमा कुराकानी भएको थियो ।

  • युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जनाका लागि मेराे उम्मेदवारी : रामचन्द्र पाैडेल

    युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जनाका लागि मेराे उम्मेदवारी : रामचन्द्र पाैडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन देशलाई अग्रमनतर्फ लैजान गरिएको दाबी गरेका छन् ।

    व्यास नगरपालिका–३ देउरालीनगरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताए ।

    ‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ’, नेता पौडेलले भने ।

    युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

    व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यास जन्मभूमिलाई तनहुँ आउने र करोडौँ नेपालीको आस्थाको केन्द्र बनाइ पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न उम्मेदवार बनेको नेता पौडेलको स्पष्टोक्ति छ ।

    व्यास नगरपालकालाई देशकै नमुना सहर बनाउने उनको दाबी छ । व्यास नगपालिकाका–३ को देउरालीनगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मोटरेबल पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गरी सहज यात्राको वातावरण बनाउन लागिपरेको उनले बताए ।

  • देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

    देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा उद्योगी व्यवसायीसँग आयोजित अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन् ।

    ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ’, पौडेलले भने । मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले यसपटक सहयोग गर्न उनले आग्रह पनि गरे । वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाइँको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे ।

    निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे । ‘गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ’, उनले भने । कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।

    छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।

  • जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

    जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

    तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेपछि आज आयोजित विजयसभालाई सम्बोधन गर्दै उनले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने बताए । जनताको विश्वासमाथि तुषारापात हुन दिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले शासक नभई जनताको सेवक बनेर काम गर्न आग्रह गरेका छन् । उनले ठोस विकासका लागि काम गर्न आग्रह गर्दै भने, “नगरको विकासमा धेरै काम गर्न बाँकी छ, विकासको कामलाई मूर्त रुप दिन बाँकी छ ।”

    जनतालाई गाउँमै बसुँबसुँ बनाउनका लागि आफूले राजनीति सुरु गरेको भन्दै पौडेलले उक्त अभियान सफल भएरै छाड्ने बताए । राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर नेपाललाई सफल बनाउने अभियान कांग्रेसको मूल ध्येय रहेको उनकाे भनाइ थियो । देशको विकास र स्थायित्वका लागि गठबन्धन गरिएको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताए ।

    कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । व्यासका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावनाअनुसार काम गर्ने बताए ।

  • देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : वरिष्ठ नेता पौडेल

    देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : वरिष्ठ नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा बुधबार तनहुँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्नुपर्छ, देशको हितलाई मात्रै ध्यानमा राख्नुपर्छ ।’ उनले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गरे ।

    उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याए । सुन्दर सहर, सुखी जनता बनाउने अभियानका साथ चिन्तन गर्नुपर्ने जनाउँदै उनले विगतमा के गरियो भन्दा पनि अब के गर्ने हो त्यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए । राजनीति र विकासलाई सँगै अगाडि बढाउनुपर्ने जनाउँदैे गाउँमै जनतालाई बसुँ बसुँ बनाउनुपर्ने उल्लेख गरे ।

    कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकासमा वरिष्ठ नेता पौडेलको भूमिकालाई बिर्सन नमिल्ने बताए । उनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

    प्रदेशसभा सदस्य सरिता गुरुङले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनताले मूल्याङ्कन गर्ने बेला आएको उल्लेख गरीन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विकासमा व्यासले थुप्रै काम गरेको बताउँदै अहिलेको जनप्रतिनिधिको कामलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्वजनप्रतिनिधि रामचन्द्र बस्नेतलगायतले जनप्रतिनिधि उत्तरदायी हुनुपर्नेमा जोड दिए । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षको अवधिमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखी काम गरिएको बताए ।
    –––

  • कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

    कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताएका हुन् ।

    नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । ‘युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ’, उनले भने । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो ।

    केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राखे । निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पारे ।