केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली सरकारका तत्कालीन मन्त्री प्रदिप ज्ञवालीले नै नेपाललाई इन्डो प्यासेफिकको अंग बनाउने कागजमा सही गरेको आरोप लगाएका हुन् ।

नेपालले भने, ‘एमसीसी कहाँ-कहाँ जोडिएको छ त ? यो इन्डोप्यासिफिक अंग बनाएर आएको छ । यो अंग बनायो कसले ? वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । त्यसपछि नेपाल त्यसको अंग बन्यो । पछि श्रीलंकाको नाम काटियो । नेपालको नाम रह्यो । जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्‍याैँ । त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ । यो नेपाली जनताको संघर्षबाट भएको हो । केपी ओलीले सिध्याइसकेका थिए, नेपाललाई इन्डोप्यासिफिक अंग बनाउनका लागि । केपी आएपछि त फेरि सिध्याइदिन्छन् । फेरि बनाइदिन्छन् । त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन ।’

उनले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्‍याए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा भएको भन्दै उनले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने धारणा राखे ।

त्यस्तै अध्यक्ष नेपाले छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने जिकीर गरे । उनले एमसीसीका बाहानमा एमालेले षड्यन्त्र गर्न खोजेको टिप्पणी गरे ।

त्यस्तै अध्यक्ष नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको समेत उल्लेख गरे ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१